Blog

  • दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    कार्तिक ९ , दमक / झापाको दमक नगरपालिका–८ सरस्वती टोलमा आइतबार आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। अर्गानिक कृषि भवन नजिक बसोबास गर्दै आएका रविन खडकाको टिनको छानो र खाँबाको संरचनामा बनेको दुई तले घरमा बिद्युत् सर्ट भएर आगलागी भएको हो।

    इलाका प्रहरी कार्यालय दमकका अनुसार घरको पछाडिको कोठाबाट आगो सल्किएर केहीबेरमै नियन्त्रणबाहिर गएको थियो। आगलागीका कारण घरभित्र रहेका लत्ताकपडा, भाँडाकुडा, अन्नपात, काठपात, फर्निचर, गरगहना लगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्।

    मानवीय वा चौपाया क्षति भने नभएको प्रहरीको भनाइ छ।आगलागीबाट करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

    दमक नगरपालिकाको दमकल भाद्र २४ गतेको जेन जि आन्दोलनका क्रममा क्षतिग्रस्त भई मर्मत कार्य सम्पन्न नभएकाले तत्काल आगो नियन्त्रणमा कठिनाइ भएको थियो। पछि गौरादह नगरपालिका, कमल गाउँपालिका र उर्लाबारी नगरपालिकाबाट आएका दमकल टोली तथा स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो।

  • धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

    धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

    केर्खा, कार्तिक ९ / किराँत धर्मगूरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङमा सावाँ लिङ्देन २५ कार्तिक, मंगलबार झापाको केर्खा आउनुहुने भएको छ ।

    कमल–३ केर्खास्थित फाल्गुनन्द टोलमा नवनिर्मित किराँत नियेङलुङ चोलुङ माङहिमको उद्घाटन गर्न र महागुरु फाल्गुनन्दको पूर्णकदको प्रतिमा अनाबरण गर्न धर्मगूरु आत्मानन्द लिङदेनसहित गुरुमा प्रविधा हाङ्मा केर्खा आउनुहनुे भएको हो ।आइतबार किरात नियेङलुङ चोलुङ माङहिम समितिले पत्रकार सम्मेलन गरेर सो कार्यक्रमसम्बन्धि जानकारी गराएको छ । १६औं राष्ट्रिय विभूती तथा किरात धर्मका महागुरु फाल्गुनन्द लिङदेनको १४१औं जन्मजयन्तीको अवसरमा सो कार्यक्रम हुने पत्रकार सम्मेलनमा माङहिम समितिका अध्यक्ष सूर्य प्रसाद लिम्बूले जानकारी दिनुभयो ।

    माङहिम अध्यक्ष सूर्यप्रसाद लिम्बूका अनुसार झापाको कमल गाउँपालिकासहित इलाम र मोरङका विभिन्न स्थानहरुबाट १० हजार किरात धर्मलम्वीहरुको उपस्थितिमा नवनिर्मित माङहिम (मन्दिर) र फाल्गुनन्दको प्रतिमा अनाबरण कार्यक्रम हुने भएको छ । सो कार्यक्रममा धर्मगुरु र गुरुमाको हस्तबाहुलीबाट भवन उद्घाटन र प्रतिमा अनाबरण हुने अध्यक्ष लिम्बूले पत्रकार सम्मेलनमा बताउनुभयो ।

    स्वर्गीय बलबहादुर मेन्याङ्बो उपलब्ध गराउनुभएको चार कठ्ठा जमिनमा नौ तले माङहिम (मन्दिर) सहित व्यवस्थित यज्ञकुण्ड, सेवासावा (पुजारी) आवास भवन, भान्सा घर, सौचालय निर्माण भएको छ । २०७२ साल फाल्गुन २७ गते धर्मगुरु र गुरुमाले शिलन्यास गुर्नभएको माङहिम निर्माणकार्यमा रु एक करोड खर्च भएको छ ।

    त्यस्तैं, माङहिम परिसरमा किरात धर्मका महागुरु, समाजसुधारक, नेपालको १६औं राष्ट्रिय विभूती फाल्गुनन्द लिङदेनको पूर्णकद (नौ फिट) प्रतिमा निर्माण गरिएको छ । प्रतिमा निर्माणमा मात्रै २० लाख रुपैयाँ खर्च भएको पत्रकार सम्मेलनमा जानकारी गारएको छ ।

    सो कार्यक्रममा धार्मीक प्रवचतहरु पनि हुने भएको छ । धार्मीक तथा साँस्कृतिक भेषभूषा, पुजापाठ, गीत, नृत्य, खानपान लगायतका कार्यक्रम हुने सचिव नरबहादुर लिङ्देनले जानकारी दिनुभयो ।

