
सुरुङ्गा, झापा। सफा, सुन्दर र स्वच्छ सुरुङ्गा निर्माण गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘सफा सुरुङ्गा महाअभियान’ अन्तर्गत फोहोर संकलन दौड प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। अभियानको पहिलो दिनमै ३६६ केजी नकुहिने फोहोर संकलन भएकाे कार्यक्रमम विद्यार्थी तथा स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो।
प्रतियोगितामा सन्दीप खत्रीको टोली प्रथम हुँदै १५ हजार रुपैयाँ पुरस्कार जित्न सफल भयो। त्यसैगरी, विल्सन थापालियाको टोली दोस्रो हुँदै १० हजार रुपैयाँ र रिदिमा संग्रौलाको टोली तेस्रो हुँदै ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भए। प्रतियोगिताको प्रथम पुरस्कार कनकाई सामुदायिक वन उपभोक्ता समूह, सुरुङ्गाले, दोस्रो पुरस्कार समाजसेवी दिपेश खत्रीले र तेस्रो पुरस्कार श्री पशुपति अङ्ग्रेजी माध्यमिक विद्यालयले प्रदान गरेका थिए।
यसैगरी, सरसफाइसम्बन्धी सामग्री निर्माण गरी सामाजिक सञ्जालमार्फत अभियानलाई प्रवर्द्धन गर्ने व्यक्तिका लागि ५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ। उक्त पुरस्कार न्यू संगीता ज्वेलरीका सञ्चालक रोज शंकरले प्रदान गर्ने भएका छन्। इच्छुक व्यक्तिले सरसफाइसम्बन्धी सामग्री निर्माण गरी आफ्नै सामाजिक सञ्जालमा प्रकाशित गरेर आयोजकलाई जानकारी गराउनुपर्नेछ।
प्रतियोगितामा श्री हरिकुल, कनकाई माध्यमिक विद्यालय, कनकाई बहुमुखी क्याम्पसलगायतका शैक्षिक संस्थाका विद्यार्थी तथा स्थानीयवासीले सहभागिता जनाएका थिए। कार्यक्रममा झापा क्षेत्र नं. ४ का सांसद शम्भु सुस्केरा र कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष जनक कार्कीले सम्बोधन गर्दै स्वच्छ सुरुङ्गा निर्माणका लागि आफ्नो तर्फबाट तथा सम्बन्धित संस्थामार्फत आवश्यक सहयोग र प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमलाई सफल बनाउन कनकाई नगरपालिका वडा नं. ३ को वडा कार्यालय, कनकाई उद्योग वाणिज्य संघ, सुरुङ्गा तथा सुरुङ्गा खानेपानी तथा सरसफाइ समितिको सहयोग रहेको थियो। प्रतियोगिताका क्रममा सहभागी बिरामी भएमा उपचारका लागि सुरुङ्गा मेडिसिन सेन्टर एण्ड क्लिनिकसमेत तयारी अवस्थामा रहेको थियो।
महाअभियान अन्तर्गत आगामी कार्यक्रमका रूपमा भाेली असाेज २८गते सरसफाइयुक्त सुरुङ्गा निर्माणका लागि प्रतिबद्धता जनाउने हस्ताक्षर अभियान तथा असोज २९ गते वृक्षरोपण कार्यक्रम ता असाेज ३० गते सम्मान ता पुरस्कार वितरण कार्यक्रमआयोजना गरिने जनाइएको छ।
अभियानका संयोजक दिवस कार्कीले यस अभियानले सुरुङ्गालाई स्वच्छ, सुन्दर र व्यवस्थित सहर बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनले भने, “सुरुङ्गालाई यस्तो राम्रो सहर बनाऊँ कि यहाँ आउने प्रत्येक व्यक्तिले आफ्नो ठाउँमा पुगेर पनि सुरुङ्गाजस्तै सफा र राम्रो सहर बनाउन खोजोस्।”
फोहोर संकलन दौड प्रतियोगितामार्फत सुरु भएको यस अभियानले सरसफाइप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै वातावरण संरक्षणमा सामूहिक सहभागिता र जिम्मेवारीबोध बढाउने अपेक्षा गरिएको छ।
दार्जिलिङ, / रसिक ग्राम सुधार समितिको आयोजनामा प्रथम अच्छा राई रसिक पुरस्कार–२०२६ तथा शरद् क्षेत्री सम्मान समारोह साहित्यिक एवं सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भयो। समारोहमा साहित्य, पत्रकारिता, शिक्षा तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान जनाइयो।
