२०८३ आश्विन २९ बिहीबार
२०८३ आश्विन २९ बिहीबार

दमक । झापाको कमल गाउँपालिका–५, पाडाजुङ्गीस्थित स्मारिका सामुदायिक बोर्डिङ स्कुलले नेपालीहरूको महान् चाड बडादशैंलाई लक्षित गर्दै विद्यार्थीलाई टीका लगाएर पर्व मनाएको छ।

विद्यालयका प्रधानाध्यापक गुणराज गिरीले विद्यार्थीलाई दशैंको टीका लगाइदिँदै आशीर्वाद प्रदान गर्नुभएको थियो। बालबालिकालाई नेपाली संस्कार, संस्कृति र परम्पराबारे व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले विद्यालयले विभिन्न चाडपर्वमा विद्यार्थीको सहभागितामा यस्ता कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ।

यसैगरी, छठ पर्वको मौलिकता झल्काउने उद्देश्यले विद्यालय परिसरमै पिङ निर्माण गरी पर्वसँग जोडिएका परम्परागत गतिविधिलाई प्रोत्साहन गर्ने काम गरिएको प्रधानाध्यापक गिरीले जानकारी दिनुभयो।

पुस्तकमा मात्र सीमित नराखी व्यवहारबाटै नेपाली संस्कार र संस्कृतिबारे विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको विद्यालयले जनाएको छ। यस्ता गतिविधिले नयाँ पुस्तामा नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वप्रतिको महत्व बुझाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कमल । झापाको कमल गाउँपालिकाका सबै ७ वटै वडामा श्रावण, भाद्र र आश्विन महिनाका आमा समूहका नियमित बैठकहरू सम्पन्न भएका छन्। समुदायस्तरमा महिला, बालबालिका तथा परिवारको स्वास्थ्य, पोषण, सरसफाइ र सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैठकहरू सञ्चालन गरिएका हुन्।

कमल गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा सञ्चालन हुँदै आएका आमा समूहका बैठकहरू समुदायस्तरमा स्वास्थ्यसम्बन्धी जानकारी प्रवाह गर्ने, महिलाका स्वास्थ्य समस्याबारे छलफल गर्ने तथा स्थानीय स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउन सहयोग पुर्‍याउने महत्त्वपूर्ण माध्यमका रूपमा रहेका छन्।

कमल गाउँपालिकामा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सदस्य सचिव रहने आमा समूहमा प्रत्येक महिना कम्तीमा एक दिन नियमित बैठक बस्ने व्यवस्था रहेको छ। महिला स्वास्थ्य स्वयंसेविकाको सहजीकरणमा सञ्चालन हुने बैठकमा समुदायका महिला तथा सदस्यहरूबीच स्वास्थ्य, सामाजिक समस्या र तिनको समाधानका उपायबारे छलफल तथा जानकारी आदानप्रदान गरिन्छ। आमा समूहको प्रत्येक बैठकमा स्वास्थ्यसम्बन्धी कम्तीमा एउटा विषयलाई अनिवार्य एजेन्डाका रूपमा समावेश गरी छलफल गर्नुपर्ने व्यवस्था रहेको छ।

बैठकका क्रममा बालविवाह तथा घरेलु हिंसा न्यूनीकरण, मर्यादित महिनावारी, पोषणयुक्त खानाको महत्त्व, व्यक्तिगत तथा वातावरणीय सरसफाइ, जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप अभियान, पोषण र राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम लगायतका विषयमा जानकारी दिँदै विस्तृत छलफल गरिएको थियो।

त्यसैगरी, गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य र पोषण, बालबालिकाको उचित हेरचाह, नियमित खोप, रोगको रोकथाम, स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सेवाको उपयोग तथा घरपरिवार र समुदायलाई स्वच्छ राख्नुपर्ने विषयमा समेत आमा समूहका सदस्यहरूलाई सचेत गराइएको छ। महिला स्वास्थ्य स्वयंसेविकाहरूले नियमित खोप कार्यक्रम तथा अन्य स्वास्थ्य अभियानमा सहभागी भई समुदायका नागरिकलाई जानकारी दिने, लक्षित वर्गको सहभागिता बढाउने र स्वास्थ्यकर्मीलाई सहयोग गर्ने कार्य गर्दै आएका छन्।

समुदायको घरदैलोसम्म स्वास्थ्य सेवा तथा जनचेतनामूलक कार्यक्रम पुर्‍याउन राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ। आमा समूहको बैठक सञ्चालन, खोप कार्यक्रम तथा अन्य स्वास्थ्य गतिविधिमा सहभागिता, आफ्नो टोल तथा गाउँमा मासिक कार्यसम्पादन र सम्बन्धित स्वास्थ्य संस्थामा मासिक प्रतिवेदन पेस गर्नेलगायतका जिम्मेवारीमा स्वयंसेविकाहरू संलग्न रहँदै आएका छन्।

उक्त कार्यमा सहजीकरण गर्न संघीय सरकारबाट ससर्त कार्यक्रमअन्तर्गत महिला स्वास्थ्य स्वयंसेविकालाई तोकिएका गतिविधि सञ्चालन तथा प्रतिवेदन पेस गरेबापत यातायात खर्चस्वरूप मासिक १ हजार ५०० रुपैयाँ उपलब्ध गराउने व्यवस्था रहेको छ।

यसैगरी, कमल गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाले समुदायमा पुर्‍याउँदै आएको योगदानलाई प्रोत्साहन गर्न पालिकाको तर्फबाट प्रत्येक स्वयंसेविकालाई मासिक ३ हजार ५०० रुपैयाँ यातायात खर्च उपलब्ध गराउँदै आएको गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले जानकारी दिनुभयो।

अध्यक्ष राईका अनुसार महिला स्वास्थ्य स्वयंसेविकाहरू समुदाय र स्वास्थ्य संस्थाबीचको महत्त्वपूर्ण सम्पर्क सेतुका रूपमा रहेका छन्। उनीहरूको सक्रियताले स्वास्थ्यसम्बन्धी सूचना नागरिकको घरदैलोसम्म पुर्‍याउन, खोप अभियानमा लक्षित वर्गको सहभागिता बढाउन तथा महिला र बालबालिकाको स्वास्थ्य सुधारका कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

आमा समूहका नियमित बैठकले महिलाहरूलाई आफ्ना स्वास्थ्यसम्बन्धी समस्या तथा जिज्ञासा राख्ने अवसर प्रदान गर्नुका साथै समुदायमा देखिने सामाजिक विकृति र स्वास्थ्यसम्बन्धी समस्याको पहिचान तथा समाधानमा सामूहिक सहभागिता बढाउन सहयोग पुर्‍याउँछन्।

कमल गाउँपालिकाको स्वास्थ्य शाखाले समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न, महिला तथा बालबालिकाको स्वास्थ्य सुधार गर्न र स्वास्थ्य कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा आमा समूह तथा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकालाई महत्त्व दिँदै आएको छ।

स्वस्थ परिवार, सचेत महिला र समुन्नत समुदाय निर्माणका लागि आमा समूहका नियमित बैठक तथा महिला स्वास्थ्य स्वयंसेविकाको सक्रियता महत्त्वपूर्ण आधार हुन्। यस्ता प्रयासले स्वस्थ, सुरक्षित, हिंसामुक्त तथा बालविवाहमुक्त समाज निर्माणमा योगदान पुर्‍याउने विश्वास लिइएको अध्यक्ष राई ले बताउनु भयो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।