Author: Multi Media

  • कमल गाउँपालिकाद्वारा सामुदायिक विद्यालयमा इ-हाजिरी प्रणाली र स्थानीय पाठ्यक्रम निर्माण समिति गठन, शिक्षा सुधारतर्फ ठोस कदम

    कमल गाउँपालिकाद्वारा सामुदायिक विद्यालयमा इ-हाजिरी प्रणाली र स्थानीय पाठ्यक्रम निर्माण समिति गठन, शिक्षा सुधारतर्फ ठोस कदम

    साउन १९, दमक / सामुदायिक शिक्षा सुधारका लागि सकारात्मक काम अघि बढाएको झापाको कमल गाउँपालिकाले पालिका भित्रका बिद्यालयहरुमा शिक्षक दरबन्दी मिलान सम्बन्धि कार्यदल गठन गरेको छ ।

    गाउँपालिकाको शिक्षा समितिका अध्यक्ष अध्यक्ष समेत रहनु भएका गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा आज बसेको समितिको बैठकले स्थानीय सामुदायिक विद्यालयको अनुगमन र पारदर्शिताका लागि गाउँपालिका कार्यालयको पहुँचमा रहने गरी पहिलो चरणमा १० वटा माध्यमिक तहका विद्यालयमा इ–हाजिरी प्रणाली लागू गर्ने र स्थानीय पाठ्यक्रम निर्माणका लागि पाठ्यक्रम मस्यौदा समिति समेत गठन गर्ने निर्णय गरेको छ । इ- हाजिरी प्रणालीको पहुँच अब सिधै गाउँपालिकाको कार्यालयमा रहने छ– बैठकपछि अध्यक्ष हुकुमसिंह राईले भन्नु भयो ।

    प्रणाली जडान पश्चात शिक्षक तथा विद्यालयको उपस्थिति स्थिति र अनुशासनको नियमित र प्रभावकारी निगरानी सम्भव हुने अपेक्षा गरिएको छ । बैठकमा शिक्षा शाखा प्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा अन्य सरोकारवालाहरूको समेत उपस्थिति रहेको थियो । गाउँपालिकाले यस अघि सार्वजनिक सरोकारको बिषय भन्दै गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका छोराछोरीहरुको बिद्यालय तहको अध्ययन गर्ने बिद्यालयको सूची सार्वजनिक गरेको थियो ।

    पालिकाले यस अघि सामुदायिक बिद्यालय हाता भित्र शैक्षिक क्रियाकलाप बाहेकका अन्य कुनै पनि राजनीतिक दल, संघ संस्था आदीका गतिबिधिहरु सञ्चालनमा रोक लगाउने निर्णय गरिसकेको छ । त्यस्तै पालिका भित्रका सामुदायिक बिद्यालयमा बिद्यार्थीहरुको आकर्षण बढाउन नृत्य प्रशिक्षण, भलिबल खेल प्रशिक्षण जस्ता आकर्षक र प्रभावकारी कामहरु गर्दै आएको छ भने सामुदायिक बिद्यालयहरुमा स्मार्ट बोर्डको प्रयोग गरी डिजिटल कक्षा सञ्चालनको अभ्यास गर्नुका साथै बिद्यालयको भौतिक पूर्वाधार बिकाससँगै सबै बिद्यालयका भवन एकै रंग (पहेंलो) बनाउने काम गरिरहेको छ ।

    सामुदायिक बिद्यालयको गत बर्षको एसइइ परीक्षामा कमल गाउँपालिकाका ७१ प्रतिशत बिद्यार्थीहरु ग्रेडेड भएका छन् । कमल गाउँपालिका एसइइ परीक्षामा झापा जिल्लामै सबैभन्दा बढी बिद्यार्थी प्रतिशत ग्रेडेडको सूचीमा पार्न सफल पालिकाका रुपमा रहेको गाउँपालिकाको दाबी छ ।

  • धनेश्वर महादेव मन्दिरमा श्रावण सोमबारका अवसरमा प्रसाद वितरण

    धनेश्वर महादेव मन्दिरमा श्रावण सोमबारका अवसरमा प्रसाद वितरण

    दमक, साउन १९ – झापाको दमक नगरपालिका वडा नं ५ स्थित धनेश्वर महादेव मन्दिरको प्राङ्गणमा श्रावण महिनाको तेस्रो सोमबार विशेष प्रसाद वितरण कार्यक्रम सम्पन्न भएको छ। पहिलो पाइला नेपाल दमक शाखाको अगुवाइमा रोटरी क्लब अफ दमक, लायन्स क्लब अफ दमक, DPL लगायतका संघसंस्थाहरूको संयुक्त आयोजनामा तथा इलाका प्रहरी कार्यालय दमकको सहकार्यमा मन्दिरमा जल चढाउन आएका भक्तजनहरूलाई फलफुल र पानीसहित प्रसाद वितरण गरिएको हो।

