Author: Multi Media

  • मन्त्री घिसिङद्वारा बाढीपहिरो प्रभावित इलामको स्थलगत निरीक्षण, तत्काल राहत र पुनर्निर्माण अघि बढाइने

    मन्त्री घिसिङद्वारा बाढीपहिरो प्रभावित इलामको स्थलगत निरीक्षण, तत्काल राहत र पुनर्निर्माण अघि बढाइने

    काठमाडौं, २५ असोज । भौतिक योजना तथा यातायात मन्त्री कुलमान घिसिङले सरकारको प्राथमिकतामा राहत र पुनःनिर्माण रहेको बताएका छन् । आज बाढीपहिरो प्रभावित इलामको स्थलगत निरीक्षणपछि उनले भने, ‘सरकार प्रभावित नागरिकसँगै छ, तत्कालीन राहत र दीर्घकालीन पुनर्निर्माणका काम अघि बढाइनेछ ।’

    रोङ गाउँपालिका, सूर्योदय नगरपालिका हुँदै इलाम नगरपालिका–१० राजदुवाली आइपुगेका मन्त्री घिसिङले इलाम, सन्दकपुर, माईजोगमाई र वरपरका बस्तीमा पुगेर स्थानीयवासीसँग क्षति र राहत व्यवस्थाबारे जानकारी लिने छन् । उनले राजदुवाली सडक, मिल घुम्तीलगायतका क्षतिग्रस्त सडक र संरचनाको अवस्था अवलोकन गरेका छन् । गत असोज १८ गते रातिको भीषण वर्षापछि ठूलो जनधनको क्षति भएकाले सरकारले इलामलाई तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । बाढी र पहिरोका कारण अहिलेसम्म इलाममा ३९ जनाको मृत्यु भएको छ ।

  • शिवसताक्षी धरमपुरमा स्कुटर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई जना गम्भीर घाइते

    शिवसताक्षी धरमपुरमा स्कुटर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई जना गम्भीर घाइते

    असाेज २४, शिबसताक्षी / झापाको शिबसताक्षी–१ धरमपुरमा स्कुटर र मोटरसाइकल एकापसमा ठोकिएर एक जनाको मृत्यू भएको छ । सोही दुर्घटनामा परेर दुईजना गंभीर घाइते भएका छन् ।

    दुर्घटनामा गंभीर घाईते तीनै जनालाई उपचारका लागि विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारत पठाइएको थियो । उपचारको क्रममा बिर्तामोड–५ की निरुता भट्टराईको मृत्यु भएको छ । मृतक भट्टराई स्कुटी चालक हुन् ।

    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी– १ धरमपुरस्थित भित्री पक्की सडकखण्डमा शुक्रवार दिउँसो १।३० वजे दई सवारीसाधन एकआपसमा ठोकिएर दुर्घटना भएको थियो ।

    दक्षिणी क्षेत्र पाराबारीबाट धरमपुर चौकतर्फ आउँदै गरेको प्र १–०१–०१६ प ९३५८ नं को स्कुटर र बिपरित दिशाबाट जाँदै गरेको प्र १–०२–०४३ प ९४७५ नम्बरको मोटरसाइकल एकापसमा जुधेको हो ।

    दुर्घटनामा स्कुटर चालक भट्टराई, सोही स्कुटी पछाडी सवार सिन्धुपाल्चोक चिम्लिङबेसी –४ बस्ने बर्ष–३४ का सिताराम पराजुली र मोटरसाइकल चालक मोरङ उर्लाबारी–१ बस्ने अन्दाजी बर्ष–३१ का सुरज कार्की पनि गंभीर घाइते भएका थिए ।

    घाइते दुईजनाको सोही अस्पतालमा उपचार भइरहेको र दुवै सवारी इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • दमक पशुहाटको नालीभित्र अज्ञात पुरुषको शव फेला

    दमक पशुहाटको नालीभित्र अज्ञात पुरुषको शव फेला

    झापा, असोज २४। झापाको दमक–७ स्थित पशुहाट परिसरभित्र एक अज्ञात पुरुषको शव फेला परेको छ। शुक्रबार बिहान स्थानीय बासिन्दाले टिनको छानो भएको पशु राख्ने टहरामा गाईवस्तुले पानी खाने नालीभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

