Author: Multi Media

  • निजी विद्यालयहरूको माग सम्बोधन गर्न दमकमा प्याब्सन–एन पाब्सनद्वारा ज्ञापनपत्र

    निजी विद्यालयहरूको माग सम्बोधन गर्न दमकमा प्याब्सन–एन पाब्सनद्वारा ज्ञापनपत्र

    साउन २९, दमक / दमक नगरपालिकामा दमक नगर प्याब्सन र एन. प्याब्सनले संयुक्त रूपमा सरकारसमक्ष आफ्ना मागहरू सम्बोधन गर्न आग्रह गर्दै दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाई र शिक्षा शाखा अधिकृत सोमनाथ गुरागाईलाई ज्ञापनपत्र बुझाएका छन्।

    कार्यक्रमको अध्यक्षता दमक प्याब्सनका अध्यक्ष नबिन योगी र दमक एन. प्याब्सनका अध्यक्ष सागर श्रेष्ठले गरेका थिए भने सञ्चालन दमक प्याब्सनका सचिव लक्ष्मी नेपालले गरेका थिए। कार्यक्रममा दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाई, शिक्षा शाखा अधिकृत सोमनाथ गुरागाई, एन. प्याब्सन वरिष्ठ कार्यकारी उपाध्यक्ष जय बहादुर श्रेष्ठ, प्रदेश प्याब्सनका वरिष्ठ उपाध्यक्ष कोशराज प्याकुरेल लगायतको उपस्थिती थियो।

    ज्ञापनपत्र वाचन प्याब्सन केन्द्रिय सदस्य श्रवण कुमार पोख्रेलले गरेका थिए। कार्यक्रममा बोल्दै कोषराज प्याकुरेलले निजी विद्यालयहरू गैरनाफामूलक बनाउनुपर्ने, पूर्ण छात्रवृत्ति दिने जस्ता प्रावधानको विरोध गर्दै विद्यालयहरूको दिगोपनमा असर पर्ने भएकाले सच्याउनुपर्ने धारणा राखे। त्यसैगरी जय बहादुर श्रेष्ठले सरकारले विद्यालयहरूको हितमा काम नगरेको, निजी विद्यालय निषेधजस्तो देखिने शिक्षा विधेयक ल्याउन लागेको र यसलाई निजी विद्यालयमैत्री बनाउनुपर्ने माग गरे। नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईले निजी विद्यालयको आवाज सरकारसम्म पुर्याउन सहयोग गर्ने र आवश्यक सहयोग सधैं गर्ने प्रतिबद्धता जनाइन्।

    निजी विद्यालयहरूको असन्तुष्टिको मूल कारण सरकारले ल्याउन लागेको नयाँ शिक्षा विधेयक हो, जसमा विद्यालयलाई क्रमशः गैर–नाफामूलक बनाउने, पूर्ण छात्रवृत्ति उपलब्ध गराउने, र छात्रवृत्ति अन्तर्गत भर्ना शुल्कदेखि पोसाक, यातायातसम्मको सम्पूर्ण खर्च विद्यालयले व्यहोर्नुपर्ने प्रावधान रहेको छ। यसबारे हिसान, नेशनल प्याब्सन, एन. प्याब्सन र प्याब्सनले यसअघि नै आपत्ति जनाउँदै हालको १० प्रतिशत छात्रवृत्ति व्यवस्था निरन्तरता दिनुपर्ने, ‘पूर्ण छात्रवृत्ति’ शब्द हटाउनुपर्ने, र गैरनाफामूलक बनाउने व्यवस्था पूर्ण रूपमा खारेज गर्नुपर्ने माग राखेका छन्।

    निजी विद्यालय सञ्चालकहरूले नेपालको शिक्षा क्षेत्रमा करिब ६ खर्ब रुपैयाँ लगानी, ५ लाख रोजगारी र ३४ प्रतिशत विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरेको दाबी गर्दै विधेयकले निजी क्षेत्रलाई निरुत्साहित गर्ने बताएका छन्। उनीहरूले माग सम्बोधन नभए कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन्।

  • बर्खे धानको समर्थन मूल्य बढ्यो , किसानलाई राहत

    बर्खे धानको समर्थन मूल्य बढ्यो , किसानलाई राहत

    साउन २९, काठमाडौँ / सरकारले धानको न्यूनतम समर्थन मूल्य बढाएको छ । मन्त्रिपरिषद्ले चालू आर्थिक वर्षका लागि तोकेको बर्खे धानको न्यूनतम समर्थन मूल्य अनुसार धानको मूल्य बढेको हो ।

    बैठकले मोटा धानको मूल्य प्रतिक्विन्टल ३ हजार ४ सय ६३ रुपैयाँ ८१ पैसा तोकेको छ । गएको वर्ष मोटा धानको न्यूनतम समर्थन मूल्य ३ हजार ४ सय १० रुपैयाँ थियो ।

    यस्तै मध्यम धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय २८ रुपैयाँ ३३ पैसा तोकेको छ । गएको वर्ष मध्यम धानको न्यूनतम मूल्य ३ हजार ५ सय ८० रुपैयाँ तोकेको थियो ।