    उक्त कार्यक्रममा अमेरिका निवासी सामाजिक अभियन्ता धनञ्जय भट्टराईको विशेष सहयोग रहेको थियो। भट्टराईले अमेरिकाबाट सहयोग गर्दै पहिलो पाइला नेपाल दमक शाखामार्फत धनेश्वर मन्दिरमा प्रसाद वितरण गराएका हुन्। कार्यक्रममा पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष राजु निरौलाले आगामी सोमबार पशुपति मन्दिरमा समेत प्रसाद वितरण गरिने जानकारी दिनुभयो। उहाँले साउन महिनाको प्रत्येक सोमबार दमक र आसपासका मन्दिरहरूमा प्रसाद वितरण गर्दै आइरहेको बताउनुभयो।

    कार्यक्रममा संस्थाका उपाध्यक्ष नवराज खड्का, सचिव सन्जु निरौला, केन्द्रीय सदस्य मेघनाथ फुएल, क्लब हिमालयन टाइगरका अध्यक्ष रेवतराज भण्डारी, युना एन युनिस ट्रेन्ड सप्लायर्सका सञ्चालक हरि तिवारी, दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खड्का, दमक होटल व्यवसायी संघका सचिव भूपेन्द्र निरौला, देबु गडतौला, पूजा दाहाल, सन्जिब रिमाल, बिमल बराल, जुनु रेग्मी, सन्जु शिवाकोटी लगायतको उपस्थिति रहेको थियो। अमेरिकामा रहेर पनि नेपालका धार्मिक, सामाजिक कार्यमा निरन्तर सहयोग गर्दै आउनुभएका भट्टराईको योगदानप्रति सहभागीहरूले धन्यवाद व्यक्त गरेका थिए।

  • प्रधानमन्त्री ओलीसँग ज्येष्ठ नागरिक महासंघको मागपत्र बुझाउँदै भेटघाट

    प्रधानमन्त्री ओलीसँग ज्येष्ठ नागरिक महासंघको मागपत्र बुझाउँदै भेटघाट

    साउन १८ , काठमाडौं/ ज्येष्ठ नागरिकहरुको हक, हित र अधिकारका लागि भएका ऐन नियमहरुको पूर्ण कार्यान्वयन र थप सेवा सुविधाको माग गर्दै राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको केन्द्रीय टोलीले प्रधानमन्त्री के.पी. शर्मा ओलीसँग भेटघाट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको भेटघाट सकारात्मक र आशा जगाउने खालको भएको महासंघका केन्द्रीय अध्यक्ष सूर्य प्रसाद श्रेष्ठले बताउनुभएको छ ।

    महासंघले जानकारी र कार्यान्वयनका लागि बुझाएको पत्र वाचन गर्दा प्रधानमन्त्री ओलीले निकै चासो र ध्यान दिएर सुनेको अनि खुशीको भावका साथ त्यसमा भएका मागहरु पूरा गर्न सकारात्मक पहल गर्ने आश्वासन दिएको जानकारी गराइएको छ ।

    प्रधानमन्त्रीले ज्येष्ठ नागरिकहरुको जीवन सुखी र खुशी राख्न सरकारले सकेको पहल र कार्य गर्ने कुरामा कुनै कसर बाँकी नराख्ने बताएको पनि टोलीले भेटपछि प्रतिक्रिया दिएको छ । महासंघले ज्येष्ठ नागरिकहरुको स्वास्थोपचारमा ५० प्रतिशत र सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा यातायात भाडामा ५० प्रतिशत छूट दिनुपर्ने कानुनी व्यवस्थालाई पूर्णरुपले लागू गर्न माग गर्दै आएको छ ।

    त्यस्तै नागरिकता नपाएका ज्येष्ठ नागरिकको पहिचान र व्यवस्थापन, वृद्धभत्ता वितरण प्रणालीमा सुधार, उमेर र अवस्थाका आधारमा ज्येष्ठ नागरिकहरुको वर्गीकरण गरी सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था तथा राष्ट्रिय सभामा जेष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने लगायतका मागहरू पनि राख्दै आएको छ । खासगरी हाल देशमा २५०० भन्दा बढी ज्येष्ठ नागरिकहरु नागरिकताविहीन अवस्थामा रहेको र यसले उनीहरूलाई राज्यको सेवा सुविधाबाट वञ्चित बनाएको भन्दै यो समस्या समाधान गर्न नेतृत्व र पहलकदमी लिइदिन महासंघले अनुरोध गर्ने गरेको छ ।

