Author: Multi Media

  • दमकमा क्लब हिमालयन टाइगरको दोस्रो साधारण सभा सम्पन्न, खगेन्द्र बजगाई अध्यक्षमा निर्वाचित

    दमकमा क्लब हिमालयन टाइगरको दोस्रो साधारण सभा सम्पन्न, खगेन्द्र बजगाई अध्यक्षमा निर्वाचित

    भदौ २१, दमक / झापाको दमकमा क्लब हिमालयन टाइगर दमक शाखाले दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ। साधारण सभाले खगेन्द्र बजगाईलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ।

    १२ सदस्यीय नयाँ समितिमा उपाध्यक्षमा भूपेन्द्र निरौला, महिला उपाध्यक्षमा डुका कुमाल, सचिवमा राजु अधिकारी, सहसचिवमा अर्जुन निरौला, कोषाध्यक्षमा भूमि निरौला रहेका छन्। त्यस्तै, सदस्यमा विनोद अधिकारी, दिवस खतिवडा, प्रशान्त ढकाल,बिप्लक दंगाल, प्रदीप बस्नेत, र सुरेश बराल चयन भएका छन्।

    समितिको चयन क्लब हिमालयन टाइगरका केन्द्रीय अध्यक्ष रेवत्चन्द्र भण्डारीको संयोजकतामा सम्पन्न भएको हो। कार्यक्रम दमकस्थित क्लब हिमालयन टाइगरको केन्द्रीय कार्यालयमा आयोजना गरिएको थियो।

  • आदर्श सहकारीको २९औं वार्षिक साधारणसभा सम्पन्न, सदस्यमुखी कार्यक्रममा जोड

    आदर्श सहकारीको २९औं वार्षिक साधारणसभा सम्पन्न, सदस्यमुखी कार्यक्रममा जोड

    भदौ २०, दमक / झापाको दमक–६ स्थित आदर्श सहकारी संस्थाको २९औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष विजयकुमार राईको अध्यक्षतामा सम्पन्न सभामा जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेमकुमार कोइरालाको प्रमुख आतिथ्य रहेको थियो।

    उद्घाटन सत्रमा दमक–६ का वडाध्यक्ष टेकबहादुर थापा, संघका लेखा संयोजक चुडामणी ओझा, राष्ट्रिय सहकारी बैंकका प्रबन्धक अर्जुन कार्की, पहिलो पाइला नेपाल दमक शाखा अध्यक्ष राजु निरौला लगायतको उपस्थिति रहेको थियो।

    अध्यक्ष राईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीलाई सुदृढीकरण गर्दै ग्रामीण विकासमा संयोजनकारी भूमिका निर्वाह गर्ने नीतिसहित बचत परिचालन र लगानी अभिवृद्धिमा संस्थाले प्राथमिकता दिएको स्पष्ट पार्नुभयो। उहाँले शेयरसदस्यमुखी कार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

    लेखा समितिका संयोजक राजेश रिजालले प्रस्तुत गरेको वित्तीय प्रतिवेदनअनुसार, चालु आर्थिक वर्षमा संस्थाको शेयरपूँजी १ करोड ३७ लाख ४२ हजार रुपैयाँ, कोषमा ६२ लाख रुपैयाँ, नाफा १७ लाख २ हजार रुपैयाँ, बचत ८ करोड १४ लाख ६७ हजार रुपैयाँ, कर्जा ७ करोड २४ लाख ३१ हजार रुपैयाँ र वसुलात १० करोड ६४ लाख रुपैयाँ रहेको छ।

    कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने २५ जना शेयरसदस्यलाई सम्मान गरिएको थियो। त्यस्तै, SEE मा उत्कृष्ट अंक ल्याउने युनिस आचार्यलाई नगद ५ हजारसहित सम्मान गरियो भने उत्कृष्ट कर्मचारी तथा प्रतिनिधि टीका बस्नेतलाई दोसल्ला, प्रमाणपत्र, मायाको चिनो र नगदसहित सम्मान प्रदान गरिएको संस्थाका प्रबन्धक रुद्र खतिवडाले जानकारी दिनुभयो। कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष फडिन्द्र गर्तौलाले दिनुभएको थियो भने सञ्चालन सदस्य झरेन्द्र खतिवडाले गर्नुभएको थियो।

  • कमल–२ मा दन्त स्वास्थ्य शिविर तथा सर्पदंश सचेतना कार्यक्रम सम्पन्न 

    कमल–२ मा दन्त स्वास्थ्य शिविर तथा सर्पदंश सचेतना कार्यक्रम सम्पन्न 

    भदौ २०, कमल / झापाको कमल गाउँपालिका–२ समयगढस्थित श्री महेन्द्र रत्न माध्यमिक विद्यालयमा दन्त स्वास्थ्य शिविर तथा सर्पदंशसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