यस वर्षको प्रथम अच्छा राई रसिक पुरस्कार साहित्यकार छुदेन काविमोको उपन्यास ‘उरमाल’लाई प्रदान गरियो। वरिष्ठ साहित्यकार डा. गोकुल सिन्हाको बाहुलीबाट काविमोलाई उक्त पुरस्कार अर्पण गरिएको थियो। यस अवसरमा दिपेश प्रधानले अभिनन्दन पत्र वाचन गरे भने नवीन पेगाले खदा तथा सन्तवीर थामीले नेपाली टोपी अर्पण गरे। पुरस्कार ग्रहणपछि साहित्यकार काविमोले आफ्नो मन्तव्य राखे।
समारोहमा शरद् क्षेत्री पत्रकारिता सम्मान ‘नेपाल प्रज्ञा प्रतिष्ठान’ का प्राज्ञ दीपक सापकोटालाई प्रदान गरियो। पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप उनलाई सम्मानित गरिएको हो। प्रवीना खातुनले अभिनन्दन पत्र वाचन गरेको उक्त सम्मान कार्यक्रममा डा. गोकुल सिन्हाले सम्मान प्रदान गरे भने नवीन पेगाले खदा र सन्तवीर थामीले नेपाली टोपी अर्पण गरे।
त्यसैगरी, शरद् क्षेत्री विद्यावारिधि सम्मानबाट डा. वीणा हाङखिम र डा. नमिता थापालाई सम्मानित गरियो। डा. हाङखिमको अभिनन्दन पत्र नवीन पी. लिम्बूले वाचन गरे। उनलाई सन्तवीर थामीले सम्मान, सुलोचना क्षेत्रीले खदा तथा नवीन बी.के.ले शाल अर्पण गरे। अर्की सम्मानित व्यक्तित्व डा. नमिता थापाको अभिनन्दन पत्र सृजना थामीले वाचन गरिन् भने नवीन पेगाले सम्मान, रुपेश तामाङले खदा र नवीन बी.के.ले शाल अर्पण गरे।
कार्यक्रमअन्तर्गत रसिक ग्राम सुधार समितिको विशेष सम्मानबाट पूर्ण गिरी, श्री प्रदीप लामा (डेनिस), दीपक क्षेत्री तथा श्री आर.के. गुरुङलाई सम्मानित गरियो।
पूर्ण गिरीको अभिनन्दन पत्र सोनु राईले वाचन गरिन्। उनलाई मिठु प्रधानले खदा तथा चन्द्रकला मुखियाले सम्मानपत्र प्रदान गरिन्। त्यसैगरी, प्रदीप लामाको अभिनन्दन पत्र सृजना थामीले वाचन गरिन् भने रतन गुरुङले खदा अर्पण गर्दै सम्मान प्रदान गरे। दीपक क्षेत्रीको अभिनन्दन पत्र अनिशाले वाचन गरिन् भने सन्तवीर थामीले खदा तथा सम्मान प्रदान गरे। श्री आर.के. गुरुङको अभिनन्दन पत्र नवीन पी. लिम्बूले वाचन गरे।
शैक्षिक उपलब्धिको कदर गर्दै रसिक ग्राम सुधार समिति उत्कृष्ट विद्यार्थी पुरस्कार अनिशा रोकालाई प्रदान गरियो। उक्त पुरस्कार नवीन पी. लिम्बूले प्रदान गरे।
दीपक सापकोटाले दार्जिलिङको साहित्यबारे विशेष मन्तव्य राखे। उनले दार्जिलिङको साहित्यिक परिवेशलाई केन्द्रमा राखेर आफ्ना विचार प्रस्तुत गरे। त्यस्तै, देवाङ योञ्जनले पुरस्कारको महत्त्व र सान्दर्भिकतामाथि विशेष मन्तव्य राखे।
कार्यक्रमको सांस्कृतिक पक्ष पनि आकर्षक रह्यो। स्वागत नृत्यबाट आरम्भ भएको समारोहमा रिया सेठले सरस्वती वन्दना प्रस्तुत गरिन्। साहित्यकार मनोज बोगटीद्वारा रचित ‘तिम्रो सम्झना आउँछ’ कविता दिपेश प्रधानले वाचन गरे। कवि प्रवीण खालिङले पनि कविता सुनाए।
साङ्गीतिक प्रस्तुतिअन्तर्गत अभिदान हाङ पेगा र गायिका सोनु राई, सिर्जना थामीले आधुनिक गीत प्रस्तुत गरे भने उमंग तामाङले लोकगीत सुनाएर समारोहलाई थप जीवन्त बनाए।
साहित्यिक सिर्जना, पत्रकारिता, प्राज्ञिक उपलब्धि, सामाजिक योगदान तथा विद्यार्थी प्रतिभालाई एउटै मञ्चबाट सम्मान गरिएको यस समारोहले दार्जिलिङको साहित्यिक एवं सांस्कृतिक क्षेत्रमा महत्त्वपूर्ण सन्देश दिएको छ। प्रथम अच्छा राई रसिक पुरस्कारको थालनीसँगै रसिक ग्राम सुधार समितिले साहित्यिक स्रष्टाहरूको योगदानलाई संस्थागत रूपमा सम्मान गर्ने नयाँ अध्याय सुरु गरेको निबन्धकार सैलिका छेत्रीले जनाएकी छन्।