    प्रधानमन्त्री ओलीसंगको भेटमा ज्येष्ठ नागरिक बैंकको स्थापना गर्न पनि माग गरिएको बताइएको छ । भेटघाटका लागि महासंघका अध्यक्ष सूर्य प्रसाद श्रेष्ठको नेतृत्वमा प्रथम उपाध्यक्ष शारदा देवी चन्द, महासचिव मोहनलाल श्रेष्ठ, कोषाध्यक्ष केदारनाथ तिमिल्सिना, सचिव वासुदेव शर्मा पण्डित, केन्द्रीय सदस्यहरु क्रमशः डा. गोपाल खनाल, विवेन्द्र भक्त प्रधानाङ्ग लगायतको टोली वालुवाटार पुगेको थियो । महासंघको टोलीले प्रधानमन्त्री समक्ष प्रदेश ज्येष्ठ नागरिक महासंघ र जिल्ला ज्येष्ठ नागरिक महासंघहरुलाई कसरी ज्येष्ठ नागरिकहरुको हक, हित र अधिकारको काममा परिचालन गर्ने साथै त्यसका लागि राज्यका तर्फबाट के कस्तो साथ सहयोग चाहिन्छ भन्ने बारेमा पनि समस्या र समाधान सहितका विषयहरु प्रष्ट रुपमा राखेको थियो । प्रधानमन्त्री ओलीले पनि ज्येष्ठ नागरिकको टोलीसंग खुलेर आफ्‌ना कुराहरु राख्नुभएको थियो ।

    यस्ता मागहरुका सन्दर्भमा राज्य र सरकारको ध्यानाकृष्ट गर्न महासंघको टोलीले यसअघि राष्ट्रपति रामचन्द्र पौडेल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडी, नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोल प्रसाद अर्याल लगायतसँग भेटघाट गरिसकेको छ ।

  • पोखरामा ‘द आर्ट अफ माइन्ड कन्ट्रोल’ कार्यक्रम सम्पन्न

    पोखरामा ‘द आर्ट अफ माइन्ड कन्ट्रोल’ कार्यक्रम सम्पन्न

    पोखरा – डाइनामिक पब्लिक लाइब्रेरी (DPL) नेपाल अन्तर्गत DPL गण्डकी प्रदेश, DPL पोखरा र लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका लायन्स क्लब अफ पोखरा युनिटी चौतारी र लायन्स क्लब अफ पोखरा डाइनामिकको संयुक्त आयोजनामा तथा इस्कोन पोखराको सहयोगमा ‘द आर्ट अफ माइन्ड कन्ट्रोल– मानसिक स्वास्थ्य र आध्यात्मिक उपचार’ सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ।

    शनिबार पोखरा–५ मालेपाटनस्थित वडा सदन भवनमा आयोजित उक्त कार्यक्रम DPL पोखराकी अध्यक्ष मनिका गिरीको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रममा सशस्त्र प्रहरी बल कालिका गणका गणपति श्री तिमिल्सिनाले प्रमुख अतिथिको रूपमा मन्तव्य राख्नुभएको थियो।

    कार्यक्रममा जनप्रतिनिधि, विभिन्न आमा समूह, टोल विकास समिति अध्यक्षहरू, नेपाल रेडक्रस सोसाइटी लगायत विभिन्न संघसंस्थाबाट प्रतिनिधित्व गर्दै करिब १५० जनाको सक्रिय सहभागिता रहेको थियो। मानसिक स्वास्थ्य र आध्यात्मिक सन्तुलनका लागि चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो।

    कार्यक्रमका बारेमा जानकारी दिंदै DPL नेपाल पोखरा गण्डकीका असाइन उपाध्यक्ष आयुष बटाजुले आउँदो शनिबार बुटवलमा DPL Butwal को आयोजनामा भव्य साहित्यिक साँझ कार्यक्रम गरिने जानकारी समेत दिनुभएको छ।

