Author: Multi Media

  • दमक–१० रोजमेरी पब्लिक स्कुलमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    दमक–१० रोजमेरी पब्लिक स्कुलमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    भदौ ७, दमक / दमक–१० स्थित रोजमेरी पब्लिक स्कुलमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा महिलाहरूको महिनावारीसम्बन्धी पाठेघर तथा स्तन क्यान्सर जाँच, मुटुको ईसीजी परीक्षण, फिजिसियन परामर्शलगायतका सेवा उपलब्ध गराइएको थियो । स्थानीय बासिन्दाले उक्त सेवाबाट लाभ उठाएका छन् ।

    कार्यक्रमले स्वास्थ्यप्रति सचेतना जगाउने तथा नियमित परीक्षण गर्न प्रेरित गर्ने उद्देश्य बोकेको क्लब हिमालयन टाइगरका अध्यक्ष रेवतराज भण्डारीले बताएका छन् । “स्वस्थ रहौँ, व्यस्त रहौँ, मस्त रहौँ” भन्ने मूल नारासहितको यस स्वास्थ्य शिविरले स्थानीयस्तरमा स्वास्थ्य सचेतना अभियानलाई नयाँ उचाइमा पुर्‍याएको सहभागीहरूको भनाइ छ ।

    शिविरको आयोजना क्लब हिमालयन टाइगर अफिसियल, संगम स्पोर्टिङ्ग क्लब दमक–१०, र रोजमेरी पब्लिक स्कुल दमक–१० ले गरेका हुन् । कार्यक्रममा प्राविधिक सहयोग भने B&C Hospital र पूर्वाञ्चल क्यान्सर अस्पतालले प्रदान गरेका थिए ।

    स्थानीयले यस्ता सामाजिक–स्वास्थ्यमुखी कार्यक्रमहरूलाई अझै निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।

  • क्लब हिमालयन टाइगरकाे तीज विशेष कार्यक्रम सम्पन्न

    क्लब हिमालयन टाइगरकाे तीज विशेष कार्यक्रम सम्पन्न

    भदौ ७, दमक / सामाजिक कार्यमा सक्रिय क्लब हिमालयन टाइगर ले हरितालिका तीजको अवसर पारेर तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ।

    दमक–६ स्थित सूर्यदर्शन सहकारी संस्थाको भवनमा आयोजित कार्यक्रममा महिला प्रहरी तथा नगर महिला प्रहरीसँग मिलेर तीज मनाइएको हो। पछिल्लो समयमा तीजलाई भडकिलो रूपमा मनाइने प्रवृत्तिलाई ध्यानमा राख्दै क्लबले सुरक्षामा खटिने महिला प्रहरी र नगर प्रहरीलाई सम्मान स्वरूप दर खुवाउँदै तीज मिलन कार्यक्रम गरेको जनाएको छ।

    कार्यक्रमका प्रमुख अतिथि दमक–७ का वडाध्यक्ष भिम पौडेलले क्लब टाइगरले गरेको गतिविधिको प्रशंसा गर्दै आगामी दिनमा सहयोग र साथ दिने प्रतिबद्धता जनाए। उनले तीज पर्वले महिलाबीच आपसी मेलमिलाप र संस्कृतिको संरक्षणमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

    कार्यक्रममा दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खड्का, उपाध्यक्ष तेजकुमार श्रेष्ठ, प्रहरी प्रमुख रुद्र कार्की, सामाजिक व्यक्तित्व विजय बराल, ताराप्रसाद अधिकारी, अनु भण्डारी, तीर्थराज चाम्लिङ राई, भरत दाहाल, भुपेन्द्र न्यौपाने, पदम राउत, पहिलो पाइला नेपाल दमक शाखा अध्यक्ष राजु निरौला, उपाध्यक्ष लवराज खड्का, सूर्यदर्शन सहकारीका होमबहादुर श्रेष्ठसहित विभिन्न संघसंस्थाका पदाधिकारीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

