Author: Multi Media

  • दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग

    दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग

    असाेज १३, दमक / दमकस्थित न्यु नेपाल सुनचाँदी पसलका सञ्चालक प्रेमराज नेपालले ट्राफिक प्रहरी कार्यालय दमकलाई २० हजार बराबरको सिरक सहयोग गर्नुभएको छ।

    भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा ट्राफिक प्रहरी कार्यालयसहितका विभिन्न सरकारी कार्यालय जलेर ध्वस्त भएका थिए। कार्यालयलाई पुनः पूर्ण रुपमा स्थापना गर्ने उद्देश्यले यो सहयोग गरिएको सञ्चालक नेपालले जानकारी दिनुभयो।

    दशैँको फूलपानीको अवसर पारेर आयोजित कार्यक्रममा ट्राफिक प्रहरीलाई खादामाला लगाएर स्वागत पनि गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि रहनुभएका दमक उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजु खड्काले आन्दोलनपछि कार्यालयमा केही पनि नरहेको र स्थानीयस्तरको पहलमा पुनर्निर्माणको काम सम्पन्न हुन लागेको उल्लेख गर्नुभयो।

    त्यस्तै, ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख विजय राईले आन्दोलनका कारण ड्युटी गर्न असहज वातावरण सिर्जना भए पनि यस्ता सहयोगहरूले आगामी दिनमा सहज कार्यसम्पादनमा टेवा पुग्ने बताउनुभयो।

    कार्यक्रम सञ्चालन पूर्व प्रहरी मोहनकुमार बोगटीले गर्नुभएको थियो। कार्यक्रममा २० हजार बराबरका ११ थान सिरक वितरण गरिएको थियो। साथै ओम लक्ष्मी ज्वेलरीका सञ्चालक सीताराम नेपालको पनि उपस्थिति रहेको थियो।

  • दमकको लाइफलाइन अस्पतालमा डायलासिस सेवा विस्तार, अब १० बेडबाट सेवा उपलब्ध

    दमकको लाइफलाइन अस्पतालमा डायलासिस सेवा विस्तार, अब १० बेडबाट सेवा उपलब्ध

    असाेज १२ , दमक / दमकस्थित पुरानो अस्पताल लाइफलाइन अस्पतालमा सञ्चालन भइरहेको डायलासिस सेवालाई विस्तार गरिएको छ। रोटरी क्लब अफ दमकको सहकार्यमा सञ्चालित डायलासिस सेवामा थप ४ वटा बेड थपिएसँगै अब १० बेडबाट नियमित सेवा सञ्चालन हुने भएको छ।

    अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष बालचन्द्र सुब्बाको अध्यक्षतामा आयोजित कार्यक्रममा दमक नगर प्रमुख राम थापाले विस्तारित डायलासिस सेवा उद्घाटन गर्नुभयो। उनले बिरामीहरूको बढ्दो मागअनुसार सेवा थपिएको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यकताअनुसार अस्पतालका सेवाहरू विस्तार गरिने बताए।

    कार्यक्रममा शुभकामना दिँदै रोटरी क्लब अफ दमकका अध्यक्ष केशव अग्रवालले डायलासिस सेवाको गुणस्तर वृद्धिका लागि क्लब निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    सो अवसरमा लाइफलाइन अस्पताल सञ्चालक समिति सदस्य तथा लाइफलाइन कलेज व्यवस्थापन समितिका अध्यक्ष डाक्टर सूर्यनारायण शाह, दमक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कृष्ण शाह, आमदा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शिखर कटेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

    कार्यक्रममा दमक नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष भीमप्रसाद पौडेल, दमक नगर प्रहरी प्रमुख रुद्रजङ कार्की लगायतको उपस्थिति रहेको थियो।

  • दमकमा हाजिरी जवाफ र श्रुतिलेखन प्रतियोगिताको पुरस्कार वितरण सम्पन्न

    दमकमा हाजिरी जवाफ र श्रुतिलेखन प्रतियोगिताको पुरस्कार वितरण सम्पन्न

    असाेज ११, दमक / झापाको दमकमा टोलस्तरीय क्लबहरूबीच आयोजित हाजिरी जवाफ र श्रुतिलेखन प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।

    शनिबार दमक नगरपालिका वडा नम्बर ७ को सभाहलमा आयोजित कार्यक्रममा वडा बाल सञ्जालको आयोजनामा र वडा कार्यालयको सहकार्यमा प्रतियोगिता सम्पन्न गरिएको हो।

