Author: Multi Media

  • कमल नगर अस्पतालले सुरु गर्‍यो निःशुल्क एम्बुलेन्स सेवा, सुत्केरी महिलालाई ठूलो राहत

    कमल नगर अस्पतालले सुरु गर्‍यो निःशुल्क एम्बुलेन्स सेवा, सुत्केरी महिलालाई ठूलो राहत

    असाेज १ , तोपगाछी, झापा – कमल गाउँपालिका–०२ स्थित कमल नगर अस्पतालले गर्भवती र सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ। गाउँपालिकाको सहयोग र ओम आदि फाउन्डेसनको योगदानमा प्राप्त एम्बुलेन्समार्फत यो सेवा २४ घण्टा सञ्चालनमा ल्याइएको हो।

    अस्पतालका अनुसार गर्भवती र सुत्केरी महिलाले प्रसूति सेवाका लागि अब कुनै शुल्क नतिरी अस्पताल आउन–जान सक्ने भएका छन्। गत आर्थिक वर्ष २०८१ /८२ मा १३० महिलाले यो सेवा उपयोग गरेका थिए। अन्य सर्वसाधारणले पनि सुलभ मूल्यमा एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ।

    कमल गाउँपालिका अध्यक्ष तथा अस्पताल संचालन समितिका अध्यक्ष हुकुम सिंह राईका अनुसार यो सेवाले ग्रामीण भेगका महिलालाई समयमै अस्पतालसम्म पुग्न मद्दत गर्ने र मातृ तथा शिशु मृत्यु दर घटाउन सहयोग पुर्‍याउनेछ।

    कमल गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत केशव कुमार ढकालले ओम आदि फाउन्डेसनप्रति आभार व्यक्त गर्दै यस सेवाले समुदायमा स्वास्थ्य सेवामा पहुँच बढाएको बताए।

    कमल नगर अस्पतालले सामान्य सुत्केरी सेवा, नवजात शिशु स्वास्थ्य निगरानी, चिकित्सकको सम्पर्कमा उपचार सुविधा र PNC Home Visit Programme जस्ता निःशुल्क सेवाहरू पनि निरन्तर सञ्चालन गर्दै आएको छ।

    स्थानीय बासिन्दाहरूले निःशुल्क एम्बुलेन्स सेवाले सुरक्षित मातृत्व प्रवर्द्धनमा ठूलो योगदान गरेको बताएका छन्। वडा अध्यक्ष अशोक सुब्बाका अनुसार समयमै उपचार पाउँदा गर्भवती आमाको जीवन बच्ने सम्भावना धेरै बढेको छ र स्थानीयको विश्वास पनि बलियो बनेको छ।

    यस सेवाबाट गरिब, असहाय र आर्थिक रूपमा कमजोर नागरिकलाई ठूलो लाभ पुगेको र भविष्यमा अझ प्रभावकारी बनाइने अस्पतालले जनाएको छ।

  • दमक नगरपालिका कार्यपालिकाको आकस्मिक बैठक, शान्ति–सुरक्षा र सेवा निरन्तरतामा जोड

    दमक नगरपालिका कार्यपालिकाको आकस्मिक बैठक, शान्ति–सुरक्षा र सेवा निरन्तरतामा जोड

    दमक, ३० भदौ / सोमबार साँझ ४ बजे बसेको दमक नगरपालिका कार्यपालिकाको आकस्मिक बैठकले हालसालै भएको जेनजी प्रदर्शन र त्यस क्रममा भएका घटना–दुर्घटनालाई लिएर पाँच बुँदे निर्णय गरेको छ।

     

    बैठकले प्रदर्शनका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, आन्दोलनको क्रममा सार्वजनिक वा व्यक्तिगत सम्पत्तिमा आगजनी, लुटपाटजस्ता अवाञ्छित गतिविधि गर्ने जो–कोहीलाई नेपाल सरकारबाट कडा कारबाहीको माग गर्ने निर्णय गरेको छ।

     

    नगरपालिकाले भोलि ३१ गतेदेखि वडा कार्यालय र स्वास्थ्य क्षेत्रका सम्भव हुने सबै सेवाप्रवाह निरन्तर गर्ने तथा सामुदायिक, निजी र आवासीय विद्यालयहरूमा पठनपाठन सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ।