    सो पत्रकार सम्मेलनमा माङहिम समितिका अध्यक्ष सूर्यप्रसाद लिम्बूको अध्यक्षतामा भएको थियो । सो अवसरमा किरात धर्म साहित्य उत्थान संघ झापाका अध्यक्ष लक्ष्मी योङहाङ, माङहिम सचिव नरबहादुर लिङदेन, कोषाध्यक्ष लाखबहादुर माबो, माङहिम सदस्य बिष्णु केरुङ वेघा लगायतको उपस्थिति थियो ।

    पत्रकार सम्मेलनमा स्थानीय युवा अगुवा बसन्तराज योङहाङसहित स्थानीय पत्रकारहरुको ठूलो संख्यामा उपस्थिति थियो । कार्यक्रममाा सुमन केरुङले सहजिकरण गर्नुभएको थियो ।

  • गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

    गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

    गाैरादह, कार्तिक ९ — पहिलो पाईला नेपाल गाैरादह शाखाकाे आयोजनामा गाैरादह–९ स्थित बैगुन्धुरा बजारमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

    कार्यक्रमकाे अध्यक्षता पहिलो पाईला नेपाल गाैरादह शाखाका अध्यक्ष भुपेन्द्र निरौला र सह–काेषाध्यक्ष यलिजा भेट्वालकाे संयोजकत्वमा भएको थियो भने प्रमुख अतिथि गाैरादह–९ का वडाध्यक्ष उपेन्द्र निरौला रहनु भएको थियो।

    कार्यक्रममा रेडक्रस जिल्ला उपमन्त्री प्रकाश खरेल, दमक रेडक्रसका प्रवर्तक सिद्दार्थ दहाल, गाैरादह रेडक्रसका प्रतिनिधि भरत गौतम, पहिलो पाईला नेपाल दमक शाखाका अध्यक्ष राजु निरौला, गतिशील युवा क्लबका अध्यक्ष किशोर परियार, अमर मावि बैगुन्धुराका प्र.अ. टी.बी. पौडेल, बैगुन्धुरा अंग्रेजी माविका प्र.अ., साना किसान बैगुन्धुराका पर्वतक सोम अधिकारी र दमक टाउनका सम्पादक डिकेन्द्र बस्नेत लगायतका अतिथिहरूको सहभागिता रहेको थियो।

    कार्यक्रममा शाखा सदस्य पोसेङ्का बास्तोलाले स्वागत मन्तव्य राख्नुभएको थियो भने भरत गौतमले व्यानर पढेर कार्यक्रम उद्घाटन गर्नुभएको थियो। संयोजक यलिजा भेट्वालले कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो।

    उक्त कार्यक्रममा दमक रेडक्रसका प्रवर्तक सिद्दार्थ दहालले पहिलो पाईला नेपाल गाैरादह शाखा अध्यक्ष भुपेन्द्र निरौलालाई ब्लड बैंक हस्तान्तरण गर्नुभएको थियो। सोही क्रममा अध्यक्ष निरौलाले रक्तदान गरेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो।

    कार्यक्रममा उल्लेखनीय संख्यामा रक्तदाताको सहभागिता रहेको थियो। कार्यक्रममा ३० पिन्ट रगत सङ्कलन भएको थियो ।

    कार्यक्रमका क्रममा नेपाल रेडक्रस दमक शाखा र गाैरादह शाखालाई सम्मानपत्र र माया चिनो प्रदान गरिएको थियो। साथै, सदस्यता प्रमाणपत्र लिन बाँकी रहनुभएका एकराज रेग्मीलाई सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियो।

    सोही अवसरमा रु १ कार्यक्रमको उद्घाटन प्रमुख अतिथि वडाध्यक्ष उपेन्द्र निरौलाले गर्नुभयो। उहाँले पहिलो पाईला नेपाल गाैरादह शाखाले समुदायका लागि उत्कृष्ट कार्य गर्दै आएको बताउँदै वडाको तर्फबाट निरन्तर साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो।

    कार्यक्रममा शाखा अध्यक्ष भुपेन्द्र निरौला, सचिव प्रदीप धमला, कोषाध्यक्ष सुस्मिता भुजेल, सह–कोषाध्यक्ष यलिजा भेट्वाल, सदस्यहरू लोकनाथ रेग्मी, पोसेङ्का बास्तोला, यमुना खत्री र एकराज रेग्मी लगायतको उपस्थित रहेको थियो।

    कार्यक्रमको सञ्चालन पहिलो पाईला नेपाल गाैरादह शाखा सचिव प्रदीप धमलाले गर्नुभएको थियो।

  • कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

    कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

    कार्तिक ९ , विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हिमाली र पहाडी जिल्लाका सम्पूर्ण माध्यमिक विद्यालयहरूमा आवश्यक पूर्वाधार र सूचना प्रविधि (आइसिटी) निर्माण गर्ने घोषणा गर्नुभएको छ।

     

    शनिबार धनकुटाको सहिद भूमि गाउँपालिकामा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले खेतान फाउन्डेसनको सहयोगमा १० वर्षभित्र पूरा गर्ने गरी विद्यालय पूर्वाधार सुधार कार्यक्रम अघि बढाइने बताउनुभयो।

     

    उहाँले खेतान फाउन्डेसनले सहिद भूमि गाउँपालिका–६ मा निर्माण गरेको ठाकुरदेवी माध्यमिक विद्यालयको नयाँ भवन उद्घाटन गर्दै उक्त घोषणा गर्नुभएको हो। ९२ लाख रुपैयाँ लागतमा निर्माण भएको आठ कोठे भवन सीपी फाउन्डेसनले निर्माण गरेको हो।

     

    मुख्यमन्त्री कार्कीले विद्यालय निर्माणको पहल आफूले आफ्नो निर्वाचन क्षेत्रमा नगरी शहीदहरूको सम्मान र सहिद भूमि क्षेत्रको विकासका लागि यहाँबाट सुरुवात गरिएको बताउनुभयो।

     

    फाउन्डेसनका संस्थापक सीपी खेतानका अनुसार आगामी १० वर्षभित्र करिब १५ अर्ब रुपैयाँको लगानीमा कोशी प्रदेशका हिमाली तीन र पहाडी आठ जिल्लाका करिब ५०० विद्यालयहरूमा आधुनिक पूर्वाधार र आइसिटी प्रणाली निर्माण गरिनेछ।

     

    यसका लागि कोशी प्रदेश सरकार, स्थानीय पालिका र खेतान फाउन्डेसनबीच सहकार्य हुने जनाइएको छ। कानुनी प्रक्रिया पूरा भएपछि सम्झौता औपचारिक रूपमा हुने र कार्यक्रम सुरु हुने तयारी गरिएको छ।

     

    कार्यक्रममा सहिद भूमि गाउँपालिका र सीपी फाउन्डेसनबीच पालिकालाई “नमुना पालिका” बनाउने समझदारी पत्रमा हस्ताक्षर पनि गरिएको छ। यस अन्तर्गत करिब २ देखि ३ अर्ब रुपैयाँ लगानी गरी विद्यालय, स्वास्थ्य चौकी, सडक कालोपत्रे तथा लघु उद्यमशीलता प्रवर्द्धनका काम हुने जनाइएको छ।

     

    सो अवसरमा ह्युमन प्राक्टिस फोरमले पनि मुख्य सहयोगीको रूपमा ३ अर्ब रुपैयाँको लगानी गर्न सहमति जनाएको छ।

     

    कार्यक्रममा मुख्यमन्त्री कार्की, सीपी खेतान, विदेशी दातृ संस्थाका प्रतिनिधिहरू, सहिद भूमि गाउँपालिकाका अध्यक्ष मनोज राई लगायतको उपस्थिति रहेको थियो।

     

    अध्यक्ष राईले यो सम्झौताले धनकुटाको सहिद भूमि पालिकालाई नमुना विकास पालिकाका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो। स्थानीयवासीहरूले पनि यो पहलले २०३६ सालको खोकु–छिन्ताङ हत्याकाण्डपछि पछाडि परेको क्षेत्रको विकासमा नयाँ युग सुरु हुने अपेक्षा व्यक्त गरेका छन्।

  • देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

    देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

    दमक/ सर्वोदय इङ्ग्लिस बोर्डिङ अन्तर्गत रहेको सर्वोदय बाल क्लब र सर्वोदय स्काउट दलको संयुक्त आयोजनामा देउसी भैलो कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। शुभ दीपावली २०८२ को अवसरमा आयोजना गरिएको उक्त कार्यक्रम काग तिहारदेखि लक्ष्मी पूजाको भोलिपल्टसम्म चार दिनसम्म सञ्चालन भएको थियो।

     

    विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा सम्पूर्ण कार्यहरू स्वयं विद्यार्थीहरूले नै गरेका थिए। क्लबकी अध्यक्ष श्रीविना राईका अनुसार देउसी भैलोबाट संकलित रकम विद्यार्थीहरूको विपद् कोष र सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरूमा खर्च गरिनेछ। यस अन्तर्गत सामुदायिक विद्यालयमा “एक विद्यार्थी, एक कापी” उपहार कार्यक्रम, सचेतना कार्यक्रमलगायतका सामाजिक कार्यहरू सञ्चालन गरिने जनाइएको छ।

