
दमक, मंसिर ७ । राष्ट्रिय कर सप्ताहको समापनका अवसरमा आन्तरिक राजस्व कार्यालय दमकले विभिन्न विधाका एक दर्जनभन्दा बढी उत्कृष्ट करदाता व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ।
गत वर्ष सबैभन्दा बढी कर दाखिला गर्ने उत्कृष्ट करदाताका रूपमा मिलेनियम सिद्धार्थ एजुकेसन फाउन्डेसन (सिद्धार्थ बोर्डिङ हाईस्कुल), लाइफलाइन अस्पताल, महावीर फार्मेसी, पञ्चमुखी फर्मा, मेडिसिन ट्रेड सेन्टर, धमला फलफूल सेन्टर, मेची बहुउद्देश्यीय सहकारी संस्था र जयगुरु राइस मिल सम्मानित भएका छन्।
त्यस्तै, सबैभन्दा बढी कर दाखिला गर्ने व्यक्ति तथा व्यवसायिक संस्थातर्फ दमककी विमला बुढाथोकी, राजेश मोटर्स, इस्टर्न फुड एन्ड बेभरेज, अर्नभ इन्टरप्राइजेज, पञ्चायन ट्रेड एन्ड सप्लायर्स, कन्काई ग्यास उद्योग, छिमेकी बचत तथा ऋण सहकारी संस्था, विष्ट हार्डवेयर, ओम श्री कसर उद्योग एन्ड सप्लायर्स, फुयल सुनचाँदी पसल, दियालो ह्याचरी र आर्यन मनी ट्रान्सफर पुरस्कृत भएका छन्।
सम्मानित व्यक्ति तथा संस्थालाई कार्यक्रमका विशेष अतिथि गोकुल श्रेष्ठले प्रमाणपत्र प्रदान गर्नुभएको थियो।
आन्तरिक राजस्व कार्यालय दमकका प्रमुख कर अधिकृत सूर्यबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले कर तिर्ने नागरिकलाई राज्यले संकलित राजस्व सही ठाउँमा सदुपयोग गरेको छ भन्ने विश्वास दिलाउन आवश्यक रहेकोमा जोड दिएका थिए।
कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं, मेची बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष नारायण भट्टराई तथा चार्टर्ड एकाउन्टेन्ट सुशील अग्रवाललगायतले कर प्रणालीलाई प्रभावकारी र पारदर्शी बनाउनुपर्ने धारणा राख्नुभएको थियो।
कर अधिकृत ज्ञानेन्द्र यादवले सम्मानित करदाता तथा संस्थाहरूको विवरण प्रस्तुत गर्नुभएको थियो।