    इलाका प्रहरी कार्यालय दमकका अनुसार मृतक करिब ५० देखि ५५ वर्ष उमेर समूहका पुरुष हुन्, तर हालसम्म उनको पहिचान खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृतकको दाहिने गालामा धारिलो हतियार प्रहार गरिएको जस्तो देखिएको छ।

    घटनाको प्रकृति र कारणबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ। शव परीक्षणका लागि दमक अस्पताल ल्याइएको छ भने घटनास्थलमा प्रहरी टोली पुगेर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

  • झापामा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गर्ने युवक पक्राउ

    झापामा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गर्ने युवक पक्राउ

    झापा, असोज २४ — झापामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौरादह नगरपालिका–५, कटकपुर निवासी १८ वर्षीय राघव धमला रहेका छन्।

    प्रहरीका अनुसार उनले गत चैत २५ गते आफ्नै घर नजिकको बाँसघारीमा १३ वर्षीया बालिकालाई डर र त्रास देखाई जबरजस्ती करणी गरेका थिए। पीडित बालिका गर्भवती भएपछि घटना सार्वजनिक भएको बताइएको छ।

    पीडितकी आमाले इलाका प्रहरी कार्यालय झिलझिलमा उजुरी दिएपछि प्रहरी टोलीले धमलालाई नियन्त्रणमा लिएको हो। हाल उनलाई इलाका प्रहरी कार्यालय झिलझिलमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रहरीले घटनाबारे थप विवरण संकलन गर्दै आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको छ।

  • राजेन्द्र लिङ्देनको प्रस्ताव : ‘राष्ट्रपतिको ठाउँमा राजा, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री आवश्यक’

    राजेन्द्र लिङ्देनको प्रस्ताव : ‘राष्ट्रपतिको ठाउँमा राजा, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री आवश्यक’

    हेटौंडा, मकवानपुर — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा राष्ट्रपतिको स्थानमा राजा र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन्।

    राप्रपा मकवानपुरद्वारा हेटौंडाको एभोकाडो होटलमा आयोजित भेटघाट तथा अगुवा कार्यकर्ता कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले वर्तमान शासन प्रणालीमा सुधार आवश्यक रहेको बताउँदै यस्तो व्यवस्था राष्ट्रको समृद्धि र स्थायित्वका लागि जरुरी भएको धारणा राखे।

    उनका अनुसार लोकतान्त्रिक प्रवृत्तिका रूपमा ‘राजा र कार्यकारी प्रधानमन्त्रीको समावेशी संयोजन’ नै देशलाई सही दिशामा अघि बढाउने माध्यम बन्न सक्छ। लिङ्देनले भने, “राष्ट्रपतिको भूमिका तटस्थ रहनुपर्ने हो भने, देशलाई समृद्धि र प्रजातान्त्रिक दृष्टिकोणबाट अघि बढाउन प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र सशक्त राजा प्रणाली आवश्यक छ।”

    कार्यक्रममा उपस्थित राप्रपाका अगुवा कार्यकर्ताहरूले पनि लिङ्देनको विचारमा सहमति जनाउँदै आगामी दिनमा यस विषयमा थप छलफल र अभियान सञ्चालन गर्ने तयारी भएको बताएका छन्।

    भेटघाट कार्यक्रममा पार्टीको आगामी रणनीति, संगठन सुदृढीकरण र राष्ट्रिय राजनीतिक दिशाबारे पनि विस्तृत छलफल गरिएको र विभिन्न सुझावहरू संकलन गरिएको जनाइएको छ।

  • दमक मेनपावर संघ झापाबाट प्रहरी कार्यालय पुनर्निर्माणका लागि १ लाख ५७ हजार बराबरका सामग्री सहयोग

    दमक मेनपावर संघ झापाबाट प्रहरी कार्यालय पुनर्निर्माणका लागि १ लाख ५७ हजार बराबरका सामग्री सहयोग

    दमक, २३ असोज / झापाको दमकस्थित इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय पुनर्निर्माणका लागि दमक मेनपावर संघ झापाले १ लाख ५७ हजार बराबरका जिन्सी सामग्री प्रदान गरेको छ।

    गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा दमक इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय जलेर ध्वस्त भएका थिए। ती कार्यालयहरूको पुनर्निर्माणका लागि सहयोगस्वरूप संघले इलाका प्रहरी कार्यालय दमकलाई एक थान दराज, दुई थान टेबल, ३० थान प्लास्टिकका कुर्सी र २५ पिस सिलिङ फेन प्रदान गरेको हो। त्यस्तै, ट्राफिक प्रहरी कार्यालय दमकलाई एक थान फ्रिज र २० थान प्लास्टिकका कुर्सी उपलब्ध गराइएको संघका अध्यक्ष राजकुमार लिम्बूले जानकारी दिनुभयो।