     

    क्लबले विगतमा पनि मानव सेवा आश्रममा सहयोग, सडक कुकुरलाई खाना वितरण, मन्दिरमा सहयोग लगायतका सामाजिक कार्य गर्दै आएको सर्वोदय स्काउट ट्रुप लिडर श्रीविना राइले बताइन ।

  • हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

    हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

    कार्तिक ८, दमक / हेप्पी नेपालमा उपचारपछि स्वयंसेवकका रूपमा कार्यरत रहेका राजेन्द्र गुरुङ्ग २०८२ असोज २५ गतेदेखि हराइरहेका थिए। निरन्तर खोजतलास र विभिन्न निकाय, समुदायजन तथा सञ्चारमाध्यमहरूको सहयोगपछि उहाँ सुनसरीको धरानमा सुरक्षित अवस्थामा फेला परेका छन्।

     

    हेप्पी नेपालका अध्यक्ष कुमार गुरुङ्ग स्वयं धरान पुगेर फेला परेका गुरुङ्गलाई सुरक्षित रूपमा ल्याई उहाँकी बहिनी मुना गुरुङ्गलाई औपचारिक रूपमा बुझाएको संस्थाले जनाएको छ।

     

    गुरुङ्गको खोजीमा सहयोग र साथ प्रदान गर्ने प्रहरी प्रशासन, सञ्चारकर्मी, समाजसेवी, सामाजिक सञ्जालका प्रयोगकर्ता तथा सबै शुभेच्छुहरूलाई हेप्पी नेपाल परिवारले धन्यवाद व्यक्त गरेको छ।

  • छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

    छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

    दमक, कार्तिक ८ — तिहार सकिएलगत्तै हर्षोल्लासपूर्वक मनाइने छठ पर्वको तयारी यस वर्ष पनि तीव्र गतिमा अघि बढेको छ। मुख्यतः आदिवासी कोच समुदायले मनाउने यो पर्वका अवसरमा जिल्लाभर नदीकिनारका पूजास्थलहरू सिंगार्ने, सरसफाइ गर्ने तथा सजावटका कामहरू सुरु भएका छन्।

    दमकसहित झापाका एक दर्जनभन्दा बढी स्थानमा यस वर्ष पनि छठ पर्व भव्य रूपमा मनाउने तयारी भइरहेको छ। दर्शनार्थीको भीड व्यवस्थापन गर्न ट्राफिक व्यवस्थापनलाई समेत बलियो बनाइने तयारी थालिएको दमक नगरपालिका–७ का वडाध्यक्ष भीम प्रसाद पौडेलले जानकारी दिए।

    दमकको रतुवा खोला किनार विगतका वर्षझैँ यसपटक पनि भक्तजनहरूको मुख्य आकर्षण बन्ने भएको छ। यस स्थानमा मैथिली सेवा समाजको अगुवाइमा वृहत छठ पूजाको आयोजना हुँदैछ। करिब तीन सय पूजाघाट निर्माण गरिँदै छन्।

    पक्की सिँढी निर्माण भएपछि घाटमा पुग्न र पूजा गर्न बृद्धबृद्धा तथा महिला भक्तजनलाई सहज हुने अपेक्षा गरिएको आयोजक समितिले जनाएको छ। अनुमान अनुसार यस वर्ष करिब ३० हजार भक्तजन पूजाअर्जा र अवलोकनका लागि दमक रतुवा घाट पुग्नेछन्।

    यसैबीच, पछिल्ला वर्षहरूमा भद्रपुर तथा भारतको गलगलिया क्षेत्रका स्थानीयले पनि छठलाई समावेशी साझा पर्वका रूपमा लिन थालेका छन्। चार दिनसम्म मनाइने यस पर्वको पहिलो र दोस्रो दिन सरसफाइ तथा शुद्धताको कार्य हुन्छ। तेस्रो दिन बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेर पूजाको औपचारिक सुरूवात गरिन्छ भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य चढाएपछि पर्व सम्पन्न हुन्छ।

    मैथिल समाजका पूर्वअध्यक्ष रमेशचन्द्र झाले जनकपुरपछि सर्वाधिक जनसहभागिता भद्रपुर क्षेत्रमा हुने बताएका छन्। उनका अनुसार मेची नदी किनारमा हुने पूजा अवलोकन गर्न नेपाल र भारतका गरी करिब एक लाख भक्तजन उपस्थित हुने अनुमान गरिएको छ।