Author: Multi Media

  • दमकमा डाँकिनी  खोलाको फोहोर सफा गर्दै बृहत् सरसफाइ अभियान सम्पन्न

    दमकमा डाँकिनी खोलाको फोहोर सफा गर्दै बृहत् सरसफाइ अभियान सम्पन्न

    दमक / झापाको दमक नगरपालिकामा राष्ट्रिय युवा सङ्घ नेपाल दमक नगर कमिटीले डाँकिनी खोलामा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। शनिबार आयोजित कार्यक्रममा दमक–२ स्थित डाँकिनी खोलामा फालिएको दुई ट्याक्टर फोहोर उठाइएको हाे ।

    स्थानियवासीका अनुसार बजार क्षेत्रका फोहोर सिटी सफारी र मोटरसाइकलजस्ता साधनमार्फत ल्याएर डाँकिनी खोलामा फालिँदै आएको थियो, जसका कारण तीव्र दुर्गन्ध फैलिएको थियो। सोही समस्याको समाधान गर्न राष्ट्रिय युवा सङ्घ नेपालले सरसफाइ कार्यक्रम आयोजना गरेको राष्ट्रिय युवा सङ्घ दमक नगर अध्यक्ष छवि खतिवडाले जानकारी दिनुभयो।

    कार्यक्रम नेक्स्ट इरा एनर्जीको सहकार्यमा सम्पन्न भएको हो। संस्थाका अध्यक्ष बिमल खतिवडाले अबदेखि बजार क्षेत्रका फोहोर डाँकिनी खोलामा नफाल्न र व्यवस्थापनका लागि नेक्स्ट इरा एनर्जी सँग सहकार्य गर्न आह्वान गर्नुभयो। ।

    दमक नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष प्रजापति सापकोटाले फोहोर डाँकिनी खोलाजस्ता सार्वजनिक स्थानमा फाल्नेहरूलाई अबदेखि रु १,५०० देखि रु ५,००० सम्म जरिवाना गरिने चेतावनी दिनुभयो।

    कार्यक्रममा दमक–३ का वडा अध्यक्ष नवीन बराल, नेकपा एमाले दमक नगर कमिटी अध्यक्ष राम पौडेल, केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज रोमनाथ ओली, प्रदेश कमिटी सदस्य अम्बिका खनाल, राष्ट्रिय युवा सङ्घ जिल्ला सचिव उमेश मिश्र, क्षेत्र नं. ५ का संयोजक विवेक भट्टराई र नगर कमिटी इन्चार्ज सुदीप वानेमा फागो लगायतको उल्लेख्य उपस्थिति थियो।

    उक्त अभियानले फोहोरमैला व्यवस्थापनप्रति स्थानीय तह र जनप्रतिनिधिको सक्रियता देखाएको छ भने आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने प्रतिबद्धता आयोजकले जनाएकाे छ ।

  • होम टु होटल होटल टु हस्पिटलको अवस्था अन्त्य गर्न  गौरीगन्जबाट अभियान शुरु

    होम टु होटल होटल टु हस्पिटलको अवस्था अन्त्य गर्न गौरीगन्जबाट अभियान शुरु

    दमक / होम टु होटल होटल टु हस्पिटलको अवस्थाको अन्त्य गर्न स्थानीय उत्पादनलाई प्रवर्द्धन गरी, स्वस्थ जीवनका लागि स्वस्थ आहार प्रयोग गरौं भन्ने नारासहित गौरिगञ्ज गाउँपालिकामा स्थानीय खाद्य वस्तुको प्रयोग र विद्यालयस्तरीय दिवा खाजा कार्यक्रमबारे छलफल कार्यक्रम सम्पन्न भएको छ।

    पाथिभरा हेल्थ एण्ड वेलनेस फाउन्डेसन, दमकको आयोजनामा र गौरिगञ्ज गाउँपालिकाको संयोजनमा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो।

    गौरिगञ्ज गाउँपालिकाभित्रका सबै सरकारी विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको उक्त छलफलमा विद्यालयमा प्रदान गरिने दिवा खाजामा स्थानीय अन्न तथा परिकारको प्रयोगलाई प्राथमिकता दिनुपर्ने विषयमा व्यापक छलफल भएको थियो।

    कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुवरले यस्तो कार्यक्रमले विद्यालय शिक्षासँगै बालबालिकाको पोषण सुरक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गरेकि छ्न ।

    प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले सानो बजेटले राम्रो काम भएको बताउदै स्थानिय उत्पादन प्रयोगमा सबैको चासो र ध्यान जानु पर्नेमा जोड दिनुभयो ।

    बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव विजय शर्माले गौरिगन्जको स्थानीय उत्पादनलाइ प्रबर्द्धन गर्न पालिका र फाउन्डेसनले गरेको कार्य अनुकरणीय भएको बताए ।

    शिक्षा शाखा प्रमुख टन्कप्रसाद खरेल, स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्र लगायतले आ–आफ्ना धारणा राख्दै यस्तो पहलले बालबालिकाको स्वास्थ्य सुधार र स्थानीय अर्थतन्त्रमा सकारात्मक असर पार्ने उल्लेख गरे।

    पाथिभरा हेल्थ एण्ड वेलनेस फाउन्डेसनका अध्यक्ष बिष्णुप्रसाद पोखरेलले फाउन्डेसनद्वारा गौरिगञ्जमा स्थापना गरिएको “गौरी फुड प्रोडक्ट” मार्फत दुई महिनाको अवधिमा ६ जना स्थानीयलाई तालिम दिई सातु, फापरको पिठो, कोदोको पिठो र मकैको चामल उत्पादन सुरु गरिएको जानकारी दिए।

    उनले पालिकासँग सहकार्यलाई निरन्तरता दिँदै स्थानीय उत्पादन, पोषण, र महिला तथा युवाको रोजगारीसँग सम्बन्धित परियोजनामा सहकार्य विस्तार गरिने घोषणा गरे।

    कार्यक्रमको सञ्चालन टेकनाथ अर्यालले गरेका थिए भने फाउन्डेसनका सचिव अर्जुन पौडेलसहित संस्थाका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

    रसायन तथा बजारमा पाइने अखाद्य सामाग्रीले होम टु होटल होटल टु हस्पिटलको अवस्थाको अन्त्य गर्न फाउन्डेसनले कोशी प्रदेशका पालिकाहरुमा यो बर्ष अभियान चलाउने घोषणा गरिएको छ ।

    कार्यक्रमको समापनमा आयोजक संस्थाले सहभागी सबैप्रति आभार प्रकट गर्दै यस्ता प्रयासहरूबाट स्थानीय उत्पादन र पोषण सुरक्षाको प्रवर्द्धन हुने विश्वास व्यक्त गरिएको थियो।

  • दमकमा आगलागी पीडित होटल सञ्चालकलाई होटल व्यवसायी संघको तर्फबाट आर्थिक सहयोग

    दमकमा आगलागी पीडित होटल सञ्चालकलाई होटल व्यवसायी संघको तर्फबाट आर्थिक सहयोग

    दमक / बिहीबार दमक बजारमा भएको भीषण आगलागीबाट क्षति व्यहोरेको सेवारो सेकुवा कर्नर होटल सञ्चालकलाई राहतस्वरूप होटल व्यवसायी संघका विभिन्न तहबाट आर्थिक सहयोग प्रदान गरिएको छ।

    एक विशेष कार्यक्रमका बीच होटल व्यवसायी महासंघ कोशी प्रदेश, होटल व्यवसायी संघ झापा, र क्षेत्रीय होटल व्यवसायी संघ दमकको संयुक्त पहलमा पीडित होटल सञ्चालकलाई २० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको हो।

    सहयोग हस्तान्तरण कार्यक्रममा होटल व्यवसायी महासंघ कोशी प्रदेश अध्यक्ष राजन दङ्गाल, झापा जिल्ला अध्यक्ष इन्दिरा श्रेष्ठ, दमक होटल व्यवसायी संघका महासचिव भूपेन्द्र न्यौपाने लगायत संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

    दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापाले कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाको तर्फबाट सक्दो सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो। वडा नं. ६ का अध्यक्ष टेकबहादुर थापाले पीडित परिवारप्रति सान्तना प्रकट गर्दै वडा कार्यालयबाट पनि आवश्यक सहयोग गर्ने बताउनुभयो।

    कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंले सबै व्यवसायीलाई संघसंस्थामा दर्ता भई सक्रिय रहन आग्रह गर्नुभयो। उहाँले संघको सदस्यता लिई व्यवसायलाई व्यवस्थित बनाएमा भविष्यमा यस्ता संकटमा राहत तथा सहयोग सहज हुने उल्लेख गर्नुभयो।

    त्यस्तै, दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खड्का, सुरुंगा होटल व्यवसायी संघ, र अन्य क्षेत्रीय संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति तथा सहभागितामा सो सहयोग रकम हस्तान्तरण गरिएको थियो।

    होटल व्यवसायी महासंघका अध्यक्ष दङ्गालले संस्थागत एकताले संकटमा परेका व्यवसायीलाई साथ दिन सकिने स्पष्ट पार्दै सबै व्यवसायीलाई संघसंस्थामा आबद्ध हुन आह्वान गर्नुभयो।

  • झापामा प्रतिबन्धित लागूऔषधसहित एक युवक पक्राउ

    झापामा प्रतिबन्धित लागूऔषधसहित एक युवक पक्राउ

    दमक / इलाका प्रहरी कार्यालय अनारमनी, झापाले प्रतिबन्धित लागूऔषधको ठूलो परिमाणसहित एक युवकलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा साउन १ गते विर्तामोड नगरपालिका–५, मंगलदीप टोलस्थित मनकुमार सङ्ग्रौलाको दुईतले घरको भुइँतल्लामा रहेको दुई कोठामा छापा मार्दा लागूऔषध लुकाएर भण्डारण गरिएको अवस्थामा फेला पारिएको हो।

    पक्राउ परेका व्यक्ति झापा जिल्ला अर्जुनधारा नगरपालिका–६, दासपुर्व बस्ने २५ वर्षीय विनोद घिमिरे हुन्। छापा मारिएको स्थानबाट प्रहरीले घिमिरेको साथबाट दुई थान मोबाइल फोन, जसमा ९७६२३५९६२६ र ९८१५९२६४२६ नम्बरका सिम प्रयोग भएका थिए, र यामाहा कम्पनीको प्रदेश १–०१–०१३ प ८९०४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ। मोटरसाइकलको इञ्जिन नम्बर जी३के५ई०१५८१७९ र च्यासिस नम्बर एमईआईआरजी५९१सीएल००२८५२० रहेको प्रहरीले जनाएको छ।

    प्रहरीले घटनास्थलबाट ठूलो मात्रामा प्रतिबन्धित औषधिहरू बरामद गरेको छ। बरामद औषधिहरुमा एक लाख तीन हजार आठ सय थान ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल, एक हजार आठ सय सत्तरी थान ट्रामाडोल हाइड्रोक्लोराइड सुई, चार हजार पचास थान ट्रामाडोल र पेरासिटामोल मिश्रित ट्याब्लेट, सन्तानबन्ने दुखाइ नियन्त्रणका लागि प्रयोग गरिने डाइसाइक्लोमिन हाइड्रोक्लोराइडका ९७ हजार ट्याब्लेट, यौन उत्तेजकको रूपमा चिनिने सिलेन्डाफिलका आठ हजार नौ सय ट्याब्लेट तथा गर्भपतनमा प्रयोग हुने माइफेप्रीस्टोन र मिसोप्रोस्टोलयुक्त सात हजार छ सय पचास थान औषधि किटहरू रहेका छन्।

    इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार प्रतिबन्धित लागूऔषधको भण्डारण तथा ओसारपसारमा संलग्न आशंकामा पक्राउ परेका घिमिरेविरुद्ध लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको छ। बरामद औषधिको स्रोत, ओसारपसारको सञ्जाल र संलग्न अन्य व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

  • सुनसरीबाट ३ सय किलो गाँजा बरामद

    सुनसरीबाट ३ सय किलो गाँजा बरामद

    दमक / सुनसरीबाट प्रहरीले बिहीबार दिउँसो ३ सय किलोग्राम गाँजा बरामद गरेको छ । रामधुनी नगरपालिका–७ क्वाटर डाँडास्थित बाँसको झ्याङबाट गाँजा बरामद भएको हो ।