    दमक थुलुङ डेन्टल केयरको प्राविधिक सहयोगमा आयोजित विद्यालय स्वास्थ्य कार्यक्रम अन्तर्गत विद्यार्थी, अभिभावक र शिक्षकहरूको दन्त स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचार प्रदान गरिएको थियो। कार्यक्रममा डा. सोफिया थुलुङ र डा. हाङमा माखिम लिम्बू नेतृत्वको चिकित्सक टोलीले सेवा उपलब्ध गराएको हो।

    कुल ३३८ जना विद्यार्थी, शिक्षक र अभिभावकहरूले शिविरबाट लाभ उठाएका थिए। डा. थुलुङका अनुसार हालका बालबालिकामा किराले दाँत खाने समस्या बढी देखिएको छ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवन चाम्लिङ राईले यस किसिमका कार्यक्रमले शिक्षा सँगै विद्यार्थीहरूको स्वास्थ्यमा पनि टेवा पुग्ने बताउनुभयो। वि. सं २०२४ मा स्थापना भएको विद्यालयमा हाल ४२० विद्यार्थी अध्ययनरत छन्।

    वडा सदस्य महेन्द्र खत्रीका अनुसार वडा कार्यालयले प्रत्येक विद्यालयमा यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ, जसले बालबालिका र अभिभावकलाई दन्त स्वास्थ्य जाँचमा सहजता पुर्‍याएको छ।

    कार्यक्रममा कमलनगर अस्पतालका सिनियर अहेब लक्ष्मण भट्टराई, हाम्रो सरोकार डट नेटका सञ्चालक तथा पत्रकार अनिल देव राई, विद्यालयका शिक्षक तथा अभिभावकहरूको समेत उपस्थिति रहेको थियो। दमक–६ वाणिज्य बैंक अगाडि रहेको थुलुङ डेन्टल केयरले दन्त रोगका विशेषज्ञ डाक्टरमार्फत निरन्तर सेवा प्रदान गर्दै आएको छ।

  • दमक–७ मा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १६५ जनाले लिए सेवा

    दमक–७ मा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १६५ जनाले लिए सेवा

    भदौ २०, दमक / दमक नगरपालिका–७ मा ‘स्वास्थ्य जीवन, उज्ज्वल भविष्य’ भन्ने नाराका साथ बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ। शुक्रबार वडा नम्बर ७ को स्वास्थ्य केन्द्रमा आयोजित कार्यक्रममा बीएनसी हस्पिटल र पूर्वाञ्चल क्यान्सर हस्पिटलले प्राविधिक सहयोग प्रदान गरेका थिए।

    शिविरमा क्यान्सरसहित विभिन्न रोगहरूको निःशुल्क जाँच गराइएको थियो। सो अवसरमा १६५ जनाले सेवा लिएका थिए। डा. सुरुची महतो, नर्सिङ सुपरभाइजर प्रतिमा कार्की, मार्केटिङ अफिसर सज्जात अली, नर्सहरू उर्मिला विक र रोशनी दाललगायतको टोलीले सेवा प्रदान गरेका थिए।

    दमक–७ का वडाध्यक्ष भीमप्रसाद पौडेलले भौतिक पूर्वाधारसँगै शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि वडा सक्रिय रूपमा काम गर्दै आएको उल्लेख गर्दै रोगहरू नडराई र नलुकाई समयमै परीक्षण गर्न सबैलाई आग्रह गरे।

    हिमालयन टाइगरका केन्द्रीय अध्यक्ष रेवत चन्द्र भण्डारीले यसैगरी अन्य वडामा पनि शिविर विस्तार गर्ने योजना रहेको जानकारी दिए। कार्यक्रममा नर्सिङ सुपरभाइजर प्रतिमा कार्कीले क्यान्सरसम्बन्धी जनचेतनामूलक प्रशिक्षणसमेत दिनुभयो।

    कार्यक्रममा वडा सदस्य इन्दु खड्का पौडेल, क्लबका उपाध्यक्ष तेजकुमार श्रेष्ठ, विनोद राईलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन वडा सचिव योगेश भट्टराईले गर्नुभएको थियो भने वडाध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

