
दमक – झापाको दमक नगरपालिका–६ स्थित ग्लोबल एजुकेसन एकेडेमीमा तिहार विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। विद्यालयमा शुक्रबार आयोजित कार्यक्रममा विद्यार्थीहरूबीच देउसी–भैलो तथा रङ्गोली प्रतियोगिता सञ्चालन गरिएको थियो। नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा विद्यार्थीहरूलाई सांस्कृतिक गतिविधिसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।
देउसी–भैलो प्रतियोगितामा कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई एक समूह र कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई अर्को समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो। देउसी–भैलो प्रतियोगितामा कक्षा १ का विद्यार्थी प्रथम भएको थियो। त्यस्तै, रङ्गोली प्रतियोगितामा कक्षा ९ र १० का विद्यार्थीबीच प्रतिस्पर्धा भएकोमा कक्षा १० प्रथम भएको थियो।
प्रतियोगितामा विजयी विद्यार्थी तथा समूहलाई विद्यालयले पुरस्कारसमेत वितरण गरेको थियो। कार्यक्रमका सम्बन्धमा विद्यालयकी कमला पौडेलले जानकारी दिनुभएको थियो। कार्यक्रम सञ्चालन नरेश पोखरेलले गर्नुभएको थियो भने अध्यक्षता विद्यालयका प्रधानाध्यापक गुणराज अधिकारीले गर्नुभएको थियो। कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
शिवसताक्षी – झापाको शिवसताक्षी नगरपालिका–८ स्थित ओएसिस एकेडेमीमा तिहार विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। विद्यालयमा शुक्रबार आयोजित कार्यक्रममा विद्यार्थीहरूबीच देउसी–भैलो तथा रङ्गोली प्रतियोगिता सञ्चालन गरिएको थियो।
देउसी–भैलो प्रतियोगितामा ब्लु हाउस प्रथम, रेड हाउस दोस्रो र ग्रिन हाउस तेस्रो भएका छन्। त्यस्तै, रङ्गोली प्रतियोगितामा रेड हाउस प्रथम भएको छ। प्रतियोगितामा विजयी विद्यार्थी तथा समूहलाई विद्यालयले पुरस्कारसमेत वितरण गरेको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक उदयप्रकाश राईले विद्यार्थीहरूलाई नेपाली कला, संस्कृति र परम्परासँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिनुभयो।
कार्यक्रमको उद्घाटन सत्र सञ्चालन समिक्षा तिम्सिनाले गर्नुभएको थियो भने अन्य कार्यक्रम विद्यार्थी ऋतु न्यौपाने र रत्न ढुङ्गेलले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य प्रयास चौधरी र अग्रता प्रसाईंले राख्नुभएको थियो।
पत्रकार अनिल देव राई तथा सेलिङ केसीले प्रतियोगिताको निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो। कार्यक्रमको अन्त्यमा विद्यालयका सम्पूर्ण शिक्षकहरू सहभागी भई देउसी–भैलो खेल्नुभएको थियो। विद्यालयका सम्पूर्ण शिक्षकहरूको समेत सहभागिता रहेको कार्यक्रमको अध्यक्षता प्रधानाध्यापक उदयप्रकाश राईले गर्नुभएको थियो।
झापा। कमल गाउँपालिकामा सञ्चालन भइरहेको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने आम अभियानको प्रमुख प्रशासकीय अधिकृत सुमन यङ्यासहितको टोलीले स्थलगत अनुगमन तथा सुपरिवेक्षण गरेको छ।
भखरै कमल गाउपालिकामा सरुवा भै आउनु भएका प्रमुख प्रशासकीय अधिकृत यङ्याले जिम्मेवारी सम्हालेसँगै गाउँपालिकाअन्तर्गत सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको अवस्था बुझ्ने क्रममा मिति २०८३ साल कार्तिक १७ र १८ गते सञ्चालित अभियानको अनुगमन गर्नुभएको हो। अनुगमन टोलीमा स्वास्थ्य शाखा प्रमुख दिपक प्रसाद दाहाल तथा अन्य कर्मचारीहरूको सहभागिता रहेको थियो।
अनुगमनका क्रममा टोलीले कमल गाउँपालिका–२ मिलन टोलस्थित उषा दाहालको घरमा सञ्चालित औषधि वितरण केन्द्र, कमल–३ केर्खास्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र, गौरा पराजुली र भूमिका भट्टराईको घरमा सञ्चालित केन्द्र तथा कमल नगर अस्पताल पुगेर कार्यक्रमको अवस्थाबारे जानकारी लिएको थियो।
अभियानअन्तर्गत गाउँपालिकाका २४ जना महिला स्वास्थ्य स्वयंसेविकामार्फत टोल–टोलमा पुगेर बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइएको थियो। त्यसैगरी गाउँपालिकाका आठवटै स्वास्थ्य संस्थाबाट समेत अभियान सञ्चालन गरिएको थियो। अभियानमा १९ जना स्वास्थ्यकर्मी तथा कर्मचारी परिचालन भएका थिए।
पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउनुका साथै नियमित पोषण चक्रमा बालभिटा प्राप्त गर्न छुटेका बालबालिकालाई बालभिटासमेत वितरण गरिएको थियो। साथै बालबालिकाले पूर्ण खोप प्राप्त गरे–नगरेको यकिन गर्ने, पोषण अवस्थाको स्क्रिनिङ गर्ने तथा मध्य पाखुराको परिधि (MUAC) मापन गरी कुपोषणको जोखिम पहिचान गर्ने कार्यसमेत गरिएको थियो।
स्वास्थ्य बिमा सेवासहित सञ्चालित कमल नगर अस्पतालको पनि सुपरिवेक्षण/अनुगमन
अभियानको सुपरिवेक्षण / अनुगमनसँगै प्रमुख प्रशासकीय अधिकृत यङ्याले स्वास्थ्य बिमा सेवासहित सञ्चालनमा रहेको कमल नगर अस्पतालको समेत स्थलगत सुपरिवेक्षण गर्नुभएको थियो।
सुपरिवेक्षणका क्रममा उहाँले अस्पतालको काउन्टर, फार्मेसी, आकस्मिक कक्ष, मातृशिशु कक्ष, ओपीडी, भिडियो एक्स–रे कक्ष, प्रयोगशाला (ल्याब), आँखा सेवा, दन्त सेवा, स्टोर, जडान गरिएको जेनेरेटर तथा डेन्टल चेयरलगायतका सेवा तथा संरचनाको अवलोकन गर्नुभएको थियो।
अस्पतालको समग्र सेवा प्रवाह, व्यवस्थापन र उपलब्ध सुविधाबारे जानकारी लिनुका साथै उहाँले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूसँग अन्तरक्रियासमेत गर्नुभएको थियो।
हाल कमल नगर अस्पतालमा दैनिक औसत २०० देखि २५० जनासम्म बिरामीले सेवा लिने गरेका छन् भने सोमबारको दिन बिरामीको चाप बढेर करिब ३०० देखि ३५० जनासम्म पुग्ने गरेको छ। अस्पतालले सेवा विस्तार गर्दै दन्त सेवा, आँखा सेवा तथा भिडियो एक्स–रे सेवा सञ्चालनमा ल्याएसँगै सेवाग्राहीको संख्या पनि बढ्दै गएको छ।
यसैबीच, अस्पतालले प्रत्येक बुधबार मानसिक रोग विशेषज्ञमार्फत मानसिक स्वास्थ्यसम्बन्धी सेवा पनि प्रदान गर्दै आएको छ। प्रमुख प्रशासकीय अधिकृत यङ्याको अनुगमनका दिन बुधबार पनि उक्त विशेषज्ञ सेवा सञ्चालनमा रहेको थियो।
स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकतासँग प्रत्यक्ष जोडिएको विषय भएकाले उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै गुणस्तरीय, सहज र प्रभावकारी सेवा प्रवाह गर्नु आवश्यक रहेको सन्दर्भमा अस्पतालको सेवा प्रवाह र व्यवस्थापनबारे उहाँले जानकारी लिनुभएको थियो।
बालबालिकाको स्वास्थ्य तथा पोषण सुधारदेखि आम नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालित कार्यक्रम तथा स्वास्थ्य संस्थाहरूको नियमित अनुगमन र सुपरिवेक्षणले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
दमक । सहयोगी मनहरू नेपाल, दमक झापाले आगलागीबाट घर पूर्ण रूपमा गुमाएकी अर्जुनधारा नगरपालिका–१, खैरेनी निवासी प्रेमकुमारी चौलागाईंलाई घर पुनर्निर्माणका लागि सहयोग गरेको छ।
गत कात्तिक ४ गते दशैँको टीकाको दिन विद्युत् सर्ट भई आगलागी हुँदा चौलागाईंको घर पूर्ण रूपमा जलेर नष्ट भएको थियो। घरको छानो निर्माणमा सहयोग पुर्याउने उद्देश्यले संस्थाले विभिन्न दाताहरूको सहयोगमा ३० हजार रुपैयाँ बराबरको जस्तापाता उपलब्ध गराएको हो।
कार्यक्रम संयोजक दिलु दाहालका अनुसार पीडित परिवारलाई राहतस्वरूप जस्तापाता हस्तान्तरण गरिएको हो। संस्थाका अध्यक्ष भीमप्रसाद आचार्यको सभापतित्वमा सम्पन्न हस्तान्तरण कार्यक्रममा पुष्पराज भट्टराईले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने सचिव विष्णु उप्रेतीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
कार्यक्रममा संस्थाका लेखा सदस्य राजेन्द्र शिवाकोटी, सदस्य दिलकुमारी भेटवाल (दिलु), सीता पौडेल, स्थानीय समाजसेवी पदमबहादुर निरौला लगायत स्थानीयवासीको उपस्थिति रहेको थियो।
सहयोगी मनहरू नेपालले विपद् तथा विभिन्न समस्यामा परेका व्यक्ति र परिवारलाई सहयोग गर्दै आएको छ। दाता र पीडितबीच सहयोगको पुल बन्दै आएको संस्थाले मानवीय सेवाका कार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ।





