Author: Multi Media

  • राष्ट्रिय बहुमुखी सहकारीको २६औं वार्षिक साधारणसभा सम्पन्न

    राष्ट्रिय बहुमुखी सहकारीको २६औं वार्षिक साधारणसभा सम्पन्न

    दमक, असोज ९ – दमक–८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्था लिमिटेडको २६औं वार्षिक साधारणसभा शुक्रबार दमकस्थित कस्मिक पार्टी प्यालेसमा सम्पन्न भएको छ।

     

    कार्यक्रमको उद्घाटन सहकारीका अध्यक्ष लक्षुदास सोताङ राईले गर्नुभयो। उहाँले सहकारी क्षेत्र हाल गम्भीर संकटमा रहेको उल्लेख गर्दै राज्यले आर्थिक सुधारका लागि बलियो सहकारी नीति ल्याउनुपर्नेमा जोड दिनुभयो।

     

    सभामा लेखा समिती संयोजक सुरेन्द्र लिम्बुले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। प्रतिवेदनअनुसार सहकारीले यसै वर्षदेखि सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरेको छ। हाल सहकारीको कुल पुँजी ४ करोड ४१ लाख २७ हजार ६ सय रहेको प्रतिवेदनमा उल्लेख छ।

     

    कार्यक्रममा उत्कृष्ट बचतकर्तासहित दुईजना जेष्ठ सदस्यलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो। त्यस्तै +2 तहमा उत्कृष्ट अंक ल्याउने चार विद्यार्थी, बाल बचतकर्ता तथा कर्मचारीलाई समेत सम्मान गरिएको सहकारीका सचिव दिपेन बाला राईले जानकारी दिनुभयो।

     

    वि.सं. २०५६ सालमा २७ जना सेयर सदस्यबाट एक लाख रुपैयाँ पुँजीसहित स्थापना भएको सहकारीमा हाल १,१७४ जना सदस्य आवद्ध छन्। संस्थाले क्रमिक रूपमा आफ्नो सेवा क्षेत्र विस्तार गर्दै आएको छ। हाल गौरादह नगरपालिका–१ देखि ८, कमल गाउँपालिका, इलामको चुलाचुलि गाउँपालिका, मोरङको मिक्लाजुङ–२ देखि ९, पथरी नगरपालिका–१, २, ३ र ७, उर्लाबारी नगरपालिका–१ तथा लेटाङ नगरपालिका–२, ६, ८ र ९ नम्बर वडामा सेवा विस्तार गरेको सस्थाले जनाएको छ ।

  • दमकमा राप्रपाद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    दमकमा राप्रपाद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    असाेज १०, दमक / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दमक नगर समितिद्वारा बडा दशैं, शुभ दिपावली, छैट पर्व तथा नेपाल संवत् लगायतका चाड–पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
    शुक्रबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका नगर समिति सदस्य, पदाधिकारी तथा स्थानीय कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
    कार्यक्रमका दौरान हालै भएको जेन्जी आन्दोलनका क्रममा भोगिएका भौतिक क्षति तथा वर्तमान मुलुकको अवस्थाबारे समेत विस्तृत विश्लेषण गरिएको थियो। साथै राप्रपाले हालको चुनौतीपूर्ण परिस्थितिमा कसरी संगठनलाई मजबुत बनाउँदै अघि बढ्ने भन्ने विषयमा छलफल गरिएको बताइएको छ। सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्दै पार्टीको सशक्त उपस्थिति सुनिश्चित गर्नुपर्नेमा पनि जोड दिइयो।
    कार्यक्रम राष्ट्रिय प्रजातन्त्र पार्टी दमक नगर समितिका अध्यक्ष हेम सुवेदीको अध्यक्षतामा सम्पन्न भएको हो।

  • दमक ईसाई समाजबाट इलाका प्रहरी कार्यालय भवन पुनर्निर्माणका लागि सहयोग

    दमक ईसाई समाजबाट इलाका प्रहरी कार्यालय भवन पुनर्निर्माणका लागि सहयोग

    असाेज १०, दमक / “दाजुभाइहरू एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ” भन्ने मूल नारासहित दमक ईसाई समाजले इलाका प्रहरी कार्यालय दमकको भवन पुनर्निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ।

    गएको जेन्जी आन्दोलनमा क्षति पुगेको भवन पुनःनिर्माण कार्यका लागि दमक नगर ईसाई समाजले कुल रु. २,१६,६५५/- (दुई लाख सोहजार छसय पचपन्न रुपैया) सहयोग हस्तान्तरण गरेको हो।