    कार्यक्रम क्लब हिमालयन टाइगरका अध्यक्ष रेवत चन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो।

  • सुन्दर समाज नेपालद्वारा मानव उद्धार सेवा आश्रमलाई खाद्यान्य सहयोग

    सुन्दर समाज नेपालद्वारा मानव उद्धार सेवा आश्रमलाई खाद्यान्य सहयोग

    भदौ ७, दमक / सुन्दर समाज नेपालले दमक–२ खरखरेस्थित मानव उद्धार सेवा आश्रममा आश्रित रहेका बेसहारा, अशक्त र अनाथहरुका लागि खाद्यान्य सामग्री सहयोग गरेको छ। रोजगारका सिलसिलामा अमेरिका बसोबास गर्दै आएका आराध्य खनालको जन्मदिनको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा आश्रमलाई खाद्यान्य सामग्री हस्तान्तरण गरिएको हो।

    कार्यक्रममा दमक–२ का वडाध्यक्ष प्रजापति सापकोटा, सुन्दर समाज नेपालकी अध्यक्ष बिन्दु (लक्की) सिटौला, पूर्वअध्यक्ष रुपा सेलिङ, आराध्य खनाल, उनका बुबा–आमा, परिवारजन, आफन्त तथा आश्रम सञ्चालकहरूको उपस्थिति थियो।

    हाल आश्रममा ५० जना बेसहारा, अशक्त र अनाथहरु आश्रित रहेका छन्। अध्यक्ष सिटौलाका अनुसार आश्रममा बस्नेहरुको दैनिक आवश्यकतामा खाद्यान्यको अभाव भएकाले उक्त सहयोग गरिएको हो। उनले जन्मदिनमा हुने अनावश्यक खर्चलाई सामाजिक सेवामा उपयोग गर्न पाउनु सकारात्मक रहेको बताइन्।

    मानव उद्धार सेवा आश्रम स्थापना भएदेखि नै सिटौलाको अगुवाइमा विभिन्न रचनात्मक तथा सामाजिक कार्यक्रम हुँदै आएका छन्। कार्यक्रममा अध्यक्ष सिटौलाले जन्मदिन मनाउने आराध्य खनाललाई सुस्वास्थ्य र दीर्घायुजीवनको शुभकामना व्यक्त गरिन्।

  • दमकमा माङ्जाबुङ दमक सेवा समाजको वार्षिक साधारण सभा तथा तीज विशेष कार्यक्रम सम्पन्न

    दमकमा माङ्जाबुङ दमक सेवा समाजको वार्षिक साधारण सभा तथा तीज विशेष कार्यक्रम सम्पन्न

    भदौ ७, दमक / झापाको दमकमा माङ्जाबुङ दमक सेवा समाजको वार्षिक साधारण सभा तथा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ। शनिबार दमक–१ स्थित डी टाउन होटलमा एक कार्यक्रमका बीच वार्षिक उत्सव मनाइएको हो।

    पाँचथर जिल्लाबाट दमक आएर बसोबास गर्नेहरूले स्थापना गरेको यस समाजले एक वर्षे गतिविधि समीक्षा गर्दै साधारण सभा सम्पन्न गरेको हो। कार्यक्रममा संस्थाका कोषाध्यक्ष लोकबहादुर बस्नेतले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। समाजले पाँचथरबाट आएका व्यक्तिहरूलाई विभिन्न कठिनाइमा सहयोग गर्दै आएको र संस्थाको पात्रोमा विज्ञापन दिने सहयोगी दाताहरूलाई सम्मान गरिएको अध्यक्ष कुमार बस्नेतले जानकारी दिनुभयो।