     

    शान्ति–सुरक्षाको लागि इलाका प्रहरी कार्यालय, ट्राफिक प्रहरी, बाखोर चौकी र बेलडाँगीस्थित सशस्त्र प्रहरी क्याम्पलाई थप सशक्त बनाउन र नगरवासीलाई सुरक्षित वातावरण दिन नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय बैठकले गरेको छ। यस्तै, सरकारी सुरक्षा व्यवस्थामा ढिलाइ भएमा प्रत्येक टोलमा टोल विकास समितिले वडा कार्यालयसँग समन्वय गरी गस्ती व्यवस्था मिलाउने व्यवस्था गर्न भनिएको छ।

     

    बैठकले संक्रमणकालीन अवस्थामा कालोबजारी वा कृत्रिम अभाव सिर्जना नगर्न आग्रह गर्दै त्यस्तो गतिविधि भेटिए कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ। साथै, आन्दोलनका क्रममा भएको सरकारी, संस्थागत र व्यक्तिगत सम्पत्तिको हानीनोक्सानी कानुनी रूपमा मुजुल्का गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ।

  • झापामा जेनजी प्रदर्शनका क्रममा तीन जनाको मृत्यु

    झापामा जेनजी प्रदर्शनका क्रममा तीन जनाको मृत्यु

    भदौ २७, झापा _जेनजी आन्दोलनका क्रममा बिर्तामोडमा घाइते भएका अर्का प्रदर्शनकारीको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा- ८ हात्तीकिल्लाका ३२ वर्षीय दिनेश राजवंशी रहेका छन् । बीएण्डसी अस्पतालमा उपचाररत उनको शुक्रवार बिहान ११.३५ बजे मृत्यु भएको परिवारजनले जनाएका छन् ।

    प्रहरी र प्रदर्शनकारीबीचको झडपपश्चात् प्रदर्शनकारीहरुले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई कब्जा लिई आगजनी गर्ने क्रममा कार्यालयभित्र रहेको ग्यास सिलिन्डर बिष्फोट भई राजवंशी घाइते भएका थिए ।उनको पेट लगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो ।
    यसअघि जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड अगाडि भएको झडपमा हिलिहाङ–२ पाँचथर घर भई बिर्तामोड १० मा बस्दै आएका अन्दाजी ३५ वर्षका कमल भण्डारी र अर्जुनधारा -८ निवासी २८ वर्षका गोपाल सेढाईको मृत्यु भएको थियो ।

    जेनजी विद्रोहकै क्रममा सुनसरीको इटहरीमा झडप हुँदा २३ गते इटहरीका २३ वर्षीय अभिषेश श्रेष्ठ र इटहरी- १४ का मोहन सरदारको मृत्यु भएको थियो ।कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक पोखरेलले घाइतेको तथ्याङ्क भने नआइसकेको बताए । ‘हामी विवरणहरू सङ्कलन गरिरहेका छौँ । अहिलेसम्म यकिन विवरण आएको छैन,’ उनले भने ।

  • दमकमा खुकुरी हानाहान, दुई जना घाइते

    दमकमा खुकुरी हानाहान, दुई जना घाइते

    भदौ २५ दमक, सुजन गाैतम – झापाको दमक नगरपालिका वडा नं ५ स्थित क्याम्पस मोडबाट आमदा अस्पताल जाने बाटोमा खुकुरी प्रहार भएको छ। घटनामा दुई जना घाइते भएका छन्।

     

    उर्लाबारी नगरपालिका वर्गाछी बस्ने २६ वर्षीय अमन मोता गम्भीर घाइते भएका छन्। उनको टाउकोमा गहिरो चोट लागेको र दमकस्थित निम्स अस्पतालमा उपचार भइरहेको छ। अर्का घाइते दमक नगरपालिका वडा नं ९ बस्ने अर्जुन राई रहेका छन्, उनको अवस्था सामान्य रहेको बताइएको छ।

     

    घाइते अर्जुन राईका अनुसार करिब आठ जनाको समूह मोटरसाइकलमा आएर क्यारमबोर्ड खेलिरहेको बेला खुकुरी प्रहार गरेका थिए। घटनामा सिरुपाते खुकुरी, बियरको बोतल र बाइकको हेल्मेट प्रयोग भएको जानकारी दिइएको छ।

