Blog

  • सरोज शर्माको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

    सरोज शर्माको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा शिव शताक्षी नगरपालिका १० माईधार निवासी २५ वर्षीय सुनिल शाह र २६ वर्षीय राहुल शाह रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

     

    शिवसताक्षी १० माईधारका सरोज शर्माको हत्यामा संलग्न भएको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

     

    सरोज शर्माको सब झापा गाउँपालिका र बारादशी गाउँपालिका बीच भएर बग्ने बिरिङ खोलाको पुलमुनि गाडेको अवस्थामा आज बिहान फेला परेको छ । केही दिन अघिदेखि बेपत्ता बनेका उनको कार चाराली जङ्गलमा जलेको अवस्थामा फेला परेको थियो।

    शर्मा बेपत्ता बनेदेखि नै खोजीकार्य तीव्र बनाएको प्रहरीले उनको कार जल्दै गरेको अवस्थामा फेला पारेको थियो भने शर्माको सब खोला किनारमा गाडिएको र दुर्गन्ध फैलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

  • सरोज शर्माको शव बिरिङ पुलमुनि गाडिएको अवस्थामा फेला

    सरोज शर्माको शव बिरिङ पुलमुनि गाडिएको अवस्थामा फेला

    झापा / आफ्नो सवारीसहित बेपत्ता भएका झापा शिवसताक्षी नगरपालिका–१० सन्थाल बस्तीका ३२ वर्षीय सरोज शर्माको शव झापाको झापा गाउँपालिका–५ स्थित हुलाकी राजमार्ग नजिक बिरिङ पुलमुनि गाडिएको अवस्थामा फेला परेको छ।

     

    वडा नम्बर १० का सदस्य दीपक पोखरेलका अनुसार शनिबार बिहान घटनास्थलमा दुर्गन्ध फैलिन थालेपछि स्थानीयको सूचना आधारमा खाल्टो खनेर हेर्दा शव फेला परेको हो। उनले भने, -‘शव सड्न थालेको अवस्थामा भेटिएको छ, साथमा रहेको नागरिकताका कारण परिवारले सनाखत गर्न सकेका छन्।’

    परिवारका सदस्यहरू घटनास्थलमा पुगेका थिए। प्रारम्भिक अनुमान अनुसार सरोजको हत्या गरी घटना लुकाउनका लागि शव पुलमुनि गाडिएको हुनसक्ने बताइएको छ। वडा सदस्य पोखरेलले दोषीको शीघ्र पहिचान गरी कडा कारबाही गर्न प्रशासनसँग माग गरेका छन्।

    यसअघि सरोजले प्रयोग गर्दै आएकाे बा १३ च ३८६४ नम्बरको कार झापाको मेचीनगर–१३ चारआली भद्रपुर रोड नजिक हातेमालो सामुदायिक वनभित्र आगजनी गरिएको अवस्थामा फेला परेको थियो। आगलागीपछि कार पूर्णरूपमा जलेको अवस्थामा भेटिएको थियो।

    स्थानीयले जंगलभित्र कारमा आगो बलिरहेको देखेपछि प्रहरी र दमकललाई खबर गरेका थिए। आगो निभाएपछि प्रहरी टोलीले घटनास्थल नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो।

    शिवसताक्षीका सरोज शर्मा गत आइतबारदेखि सवारीसहित बेपत्ता भएका थिए। उनका बुबा सकलदेव शर्माका अनुसार छोरा र गाडी दुबै सम्पर्कविहीन भएपछि परिवारले खोजी कार्य अघि बढाएको थियो। पाँच दिनपछि कार आगजनी अवस्थामा भेटियो भने आठ दिनपछि शव पुलमुनि गाडिएको अवस्थामा फेला पर्‍यो।

    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ। प्रहरीका एक अधिकारीले भने,-‘आगजनी गरिएको गाडी र फेला परेको शवबीचको सम्बन्ध स्पष्ट भइसकेको छ। प्रारम्भिक रूपमा यो हत्या गरी सब गाडिएको जस्तो देखिन्छ, तर घटनाको कारण र दोषी पत्ता लगाउन अनुसन्धान भइरहेको छ।’

    यस घटनाले शिवसताक्षी र आसपासका क्षेत्रमा त्रास फैलिएको छ। स्थानीयवासीले घटनाको छिटो र निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कठघरामा उभ्याउन माग गरेका छन्।

  • दमकमा बस दुर्घटना: एकजनाको मृत्यु, २१ जना घाइते

    दमकमा बस दुर्घटना: एकजनाको मृत्यु, २१ जना घाइते

    दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिब 12 बजे बस दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।

     

    इलाका प्रहरी कार्यालय दमकका अनुसार दमकबाट मोरङको टाडी तर्फ जाँदै गरेको बा २ ख १९८३ नम्बरको बस अनियन्त्रित भई सडक छेउको नालीमा पल्टिँदा दुर्घटना भएको हो। बसमा करिब ३५ जना यात्रु सवार थिए।

     