    संघले इलाका प्रहरी कार्यालयका लागि १ लाख १७ हजार र ट्राफिक प्रहरी कार्यालयका लागि ४० हजार बराबरका सामग्री हस्तान्तरण गरेको थियो।

    सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष लिम्बूले जेनजी आन्दोलनका क्रममा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै दमकको सुरक्षात्मक वातावरण सुदृढ गर्न संघले सहयोग गरेको बताउनुभयो।

    दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा इलाका प्रहरी कार्यालय पुनर्निर्माण समितिका कोषाध्यक्ष गोपाल गुरागाईका अनुसार इलाका प्रहरी कार्यालय दमकको पुनर्निर्माण कार्य धमाधम भइरहेको छ। विभिन्न संघसंस्थाको सहयोगमा भवनको रंगरोगन र मर्मतका काम तीव्र गतिमा अघि बढेको जानकारी दिनुभयो।

    दमक नगरपालिकाका प्रमुख तथा पुनर्निर्माण समितिका संयोजक रामकुमार थापाले दमकको सुरक्षालाई मजबुत बनाउन प्रहरी कार्यालयहरूको पुनर्निर्माण अत्यावश्यक रहेको बताउँदै छिटो पुनःस्थापनाका लागि सबै पक्षलाई सहयोग गर्न आग्रह गर्नुभयो।

    पुनर्निर्माण समितिमा नगरप्रमुख थापासहित उपप्रमुख रेजिना भट्टराई प्रसाई, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ, दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष देवीप्रसाद (गोपाल) गुरागाई, रेडक्रस सोसाइटी दमकका अध्यक्ष प्रकाश बुढाथोकी, र इलाका प्रहरी कार्यालय दमकका डीएसपी रामप्रसाद तिमल्सिना सदस्य रहेका छन्।

    सहयोग हस्तान्तरण कार्यक्रममा दमक मेनपावर संघका सचिव रोशन लिम्बू, कोषाध्यक्ष बीबी लिम्बू लगायतका सदस्यहरूको उपस्थिति रहेको थियो। संघका अध्यक्ष लिम्बूका अनुसार दमक मेनपावर संघ झापा समाजसेवामा निरन्तर सक्रिय रहँदै आएको छ।

    दमक नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख केशवप्रसाद प्रसाईले जिन्सी तथा अन्य सहयोग सामग्रीहरू उपलब्ध गराउने कार्यको सहजकरण गर्नुभएको थियो । ट्राफिक प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय दमक धमाधम निर्माण भइरहेको छ।

  • झिलझिलेमाः स्व. पवन चाम्लिङ राईको स्मृतिमा तेस्रो कोशी प्रदेशस्तरीय भेट्रान फुटबल प्रतियोगिता असोज २६ देखि

    झिलझिलेमाः स्व. पवन चाम्लिङ राईको स्मृतिमा तेस्रो कोशी प्रदेशस्तरीय भेट्रान फुटबल प्रतियोगिता असोज २६ देखि

    असाेज २३, शिबसताक्षी / झापाको शिबसताक्षी–११ झिलझिलेमा तेस्रो संस्करणको कोशी प्रदेशस्तरीय नकआउट भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । असोज २६ देखि कार्तिक २ गतेसम्म हुने प्रतियोगितामा छिमेकी मुलुक भारतको पाहुना टोलीसहित कोशी प्रदेशभरका १० भेट्रान क्लबहरुले सहभागिता जनाउने भएका छन् ।

    बुधबार झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्राविधिक प्रतिष्ठानको खेलमैदानमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था झिलझिले भेट्रान क्लबले प्रतियोगिता बारेमा जानकारी गराएको हो । प्रतियोगिता सञ्चालन समितिका संयोजक जसु कुलुङ राईका अनुसार झिलझिलेमा तेस्रो संस्करण अन्तर्गत प्रदेशस्तरीय नकआउट भेट्रान फुटबल प्रतियोगिता हुन लागेको हो ।