  • “है बाबा आमा” गीतको भिडियो सार्वजनिक

    “है बाबा आमा” गीतको भिडियो सार्वजनिक

    दमक / नेपाली सांगीतिक क्षेत्रमा एक नयाँ सुसमाचार गीत थपिएको छ। लोकधुनमा आधारित “है बाबा आमा” शीर्षकको म्युजिक भिडियो सार्वजनिक भएको हो।

    बिरेन तितुङको निर्देशनमा बनेको यस भिडियोमा राजकुमार राई, रमेश परियार, लोइस लिम्बू, अस्मिता परियार, सगुना राई, निमा तामाङ र इच्छामाया मगर लगायत कलाकारहरूको अभिनय समावेश छ।

    गीतमा मन आले र अनु चौधरीको स्वर, आलेकै संगीत, साथै आशिष लामा र रेशम गदालको एरेन्ज र मिक्सिङ रहेको छ। भिडियोमा मगर समुदायको सांस्कृतिक पहिरन, परम्परा र पारिवारिक भावनालाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ।

    नयापाना फिल्म्सको पोस्ट प्रोडक्सन रहेको यस भिडियोले नेपाली सांस्कृतिक विविधता र सुसमाचार सन्देशमार्फत दर्शकको मन जित्ने विश्वास गरिएको छ।

  • झापामा फोटो प्रतियोगिता र पत्रकारिता तालिम हुने

    झापामा फोटो प्रतियोगिता र पत्रकारिता तालिम हुने

    साउन १७,बिर्तामोड — राष्ट्रिय फोटो पत्रकार समूह झापा शाखाले जिल्लास्तरीय फोटो प्रतियोगिता, प्रदर्शनी र फोटो पत्रकारिता तालिम सञ्चालन गर्ने भएको छ।समूहको हालै सम्पन्न कार्यसमितिको बैठकले कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो। समूहका अध्यक्ष नेत्रविक्रम बिमलीका अनुसार झापाभर क्रियाशील फोटो पत्रकारहरूलाई एकीकृत गर्दै उनीहरूको पेशागत विकासका लागि व्यावसायिक अवसरहरू सिर्जना गर्नु कार्यक्रमको उद्देश्य रहेको छ।

    उनका अनुसार समूहले झापामा आयोजना गर्न लागेको यो पहिलो कार्यक्रम हो। तालिम भदौको अन्त्यसम्म सञ्चालन गरिनेछ भने फोटो प्रतियोगिता तथा प्रदर्शनी असोज महिनाभित्र सम्पन्न गरिने कार्यतालिका तय गरिएको छ।

    कार्यक्रम घोषणा गरिएको बैठकमा नेपाल पत्रकार महासंघ झापा शाखाका सह–सचिव तिलक योञ्जनको उपस्थिति रहेको थियो। बैठकले संस्थालाई थप सक्रिय बनाउन तथा कार्यक्रम व्यवस्थापन गर्न समूहका उपाध्यक्ष सन्तोष न्यौपानेको संयोजकत्वमा समिति पनि गठन गरेको छ।

  • दमक ट्राफिक प्रमुख बिजय राईलाई स्वागत गर्दै नेपाल यातायात मजदुर संघद्वारा कार्यक्रम सम्पन्न

    दमक ट्राफिक प्रमुख बिजय राईलाई स्वागत गर्दै नेपाल यातायात मजदुर संघद्वारा कार्यक्रम सम्पन्न

    दमक, साउन १७ – नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक इकाई समितिले दमक ट्राफिक प्रहरी प्रमुख बिजय राईलाई स्वागत तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ। दुर्घटना न्यूनीकरण, सवारी पार्किङ व्यवस्थापन र ट्राफिक व्यवस्थापनमा सहकार्य गर्दै आगामी कार्यकाल सफल होस् भन्ने शुभकामना दिँदै कार्यक्रम आयोजना गरिएको हो।

    हलुका इकाई समितिका अध्यक्ष खड्ग पान्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सचिव डिल्लीराज अधिकारीले संचालन गर्नु भएको थियो। उपाध्यक्ष भिम पौडेलले स्वागत मन्तव्य राख्दै प्रमुख राईलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै ट्राफिक प्रहरी प्रमुख बिजय राईले दमकमा ट्राफिक व्यवस्थापनका लागि सबै संघ–संस्था तथा सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनु भयो।

    उक्त कार्यक्रममा नेपाल यातायात मजदुर संघ कोशी प्रदेश उपाध्यक्ष गान्धी प्रसाद भण्डारी, कार्य समिति पदाधिकारीहरु तथा अन्य संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्य समिति सदस्य अर्जुन कालाखेतीले जानकारी दिनुभयो।