    घाइतेमध्ये २१ जनाको उपचार आम्दा अस्पताल खरखरेमा भइरहेको छ। उपचारको क्रममा मोरङ मिक्लाजुङ–३ का ३६ वर्षीय भीमबहादुर मगरलाई चिकित्सकले राति १२ः२८ बजे मृत घोषणा गरेका थीए ।

     

    अन्य घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेहरूमा सिता मगर, योगेश मगर, विपिन श्रेष्ठ, सपना श्रेष्ठ, नन्दमाया मगर, आशिन लिम्बु, रामकुमारी मगर, रोनिशा दर्जी, टंकबहादुर गुरुङ, साजन श्रेष्ठ, बिष्णु कुमारी लिम्बु, निकेश भुजेल, शिसिर राई, प्रेम र रुपा रसाइली, सन्दीप रसाइली, राजन श्रेष्ठ, एन्जिला जोगी, पुनम मगर र अनुसा मगर रहेका छन्।

     

    प्रहरीका अनुसार दुर्घटनापछि बस चालक ३९ वर्षीय भक्तबहादुर दर्जी लाई नियन्त्रणमा लिइएको छ। बस भने घटनास्थलमै रहेको र बाटो अवरोध नभएको प्रहरीले जनाएको छ।

     

    अस्पतालका अनुसार २१ जना घाइतेमध्ये २० जनालाई आज बिहान डिस्चार्ज गरिएको छ भने पेटमा चोट लागेकी १७ वर्षीया सपना श्रेष्ठको उपचार अझै जारी छ।

  • दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

    दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

    कार्तिक ११, झापा, दमक / झापाको दमकमा जेन्जी आन्दोलनका क्रममा क्षतिग्रस्त इलाका प्रहरी कार्यालय दमकको पुनर्निर्माण अभियानअन्तर्गत होटल व्यवसायी संघ दमकले आर्थिक तथा सामग्री सहयोग हस्तान्तरण गरेको छ।

    संघका अध्यक्ष योगराज दंगालको अध्यक्षतामा र दमक नगरप्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा इलाका प्रहरी कार्यालय दमकको प्राङ्गणमा आयोजित एक औपचारिक कार्यक्रममा झ्याल–ढोका जडानका लागि रु १ लाख ५५ हजार बराबरको सहयोग हस्तान्तरण गरिएको हो।

    त्यसैगरी संघका कार्यसमिति सदस्य नन्दप्रसाद चौलागाईंले थुनुवाहरूलाई हेर्नका लागि ३२ इन्चको LED टेलिभिजन पनि हस्तान्तरण गर्नुभएको छ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख थापाले इलाका प्रहरी कार्यालय दमकको पुनर्निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै सहयोगी हातहरूप्रति आभार व्यक्त गर्नुभयो। उहाँले सामुदायिक सहकार्यबाट प्रहरी कार्यालयको पुनर्निर्माण छिट्टै सम्पन्न हुने विश्वास पनि व्यक्त गर्नुभयो।

    कार्यक्रममा दमक नगरपालिका वडा नं. ७ का अध्यक्ष भिम पौडेल, इलाका प्रहरी कार्यालयका प्रमुख राम तिम्सिना, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं, वरिष्ठ उपाध्यक्ष राजु खड्का, होटल व्यवसायी महासंघ कोशी प्रदेश अध्यक्ष राजन दंगाल लगायत होटल व्यवसायी संघ दमकका पदाधिकारी तथा सदस्यहरूको उपस्थिती रहेको थियो।

    कार्यक्रमको सञ्चालन होटल व्यवसायी संघ दमकका सचिव तथा केन्द्रीय महासचिव भूपेन्द्र न्यौपानेले गर्नुभएको थियो।

    इलाका प्रहरी कार्यालय दमकको पुनर्निर्माण कार्य हाल धमाधम जारी रहेको संघले जनाएको छ।

  • झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते 

    झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

    कार्तिक ११, झापा / मिति २०८२ साल कार्तिक ११ गते (मंगलबार) बिहान करिब ४:०० बजे झापाको शिवसताक्षि नगरपालिका–१० माईधार चौक नजिक पूर्व–पश्चिम राजमार्गमा एक यात्रुबाहक बस दुर्घटनामा परेको छ।

    रामेछापको मन्थलीबाट काँकडभिट्टा तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ क ४२०९ नम्बरको रात्रि बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल बायाँपट्टि पल्टिँदा बसमा सवार २५ मध्ये १९ जना यात्रु घाइते भएका छन्।

    घाइतेहरुको उद्धार गरी बिर्तामोडस्थित बिर्तासिट अस्पताल पठाइएको प्रहरीले जनाएको छ। बाँकी ६ जना यात्रु भने सामान्य अवस्थामा आफ्ना गन्तव्यतर्फ गइसकेका छन्। सडक अवरुद्ध नभएको र बस हाल पनि घटनास्थलमै रहेको प्रहरीको भनाइ छ।

    दुर्घटनास्थलमा माईधार प्रहरी चौकीबाट प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान भइरहेको छ।