    सो रकम भवन निर्माण समितिका कोषाध्यक्ष तथा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुराँगाईलाई, पूर्व दमक ईसाई समाज अध्यक्ष आकाश थुलुङ र धनकुमार राईको हातबाट औपचारिक रूपमा प्रदान गरिएको थियो।

    सहयोग हस्तान्तरण कार्यक्रममा इलाका प्रहरी कार्यालय दमकका प्रमुख डी.एस.पी. राम प्रसाद तिमिल्सिना, दमक नगर ईसाई समाजका अध्यक्ष तथा विभिन्न चर्चका धर्मगुरुहरूको उपस्थिति रहेको थियो।

    दमक ईसाई समाजसँग आबद्ध विभिन्न मण्डलीहरूले स्वेच्छिक रूपमा उठाएको सो रकम सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिएको समाजले जनाएको छ।

    सामाजिक उपसमितिले भवन पुनर्निर्माणमा सहयोग गर्ने सबै मण्डली र परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।

  • कमल गाउँपालिकाबाट इलाका प्रहरी कार्यालय दमकलाई सवारी साधन हस्तान्तरण

    कमल गाउँपालिकाबाट इलाका प्रहरी कार्यालय दमकलाई सवारी साधन हस्तान्तरण

    असोज ९, कमल / कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईको पहलमा इलाका प्रहरी कार्यालय दमकलाई सवारी साधन हस्तान्तरण गरिएको छ।

    गाउँपालिकाले शान्ति–सुरक्षा सुदृढीकरणका लागि आवश्यक ठानेर उपलब्ध गराएको पिकअप भ्यानको चाबी प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकाल र समाजसेवी लायन भिम पौडेलले संयुक्त रूपमा इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी राम प्रसाद तिम्सिनालाई हस्तान्तरण गर्नुभयो।

    कार्यक्रममा डिएसपी तिम्सिनाले प्रहरी सेवामा सहजता ल्याउन गाउँपालिकाले गरेको योगदान ऐतिहासिक भएको टिप्पणी गर्दै धन्यवाद व्यक्त गर्नुभयो।

    त्यसैगरी, गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

    स्थानीयबासीहरूले अध्यक्ष राईको पहलमा गरिएको यो योगदानले शान्ति–सुरक्षा प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

  • दमकमा शान्ति–सुरक्षाका लागि ऐतिहासिक सहयोग, प्रहरीलाई गाडी र मोटरसाइकल हस्तान्तरण

    दमकमा शान्ति–सुरक्षाका लागि ऐतिहासिक सहयोग, प्रहरीलाई गाडी र मोटरसाइकल हस्तान्तरण

    असाेज ८, दमक / दमक नगरपालिकाले नगरमा शान्ति, सुरक्षा र सुव्यवस्था सुदृढ बनाउन इलाका प्रहरी कार्यालय दमकलाई एक थान गाडी र दुई थान मोटरसाइकल हस्तान्तरण गरेको छ।

    बुधबार आयोजित विशेष हस्तान्तरण कार्यक्रममा दमक नगरपालिका मेयर आदरणीय राम थापा र उपप्रमुख रेगिना भट्टराईले इलाका प्रहरी कार्यालयका डिएसपी राम तिम्सिनालाई गाडी र मोटरसाइकल हस्तान्तरण गर्नुभयो।

    यस सहयोगअन्तर्गत गाडी दमक खानेपानीतर्फबाट र मोटरसाइकल नगरपालिकाबाट उपलब्ध गराइएको हो। मेयर थापाले यो सहयोगले नगरवासीको सुरक्षामा थप विश्वास दिलाउने र अपराध नियन्त्रणमा प्रहरीलाई सहजता दिने बताउनुभयो।

    स्थानीयवासीले समेत यो कदमलाई स्वागत गर्दै यसलाई नगरमा शान्ति र विकासको आधारशिला ठहर गरेका छन्। नगरपालिकाले सुरक्षा प्राथमिकतालाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

    १ थान गाडी र २ थान मोटरसाइकल इलाका प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको हाे भने गाडी दमक खानेपानी र मोटरसाइकल नगरपालिका तर्फबाट प्रधान गरिएको थियो ।