    श्रुतिलेखन प्रतियोगितामा नव सिर्जना टोल विकास संस्थाले प्रथम, पञ्चमुखी टोल विकास संस्थाले द्वितीय र क्षितिज टोल विकास संस्थाले तृतीय स्थान हासिल गरेका छन्। त्यस्तै, हाजिरी जवाफ प्रतियोगितामा आत्मा ज्ञान टोल विकास संस्थाले प्रथम, पञ्चमुखी टोल विकास संस्थाले द्वितीय र क्षितिज टोल विकास संस्थाले तृतीय स्थान प्राप्त गरेका छन्।

    कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ७ का वडाध्यक्ष भीमप्रसाद पौडेलले भौतिक संरचना मात्र नभई सामाजिक, शैक्षिक तथा बौद्धिक गतिविधिहरू पनि उतिकै आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा वडा सदस्य मानबहादुर गुरुङ, तारा रणपहेली, वडा सचिव योगेश भट्टराईसहित टोल विकास संस्थाका अध्यक्षहरूको सहभागिता रहेको थियो।

    दमक नगरपालिका वडा नम्बर ७ बाल क्लबकी अध्यक्ष सुवेक्षा बिमलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

  • दमक नमुनाको आन्तरिक ब्याडमिन्टन प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    दमक नमुनाको आन्तरिक ब्याडमिन्टन प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    असाेज ११, दमक । दमक नमुना ब्याडमिन्टन एकेडेमीको आन्तरिक ब्याडमिन्टन प्रतियोगिता २०८२ तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

    असोज १० र ११ गते दुई दिन एकेडेमीको हलमा सञ्चालित प्रतियोगिता दुई क्याटोगोरीमा सम्पन्न भएको थियो । ए र बि मिक्स फाइनल खेलमा कुशल बस्नेत र कविध्वज राईको जोडीले दिल कुमार आचार्य र रोशन कालिकोटेको जोडीलाई २१-१९ र २१-१४ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । सेमिफाइनल खेलमा विजेता टिमले सुदेन राई र डम्बर तुम्रोकको जोडीलाई १४-२१, २१-१३ र २५-२३ को सेटमा जित्दै ङ फाइनल प्रवेश गरेको थियो । यसैगरी उपविजेता टिमले पुष्पराज पाण्डे र सुवास राईको जोडीलाई २१-१२ र २१-११ को सोझो सेटमा हराएको थियो ।

    आजै सम्पन्न अर्को सि र डि मिक्सको फाइनल खेलमा मनु चाम्लिङ र दिपक मगरको जोडी च्याम्पियन बन्यो । उनीहरुले नरेश तामाङ र दिलु सुब्बाको जोडीलाई फाइनलमा २१-१२ र २१-१३ को सोझो सेटमा पाखा लगाएको थियो । सेमिफाइनलमा विजेताले रमेश राई र दिपक अधिकारीलाई २१-१४ र २१-७ को सेटमा हराएको थियो भने उपविजेताले निराजन श्रेष्ठ र ज्ञानु लिम्बूलाई २१-१९ र २१-१६ को सेटमा हराउदै उपाधि भिडन्त पक्का गरेको थियो ।

    ‘समाज विकाससँगै खेलकुदमा व्यावसायिकता, स्वास्थ्यको लागि राष्ट्रको लागि खेलकुद आजको आवश्यकता’ भन्ने मूल नाराका आयोजना गरिएको प्रतियोगिताको राइजिङ प्लेयरको उपाधि विगेन बस्नेत र आर्यन नेपालीले पाए ।

    यसका साथै दशैं तिहारको अवसरमा गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि दमक नगर प्रमुख राम थापा, अतिथि दमक ७ वडा अध्यक्ष भिम पौडेल, इलामको चुलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास बिक लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    कार्यक्रममा विभिन्न खेलकुद समितिका पदाधिकारी तथा सदस्य, ब्याडमिन्टन संघका पदाधिकारी तथा सदस्यहरु सहितको उपस्थिति रहेको थियो ।

