Author: Multi Media

  • दमक–रवि–चिसापानी सडक निर्माण ठगी प्रकरण : ठेकेदार फरार, करोडौं रकम अलपत्र

    दमक–रवि–चिसापानी सडक निर्माण ठगी प्रकरण : ठेकेदार फरार, करोडौं रकम अलपत्र

    दमक, भदौ ५ / दमक–रवि–चिसापानी सडक खण्ड निर्माण कार्य गर्ने गणपती जे.बी. कन्सट्रक्सनका प्रोपाइटर तुलसीराम भण्डारी ठगी प्रकरणपछि फरार भएका छन्।

    २०७५/७६ सालमा सुरु भएको निर्माण कार्यको क्रममा पेटी ठेकेदार, मजदुर, मिस्त्री, करार कर्मचारी र स्थानीय व्यवसायीलाई भुक्तानी नगरी भण्डारी सम्पर्कविहीन बनेको पीडितहरूले जानकारी दिएका छन्। बिहीबार दमकमा पत्रकार सम्मेलन गर्दै पीडितहरूले करिब ५ करोड रुपैयाँ बराबरको भुक्तानी रोकिएको र ४० जनाभन्दा बढी व्यक्तिले मजदुरी तथा आपूर्ति रकम नपाएको बताएका हुन्।

    नेपाल सरकारले निर्माण कार्य अलपत्र पारेको भन्दै सो कम्पनीसँगको ठेक्का रद्द गरिसकेको छ। तर भण्डारी सम्पर्कविहीन बनेपछि निर्माणमा प्रयोग भएका मेसिन तथा उपकरण समेत अलपत्र परेको पीडितहरूको भनाइ छ।

    सडक निर्माण रोकिनुका कारण स्थानीयवासी थप जोखिममा परेको र दुर्घटनाको सम्भावना बढेको गुनासो उनीहरूले गरेका छन्। पीडितहरूले यस विषयमा दमक सडक डिभिजन कार्यालय र माङसेबुङ गाउँपालिकामा मुद्दा दायर गरिसकेका छन्। साथै आवश्यक परे अदालत जाने चेतावनी पनि दिएका छन्।

  • गाैरादहमा क्यान्सर पीडितलाई आर्थिक सहयोग

    गाैरादहमा क्यान्सर पीडितलाई आर्थिक सहयोग

    भदौ ५, गाैरादह / पहिलो पाईला नेपाल, गाैरादह शाखाद्वारा क्यान्सर पीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।गाैरादह नगरपालिका–७ निवासी गंगा (दिपा) भट्टराईलाई उपचारका क्रममा आर्थिक कठिनाई भएको कारण संस्थाले सहयोग गरेको हो ।

    भट्टराई हाल भरतपुर अस्पतालमा उपचाररत रहेकी छन् । उनको आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले उपचारमा केही सहज होस् भन्ने उद्देश्यले संस्थाले नगद रू. ५ हजार हस्तान्तरण गरेको शाखा अध्यक्षले जानकारी दिनुभयो ।

    संस्थाले समाजिक उत्तरदायित्व अन्तर्गत विपन्न तथा संकटमा परेकाहरूलाई सहयोग गर्ने परम्परा कायम राख्दै आएको जनाएको छ ।

  • झापाको बिर्तामोडमा पार्किङ गरिएको ट्रकमा आगलागी, पाँच लाख बराबरको क्षति

    झापाको बिर्तामोडमा पार्किङ गरिएको ट्रकमा आगलागी, पाँच लाख बराबरको क्षति

    भदौ ४, बिर्तामोड / झापा जिल्ला बिर्तामोड नगरपालिका–५ सुगम पेट्रोल पम्प नजिक पार्किङ गरी राखिएको ना ४ ख ४१८१ नम्बरको ट्रकमा अचानक तार सर्ट भएर आगलागी भएको छ।

    इलाका प्रहरी कार्यालय अनारमनीमा प्राप्त हुनासाथ प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो। प्रहरी तथा स्थानीयवासीहरूको सहयोगमा मटरको पानी प्रयोग गरी आगो अन्दाजी १७:०० बजे पूर्ण रुपमा नियन्त्रणमा लिइएको हो।

