
दमक । झापाको दमक नगरपालिका वडा नम्बर ७ मा दशैँ–तिहारको अवसर पारेर आइतबार देखि टोलस्तरीय नकआउट फुटबल प्रतियोगिता २०८३ सुरु भएको छ । दमक–७ स्थित सिर्जना टोलको खेल मैदानमा सुरु भएको प्रतियोगितामा वडाभित्रका विभिन्न टोलका खेलाडीहरूको सहभागिता रहेको छ ।
दमक नगरपालिका वडा नम्बर ७ को सहयोग तथा दमक–७ वडा फुटबल समितिको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो। आयोजकका अनुसार प्रतियोगिता असोज ३१ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगिताको विजेता टोलीले नगद २० हजार रुपैयाँ र उपविजेता टोलीले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा दमक नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भीमप्रसाद पौडेल उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा वडा सदस्य अतिथि बान्तवा राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दमक–७ का अध्यक्ष विक्रम सुब्बा खाम्देन लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै आयोजक समितिका अध्यक्ष कमल मगरले प्रतियोगिताले टोलस्तरमा खेलकुदको विकास गर्न, युवालाई खेलकुदप्रति आकर्षित गर्न तथा आपसी सद्भाव र एकता बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
दमक । झापाको दमकमा एभरेस्ट हाइपर मार्केट प्रा. लि. को तेस्रो शाखा उद्घाटन गरिएको छ। घटस्थापनाको अवसर पारेर दमक–६, थाना रोडस्थित नन्दी मार्गको अगाडि सञ्चालनमा ल्याइएको नयाँ शाखाको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले रिबन काटेर उद्घाटन गर्नुभएको हो।
ग्राहकलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै दमकवासीलाई किनमेलमा थप सुविधा पुर्या उने उद्देश्यले नयाँ शाखा सञ्चालनमा ल्याइएको मार्केटका सञ्चालक चान मोहम्मदले बताउनुभयो।
उहाँका अनुसार दमकमा सञ्चालनमा आएको नयाँ शाखामा करिब १० करोड रुपैयाँ लगानी गरिएको छ। झापाको बाह्रदशी गाउँपालिका–राजगढमा मुख्य कार्यालय रहेको एभरेस्ट हाइपर मार्केटले अन्तर्राष्ट्रिय अनुभवलाई स्वदेशमै उपयोग गर्दै व्यवसाय विस्तार गर्ने उद्देश्यसहित सेवा सञ्चालन गरिरहेको उहाँले बताउनुभयो।
मार्केटका विभिन्न शाखामा १०० भन्दा बढी कर्मचारीले प्रत्यक्ष रोजगारी पाएको र दमकस्थित शाखामा मात्रै ३० जनाले रोजगारी पाएको सञ्चालकको दाबी छ। ग्राहकलाई एउटै स्थानबाट विभिन्न प्रकारका सामग्री उपलब्ध गराउने लक्ष्यसहित मार्केट सञ्चालनमा ल्याइएको जनाइएको छ।
एभरेस्ट हाइपर मार्केटले आगामी दिनमा इटहरी, काठमाडौंलगायत देशका अन्य प्रमुख सहरमा समेत शाखा विस्तार गर्ने लक्ष्य राखेको छ।
उद्घाटन कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं, दमक नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष टेकबहादुर थापा लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।
सुरुङ्गा, झापा। रोट्रयाक्ट क्लब अफ सुरुङ्गाको हस्ताक्षर परियोजना (Signature Project) अन्तर्गत सञ्चालित ‘Sharing Happiness’ कार्यक्रम कनकाई नगरपालिका वडा नं. ९ मा सफलतापूर्वक सम्पन्न भएको छ।
क्लबका अध्यक्ष Rtr. सोहन उप्रेतीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कार्यक्रम संयोजक Rtr. जेनिस चम्लागाई रहनुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडा अध्यक्ष राजेन्द्र उप्रेती, अतिथिका रूपमा वडा सदस्यहरू, रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष Rtn. अर्जुन बोहोरा तथा पूर्वअध्यक्ष Rtn. शिवकुमार कँडेलको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रमको स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यबारे प्रकाश कार्यक्रम संयोजक Rtr. जेनिस चम्लागाईले पार्नुभएको थियो भने कार्यक्रम सञ्चालन क्लबका सचिव Rtr. कृष्ण पुरीले गर्नुभएको थियो।
