
दमक – दमक–२ मा बसोबास गर्दै आउनुभएका उद्धव प्रसाद दाहालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुलातर्फबाट महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिनुभएको छ।
भोजपुरको तत्कालीन एक गाउँ विकास समितिबाट २०४५ सालदेखि विद्यार्थी जीवनमै राजनीतिक यात्रा सुरु गर्नुभएका दाहालले लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय राजनीति गर्दै आउनुभएको छ। उहाँका अनुसार हालसम्म करिब ३७ वर्षदेखि कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय रहँदै आउनुभएको हो।
विद्यार्थी जीवनबाट राजनीतिक यात्रा सुरु गर्नुभएका दाहालले उहाँले हालसम्म नेविसंघबाट जिल्ला सदस्य, नेपाली कांग्रेसको वडा सभापति, क्षेत्रीय प्रतिनिधि तथा गाउँ कमिटी सचिव र प्रदेश अधिवेशन प्रतिनिधिजस्ता विभिन्न जिम्मेवारी सम्हाल्दै आउनुभएको छ।
लामो राजनीतिक अनुभव र पार्टीमा गरेको योगदानलाई मूल्यांकन गर्दै महाधिवेशन प्रतिनिधिका रूपमा आफूलाई मत दिन दाहालले कांग्रेसका नेता तथा कार्यकर्तासँग आग्रह गर्नुभएको छ। उहाँले पार्टीलाई थप मजबुत बनाउन आफ्नो अनुभव र सक्रियतालाई उपयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ।
दमक, असोज । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले चिकित्सकले सिफारिस गरेको औषधि निश्चित कम्पनीकै हुनुपर्ने बाध्यता किन सिर्जना हुन्छ भन्ने प्रश्न उठाउनुभएको छ। विश्व फार्मेसी दिवसको अवसरमा शनिबार दमकस्थित कस्मिक पार्टी प्यालेसमा आयोजित औषधि तथा स्वास्थ्य क्षेत्रसम्बन्धी भेला तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै मेयर थापाले बिरामीलाई चिकित्सकले औषधिको नाम लेखिदिए पनि फार्मेसीमा पुग्दा सोही औषधि निश्चित कम्पनीकै खोज्नुपर्ने अवस्था देखिएको बताउनुभयो।
दमक अस्पतालले पूर्वी नेपालमै पहिलोपटक आयोजना गरेको कार्यक्रममा चिकित्सक, फार्मेसी व्यवसायी, औषधि व्यवस्था विभागका कर्मचारी तथा स्थानीय जनप्रतिनिधिको सहभागिता थियो। मेयर थापाले एउटै रोगका लागि फरक–फरक कम्पनीले उत्पादन गरेका औषधिको मूल्यमा ठूलो अन्तर हुने गरेको विषयसमेत उठाउनुभयो। बिरामीले सस्तो औषधि खोज्दै अर्को फार्मेसीमा पुग्दा चिकित्सकले सिफारिस गरेको कम्पनीको औषधि उपलब्ध नहुने अवस्था आउन सक्ने भन्दै उहाँले यसले बिरामीलाई अन्योलमा पार्ने बताउनुभयो।
उहाँले औषधिको गुणस्तर समान हुने अवस्थामा मूल्यका आधारमा गुणस्तर फरक देखिन नहुने धारणा राख्नुभयो। “रोग निको पार्ने औषधि सस्तो होस् वा महँगो, औषधिको गुणस्तरमा फरक नपर्ने हो भने मूल्यकै आधारमा किन गुणस्तर फरक हुन्छ भन्ने प्रश्न उठ्छ,” उहाँले भन्नुभयो, “बिरामीसँग पैसा छैन, पुग्दैन भने उसले त्यो औषधि नखाने?”
कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईंले दमकमा स्वास्थ्य संस्था तथा औषधि पसलको संख्या बढिरहेको भन्दै स्वास्थ्य सेवा क्षेत्रलाई थप मर्यादित र व्यवस्थित बनाउन चिकित्सक, फार्मेसी व्यवसायी तथा स्वास्थ्यकर्मी जिम्मेवार हुनुपर्ने बताउनुभयो। उहाँले दमक पछिल्लो समय स्वास्थ्य संस्थाको हब बन्ने दिशामा अघि बढिरहेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा भइरहेका गतिविधिलाई व्यवस्थित बनाउन सबै पक्षको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।
औषधि व्यवस्था विभाग, विराटनगर कार्यालयकी कार्यवाहक कार्यालय प्रमुख सञ्चिता बर्माले औषधि पसलले दर्ता भएका औषधि मात्र बिक्री गरी मर्यादित व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो। उहाँले औषधिको माग बढ्दै गएमा सम्बन्धित विधि र प्रक्रियाअनुसार नयाँ औषधि सूचीकृत गर्न सकिने बताउनुभयो।
नेशनल हेल्थ केयर, किप्ला र क्युओएसटी कम्पनीको प्रायोजनमा दमक अस्पतालले आयोजना गरेको कार्यक्रममा उद्घाटन सत्रपछि क्लिनिकल फार्मेसी तथा स्वास्थ्य विज्ञबीच छलफल र अन्तर्क्रिया गरिएको थियो। कार्यक्रममा फार्मेसी व्यवसायको अवस्था, औषधिको प्रयोग, औषधिको मूल्य तथा बिरामीको हितसँग सम्बन्धित विभिन्न विषयमा छलफल गरिएको थियो।

दमक, असोज । ‘ज्येष्ठ अभिभावकहरू समाजका साहारा, युवाहरू अभिभावकका भरोसा’ भन्ने नारासहित दमकमा स्थापित ज्येष्ठ अभिभावक सेवा समाजको अध्यक्षमा चौथो कार्यकालका लागि पुनः अमृत विष्ट चयन हुनुभएको छ। शनिबार दमकस्थित पशुपति मन्दिरमा सम्पन्न समाजको तेस्रो वार्षिक साधारणसभाले अध्यक्षसहित अन्य पदाधिकारीलाई पनि पुनः चयन गरेको हो।
सभाबाट उपाध्यक्षमा भूपेन्द्र न्यौपाने, सचिवमा गंगा सुव्वा र सहसचिवमा तुलसा सिग्देल बस्नेतलाई जिम्मेवारी दिइएको छ। यस्तै, कोषाध्यक्षमा रमेशचन्द्र गौतम चयन हुनुभएको अध्यक्ष विष्टले जानकारी दिनुभयो। यसअघि ९ सदस्यीय कार्यसमिति रहेकोमा यसपटक ११ सदस्यीय नगर समिति बनाइएको छ। समितिका सदस्यहरूमा नवीन पाठक, खगेन्द्रप्रसाद वास्तोला, तृप्ता ढकाल, राधिका कार्की, अम्बरकुमार र तोयानाथ ढकाल रहनुभएको छ।

यसैगरी, शनिबार सम्पन्न वार्षिक साधारणसभाका अवसरमा उत्कृष्ट वडाका रूपमा दमकको वडा नम्बर ४ लाई सम्मान गरिएको छ। दमकका १० वटै वडामा आफ्नो शाखा विस्तार गरेको समाजले आजीवन सदस्य विस्तारमा उत्कृष्ट योगदान गरेको भन्दै वडा नम्बर ४ समितिलाई सम्मानपत्रसहित सम्मान गरेको हो। समाजले विभिन्न समिति तथा उपसमितिका संयोजक र अध्यक्षहरूलाई समेत आ–आफ्नो क्षेत्रबाट ज्येष्ठ नागरिकको सेवा तथा समाजका गतिविधिलाई चुस्त बनाउन योगदान गरेको भन्दै सम्मान गरेको छ। समाजले दमकका १० वटै वडाबाट उत्कृष्ट सामाजिक कार्य गर्ने १० जना सामाजिक व्यक्तित्वलाई समेत सम्मान गरेको छ।
कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। उहाँले समाजले ज्येष्ठ नागरिकको सुरक्षाका क्षेत्रमा गर्दै आएका गतिविधि र कामको प्रशंसा गर्नुभयो। कार्यक्रममा समाजका अध्यक्ष अमृत विष्टले समाजले ज्येष्ठ नागरिकको क्षेत्रमा गरेका गतिविधि तथा कामका बारेमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। यस्तै, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंले राज्यका तर्फबाट ज्येष्ठ नागरिकलाई जुन प्रकारको सेवा प्रदान गर्नुपर्ने हो, त्यो काम समाजले गरिरहेको भन्दै प्रशंसा गर्नुभयो।