    उक्त आगलागीबाट ट्रकको कागजपत्रसहित अगाडिको क्याबिन (चालक र सहचालक बस्ने भाग) र इन्जिनसमेत आंशिक रुपमा जलेको प्रहरीले जनाएको छ। यस घटनाबाट करिब रु. ५,००,००० (पाँच लाख) बराबरको क्षति भएको अनुमान गरिएको छ।

  • राप्रपा झापा–३ मा रविचन्द्र ओझाको नेतृत्वमा २२ सदस्यीय समिति निर्वाचित

    राप्रपा झापा–३ मा रविचन्द्र ओझाको नेतृत्वमा २२ सदस्यीय समिति निर्वाचित

    भदौ ४, बिर्तामोड / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) झापा क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशनबाट रविचन्द्र ओझाको नेतृत्वमा २२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ।
    कार्यवहाक क्षेत्रीय अध्यक्ष तुलसा आचार्यको अध्यक्षतामा सम्पन्न अधिवेशनमा राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन प्रमुख आतिथ्यका रूपमा उपस्थित हुनु भएको थियो।

    घोषणासभामा सहमहामन्त्री भारतेन्दुकुमार मल्लिक, केन्द्रीय सदस्य एवम् प्रशिक्षण विभाग प्रमुख खुश्बु ओली, इनु अधिकारी, प्रदेश सांसद निमसरी राजवंशी, रामकुमार सिंह राजवंशी, जिल्ला अध्यक्ष केशवप्रसाद ओझा, प्रदेश समिति सदस्य टिकादेवी राउत, हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन, भद्रपुर नगरपालिका उपमेयर राधा कार्की, हल्दीबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीलगायत नेताहरूको विशेष उपस्थिती रहेको थियो।

    नवनिर्वाचित अध्यक्ष रविचन्द्र ओझाले संगठनलाई अझ सबल बनाउन आफ्नो टिम प्रतिबद्ध भएर लाग्ने बताएका छन्।
    निर्वाचित कार्यसमितिमा अध्यक्ष : रविचन्द्र ओझा, उपाध्यक्ष : खिवराज भट्टराई, तुलसा आचार्य, वीरबहादुर सिंह राजबंशी, सचिव : हेमराज खनाल, कोषाध्यक्ष : पुनम लिम्बु, सह–सचिव : शिवलाल गिरी, जयप्रसाद तिम्सिना , सदस्य : सुरेन्द्र बाह्रकोटी, बमबहादुर कन्दंवा, सरोजकुमार राई, चक्रप्रसाद ढकाल, पिंकी पौडेल, राधिका भट्टराई, अमृता बोगटी, तेजबहादुर चौंङ्गवाङ, केस्मुदीन हक, भरतलाल राजबंशी, शिवकुमार भण्डारी, अर्जुनबहादुर विष्ट छेत्री, संगिता थापा मगर, सोम तामाङ रहनुभएकाे छ ।

  • जीवनचक्र समाज नेपालको सातौं वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व चयन

    जीवनचक्र समाज नेपालको सातौं वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व चयन

    भदौ ४, दमक / सामाजिक क्षेत्रमा सक्रिय जीवनचक्र समाज नेपालको सातौं वार्षिक साधारणसभा तथा स्थापना दिवस आज दमक–६ स्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको सभा हलमा सम्पन्न भएको छ।

    कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिका–८ का वडा अध्यक्ष दिपेश दाहाल रहनुभएको थियो। संस्थाका अध्यक्ष गणेश गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बेनुराज प्रसाईले स्वागत मन्तव्य राख्नुभएको थियो।

    दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंले संस्थाले अहिलेसम्म गरेका गतिविधि उत्कृष्ट रहेको उल्लेख गर्दै निरन्तर सकारात्मक काम गर्दै आएको बताउनुभयो। प्राध्यापक त्रिलोचन अधिकारीले जीवनचक्र समाजका कार्यक्रमहरुले आफूलाई प्रेरित बनाएको भन्दै प्रशंसा गर्नुभयो।प्रमुख अतिथि वडा अध्यक्ष दिपेश दाहालले संस्थाले गरेका जनचेतनामूलक गतिविधिहरु प्रभावकारी रहेको भन्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो।

