Author: Multi Media

  • निर्माण व्यवसायी सङ्घ विजयी, मोबाइल व्यवसायी सङ्घ उपविजेता

    निर्माण व्यवसायी सङ्घ विजयी, मोबाइल व्यवसायी सङ्घ उपविजेता

    भदौ ६, दमक / दमक उद्योग वाणिज्य सङ्घको ३५ औं वार्षिकोत्सव तथा स्थापना दिवसको अवसरमा आयोजित तेस्रो उद्योग वाणिज्य कप अन्तर वस्तुगत सङ्घ फुटसल प्रतियोगिता शनिबार सम्पन्न भएको छ।

    दमक–५ स्थित बिस्ट फुटसलमा भदौ ५ र ६ गते सम्पन्न प्रतियोगितामा १० वटा वस्तुगत सङ्घहरूको सहभागिता रहेको थियो। फाइनलमा निर्माण व्यवसायी सङ्घले मोबाइल व्यवसायी सङ्घलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।
    यससँगै निर्माण व्यवसायी सङ्घ पहिलो, मोबाइल व्यवसायी सङ्घ दोस्रो बनेका छन् भने फर्निचर व्यवसायी सङ्घले अनुशासित टोलीको पुरस्कार जित्यो।

    व्यक्तिगततर्फ निर्माण व्यवसायी सङ्घका दिपेन थापा उत्कृष्ट गोलकिपर, मोबाइल व्यवसायी सङ्घका शरण राई उच्च स्कोरर तथा निर्माण व्यवसायी सङ्घकै लेलेन सुब्बा उत्कृष्ट खेलाडी घोषित भए। विजेताहरूलाई पहिलो स्थानका लागि रु. ३३,३३३, दोस्रो स्थानका लागि रु. २२,२२२, उत्कृष्ट गोलकिपर र उच्च स्कोररलाई रु. २,२२२, र उत्कृष्ट खेलाडीलाई रु. २,५०० नगद पुरस्कार प्रदान गरिएको थियो।

    समापन समारोहमा प्रमुख अतिथि तथा सङ्घका पूर्व अध्यक्ष विजयप्रसाद बरालले व्यवसायीबीच एकता र आपसी सम्बन्ध मजबुत बनाउन खेलकुदको भूमिका महत्त्वपूर्ण हुने बताए। त्यस्तै, सङ्घका अध्यक्ष गोपाल गुराँगाईले खेलकुद स्वास्थ्य दिगो बनाउने माध्यम मात्रै नभई व्यवसायीबीच आपसी सम्बन्ध बलियो बनाउन पनि उपयोगी हुने बताए।

  • गौरिगञ्जमा ब्राउन सुगरसहित एक युवक पक्राउ

    गौरिगञ्जमा ब्राउन सुगरसहित एक युवक पक्राउ

    भदौ,दमक ६ । झापाको गौरिगञ्जमा लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कमल गाउँपालिका–५ निवासी ३१ वर्षीय धनेस सहनी रहेका छन्।

    गौरिगञ्ज गाउँपालिका–१ स्थित नेपाल–भारत सीमामा बिहिवार साँझ अन्दाजी ५ः२५ बजे खटिएका सुरक्षाकर्मीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे ५ प ८००३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागुऔषध बरामद गरेको हो।प्रहरीले उनको हेल्मेट भित्र प्लास्टिकको पोकामा लुकाएर ल्याउँदै गरेको ६ ग्राम १६ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।

    मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • मेची भन्सारद्धारा एक अर्ब बढी राजस्व सङ्कलन

    मेची भन्सारद्धारा एक अर्ब बढी राजस्व सङ्कलन

    भदौ, दमक ६ । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिनामा एक अर्ब २६ करोड ५० लाख ७९ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आर्थिक वर्ष सोही अवधिको तुलनामा सात दशमलव ७४ प्रतिशतले बढी हो ।
    मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार गत आवको साउनमा एक अर्ब १७ करोड ४० लाख ९१ हजार राजस्व सङ्कलन भएको थियो ।

    “मेची भन्सारबाट गत आवको साउनको तुलनामा चालु आवको सोही महिनामा आयात चार दशमलव ९० प्रतिशत र निर्यात १४ दशमलव ६८ प्रतिशतले घटेको छ ।

    आयात निर्यातमा कमी आए पनि राजस्व रकम भने आयातबाट छ दशमलव ८७ प्रतिशत र निर्यातमा ८० दशमलव १४ प्रतिशतले बढेको छ”, उनले भने।काँकरभिट्टा नाकाबाट पेट्रोलियम पदार्थ, यातायातका साधन र तिनका पाटपुर्जा, खनिज उत्पादन, जुत्ताचप्पल, सौन्दर्य प्रसाधनलगायत आयात हुने गरेको छ । यहाँबाट चिया, अलैँची, अम्रिसो, अदुवालगायत उत्पादन निर्यात हुने गरेको छ ।

  • भारतमा थप ८० मेगावाट बिजुली बिक्री गर्न स्वीकृति

    भारतमा थप ८० मेगावाट बिजुली बिक्री गर्न स्वीकृति

    भदौ,दमक ६ । भारतले थप ८० मेगावाट बिजुली खरिद गर्न स्वीकृति दिएको छ। ४८.५ मेगावाटको मेवा खोला र ३१.०४ मेगावाटको करुवा सेती जलविद्युत् आयोजनाको बिजुली निर्यात गर्न स्वीकृत पाएको हो। वर्षायाममा नेपालले बिजुली बिक्री गर्दै आएको छ भने सुख्खायाममा भारतसँगै किन्दै आएको छ ।

