
दमक। झापाको दमक निवासी बाल गायिका आश्मी भट्टराईको स्वरमा रहेको पहिलो गीत तथा म्युजिक भिडियो सार्वजनिक गरिएको छ। संगीतकार तथा गायक विशाल राईले एक संक्षिप्त कार्यक्रमबीच ‘मत सानी नानी……….’ बोलको बालगीत सार्वजनिक गरेका हुन्।
पूर्वाञ्चल मन्टेश्वरी इङ्लिस स्कुलकी छात्रा आश्मी सोही विद्यालयका संस्थापक निर्देशक माधव भट्टराई र प्रिन्सिपल सविता पोखरेलकी सुपुत्री हुन्। उनको पहिलो गीतको रचना संगीत प्रशिक्षक कमला खनालले गरेकी हुन् भने फणिन्द्र राईले संगीत भरेका छन्।
गीत सार्वजनिक कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहेका संगीतकार तथा गायक विशाल राईले बालबालिका भविष्यका धरोहर भएको उल्लेख गर्दै उनीहरूमा रहेको प्रतिभाको पहिचान, विकास र प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। उनले गायन प्रतिभालाई स्थापित गर्न गीतका शब्द रचना गर्ने तथा संगीत सिर्जना गर्ने सर्जकहरूको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहेको बताए।
बालबालिकामा रहेका विशेष प्रतिभा उजागर गर्न अभिभावकको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै राईले प्रतिभाको विकास र प्रवर्द्धनमा समाजको समेत सहयोग आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा बिहानी कला केन्द्रकी प्रशिक्षक तथा गीतकार कमला खनालले आश्मीको सानै उमेरदेखिको गायनप्रतिको रुचि र सम्भावनाबारे जानकारी गराएकी थिइन्। प्रिन्सिपल सविता पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा बाल प्रतिभालाई उचित अवसर, प्रोत्साहन र मार्गदर्शन दिन सके उनीहरूले भविष्यमा नेपाली गीतसंगीत क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने विश्वास व्यक्त गरिएको थियो।
आश्मीको पहिलो गीत तथा म्युजिक भिडियो सार्वजनिक भएसँगै उनको सांगीतिक यात्राले औपचारिक सुरुवात गरेको छ।





