२०८३ कार्तिक २२ शनिबार
२०८३ कार्तिक २२ शनिबार

हल्दिबारी, झापा । स्थानीय आवश्यकता पहिचान गर्दै सार्वजनिक हितका काममा युवाहरूको सक्रिय सहभागिता र सामूहिक पहलकदमीको उदाहरण प्रस्तुत गर्दै हल्दिबारीमा सडक सुरक्षा तथा सचेतनामूलक अभियान सम्पन्न भएको छ।

सडक दुर्घटना न्यूनीकरण, पैदलयात्रीको सुरक्षित आवागमन, ट्राफिक अनुशासनको प्रवर्द्धन तथा सार्वजनिक स्थलको सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले हल्दिबारीका युवाहरूको अगुवाइमा हल्दिबारी गाउँपालिका–२ स्थित भजन चोकमा उक्त अभियान सञ्चालन गरिएको हो। अभियानअन्तर्गत जेब्रा क्रस निर्माण, सडक सुरक्षा सचेतना, ट्राफिक कोन व्यवस्थापन तथा चोक सौन्दर्यकरणका कार्य सम्पन्न गरिएका छन्।

कार्यक्रमको उद्घाटन कोशी प्रदेश सभा सदस्य माननीय छविलाल चुडालले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो।

उद्घाटन समारोहमा हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन, वडा नं. २ का वडाध्यक्ष शुकलाल राजवंशी, वडा नं. ४ का वडाध्यक्ष सन्तु थापा मगर, गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र), जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्तोष राई, नेपाल रेडक्रस सोसाइटी हल्दिबारी उपशाखाका अध्यक्ष कर्णखर प्रसाईं, उद्योग वाणिज्य संघ हल्दिबारीका महासचिव कृष्ण प्रसाईं, एकता बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हरिकृष्ण अधिकारी, हल्दिबारी माध्यमिक विद्यालयका प्रधानाध्यापक टंक प्राखरिनलगायत जनप्रतिनिधि, सामाजिक अभियन्ता, स्थानीय युवा, सञ्चारकर्मी तथा सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले सडक सुरक्षाका मापदण्ड, ट्राफिक नियमको पालना, सवारीसाधन सञ्चालनसम्बन्धी कानुनी व्यवस्था तथा सडक दुर्घटना न्यूनीकरणका उपायबारे जानकारी गराउनुभएको थियो। उहाँले सडक सुरक्षालाई व्यक्तिगत सावधानीमा मात्र सीमित नराखी सामूहिक जिम्मेवारीका रूपमा आत्मसात् गर्नुपर्ने बताउँदै स्थानीय सरकार, सुरक्षा निकाय र नागरिकको सहकार्यमा सञ्चालन हुने यस्ता अभियानले दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने धारणा राख्नुभयो। युवाहरूको सक्रियता र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता प्रशंसनीय रहेको उहाँको भनाइ थियो।

त्यसैगरी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनले सुरक्षित सडक र व्यवस्थित आवागमन विकासको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो। उहाँले ट्राफिक नियमको पालना, सडक अनुशासन र दुर्घटना न्यूनीकरणका लागि स्थानीय सरकारसँगै प्रत्येक नागरिक जिम्मेवार बन्नुपर्ने बताउँदै यस्ता अभियानमा सामुदायिक सहभागिता र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

प्रमुख अतिथि चुडालले युवाहरूको अगुवाइमा स्थानीय स्तरमा भइरहेका सकारात्मक, सिर्जनात्मक तथा समाजोपयोगी कार्यको प्रशंसा गर्नुभयो। उहाँले समाज रूपान्तरणका लागि युवाहरूको ऊर्जा, सोच र सिर्जनशीलतालाई रचनात्मक कार्यमा परिचालन गर्नुपर्ने उल्लेख गर्दै भजन चोकमा गरिएको यस प्रयासले सुरक्षित आवागमन र जिम्मेवार नागरिक व्यवहारको विकासमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। साथै, यस्ता अभियानलाई हल्दिबारीका अन्य बजार तथा चोकहरूमा समेत विस्तार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो।

अभियानअन्तर्गत भजन चोकको स्तम्भमा नेपालको राष्ट्रिय झण्डा स्थापना, पैदलयात्रीका लागि जेब्रा क्रस निर्माण तथा सवारीसाधनको आवागमन व्यवस्थित गर्न ट्राफिक कोन राखिएको छ। यी कार्यले चोकको स्वरूपलाई थप व्यवस्थित र आकर्षक बनाउनुका साथै पैदलयात्री तथा सवारी चालकलाई सडक सुरक्षाप्रति सचेत गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अभियानका संयोजक असीम मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तथा सहजीकरण सामाजिक अभियन्ता अभिषेक खतिवडाले गर्नुभएको थियो।

कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पार्दै संयोजक मैनालीले स्थानीय आवश्यकतालाई प्राथमिकतामा राखेर युवाहरूको सामूहिक प्रयास, सकारात्मक सोच र सहयोगबाट अभियानलाई सफलतापूर्वक सम्पन्न गर्न सकिएको बताउनुभयो। उहाँले अभियानलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने जनप्रतिनिधि, सरकारी निकाय, संघसंस्था, सुरक्षाकर्मी, स्थानीयवासी तथा सम्पूर्ण सहयोगी महानुभावहरूप्रति आयोजकका तर्फबाट धन्यवाद तथा आभार व्यक्त गर्नुभयो।

सडक सुरक्षा केवल ट्राफिक नियमको पालना मात्र नभई नागरिकको जीवन रक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य समाज निर्माणसँग जोडिएको विषय हो। यही जिम्मेवारीबोधलाई व्यवहारमा उतार्दै युवाहरूले अघि सारेको यस अभियानले स्थानीय विकासमा नागरिक सहभागिता र सामूहिक पहलकदमीको महत्त्वलाई थप उजागर गरेको छ।

समस्या पहिचान गर्ने चेतना, समाधानका लागि अघि बढ्ने साहस र परिवर्तनका लागि एकजुट हुने सामूहिक भावना नै समाज विकासको वास्तविक आधार हो भन्ने सन्देश भजन चोकमा सम्पन्न यस अभियानले दिएको छ।

कमल – झापाको कमल गाउँपालिकामा नयाँ पुस्तालाई नेपाली मौलिक संस्कार, संस्कृति तथा धार्मिक परम्पराको महत्वबारे जानकारी गराउने उद्देश्यले स्मारिका सामुदायिक बोर्डिङ स्कुलको आयोजनामा ‘स्मारिका सांस्कृतिक संगम १.०’ कार्यक्रम सम्पन्न भएको छ।

कमल–५ स्थित विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रम कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तवारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा कमल गाउँपालिकाभित्रका १४ वटा कीर्तन मण्डलीको सहभागिता रहेको थियो। प्रतियोगितामा सहभागी मण्डलीहरूले देउसी, भजनकीर्तन तथा मौलिक सांस्कृतिक प्रस्तुति दिएका थिए।

प्रतियोगितामा लक्ष्मी नारायण कीर्तन मण्डली प्रथम, श्रीकृष्णहरि कीर्तन मण्डली द्वितीय र गुह्येश्वरी कीर्तन मण्डली तृतीय भएका छन्। विजेता मण्डलीहरूले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। कार्यक्रममा विद्यालयका फाउन्डर प्रिन्सिपल गुणराज गिरीले आधुनिकताको प्रभावसँगै नयाँ पुस्ता मौलिक संस्कार र संस्कृतिबाट टाढिँदै गएको अवस्थामा यस्ता कार्यक्रमले उनीहरूलाई आफ्नो पहिचान र परम्परासँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

संस्कृति र परम्पराको संरक्षण अग्रज पुस्ताको मात्र नभई नयाँ पुस्ताको पनि साझा दायित्व भएको उहाँको भनाइ थियो। कार्यक्रमले स्थानीय कीर्तन मण्डलीहरूबीच आपसी सद्भाव, सहकार्य र सांस्कृतिक एकता अभिवृद्धि गर्नुका साथै स्थानीय कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्यारउने अपेक्षा गरिएको छ। कार्यक्रममा स्थानीय संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

झापाको शिवसताक्षी नगरपालिका–७ फात्तेफस्थित बालसेवा आधारभूत विद्यालयमा एकदिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ। विद्यालयको आयोजना तथा दमक थुलुङ डेन्टल केयर सेन्टरको प्राविधिक सहयोगमा शुक्रबार शिविर सञ्चालन गरिएको हो।

शिविरमा १५८ जना विद्यार्थीका साथै शिक्षक, कर्मचारी र अभिभावकको दन्त परीक्षण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन ल्वागुनले जानकारी दिनुभयो। परीक्षणका क्रममा ४१ जना विद्यार्थीको दाँत निकालिएको थियो भने करिब ६० प्रतिशत विद्यार्थीलाई तत्काल दन्त उपचार आवश्यक देखिएको दमक थुलुङ डेन्टलकी सञ्चालिका तथा वरिष्ठ दन्त रोग विशेषज्ञ डा. सोफिया थुलुङले बताउनुभयो।

शिविरमा विद्यार्थीलाई दाँत तथा मुखको सरसफाइबारे सचेतना प्रदान गर्नुका साथै कोलगेट र ब्रससमेत वितरण गरिएको थियो। विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत शिविर सञ्चालनमा सहयोग पुर्‍याएको भन्दै दमक थुलुङ डेन्टल केयर सेन्टर र डा. सोफिया थुलुङलाई कदरपत्र प्रदान गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ल्वागुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक वेणु कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।