  • लायन्स क्लब माउन्ट एभरेष्ट दमकले सुरु गर्यो शुक्रबारे सरसफाइ अभियान 

    लायन्स क्लब माउन्ट एभरेष्ट दमकले सुरु गर्यो शुक्रबारे सरसफाइ अभियान 

    भदौ २०, दमक / लायन्स क्लब अफ दमक माउन्ट एभरेस्ट र लियो क्लब अफ दमक माउन्ट एभरेस्टको संयुक्त आयोजनामा शुक्रबार बिहानदेखि दमकको नमुना मार्गमा विशेष सरसफाई तथा फोहोर व्यवस्थापन अभियान सुरु गरिएको छ।‘हाम्रो ठाउँ हामी आफै बनाउ, सफा दमक सुन्दर दमक’ नारासहित सुरु गरिएको यो अभियानलाई निरन्तरता दिँदै हरेक शुक्रबार बिहान सरसफाई कार्यक्रम संचालन गरिने क्लबले जनाएको छ।

     

    कार्यक्रममा लायन्स क्लबका पूर्व अध्यक्षज्यूहरूको विशेष उपस्थिति रह्यो। कार्यक्रममा। कार्यक्रममा बोल्दै क्लबका पूर्व अध्यक्ष लायन भगवान बस्नेतले समुदायमा जागरण फैलाउन यस्ता अभियानले ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । हालका अध्यक्ष लायन प्रकाश शाहले सरसफाई केवल बाहिरी सौन्दर्यका लागि नभई जीवनशैली र संस्कृतिसँग सम्बन्धित कुरा भएको भन्दै अभियानलाई निरन्तरता दिन सबैलाई आग्रह गर्नुभयो। 

     

    यस अभियानलाई स्थानिय बासिन्दा, युवाहरु र सामाजिक संघ–संस्थाले समेत सक्रिय साथ दिनुपर्ने क्लबले जनाएको छ । युवाको उत्साह, स्थानीयको सक्रियता र सबैको एकताबद्ध प्रयासले दमकको नमूना मार्ग थप आकर्षक र सफा बन्ने अपेक्षा समेत गरिएको छ। दमकको नमूना मार्ग केवल यात्रुहरूलाई सुविधा दिने सडक मात्र होइन, यो शहरको सौन्दर्य र पहिचानसँग जोडिएको ठाउँ हो। दैनिक सयौं मानिस ओहोर–दोहोर गर्ने यो बाटो सफा हुँदा शहरको छाप नै फरक देखिन्छ।नियमित सरसफाईले केवल सडक सफा राख्ने मात्र होइन, धुलो प्रदूषण कम गर्ने, संक्रमण फैलन नदिने र सार्वजनिक स्वास्थ्यलाई मजबुत बनाउन पनि ठूलो योगदान पुर्‍याउछ।

     

    क्लबका पदाधिकारीका अनुसार यो अभियानलाई दीगो बनाउन प्रत्येक शुक्रबार बिहानलाई “सफा शुक्रबार” घोषणा गर्दै निरन्तरता दिइनेछ। साथै, आगामी दिनमा विद्यालयका विद्यार्थी, सामाजिक संस्था र अन्य क्लबहरूसँग सहकार्य गरी अझ ठूलो अभियान सञ्चालन गर्ने तयारी गरिएको छ। नमुना मार्गमा आज सुरु भएको यो अभियान केवल एक दिनको काम होइन, यो निरन्तरता पाउने प्रतिबद्धता हो। यसरी निरन्तरता पाइरह्यो भने केही महिनामै दमक प्रदेश नं. १ मात्र हैन, देशकै सफा र सुन्दर शहरको रूपमा चिनिने विश्वास गरिएको छ।

  • कमलमा एचआईभी/एड्स, यौन रोग र मानव बेचबिखनबारे सचेतना कार्यक्रम सम्पन्न

    कमलमा एचआईभी/एड्स, यौन रोग र मानव बेचबिखनबारे सचेतना कार्यक्रम सम्पन्न

    कमल, २० भदौ / पूर्वपश्चिम लोकमार्गअन्तर्गत निर्माणाधीन काँकरभिट्टा–लौकही सडक आयोजनाको क्रममा झापाको कमल गाउँपालिकामा एचआईभी/एड्स, यौन रोग तथा मानव बेचबिखनसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।

    मंगलबार पडाजुंगीस्थित रोड स्टार सभाहलमा आयोजित उक्त कार्यक्रम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र एशियाली विकास बैंक (ADB) को आर्थिक सहयोगमा सञ्चालित राजमार्ग अभिवृद्धि आयोजना अन्तर्गत गरिएको हो।