    कार्यक्रममा अध्यक्ष गणेश गौतमले वार्षिक प्रतिवेदन वाचन गर्नुभयो भने कोषाध्यक्ष बिदुर भण्डारीले आय–व्यय प्रतिवेदन प्रस्तुत गर्नुभयो।सातौं स्थापना दिवसको अवसरमा संस्थाले लामो समय पत्रकारितामार्फत योगदान दिंदै आएका वरिष्ठ पत्रकार तथा पुर्बसन्देश दैनिकका सम्पादक गन्जबहादुर दाहाललाई सम्मान गरेको छ। प्रमुख अतिथि दिपेश दाहाल र अध्यक्ष गणेश गौतमले संयुक्त रूपमा सम्मानपत्र प्रदान गर्नुभयो।

    वार्षिक साधारणसभाले नयाँ कार्यसमिति समेत चयन गरेको छ। जसअनुसार अध्यक्षमा गणेश गौतम पुनः निर्वाचित हुनु भएको छ भने वरिष्ठ उपाध्यक्षमा बेनुराज प्रसाई, उपाध्यक्ष बिन्दु लक्की सिटौला, सचिव गणेश प्रधान, कोषाध्यक्ष बिदुर भण्डारी तथा सदस्यहरुमा सन्जु निरौला, वासुदेव काफ्ले, सिद्धार्थ दाहाल र सुरेन्द्र कुमार श्रेष्ठ चयन हुनुभएको छ।

    कार्यक्रमको सञ्चालन सचिव गणेश प्रधानले गर्नुभएको थियो। कार्यक्रममा दमकका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। जीवनचक्र समाज नेपालले दुर्घटना सचेतना, रक्तदान, सरसफाइ लगायतका सामाजिक अभियान निरन्तर सञ्चालन गर्दै आएको छ।

  • बिर्तामोडमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको नगर अधिवेशन सम्पन्न, इन्दिरा पाण्डे अध्यक्ष चयन

    बिर्तामोडमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको नगर अधिवेशन सम्पन्न, इन्दिरा पाण्डे अध्यक्ष चयन

    भदौ ३, बिर्तामोड, झापा / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बिर्तामोडको नगर अधिवेशन मंगलबार सम्पन्न भएको छ। अधिवेशनले इन्दिरा पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। पाण्डे बिर्तामोड नगरपालिकाको वडा नम्बर ८ की निर्वाचित जनप्रतिनिधि समेत हुनुहुन्छ।

    कार्यक्रममा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन झापाकी अध्यक्ष शारदा रिजाल प्रमुख अतिथि रहनुभएको थियो। सो अवसरमा राप्रपा झापाका अध्यक्ष केशव ओझा, महिला संगठन झापाकी पूर्व अध्यक्ष एवं भद्रपुर नगरपालिकाकी उपमेयर राधा कार्की, साथै राप्रपा बिर्तामोडकी पूर्व नगर अध्यक्ष रन्जु प्याकुरेलको विशेष आतिथ्यता रहेको थियो।

    अधिवेशनकै अवसर पारेर तीज विशेष कार्यक्रम समेत आयोजना गरिएको थियो। कार्यक्रममा सहभागी महिलाहरुले तीजका गीत तथा नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियोे ।

  • दमकमा ट्रकको ठक्करबाट महिलाको मृत्यु

    दमकमा ट्रकको ठक्करबाट महिलाको मृत्यु

    भदौ ३, दमक / मंगलबार दमकमा भएको सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको छ।दमकको पशुहाट डाँडामा बन्दाकोपि बोकेको मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा कमल गाउँपालिका–५ की ४२ वर्षीया मुना गौतमको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

    उहाँ आफ्नै श्रीमान् सुकदेव गौतमले चलाएको मोटरसाइकलको पछाडि सवार हुनुहुन्थ्यो। दुर्घटनामा मोटरसाइकल चालक सुकदेव घाइते भई उपचारका लागि दमक अस्पताल पठाइएको र अहिले उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

    दुर्घटनामा संलग्न ट्रकका चालक तेह्रथुमका २५ वर्षीय आङदावा शेर्पा सहित ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।