    सुनसरी प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार दिउँसो १२ः३० बजेतिर गाँजा भेटिएको थियो । बाँस झ्याङमा लुकाएर राखिएको अवस्थामा गाँजा फेला पारिएको उनको भनाइ छ ।गाँजा लुकाएर राखिएको विशेष सूचनाका आधारमा नियन्त्रणमा लिन अस्थायी प्रहरी पोष्ट पञ्चायन र इलाका प्रहरी कार्यालय पकलीबाट संयुक्त टोली खटिएको थियो । कालो प्लाष्टिकले बेरिएको १० पोका गाँजा प्रहरीले फेला पारेको हो ।

    तौल लिँदा ३ सय किलोग्राम भएको छ । गाँजा कसले लुकाएर राखेको हो भन्ने यकिन छैन । बरामद भएको गाँजालाई इलाका प्रहरी कार्यालय पकलीमा ल्याएर राखिएको छ । यस विषयमा इन्स्पेक्टर लेखनाथ दाहाल नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।

  • दमक ५ भृकुटीचोकस्थित होटलमा भीषण आगलागी, सम्पूर्ण संरचना जलेर नष्ट

    दमक ५ भृकुटीचोकस्थित होटलमा भीषण आगलागी, सम्पूर्ण संरचना जलेर नष्ट

    दमक । झापा जिल्लाको दमक नगरपालिका वडा नं. ५ स्थित भृकुटी चोकमा रहेको सेवारो होटल एन्ड सेकुवा कर्नर मा भीषण आगलागी भएको छ।

    दिलमाया लावतीको सञ्चालकत्वमा रहेको सो होटलमा भान्साको ग्यास पाइप लिक भएर आगो लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हाे ।

    स्थानीयवासी, नेपाल प्रहरी र दमक नगरपालिकाको बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा आएको थियो।

    दमक नगरपालिकाको दमकल टोली तत्कालै घटनास्थलमा पुगेको छ र नियन्त्रणका प्रयास जारी छन्। हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभए पनि होटल पूर्ण रूपमा जलेर नष्ट भएको पुष्टि गरिएको छ।

    प्रहरीले आगलागीको पूर्ण विवरण र क्षतिको मूल्यांकन भइरहेको बताएका छन्।

  • कोशी अस्पताल र बीपी प्रतिष्ठानलाई प्रथम सेवा बिन्दुको मान्यता

    कोशी अस्पताल र बीपी प्रतिष्ठानलाई प्रथम सेवा बिन्दुको मान्यता

    विराटनगर । स्वास्थ्य बिमा बोर्डले विराटनगरस्थित कोशी अस्पताल र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई फेरि ‘प्रथम सेवा बिन्दु’को मान्यता दिएको छ ।

    बोर्डले असार १९ गतेको बैठकबाट साउन १ गतेदेखि यी २ स्वास्थ्य संस्था ‘रेफरल सेन्टर’ मात्र हुने निर्णय गरेपछि देखिएको तीव्र विरोधपछि उक्त निर्णय फिर्ता भएको हो ।

    बुधबार स्वास्थ्य मन्त्रालयको निर्देशनमा बोर्डले दुवै संस्थालाई असोज मसान्तसम्मका लागि ‘प्रथम सेवा बिन्दु’ र ‘रेफरल सेन्टर’का रूपमा निरन्तरता दिने निर्णय गरेको हो ।बोर्डको असार १९ को निर्णयले स्वास्थ्यकर्मी, कर्मचारी, नागरिक अभियन्ता र सेवाग्राहीबीच गम्भीर असन्तोष सिर्जना गरेको थियो ।

    कोशी अस्पताल विकास समितिका अध्यक्ष डा. फरवर्ड सिलवालका अनुसार, स्वास्थ्य मन्त्रालयमार्फत दबाब सिर्जना भएपछि बिमा बोर्डले पुरानो निर्णय सच्याएर नयाँ निर्णय पठाएको हो ।