    कार्यक्रममा प्रमुख अतिथि रूपमा संघीय मामिला तथा आर्थिक मामिला प्रदेश सांसद इन्द्रबहादुर आङ्बो (मौसम)उपस्थित रहनुभएको थियो भने विशिष्ट अतिथि दमक नगरपालिका वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत यज्ञराज निरौला हुनुहुन्थ्यो। कार्यक्रममा बोल्दै सांसद आङ्बोले पूर्वाधारको विकासले ग्रामीण बसोबासको स्वरूप परिवर्तन भइरहेको र पहाडी जिल्लाहरू क्रमशः उजाड हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो। उहाँले नेपालको अर्थतन्त्र ग्रामीण अर्थतन्त्रमा आधारित रहेको उल्लेख गर्नुभयो।

    कार्यक्रममा राप्रपा दमक–७ का वडाध्यक्ष विक्रम सुब्बा खानदेन, श्री सिद्ध सरस्वती माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक नीलकण्ठ सापकोटा, युना एण्ड युनिस्टेड सप्लायर्सका सञ्चालक हरि तिवारी, संस्थाका आर्थिक संयोजक सुभाष चन्द्र गर्तौला लगायतको उपस्थिति थियो।

    सहसचिव मानबहादुर खड्काको सञ्चालनमा भएको उक्त कार्यक्रम समाजका अध्यक्ष कुमार बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

  • ‘दमकको बेसार’ औपचारिक रूपमा बजारमा

    ‘दमकको बेसार’ औपचारिक रूपमा बजारमा

    भदौ ७, दमक / दमक नगरपालिकाको पहलमा सेतुमरी कृषि सहकारी संस्था दमक–९ ले उत्पादन गरेको ‘दमकको बेसार’ शुक्रबारदेखि औपचारिक रूपमा बजारमा आएको छ ।

    दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले ‘दमकको बेसार’लाई राष्ट्रव्यापी रूपमा बजारीकरण गर्दै यसलाई दमकको चिनो तथा समृद्धिसँग जोडेर अघि बढाइने जानकारी दिनुभयो । उहाँका अनुसार हाल ४५ किसानले करिब १६ बिगाहा क्षेत्रमा व्यावसायिक रूपमा बेसार खेती गरिरहेका छन् ।

    “दमकको पहिचान र उपहारको रूपमा समेत ‘दमकको बेसार’लाई प्रवर्द्धन गर्दै दमक र बेसारलाई पर्यायवाची बनाउने लक्ष्य लिइएको छ,” नगर प्रमुख थापाले भन्नुभयो ।

    नगरपालिकाले गत वर्ष बेसार प्रवर्द्धनका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरी कार्यक्रम थालनी गरेको थियो भने यस वर्ष पनि त्यति नै बजेट छुट्याएर खेतीको क्षेत्रफल विस्तार, किसान संख्या वृद्धि, बीउ–मल व्यवस्थापन, प्रशोधन तथा ब्रान्डिङमा लगानी गर्ने योजना रहेको छ ।

    बेसारको ब्रान्डिङमा ‘साहस’ नामक संस्थाले प्राविधिक सहयोग गरिरहेको छ भने संकलन कार्य सेतुमरी कृषि सहकारीले गर्दै आएको दमक नगरपालिकाको कृषि शाखा प्रमुख चन्दा भट्टराईले बताउनुभयो ।

  • शिबगञ्जमा कुशे औशी र हरितालिका तीज विशेष : बुबा सम्मान तथा सामूहिक दर खाने कार्यक्रम सम्पन्न

    शिबगञ्जमा कुशे औशी र हरितालिका तीज विशेष : बुबा सम्मान तथा सामूहिक दर खाने कार्यक्रम सम्पन्न

    भदौ ६, शिवशताक्षी / कुशे औशीसहित हरितालिका तीजको अवसर पारेर शुक्रबार शिबगञ्जमा बुबा सम्मान तथा सामुहिक दर खाने कार्यक्रम भएको छ ।शिबसताक्षी–६ शिबगञ्जस्थित वडा कार्यालयले दुई सस ५० जना बुबाहरुलाई टोपी लगाएर सम्मान गर्नुका साथै हरितालिका तीजको अवसरमा आमा दिदीबहिनीहरुलाई सामुहिक दर खुवाइएको छ ।