    केही वर्ष अघिसम्म किसानले धान भित्र्याउन शुरू गर्दा पनि सरकारले न्यूनतम समर्थन मूल्य नतोक्दा किसान ठगिने समस्या थियो । तर पछिल्ला केही वर्षदेखि सरकारले चाँडै मूल्य तोक्न थालेको छ ।

  • विशेष अदालतद्वारा माओवादी नेता गगन पुरी सहित ९ जनालाई दाेषी ठहर

    विशेष अदालतद्वारा माओवादी नेता गगन पुरी सहित ९ जनालाई दाेषी ठहर

    साउन २८, काठमाडौँ / झापाको बालुवाटारस्थित सरकारी जग्गा व्यक्तिको नाममा पास गराइएको प्रकरणमा विशेष अदालत काठमाडौंले माओवादी नेता रेवतराज पुरी (गगन) सहित ९ जनालाई दोषी ठहर गरेको छ।

    विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा न्यायाधीशद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको संयुक्त इजलासले सात जना मालपोत तथा नापी कार्यालयका कर्मचारी र दुई जना जग्गाधनीलाई दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको हो।मुख्य अभियुक्तका रूपमा ठहर गरिएका पुरीलाई एक वर्ष कैद र २० लाख ८३ हजार ६ सय ७१ रुपैयाँ जरिवाना तोकिएको छ। उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ (१) (ज) अनुसार मूल प्रतिवादी सरहको सजाय सुनाइएको हो।

    अदालतले नापी कार्यालय झापाका तत्कालीन प्रमुख नापी अधिकृत शशिकान्त झा, सर्वेक्षक सीताराम यादव, विन्देश्वर पञ्जियार, नापी अधिकृत रामदेव मण्डल धानुक, सर्वेक्षक विष्णुदेव यादव, अमिन ललितकुमार मण्डल, नायब सुब्बा रुद्रप्रसाद श्रेष्ठ, सर्वेक्षक रामकुमार दास र गणेशकुमार धिमालको संलग्नतामा सरकारी जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता भएको ठहर गरिएको छ।उनीहरूलाई भूमिकाअनुसार तीन महिना देखि एक वर्षसम्म कैद र विभिन्न मात्रामा जरिवाना तोकिएको अदालतले जनाएको छ।

  • दमकमा प्रहरीका लागि स्वास्थ्य शिविर सम्पन्न

    दमकमा प्रहरीका लागि स्वास्थ्य शिविर सम्पन्न

    साउन २८ , दमक / झापाको दमकस्थित खुशी–खुस्बु सीप विकास तालिम केन्द्रले आज दमक इलाका प्रहरी कार्यालयमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ। स्वास्थ्य शिविर ओम शान्ति डेन्टल, बिर्ताज्योति आँखा अस्पताल र दमक हस्पिटल एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोगमा सम्पन्न भएको हो।

    शिविरको उद्घाटन दमक इलाका प्रहरी कार्यालयका डीएसपी रामप्रसाद तिम्सिनाको प्रमुख आतिथ्यतामा गरिएको थियो। कार्यक्रममा बिर्ताज्योति आँखा अस्पतालका डा. मोती बराल, ओम शान्ति डेन्टल हस्पिटलका डा.सिपी गैरे लगायतको उपस्थिति थियो।

    खुस्बु ब्युटी पार्लरकी सञ्चालिका जमुना निरौला अधिकारीले राष्ट्रसेवक प्रहरीको आँखा, दाँत तथा स्वास्थ्य परीक्षण गर्ने अवसर पाउँदा खुशी लागेको बताइन्। उनले आफ्नो पार्लर र तालिम केन्द्रले विभिन्न सामाजिक कार्य गर्दै आएको जानकारी दिइन्।

    प्रमुख अतिथि डीएसपी तिम्सिनाले प्रहरीको स्वास्थ्य परीक्षणमा सहयोग पुर्‍याउने तथा कार्यक्रम आयोजना गर्ने सबै संघ–संस्थाप्रति आभार प्रकट गरे। उक्त शिविरबाट ६० भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ।

  • दमकमा मिडिया सञ्चालक र पत्रकारलाई सामाजिक सुरक्षा कोषबारे अभिमुखिकरण

    दमकमा मिडिया सञ्चालक र पत्रकारलाई सामाजिक सुरक्षा कोषबारे अभिमुखिकरण

    साउन २८, दमक – झापाको दमकका मिडिया सञ्चालक र पत्रकारहरुलाई सामाजिक सुरक्षा कोष र लेखा व्यवस्थापनबारे अभिमुखिकरण गरिएको छ। प्रेस चौतारी नेपाल झापाले आयोजना गरेको उक्त कार्यक्रममा दमक क्षेत्रका मिडिया सञ्चालक तथा पत्रकारहरुको सक्रिय सहभागिता रहेको थियो।