    भारतसँगै नेपालले बगलादेशलाई समेत ४० मेगावाट बिजुली निर्यात गर्दै आएको छ ।पछिल्लो पटक भारतले २०० मेगावाट बिजुली निर्यातका लागि स्वीकृति दिएको थियो । नेपाल र भारतबीचको द्विपक्षीय सम्झौताअन्तर्गत मध्यम अवधिका लागि बिजुली निर्यात गर्न पाउने भएको छ ।

    आगामी ३१ अक्टोबर २०२६ सम्मको बिजुली निर्यात गर्न पाइने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

  • मावा पुलमा धमाधम मर्मत, आवतजावत पूर्ण रोक

    मावा पुलमा धमाधम मर्मत, आवतजावत पूर्ण रोक

    भदौ ६, दमक / उर्लाबारी–९ र दमक–१० सेतुमारि जोड्ने मावा पुलमा हाल धमाधम मर्मत कार्य भइरहेको छ। संरचनालाई बलियो बनाउन ढुङ्गा, ग्याबियन बक्स र माटो प्रयोग गरेर मजबुतीकरणको काम भइरहेको कारण पुलमा सवारीसाधन तथा पैदल यात्रु दुवैको आवतजावत पूर्ण रूपमा रोकिएको हो।

    पुल बन्द भएपछि स्कुले बालबालिका, बिरामी बोकेका एम्बुलेन्सदेखि सर्वसाधारणसम्मले वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने बाध्यता आएको छ। स्थानीय टंक थक्लुङले भने, “अब गुणस्तरीय रूपमा काम सम्पन्न हुनुपर्छ, नत्र फेरि केही वर्षमै समस्या दोहोरिन सक्छ।”

    करिब ४ करोड ४० लाखको लागतमा २०७१ सालमा बनेको मावा पुल संरक्षणको अभावमा जीर्ण बनेको थियो। लामो समयदेखि जोखिमपूर्ण रूपमा प्रयोग हुँदै आएको पुलमा अहिले भइरहेको मर्मतले स्थानीयवासीलाई दीर्घकालीन समाधानको आशा दिएको छ।

  • मेची राजमार्गमा ईभी दुर्घटना, ९ जना घाइते

    मेची राजमार्गमा ईभी दुर्घटना, ९ जना घाइते

    भदौ,दमक ६ । ताप्लेजुङबाट बिर्तामोडतर्फ आउँदै गरेको इभी भ्यान दुर्घटना हुँदा भ्यानमा सवार ९ जना घाइते भएका छन् । गएराति बुद्धशान्ति–३ धर्मकाटास्थित मेची राजमार्ग खण्डमा प्र.१–०१–००१ ज.४०८८ नम्बरको भ्यान अनियन्त्रित भई दुर्घटना भएको झापा प्रहरीले जनाएको छ ।

    दुर्घटनामा भ्यान चालक ताप्लेजुङ फुङलिङ गाउँपालिका–२ का लाक्पा थेपेन शेर्पासहित ९ यात्रु घाइते भएका थिए । घाइते हुनेहरूमा भक्तपुर चाँगुनारायणका सेसेहाङ सुवा, प्रेम यौङहाङ, टिका लिम्बु, सुवमा लिम्बु, झापा अर्जुनधाराका विजय लिम्बु, मनकुमारी लिम्बु र दमकका मनिता धिमाल र रिता धिमाल रहेका छन् ।

    चालक शेर्पालाई इलाका प्रहरी कार्यालय बुधबारेको नियन्त्रणमा राखिएको र अन्य घाइतेलाई उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

  • लखनपुरमा स्वर्ण बिन्दु प्रासनमा अभूतपूर्व भीड, २८८७ बालबालिकाले पाए लाभ

    लखनपुरमा स्वर्ण बिन्दु प्रासनमा अभूतपूर्व भीड, २८८७ बालबालिकाले पाए लाभ

    भदौ ५, कमल / प्रादेशिक आयुर्वेद अस्पताल, लखनपुरमा बिहीबार सम्पन्न स्वर्ण बिन्दु प्रासन कार्यक्रममा अभूतपूर्व भीड देखियो । बिहानैदेखि सुरु भएको कार्यक्रममा अभिभावकसहित बालबालिकाको लामो लाइन लाग्दा अस्पताल परिसर साँझसम्म चापले भरिएको थियो ।

    अस्पतालका निमित्त प्रमुख डा. सिदार्थ ठाकुर स्वयं असिनपसिन हुँदै पुर्जा लेख्दै व्यवस्थापनमा जुटेका थिए । उनका अनुसार, कुल २८८७ जना ६ महिना देखि ७ वर्ष उमेर समूहका बालबालिकाले स्वर्ण बिन्दु प्रासन सेवन गरेका छन्।

    डा. ठाकुरका अनुसार स्वर्ण बिन्दु प्रासनले बालबालिकाको स्मरणशक्ति, रोग प्रतिरोधात्मक क्षमता र मानसिक विकासमा सहयोग पुर्‍याउने जनविश्वास छ । साथै, उनले अबकादिनमा अटिज्म, पार्किन्सन्स, अल्जाइमर, एनसिडिसि जस्ता रोगका लागि समेत प्रभावकारी काम गर्न उत्साह थपिएको बताए । “यसरी गरिएका कार्यक्रमहरूले भविष्यमा अनुसन्धानमा पनि ठूलो सहयोग पुग्नेछ,” उनले भने ।

    यसअघि पनि लखनपुरस्थित प्रादेशिक आयुर्वेद अस्पतालले यस्ता आयुर्वेदिक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर, यसपटकको सहभागिता विगतका सबैभन्दा बढी भएको अस्पताल प्रशासनले जनाएको छ ।