    वडाध्यक्ष मनोज खुलाल कार्कीको अध्यक्षतामा र नगर प्रमुख मेघाहाङ (रोशन) थोप्राको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा नगर प्रमुख थोप्रोले नेपाली समाजमा सवै खाले चार्डपर्वको आ–आफ्नै अर्थ, महत्व, गरिमा र धार्मीक तथा साँस्कृतिक पक्षहरु रहेको बताउनुभयो ।

    कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका नगर प्रमुख थोप्राले कुशे औशीमा बुबाप्रती श्रद्धासम्मान र हरितालिका तिजको महत्व, अर्थ, गरिमा र धार्मीक तथा साँस्कृतिक मूल्य र मान्यताहरु रहिआएको बताउनुभयो ।कार्यक्रममा शुभकामना बिचारहरु राख्नुहुँदै नगर प्रमुख थोप्राले हरितालिका तीजमा महिला दिदीबहिनीहरुले स्वतन्त्रता, अधिकार, एकता, धार्मीक र साँस्कृतिक शक्तिको रुपमा लिनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा कनकाई नहर सिँचाई व्यवस्थापन समितिका अध्यक्ष एबम् नेपाली कांग्रेस झापाका सहसचिव कमल भण्डारी, शिबगञ्ज बहुमुखी क्याम्पसका अध्यक्ष मिलनकुमार ढुंगाना, स्थानीय बुद्धिजिवी बिष्णुप्रसाद खतिवडा, नगरपालिकाका योजना अधिकृत प्रकाशचन्द्र चौधरी, आदिवासी जनजाती महासंघ शिबसताक्षीका अध्यक्ष धनबहादुर राईलगायतका वडा प्रतिनिधिहरु, पूर्व जनप्रतिनिधिहरु, सामाजिक संघसंस्था तथा राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति थियो ।

    सो अवसरमा जन आदर्श माध्यमिक विद्यालयकी विद्यार्थी प्रजिता भण्डारीले तीजसम्बन्धि कविता बाचन गरेका थिइन् । वडा कार्यालयकी कर्मचारी समिक्षा भेटुवालले तीज गीतमा नृत्य प्रस्तुत गरेका थिइन् ।त्यस्तैं, जन आदर्श माध्यमिक विद्यालयका स्काउट विद्यार्थीहरुले स्वागत गीत नृत्य मार्फत कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएका थिए ।

    कार्यक्रममा वडाध्यक्ष कार्कीले वडावासीको समस्या, सेवासुविधा, विकास र संमवृद्धिका लागि वडा कार्यालयले नीतिगत योजना र कार्यक्रमहरु ल्याइरहेको बताउनुभयो ।वडाध्यक्ष कार्कीले वडाभित्र मुख्यगरी शिक्षा, स्वास्थ्य, कृषि, सडक, सुरक्षा, पूर्वाधार र सशक्तिकरणतर्फ समुदायतर्फ खर्च गरिरहेको जानकारी दिनुभयो ।

    त्यसक्रममा वडा अध्यक्ष कार्कीले आजको शिबगञ्ज निर्माणमा विभिन्न समयमा निर्वाचित जनप्रतिनिधिहरु, बुद्धिजीविहरु, सामाजिक तथा राजनीतिक अगुवाहरु र पेशाकर्मीहरुप्रति आभारसहित कृतज्ञता प्रकट गर्नुभयो । त्यस्तैं, दिवगंत हुनुहुने शिबगञ्जनका पूर्व जनप्रतिनिधिहरु, पुराना व्याक्तित्वहरुको योगदानप्रति स्मरणगर्दै श्रद्धासम्मान व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा पूर्व जनप्रतिनिधि उषा केसी, रेडक्रसकर्मी तथा पूर्व शिक्षक नारायणप्रसाद दाहाल, पूर्व शिक्षका गंगाराम खनाल, एकीकृत समाजवादीका नेता सन्तोष इजम, एमाले नेता सुजन भेटुवाल, कांग्रेस नेता शेरबहादुर खढ्का, वडा कार्यालय भवनका लागि जग्गादाताहरु, प्रहरी, शिक्षक, विद्यार्थीहरु, व्यवसायी, पत्रकारहरुको लगायतको उपस्थिति थियो ।