     

    खुकुरी प्रहार गर्ने मध्ये दमक नगरपालिका वडा नं ९ बस्ने सुनिल वानेन फागो (उपनाम माइला) र दमक वडा नं ९ कै सनम लिम्बुको संलग्नता खुलेको छ। सनम लिम्बुले हेल्मेटले प्रहार गरेको र उनी लागूऔषध कारोबारमा संलग्न रहेको समेत खुलेको छ। अन्य ६ जनाको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन।

     

    घटना सम्बन्धी थप अनुसन्धान गर्नका लागि Gen – Z आन्दोलनका कारणले दमकमा प्रहरीसमेत नरहेको जानकारी गर्दछौं।

  • झापामा आन्दोलनका क्रममा १२ जना घाइते, प्रहरीद्वारा विवरण सार्वजनिक

    झापामा आन्दोलनका क्रममा १२ जना घाइते, प्रहरीद्वारा विवरण सार्वजनिक

    भदौ २४, झापा / सरकारले सामाजिक सञ्जाल नियन्त्रण गर्ने उद्देश्यले गरेको निर्णयविरुद्ध आइतबार सुरु भएको आन्दोलनलाई नियन्त्रणमा लिने क्रममा झापामा भएका भिडन्तमा १२ जना घाइते भएका छन्। सोमबार दमक, विर्तामोडसहितका विभिन्न क्षेत्रमा प्रदर्शन भइरहेका बेला प्रहरीले अश्रुग्याँस, लाठीचार्ज र गोली प्रहारसमेत गरेको थियो।
    जिल्ला प्रहरी कार्यालय झापाले मंगलबार बिहान संचारमाध्यमलाई उपलब्ध गराएको विवरणअनुसार घाइतेमध्ये अधिकांश दमकमा प्रदर्शन गर्नेहरू रहेका छन्। उनीहरूलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि विभिन्न अस्पतालहरूमा पठाइएको छ।
    घाइतेहरूको विवरण
    प्रकाश भट्टराई (३०), कमल–५ – बायाँ खुट्टाको फिलामा चोट, दमक अस्पतालमा उपचारपछि बीएन्डसी बिर्तामोड।
    भुपेन्द्र खड्का (२०), दमक–३ – अनुहार र घाँटीमा चोट, बोल्न सक्ने मध्यम अवस्था, लाईफलाइन दमकबाट थप उपचारका लागि धरान।
    सागर हेमरम (२०), गौरीगञ्ज–१ – अनुहार, छातीमा चोट, बोल्न सक्ने मध्यम अवस्था, विर्तामोड रेफर।
    अभिषेक चेम्जोङ (१८), दमक–१ – अनुहारमा चोट, अवस्था सामान्य, विर्तामोड रेफर।
    प्रयुस चौहान (१९), उर्लाबारी–४ – दाहिने हात, खुट्टा र छातीमा चोट, नोबेल अस्पताल विराटनगर।
    युनिस दाहाल (१८), शिवसताक्षी–११ – कान र घाँटीमा चोट, नोबेल अस्पताल विराटनगर।
    साईन राई (२४), चुलाचुली–३, इलाम – दाहिने खुट्टामा चोट, लाईफलाइन दमकमा उपचाररत।
    अविनाश राई (१९), कमल–५ – हात र खुट्टामा चोट, नोबेल अस्पताल विराटनगर।
    औसन रिमाल (१७), दमक–१० – हातमा चोट, विर्तामोडमा थप उपचार।
    रोयल रिजाल (१८), दमक–७ – दुवै खुट्टामा चोट, लाईफलाइन दमकमा उपचाररत।
    प्रदिप खरेल (३३), बिर्तामोड–५ – दाहिने खुट्टामा चोट, बीएन्डसीमा उपचार, अवस्था सामान्य।
    सन्देश गिरी (१६), बिर्तामोड – अश्रुग्याँसको धुवाबाट घाइते, बिर्तासिटी अस्पतालमा, अवस्था सामान्य।
    जिल्ला प्रहरी कार्यालयका अनुसार प्रदर्शनका क्रममा केहीलाई नियन्त्रणमा पनि लिइएको छ। घाइतेहरूको अवस्था भने अधिकांश सामान्य रहेको जनाइएको छ।