    कार्यक्रममा सामाजिक सुरक्षा कोष कोशी प्रदेश प्रमुख दिपकराज भट्ट र आन्तरिक राजश्व कार्यालय दमकका प्रमुख ज्ञानेन्द्र प्रसाद यादवले सहजीकरण गरेका थिए। भट्टले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको स्थापना, उद्देश्य, सञ्चालन प्रक्रिया, योगदानको दर, योजनाहरू र प्राप्त हुने सुविधाबारे विस्तृत जानकारी दिए। उनका अनुसार श्रमिक र रोजगारदाताले संयुक्त रूपमा योगदान गर्ने यस सरकारी योजनामा मासिक तलवको ३१ प्रतिशत जम्मा हुन्छ, जसमा ११ प्रतिशत श्रमिक र २० प्रतिशत रोजगारदाताबाट योगदान हुने गर्दछ।

    भट्टका अनुसार कोषमा आवद्ध श्रमिकले दुर्घटना विमा, स्वास्थ्य उपचार, मातृत्व तथा शिशु स्याहार भत्ता, घातक रोग उपचार खर्च, दीर्घकालीन पेन्सन लगायतका सेवा सुविधा पाउँछन्। यसमा औपचारिक, अनौपचारिक क्षेत्रका श्रमिक तथा वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरू पनि सहभागी हुन सक्ने उल्लेख गरियो।

    यस्तै, यादवले लेखा व्यवस्थापन र कर प्रणालीबारे जानकारी दिँदै कारोबार अनुसार कर तिर्नुपर्ने, समयमा कर नबुझाउँदा जरिवाना तिर्नु पर्ने र बिल–विजकको उचित व्यवस्था आवश्यक पर्ने विषयमा सहभागीलाई सचेत गराए। कार्यक्रमका प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रीय सचिव बिक्रम लुईटेलले सामाजिक सुरक्षा कोषमा आवद्ध हुनु श्रमिकको दीर्घकालीन सुरक्षाका लागि आवश्यक भएको उल्लेख गर्दै निम्न आय वर्गका लागि यो योजना महत्वपूर्ण हुने बताए।

    कार्यक्रम प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा चौतारीका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सहइञ्चार्ज गोपाल काफ्ले, केन्द्रीय सदस्य विष्णु पोखरेल, अग्रज पत्रकार गञ्जबहादुर दाहाल, हिमशिखर टिभीका सञ्चालक ध्रुव न्यौपाने, प्रदेश उपाध्यक्ष युवराज विवश, पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, सहसचिव रमेश तिवारी, प्रेस युनियन झापाका सभापति गिरीराज भट्टराई लगायतको सहभागिता रहेको थियो।

  • दमकमा राप्रपाको संगठन सुदृढीकरणका लागि पत्रकार सम्मेलन

    दमकमा राप्रपाको संगठन सुदृढीकरणका लागि पत्रकार सम्मेलन

    साउन २८, दमक / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दमक नगर समितिले आज पत्रकार सम्मेलन आयोजना गरी पार्टीलाई व्यवस्थित, मर्यादित र प्रभावशाली ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

    दमक नगर अध्यक्ष हेम सुवेदीले पत्रकार सम्मेलनमा बोल्दै पार्टीलाई चलायमान राख्दै हरेक क्षेत्र तथा स्थानमा सशक्त उपस्थिति जनाउने आफ्नो लक्ष्य रहेको बताए। उनले आगामी निर्वाचनमा पार्टीका उम्मेदवारलाई प्रत्येक पदमा विजयी बनाउन योजनाबद्ध र रणनीतिक रूपमा काम अघि बढाइने स्पष्ट पारे।

    सुवेदीका अनुसार, पत्रकार सम्मेलनको उद्देश्य प्रेस तथा मिडियासँगको सम्बन्धलाई अझ प्रगाढ बनाउने रहेको छ। कार्यक्रममा राप्रपाका जिल्ला सदस्य तथा दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खड्का, युना एन युनिस्टेड सप्लायर्सका सञ्चालक हरि तिवारी, भुवन ढकाल र विभिन्न वडाध्यक्षहरूको समेत उपस्थिति थियो।

  • दमकमा डुबेर बालकको मृत्यु

    दमकमा डुबेर बालकको मृत्यु

    साउन २८ ,दमक / झापाको दमक नगरपालिका–१० मा आज बिहान खोलामा डुबेर एक बालकको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय दमकका अनुसार बिहान करिब ७ बजेतिर स्थानीय ११ वर्षीय धर्मेन्द्र प्रसाई र सोही उमेरका भुपेन्द्र ढकाल खेल्दै भालु खोलामा पौडी खेल्ने क्रममा दुर्घटना भएको हो।

    धर्मेन्द्र प्रसाईलाई खोलाले करिब ६०० मिटर टाढासम्म बगाएको स्थानीयले देखेपछि तत्काल उद्धार गरी उपचारका लागि निम्स अस्पताल दमक पुर्याइएको थियो। तर अस्पताल पुर्याउनासाथ चिकित्सकले बिहान ७:५० बजे मृत घोषित गरेका हुन्।

    घटनास्थलमा थप अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब निरीक्षक नविन राईको नेतृत्वमा टोली खटिएको प्रहरीले जनाएको छ।