    वडा सदस्य नरेन्द बस्नेतले स्वागत मन्तव्य राख्नुभएको थियो । औपचारिक कार्यक्रमपछि तीज गीतहरुमा सहभागिहरुले नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएका वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

  • दमकमा ॐ शान्ति  डेन्टल हस्पिटलमा मिनि लाइब्रेरी स्थापना

    दमकमा ॐ शान्ति डेन्टल हस्पिटलमा मिनि लाइब्रेरी स्थापना

    भदौ ६, दमक / पठन संस्कृतिको प्रवद्र्धन र सेवाग्राहीलाई पठनमार्फत मानसिक सान्त्वना दिने उद्देश्यले दमक–५ स्थित ओम शान्ति डेन्टल हस्पिटलमा मिनि लाइब्रेरी स्थापना गरिएको छ।

    डिपीएल कमलको पहलमा स्थापना गरिएको उक्त लाइब्रेरीमा लायन्स क्लब अफ गोल्डले पुस्तक प्रदान गरी सहयोग गरेको हो। कार्यक्रममा स्वागत मन्तव्य डिपीएल नेपालका उपाध्यक्ष कमल गैरेले गरेका थिए भने डिपीएल नेपालका अध्यक्ष अनु भण्डारी प्रमुख अतिथि रहनुभएको थियो।

    संविधानसभा सदस्य दीपक कार्कीले प्रमुख वक्ताको रूपमा मन्तव्य व्यक्त गर्नुभयो। उहाँले पठन–पाठनको संस्कृति हराउँदै गएको वर्तमान अवस्थामा यस्ता प्रयासहरूले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

    डिपीएल नेपालका संस्थापक अध्यक्ष भेसराज न्यौपानेले सामाजिक सञ्जालको अत्यधिक प्रयोगका कारण पुस्तकमुखी संस्कृति ओझेलमा परेको बताउँदै मिनि लाइब्रेरीले पठन संस्कृतिलाई पुनः जीवन्त बनाउन मद्दत पुर्‍याउने धारणा व्यक्त गर्नुभयो।

    ओम शान्ति डेन्टल हस्पिटलकी डा. मल्लिका श्रेष्ठले बिरामीहरूको उपचारमा केही समय लाग्ने भएकाले प्रतीक्षा गर्ने समयमा पुस्तक पढ्न पाउने सुविधा निकै उपयोगी हुने बताउनुभयो। साथै, लायन्स क्लब अफ गोल्डका अध्यक्ष डा. हेमराज गैरेले बुक कर्नरमा राखिएका पुस्तकहरू एक महिना पछि नयाँ पुस्तकसँग परिवर्तन गरिने जानकारी दिनुभयो।

    कार्यक्रमको अध्यक्षता डिपीएल कमलका कार्यवाहक अध्यक्ष शम्भु निरौलाले गर्नुभएको थियो भने सञ्चालन वरिष्ठ उपाध्यक्ष दिवस खतिवडाले गर्नुभएको थियो। कार्यक्रममा डिपीएल गौरादहका अध्यक्ष ध्रुव गिरी, लायन्स क्लब अफ गोल्डका कोषाध्यक्ष डा. राजेश श्रेष्ठ, सदस्य डा. टङ्क न्यौपाने, डा. स्मारक दाहाल, रिजन चेयर नवीन ताम्राकार लगायतको उपस्थिति थियो।