  • दमक ट्राफिक प्रहरी कार्यालयलाई सामग्री सहयोग, पुनर्निर्माण तीव्र

    दमक ट्राफिक प्रहरी कार्यालयलाई सामग्री सहयोग, पुनर्निर्माण तीव्र

    असाेज ८, झापा, दमक – भदौ २३ र २४ गते देशव्यापी आन्दोलनका क्रममा जलेर ध्वस्त भएको दमक ट्राफिक प्रहरी कार्यालयलाई पुनःस्थापना गर्न स्थानीय स्तरमा सहयोग अभियान सुरु भएको थियो ।

    सुमन फर्निचर उद्योग दमकले कार्यालयका लागि आवश्यक दराज, पलङ लगायतका सामग्रीहरू सहयोग गरेको छ। उद्योगका सञ्चालक नवीन श्रेष्ठका अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत इलाका प्रहरी कार्यालय अन्तर्गतको ट्राफिक प्रहरी कार्यालयको तत्काल आवश्यकता देखेर सहयोग प्रदान गरिएको हो।

    त्यस्तै ब्राइटन करियर कन्सल्टेन्सी दमक–६ ले कार्यालय सञ्चालनका लागि आवश्यक टेबल र कुर्सी सहयोग गरेको छ। कन्सल्टेन्सीका सञ्चालक युवराज निरौलाले दमकमा ट्राफिक प्रहरीको सहज परिचालन र सुरक्षा व्यवस्थापनलाई सहयोग पुर्‍याउने उद्देश्यले यो कदम चालेको बताउनुभयो।

    रोयल स्पोर्टिङ क्लब दमकले जलेको ट्राफिक प्रहरी कार्यालय पुनर्निर्माणको जिम्मा लिएर निर्माण कार्यलाई तीव्र बनाएको छ। विभिन्न स्थानीय दाताको सहयोगमा कार्यालय निर्माण धमाधम भइरहेको र चाँडै नै पूर्ण रूपमा सञ्चालनमा आउने बताइएको छ।

    यस किसिमका स्थानीय सहयोग र पहलले दमकमा ट्राफिक व्यवस्थापन र सुरक्षामा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

  • दमकमा ‘राम थापा आवास पुनर्निर्माण नागरिक सहयोग समिति’ गठन, नगर प्रमुखलाई सहयोगको आह्वान

    दमकमा ‘राम थापा आवास पुनर्निर्माण नागरिक सहयोग समिति’ गठन, नगर प्रमुखलाई सहयोगको आह्वान

    असाेज ८, दमक / हालैको आन्दोलनका क्रममा दमक नगर प्रमुख रामकुमार थापाको घर जलेर पूर्णरूपमा ध्वस्त भएको छ। जीवनभरको सम्पत्ति र पसिनाको कमाइ क्षणमै खरानी बनेपछि नगर प्रमुख थापा हाल अरूको घरमा आश्रित हुन बाध्य भएका छन्।

    उहाँको यो पीडा र घरबार विहीनताको अवस्थाले सम्पूर्ण दमकबासीलाई स्तब्ध बनाएको छ। आफ्नै पीडा लुकाएर समेत जनताको सेवामा खटिरहनु भएका नगर प्रमुखको यो कठिन घडीमा सहानुभूति र सहयोग जुटाउने उद्देश्यले ‘राम थापा आवास पुनर्निर्माण नागरिक सहयोग समिति’ गठन गरिएको छ।

    समितिको अध्यक्षमा भीम पौडेल, सचिवमा राजु खड्का, कोषाध्यक्षमा अम्बर कुमाल रहेका छन् भने सदस्यहरूमा राजकुमार योङ्या, योगराज दङ्गाल, सुरेन्द्र नेम्बाङ र सल्लाहकारमा वासुदेव भट्टराई रहेका छन्।

    समितिले नगर प्रमुखको आवास पुनर्निर्माण मात्र नभई, संकलित रकमको केही अंश अन्य पीडितहरूलाई पनि सहयोग गर्ने प्रतिज्ञा गरेको छ। समितिले दमकका सबै आमाबुवा, दाजुभाइ, दिदीबहिनी, संघ–संस्था, उद्योगी–व्यवसायी, विद्यार्थी र समाजका शुभेच्छुकलाई यो अभियानमा सहभागी भई सहयोगको हात अघि बढाउन भावुक आह्वान गरेको छ। समितिको भनाइमा, “यो अभियान केवल एउटा घर पुनर्निर्माण मात्र होइन, करुणा र मानवताको पुनर्जागरण हो।”