    घाइतेहरुको विवरण यसप्रकार छः १. राजु भुजेल, ३९ वर्ष, मेचिनगर–६, बस चालक — टाउकोमा चोट, अवस्था मध्यम। २. अम्बर बहादुर बुढाथोकी, ६५ वर्ष, मन्थली–१० — घाँटी र ढाडमा चोट, अवस्था मध्यम। ३. इक्षा लिम्बु, १७ वर्ष, झापा–३ — निधार, हात र खुट्टामा चोट, अवस्था मध्यम। ४. भिमप्रसाद पुरी, ३५ वर्ष, मन्थली–९ — बायाँ करङमा चोट, अवस्था मध्यम। ५. रबिलाल गनेस, २० वर्ष, कचनकवल–४ — टाउकोमा चोट, अवस्था मध्यम। ६. मिटु खत्री, ६५ वर्ष, ठाडादेवी–३ — ढाडमा चोट, अवस्था मध्यम। ७. परिना गनेस, २१ वर्ष, कचनकवल–४ — टाउको र ढाडमा चोट, अवस्था मध्यम। ८. सिमित्रा खड्का कार्की, ३६ वर्ष, बिर्तामोड–१० — हात र खुट्टामा चोट, अवस्था सामान्य। ९. एलोन कार्की, ९ वर्ष — टाउको र छातिमा चोट, अवस्था मध्यम। १०. प्रदीप बहादुर बस्नेत, ३० वर्ष, बैनेश्वर–३, दोलखा — टाउकोमा चोट, अवस्था मध्यम। ११. अनु श्रेष्ठ, ८ वर्ष, देउराली, रामेछाप — टाउकोमा चोट, अवस्था सामान्य। १२. कुमार बस्याल, २८ वर्ष, तामाकोशी–३, दोलखा — छातिमा चोट, अवस्था सामान्य। १३. भेमा राजबंसी, २७ वर्ष, कचनकवल–६ — छाती र कुममा चोट, अवस्था मध्यम। १४. रामकुमार श्रेष्ठ, ३५ वर्ष, बिर्तामोड–५ — छाती र तिघ्रामा चोट, अवस्था सामान्य। १५. रिदम श्रेष्ठ, ९ वर्ष — हात र खुट्टामा चोट, अवस्था सामान्य। १६. पुर्ण बहादुर नेपाली, २३ वर्ष, बिर्तामोड–५ — टाउको र कुममा चोट, अवस्था सामान्य। १७. सितल नेपाली, १८ वर्ष — बायाँ आँखाको डिलमा चोट, अवस्था सामान्य। १८. अबिषेक राजबंसी, २१ वर्ष, बाह्रदशी–५ — नाकमा चोट, अवस्था सामान्य। १९. श्यामलाल किस्कु, १८ वर्ष, झापा–२ — टाउकोमा चोट, अवस्था सामान्य।

    प्रारम्भिक अनुमानअनुसार बस अनियन्त्रित भएर पल्टिएको बताइएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    कार्तिक ११, दमक / छठ पर्वको अवसरमा पहिलो पाइला नेपाल दमक शाखाले भक्तजनहरूलाई निःशुल्क चिया वितरण गरेको छ । दमक नगरपालिका–७ रतुवा नदी किनारमा आयोजित कार्यक्रममा दर्शनार्थी तथा व्रतालुहरूलाई निःशुल्क रूपमा चिया वितरण गरिएको हो ।

    पारस्परिक एकता, सद्भाव र भाइचाराको भावना मजबुत बनाउनका लागि संस्थाले यस्तो कार्यक्रम आयोजना गरेको बताइएको छ।

    कार्यक्रममा दमक शाखा अध्यक्ष राजु निरौला, सल्लाहकार राजु खड्का, कार्यक्रम संयोजक देबु गर्तौला, उपाध्यक्ष लवराज खड्का, केन्द्रीय सदस्य मेघनाथ फुयल र सुरेश बरालसहित संस्थाका अन्य सदस्यहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

    सो कार्यक्रममा सामाजिक, राजनीतिक क्षेत्रका व्यक्तित्वहरू, सुरक्षाकर्मी र स्थानीय बासिन्दाहरूको समेत उपस्थिति रहेको थियो। उपस्थित महानुभावहरूले संस्थाद्वारा गरिएको चिया वितरण कार्यक्रमको प्रशंसा गरेका थिए।

    संस्थाका सदस्य सन्जु शिवाकोटीका अनुसार उक्त कार्यक्रममा करिब ७०० कप चिया भक्तजनहरूलाई निःशुल्क रूपमा वितरण गरिएको थियो।

    पहिलो पाइला नेपाल दमक शाखा विगतदेखि नै सामाजिक सेवामूलक गतिविधिमा सक्रिय रहँदै आएको छ।

  • छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

    छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

    कार्तिक १० , दमक / कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने व्रत विधि रहेको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो ।

    ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

    सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूर्यले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको तथ्य सूर्य पुराणमा उल्लेख छ ।

    संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । सूर्यको शक्तिविना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कैयौँ चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणवाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।

    साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ ।

    यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई बर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका मानिसहरु भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।