    वहाँले यसपटकको प्रतियोगितालाई स्वर्गीय पवन चाम्लिङ राईको स्मृतिमा समर्पण गरिएको बताउनुभयो । स्वगीय पवन चाम्लिङ राई झिलझिले भेट्रान क्लबका खेलाडी हुन् । झिलझिलेमा खेलकुद, शिक्षा, सहकारी संस्था र सामाजिक कार्यमा सक्रिय पवन चाम्लिङ राईको दुईवर्ष अघि असमायीक निधन भएको थियो ।

    प्रतियोगिता सञ्चालन समितिका संयोजक राईले प्रतियोगितामा विशेष पाहुनाका रुपमा भारतको एक क्लबसहित कोशी प्रदेशभरका १० वटा भेट्रान क्लबहरुले सहभागिता जनाउने पत्रकार सम्मेलनमा बताउनुभयो ।

    प्रतियोगितामा सहभागि भेट्रान क्लबहरुमा पूर्वेली भेट्रान क्लब विर्तामोड, एभरेष्ट भेट्रान क्लब मोरङ, झिलझिले भेट्रान क्लब (रातो), डिएफसी भेट्रान क्लब (भारत), रामधुनी भेट्रान क्लब सुनसरी, झिलझिले भेट्रान क्लब (निलो), दुधे भेट्रान क्लब शिबसताक्षी, ढल्केजोवन भेट्रान क्लब उर्लाबारी, चारपाने भेट्रान क्लब झापा र दमक–लखनपुर भेट्रान क्लबहरु छन् ।

    प्रतियोगितामा बिजेता क्लबले रु १,०१,००५ (नगद एक लाख एक हजार पाँच रुपैया) र उपबिजेता क्लबले रु ५१,००५ (नगद एकाउन्न हजार पाँच रुपैया) सहित शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।प्रतियोगिता अन्तर्गत दैनिक खेलमा एक खेलाडीलाई मेन अफ द म्याच घोषणा गरेर कपसहित नगद रुपैयाबाट पुरस्कृत गरिनेभएको छ ।

    त्यस्तैं, प्रतियोगिताको फाइन खेलपछि विभिन्न विषयगत शिर्षकमा उत्कृष्ट गोलकर्ता, गोल किपर, डिफेन्डर, फरवार्ड, प्रशिक्षक तथा प्रतिभाशाली खेलाडीहरुलाई पुरस्कृत गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

    सो पत्रकार सम्मेलनमा आर्थिक संयोजक सन्तोष थेगिमका अनुसार प्रतियोगितामा अनुमानित कुल ८ लाख खर्च हुने छ । थेगिमले विभिन्न देशमा रहनुहुने पूर्व खेलाडीहरु, खेल क्षेत्रका शुभेच्छुक तथा मनकारी दाताहरुको सहयोगले प्रतियोगिता सम्पन्न गरिने तयारीमा रहेको बताउनुभयो ।

    वहाँले प्रतियोगिताको दोस्रो पुरस्कार पूर्व सांसद, शिबसताक्षी नगरका नेता लालप्रसाद साँवाले उपलब्ध गराउनुभएको जानकारी दिनुभयो । आर्थिक संयोजक थेगिमका अनुसार स्वर्गीय पवन चाम्लिङ राईको स्मृतिमा झिलझिलेमा तेस्रो संस्करणको भेट्रान फुटबल प्रतियोगिता हुने भएपनि पवन चाम्लिङ राईको परिवारवाट सहयोग माग गरिएको छैन् ।प्रतियोगिताबाट बचत भएको रकमलाई खेलकुद क्षेत्रको विकास र अन्य सामाजिक सेवामा प्रयोग गरिदैआएको थेगिमले बताउनुभयो ।

    पत्रकार सम्मेलनमा आयोजक झिलझिले भेट्रान फुटबल क्लबका अध्यक्ष बमबहादुर राई, शिबसताक्षी नगर भेट्रान फुटबल क्लबका अध्यक्ष एबम् धरमपुर बजार व्यवस्थापन समितिका अध्यक्ष लीला कुमार जोशी, प्रतियोगिता सञ्चालन समितिका सदस्य तथा आर्थिक समितिका सदस्य तीलक राई, समाजसेवी क्लब झिलझिलेका अध्यक्ष तथा झिलझिले भेट्रान फुटबल क्लबका सदस्य राजु तिखत्री, सन्तोष नेम्बाङ, खगेन्द्र ढुङ्गाना , शुक्रराज इजम, अनिल राई लगायतको उपस्थिति थियो ।

    कार्यक्रमको सञ्चालन आयोजक समितिका सदस्य राम भेटुवालले गर्नुभएको थियो ।