  • दमकको ज्वाई–जेठान हस्तकला उद्योगबाट वाद्ययन्त्र उत्पादन, अन्तर्राष्ट्रिय बजारमा समेत विस्तार

    दमकको ज्वाई–जेठान हस्तकला उद्योगबाट वाद्ययन्त्र उत्पादन, अन्तर्राष्ट्रिय बजारमा समेत विस्तार

    भदौ २२, दमक / झापाको दमक नगरपालिका वडा नम्बर ७ मा रहेको ज्वाई–जेठान हस्तकला उद्योगले वाद्ययन्त्र उत्पादनमार्फत स्थानीय स्तरमै रोजगारी सिर्जना गर्दै अन्तर्राष्ट्रिय बजारमा समेत पहुँच बढाएको छ।

    वि.सं २०७५ सालदेखि निरन्तर सञ्चालनमा रहेको ज्वाई–जेठान हस्तकला उद्योगले ढ्याङ्ग्रो, डम्फु, मादल, डमरु लगायतका वाद्यवदनका सामग्रीहरू निर्माण गर्दै आएको छ। विशेष गरी बौद्ध धर्मावलम्बी तथा लामाहरूले प्रयोग गर्ने यी सामग्रीको माग नेपालभरि मात्र नभई भुटान, चीन र भारतमा समेत भइरहेको छ।

    “हामीले स्थानीय स्रोतसाधन प्रयोग गरेर हस्तनिर्मित वाद्यवदनका सामग्री उत्पादन गर्दै आएका छौँ। अहिले यो उत्पादित सामग्री देशभित्रका बौद्धिस्ट क्षेत्र मात्र नभई छिमेकी मुलुकमा पनि निर्यात हुँदै आएको छ।”उद्योगबाट उत्पादन भएका सामग्रीहरू दमक–८ स्थित युना एन्ड युनाइटेड सप्लायर्समार्फत पनि बिक्री वितरण भइरहेको सञ्चालक हरि तिवारीले जानकारी दिनुभयो।

    स्थानीय स्तरमै उत्पादन भएको वाद्ययन्त्र अन्तर्राष्ट्रिय बजारमा पुगेसँगै यसले नेपालको सांस्कृतिक सम्पदा र परम्परागत कला प्रवर्द्धनमा टेवा पुगेको छ।सांस्कृतिक सम्पदा जोगाउँदै, स्थानीयलाई रोजगारी दिँदै अन्तर्राष्ट्रिय बजारमा समेत विस्तार भएको दमकको ज्वाई–जेठान हस्तकला उद्योगले उदाहरणीय काम गरेको छ।

  • दमकमा सम्पन्न यू–१५ फुटबल प्रतियोगितामा इलाम आइतबारे एकेडेमी विजेता

    दमकमा सम्पन्न यू–१५ फुटबल प्रतियोगितामा इलाम आइतबारे एकेडेमी विजेता

    भदौ २२, दमक । झापाको दमकमा सम्पन्न यू–१५ फुटबल प्रतियोगिता–२०८२ मा इलामको आइतबारे एकेडेमी विजेता बनेको छ। रोयल स्पोर्टिङ क्लबको आयोजनामा भदौ ७ गतेदेखि २१ गतेसम्म सञ्चालन गरिएको प्रतियोगिताको फाइनल शनिबार दमक नगरपालिका–२ बेल्डागीस्थित फुटबल मैदानमा भएको थियो।

    फाइनल खेलमा इलाम आइतबारे एकेडेमीले दमक झापा–३ को ढुकुरपानी युथ क्लबलाई २, १ गोलले हराउँदै उपाधि हात पारेको हो। विजेता टोलीले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्दा उपविजेता टोलीले १० हजार रुपैयाँमा चित्त बुझाएको छ।

    प्रतियोगितामा कुल १३ टिमको सहभागिता रहेको थियो। फाइनल खेलमा दमक नगर खेलकुद समिति उपाध्यक्ष तारा अधिकारी प्रमुख अतिथि रहनुभएको थियो। खेलभरि मेडिकल सहयोग रिता फार्मेसीले गरेको थियो।कार्यक्रम रोयल स्पोर्टिङ क्लबका अध्यक्ष राजु खड्काको अध्यक्षतामा सम्पन्न भएको हो।