कार्यक्रममा समाजका विभिन्न वडाका अध्यक्षहरूले आ–आफ्ना गतिविधि प्रस्तुत गरेका थिए। उनीहरूले समाजले ज्येष्ठ नागरिकको क्षेत्रमा गरेका काम तथा समाजको आवश्यकता र औचित्यका बारेमा धारणा राखेका थिए। यसअघि स्वागत मन्तव्य राख्दै समाजका उपाध्यक्ष भूपेन्द्र न्यौपानेले समाजको औचित्यका बारेमा प्रकाश पार्नुभएको थियो। विभिन्न सांस्कृतिक प्रस्तुति, भजन–कीर्तनसहित समाजको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको थियो।


दमक, असोज–झापाको दमक–८ सेतुमारी रोडमा अवस्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाले २७औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । राष्ट्रिय बहुमुखी सहकारी संस्थाको भवनमा शनिबार सम्पन्न २७औं वार्षिक साधारणसभामा आर्थिक वर्ष २०८२।०८३ मा विभिन्न विषयगततर्फ उत्कृष्ट सदस्यहरुलाई प्रोत्साहन वापत सम्मान तथा पुरस्कृत गरिएको छ ।
संस्थाले नियमित वचतकर्ताहरुबाट छनौट गरी उत्कृष्ट वचत गर्ने सदस्यहरु र कर्जा (ऋण) कारोबार गर्नेहरुबाट छनौट गरी उत्कृष्ट सदस्यहरुलाई सम्मान गरिएको हो ।
त्यस्तैं, अवकास प्राप्त भूपु वृटिश गोर्खा, भारतीय गोर्खा, सिंगापुर गोर्खा पुलिस, नेपाली सेना, नेपाल प्रहरीहरुवाट उमेरले जेष्ठताका आधारमा छनौट गरी सम्मान गरिएको छ ।
जेष्ठ सदस्यहरुबाट पुरुष २ जना महिला २ जनासहित ४ जनालाई वार्षिक साधारणसभामा सम्मान गरिएको छ । त्यस्तैं, शिक्षातर्फ प्रोत्साहन गर्न कक्षा–१२ उर्तिण गर्ने संस्थामा आवद्ध भएका सदस्यहरुका छोरा–छोरीबाट छात्रा १ र छात्रा १ गरी २ जनालाई नगद पाँच हजारसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
शिक्षातर्फ थप प्रोत्साहन गर्न संस्थाले स्नातक र स्नात्तकोत्तर उर्तिण गर्ने विद्यार्थीहरुलाई नगद पाँच हजार र सात हजारसहित सम्मान पत्र प्रदान गरिएको छ ।
कृर्षि क्षेत्रमा आर्कंषण गराउन संस्थाले कृषक सम्मान कार्यक्रमसमेत ल्याएको छ । बालबालिकाको नाममा नियमित वचतकर्ता सदस्यबाट एक जनालाई संस्थाले वार्षिक साधारणसभामा सम्मान गरेको हो ।
वर्षेनी संस्थामा कार्यरत कर्मचारीहरुको काम र सक्रियताको आधारमा योगदानको मुल्याङकन गर्दै एक जनालाई नगदसहित प्रशााां पत्रद्धारा सम्मान गरिएको छ ।
राष्ट्रिय बहुमुखी सहकारी संस्था सञ्चालक समितिका अध्यक्ष लछुदास राईको अध्यक्षतामा र संस्थाका जेष्ठ सदस्य क्याप्टेन बुद्धिबहादुर राईको प्रमुख आतिथ्यतामा वार्षिक साधारणसभा सम्पन्न भएको हो । सो सभामा उपाध्यक्ष टंकप्रसाद दुलालले स्वागत मन्तव्य राखेका थिए ।
सो सभामा सञ्चालक समितिको तर्फबाट संस्थाको प्रगति प्रतिवेदन अध्यक्ष लछुदास राई र लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजक इन्द्रमान चाम्लिङ राईले प्रतिवेदन पेश गर्नुभएको थियो ।
सोही अवसरमा संस्थाको वित्तिय बिवरणसम्बन्धी प्रमुख कार्यकारी अधिकृत प्रकाशचन्द्र वान्तवा राईले सहजिकरण गर्नुभएको थियो ।
सहकारी संस्थाले मोरङको पथरी र इलामको चुलाचुलीका सदस्यहरुलाई सेवासमेत प्रदान गर्दै आइरहेको छ । २७औं वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सञ्चालक समिति सचिव दिपेनवाला राईले गर्नुभएको थियो ।






