दमक, ४ मंसिर । झापाको दमककी स्तन क्यान्सरबाट पीडित ३७ वर्षीया गंगा विश्वकर्माले आफ्नो उपचारका लागि सहयोगको अपिल गरेकी छन्।
दमक नगरपालिका–५ स्थित ओमशान्ति टोलमा डेरामा बस्दै आएकी गंगाले ६ वर्षीया छोरीको भविष्यका लागि भए पनि आफू बाँच्न चाहेको बताएकी छन्। उनले आफ्नो उपचारमा सहयोग गरिदिन मनकारी व्यक्ति तथा संघसंस्थासँग आग्रह गरेकी हुन्।
दमक–५ स्थित दिपिनी आधारभूत विद्यालयको हलमा आयोजित पत्रकार भेटघाटमा गंगाले आफूलाई क्यान्सर भएको थाहा पाएपछि परिवारको सम्पूर्ण आर्थिक अवस्था कमजोर बनेको बताइन्। उपचारका क्रममा भएको धनसम्पत्ति खर्च भइसकेको र थप उपचारका लागि आर्थिक समस्या भएको उनको भनाइ छ।
गंगाका बुबा नारायण विश्वकर्माका अनुसार परिवारको आर्थिक अवस्था कमजोर छ। उनीहरू आफ्नै घरजग्गा नभएकाले डेरामा बस्दै आएका छन्।
करिब ८/९ महिनादेखि क्यान्सरबाट पीडित गंगाको हाल भरतपुरस्थित क्यान्सर अस्पतालमा किमोथेरापीमार्फत उपचार भइरहेको उनका श्रीमान् दीपेश दुलालले जानकारी दिएका छन्।
गंगाको उपचारमा सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाहरूलाई परिवारले बैंक अफ दमकमा रहेको खाता नम्बर ०९९०३६९५९१६००००१ मा आर्थिक सहयोग गरिदिन अनुरोध गरेको छ।
सानै उमेरकी छोरीको भविष्य र आफ्नो जीवन रक्षाका लागि गंगाले सबैसँग सहयोगको अपेक्षा गरेकी छन्।




