कार्यक्रमअन्तर्गत १२ जना बालबालिकालाई नयाँ कपडा वितरण गरिएको थियो। बालबालिकाको अनुहारमा खुसी ल्याउने, उनीहरूमा आत्मीयता र अपनत्वको भावना विकास गर्ने तथा समुदायमा सहयोग र सेवाको भावना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
वितरण गरिएका कपडाहरू रोट्रयाक्ट क्लब अफ सुरुङ्गाका चार्टर अध्यक्ष Rtr. मनीष उप्रेतीले सौजन्य गर्नुभएको थियो।
‘Sharing Happiness’ रोट्रयाक्ट क्लब अफ सुरुङ्गाको हस्ताक्षर परियोजना हो। यस परियोजनामार्फत क्लबले सामाजिक उत्तरदायित्व वहन गर्दै मानवीय सेवा, सहयोग र सामुदायिक विकासका क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य लिएको छ।
कार्यक्रमले समाजमा सेवा, सहकार्य र मानवीयताको भावना अभिवृद्धि गर्दै आवश्यकतामा रहेका बालबालिकाको जीवनमा खुसी बाँड्ने प्रेरणादायी सन्देश प्रवाह गरेको छ।
दमक । सहयोगी मनहरू नेपाल, दमक झापाले दशैं, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ। झापाको मेचीनगर नगरपालिका–९ स्थित कवि शिरोमणि माध्यमिक विद्यालय, खुट्टेडाँगीमा आयोजित कार्यक्रममा वडाका ३० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो।
मेचीनगर नगरपालिकाका प्रमुख गोपाल बुढाथोकीको प्रमुख आतिथ्य तथा वडा नं. ९ का अध्यक्ष कञ्चन तामाङको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा १३ जना पुरुषसहित ३० जना असहाय तथा अशक्त ज्येष्ठ नागरिकलाई जनही एक थान सिरक र एक जोर लुगा प्रदान गरिएको थियो।
दीप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष प्रकृति खड्काले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रमको औचित्यमाथि कार्यक्रम संयोजक प्रतीक्षा पराजुलीले प्रकाश पारेकी थिइन्। कार्यक्रमको सञ्चालन संस्थाका सचिव विष्णु उप्रेतीले गरेका थिए।
सम्मान सामग्री वितरण गर्दै प्रमुख अतिथि बुढाथोकीले संस्थाका गतिविधिलाई आफूले नजिकबाट नियालिरहेको बताए। उनले मानवीय सेवामा स्थानीय सरकारले पनि संस्थालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। स्थानीय सरकारको उपस्थिति हरेक क्षेत्रमा आवश्यक भए पनि त्यो मात्र पर्याप्त नहुने भन्दै सामाजिक संस्थाका कार्यक्रमलाई सफल बनाउन स्थानीय सरकारले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।
यसैगरी, प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्रकी केन्द्रीय सदस्य संगीता थापाले ज्येष्ठ नागरिक सम्मानजस्ता कार्यक्रमले ज्येष्ठ नागरिकप्रतिको सम्मानसँगै समाजप्रतिको उत्तरदायित्वसमेत झल्काउने बताइन्। उनले संस्थाले आयोजना गर्ने विभिन्न कार्यक्रममा आफूले पनि सहयोग गर्दै आएको उल्लेख गरिन्।
कार्यक्रममा संस्थाका तर्फबाट शुभकामना मन्तव्य राख्दै पुष्पराज भट्टराईले सहयोगी दाताहरूको साथ र सहयोगबाट कार्यक्रम सम्पन्न गर्न सफल भएको बताए। उनले विदेशमा रहेका ठाकुर भण्डारी, गोपालजंग बिष्ट र लक्ष्मण भण्डारी तथा सामाजिक व्यक्तित्वहरू संगीता थापा, विष्णु बुढाथोकी र सुमन कटवाललगायतले कार्यक्रमका लागि सहयोग गरेको जानकारी दिए।
कार्यक्रममा नेत्र न्यौपाने, कोषाध्यक्ष सीता तिम्सिना, सीता पौड्याल, दिलु दाहाल, मदन आचार्य, जानुका ओली, राजेश शिवाकोटी, अमृता गौतम र अर्जुन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।
संस्थाका अध्यक्ष भीमप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक सद्भाव कायम राख्दै दुःखी, असहाय तथा विपन्न व्यक्तिको सहयोगमा सहभागी हुन र अनावश्यक खर्च कटौती गरी सामाजिक कार्यमा हातेमालो गर्न संस्थाले सबैमा आग्रह गरेको छ।