    कार्यक्रममा वडा नं. ३, ४ र ५ का स्थानीय बासिन्दा, सडक निर्माणमा संलग्न श्रमिक, यातायातकर्मी र अन्य चलायमान जनसंख्यालाई लक्षित गरी स्वास्थ्य तथा सामाजिक जोखिमबारे जानकारी दिइएको थियो।

    लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण विज्ञ जीवन सिंहले सडक निर्माणसँगै बाहिरबाट आउने कामदारहरूको उपस्थितिले महिलाहरू, बालबालिका र स्थानीयमा यौनजन्य हिंसा, दुर्व्यवहार र मानव बेचबिखनको जोखिम बढ्ने सम्भावना रहेको बताउँदै समयमै परीक्षण, उपचार र सतर्कता आवश्यक रहेको उल्लेख गरिन्।

    स्वास्थ्यकर्मी दीपक दाहालले एचआईभी/एड्स र यौन रोगसम्बन्धी जानकारी प्रस्तुत गरेका थिए भने दमक इलाका प्रहरी कार्यालयका सई कुमार खतिवडाले मानव बेचबिखन तथा लागुऔषधका जोखिम र सुरक्षा उपायबारे प्रोजेक्टरमार्फत प्रस्तुति दिएका थिए।

    ५० भन्दा बढी शिक्षक, सामाजिक संस्थाका प्रतिनिधि र स्थानीयको सहभागिता रहेको कार्यक्रममा सिंहकै सहजीकरणमा विभिन्न छलफल पनि भएका थिए। उनका अनुसार झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न पालिकामा यस्ता जनचेतना कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। साथै सडक छेउका विभिन्न स्थानहरूमा चेतनामूलक साइनबोर्डहरू राख्ने कार्य पनि अघि बढाइएको छ।

  • कमल–२ मा कुष्ठरोग खोजपड्ताल घरदैलो कार्यक्रम सम्पन्न

    कमल–२ मा कुष्ठरोग खोजपड्ताल घरदैलो कार्यक्रम सम्पन्न

    भदौ १९, कमल / कमल गाउँपालिका–२ मा कुष्ठरोग खोजपड्ताल घरदैलो कार्यक्रम सम्पन्न भएको छ । स्थानीय बासिन्दामाझ पुगेर कुष्ठरोगका लक्षण, कारण, सरुवा हुने तरिका र उपचारबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले गरिएको अभियानमा शंका लागेका व्यक्तिहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण समेत गरिएको थियो ।

    कार्यक्रम कमल नगर अस्पतालका प्रमुख दिपक प्रसाद दहालको नेतृत्वमा अहेव पुर्ण कुमार ताजपुरिया, अहेव पन्जिका थापा मगर “रुजु”, कमल अपाङ्गता समितिका पदाधिकारी, महिला स्वास्थ्य स्वयंसेविका र टोल विकास समितिका प्रतिनिधिहरूको सक्रियतामा सञ्चालन गरिएको हो । अभियान भाद्र १७ गते थापा टोल र नवोदय टोलबाट सुरु भई समयगढ, प्रगती, ज्योति टोल, हलफल टोल, सेतुमारी, भुत्लुङ्ग र देविचौन टोलसम्म पुगेको थियो ।

    यसअघि वडा सदस्य कल्पना राई, NLF अफिसर डी.बी. गुरुङलगायत सरोकारवालाको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष अशोक सुब्बाले यस्ता अभियानले कुष्ठरोगप्रति फैलिएको भ्रम, त्रास र विभेद अन्त्य गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

    कार्यक्रम सफल बनाउन नेपाल कुष्ठरोग सङ्गति (NLF) झापाको सक्रियता उल्लेखनीय रह्यो । NLF ले प्रविधिक मार्गदर्शन, जनचेतनामूलक सामग्री र तालिम प्राप्त जनशक्ति उपलब्ध गराएको थियो । कमल गाउँपालिका अध्यक्ष हुकुम सिह राईले NLF को सहकार्यप्रति आभार प्रकट गर्दै “यस्ता अभियानले कुष्ठरोग नियन्त्रण र उन्मूलनतर्फ ठोस योगदान पुर्‍याउनेछन्,” भने ।

    घरदैलो अभियानमार्फत कुष्ठरोगका कारण, लक्षण, उपचार र सामाजिक विभेद अन्त्य गर्ने उपायबारे जानकारी गराइनुका साथै शंका लागेका व्यक्तिहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण गरिएको थियो । सहभागीहरूले यस्ता कार्यक्रमले दीर्घकालीन रूपमा स्वस्थ, सचेत र विभेद–मुक्त समाज निर्माणमा योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरेका छन् ।