  • दमकमा इलाका प्रहरी कार्यालय पुनर्निर्माणका लागि सहयोग

    दमकमा इलाका प्रहरी कार्यालय पुनर्निर्माणका लागि सहयोग

    असाेज ११, दमक / इलाका प्रहरी कार्यालय पुनर्निर्माणको महान् उद्देश्यलाई साथ दिँदै विभिन्न संघ–संस्थाहरूबाट सहयोग जारी छ। यसै क्रममा एक्टिभ आइरन दमक र उर्लाबारीका सञ्चालक तथा राष्ट्रिय स्वतन्त्र पार्टी दमक नगर अध्यक्ष सामाजिक व्यक्तित्व तीर्थ लामिछानेले रु. ५१,०००/- को चेक हस्तान्तरण गर्नुभएको छ।

     

    दमक नगरपालिकाले गठन गरेको पुनर्निर्माण समितिका अध्यक्ष एवं नगर प्रमुख रामकुमार थापा, दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा समितिका कोषाध्यक्ष गोपाल गुरागाई र इलाका प्रहरी कार्यालय दमकका प्रमुख राम तिमल्सिनालाई उक्त सहयोग हस्तान्तरण गरिएको हो।

     

    यससँगै लामिछानेले ट्राफिक प्रहरी कार्यालयका लागि पनि एउटा ढोका प्रदान गरी योगदान गर्नुभएको छ।

     

    प्रहरी प्रशासनको सुदृढीकरण र शान्ति–सुरक्षाको संवर्द्धनमा लामिछानेले गरेको यो सह्रदय सहयोग सामाजिक उत्तरदायित्व र समर्पणको उज्ज्वल उदाहरण बनेको समितिले जनाएको छ।

  • दमकमा क्लब हिमालयन टाइगरको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

    दमकमा क्लब हिमालयन टाइगरको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

    असाेज ११, दमक / क्लब हिमालयन टाइगरको स्थापना दिवसको अवसरमा झापाको दमकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। शनिबार दमक चोकमा आयोजित कार्यक्रममा ३५ पिन्ट रगत संकलन गरिएको हो।

     

    रेडक्रस सोसाइटी दमक उपशाखाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापा प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा बोल्दै नगरप्रमुख थापाले सामाजिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको क्लब हिमालयन टाइगरको प्रशंसा गर्दै रक्तदान अभियानप्रति आभार व्यक्त गर्नुभयो।

     

    कार्यक्रमको अध्यक्षता क्लब हिमालयन टाइगर दमक शाखाका अध्यक्ष खगेन्द्र बजगाईंले गर्नुभएको थियो। उहाँले चाडपर्वको समयमा रगतको अभाव हुने अवस्थालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।

     

    सो अवसरमा क्लबका पदाधिकारीहरू, सामाजिक अभियन्ता तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

  • दमकमा पहिलो पाइला नेपालद्वारा स्वागत तथा शुभकामना कार्यक्रम सम्पन्न

    दमकमा पहिलो पाइला नेपालद्वारा स्वागत तथा शुभकामना कार्यक्रम सम्पन्न

    असाेज १०, दमक / पहिलो पाइला नेपाल दमक शाखाले नयाँ सदस्यहरूलाई स्वागत गर्दै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। दशैंसहितका पर्वहरूको अवसरमा शुक्रबार दमक–५ स्थित संगम स्वीटमा कार्यक्रम आयोजना गरिएको हो।

    कार्यक्रमका प्रमुख अतिथि संगम स्वीटका सञ्चालक तथा संस्थाका सल्लाहकार विमल शर्माले नयाँ सदस्यलाई स्वागत गर्दै संस्थाको सामाजिक क्रियाकलापमा सक्रिय योगदान गर्न प्रेरित गर्नुभयो।

    संस्थाका अध्यक्ष राजु निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य मेघनाथ फुयाल, केन्द्रीय कोषाध्यक्ष दिवस खतिवडा, केन्द्रीय सदस्य लवराज खड्का लगायतको उपस्थिति रहेको थियो।

    नव सदस्यहरू सुजन गौतम, कृतिका कटेल, सन्जु सिवाकोटी, बिमला अधिकारी, नवराज अधिकारी, देबु गर्तौला, सक्षम पौडेल, अशोक बर्देवा, तुलसा कार्की र शिव शिवकोटीलाई विशेष स्वागत गरिएको थियो।

    अध्यक्ष निरौलाले शुभकामना आदानप्रदानसँगै संस्थाका आगामी योजना सार्वजनिक गर्दै दशैंपछि भाग्य बोक्ने झोला कार्यक्रम र स्वास्थ्य शिविर सञ्चालन गरिने जानकारी दिनुभयो। कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष लवराज खड्काले गर्नुभएको थियो।