Blog

  • दमकमा क्रिमसन युनिभर्सल एजुकेसन कन्सल्टेन्सीद्वारा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    दमकमा क्रिमसन युनिभर्सल एजुकेसन कन्सल्टेन्सीद्वारा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

    दमक, भदौ ११ – झापाको दमक नगरपालिका वडा नम्बर ८ मा अवस्थित क्रिमसन युनिभर्सल एजुकेसन कन्सल्टेन्सीले नयाँ विद्यार्थीलाई स्वागत तथा सेप्टेम्बर २०२५ इन्टेकका लागि जापान र कोरिया प्रस्थान गर्ने विद्यार्थीलाई विदाई कार्यक्रम सम्पन्न गरेको छ।

     

    बिहीबार कन्काई पार्टी प्यालेसमा आयोजित कार्यक्रममा कन्सल्टेन्सीका फाउन्डर विशाल सिटौला प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा बोल्दै उहाँले क्रिमसन युनिभर्सलले हजारौँ विद्यार्थीलाई जापान, कोरिया लगायतका मुलुकमा पठनपाठन तथा रोजगारीका अवसर दिलाउँदै आएको बताउँदै, विदेशको यात्रा नै सफलता नभई अझै संघर्षको सुरुवात भएको भन्दै विद्यार्थीलाई आत्मविश्वासका साथ अघि बढ्न आग्रह गर्नुभयो।

     

    कार्यक्रम कन्सल्टेन्सीकी आयल्स इन्स्ट्रक्टर प्रासना पाठकले सञ्चालन गर्नुभएको थियो भने, क्रिमसन युनिभर्सल एजुकेसन कन्सल्टेन्सीका डाइरेक्टर अफ बोर्ड विनोद दाहालको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा विद्यार्थी, शिक्षक, विभिन्न शाखाका अध्यक्षलगायतको सहभागिता रहेको थियो।

     

    वि.सं. २०७४ सालमा स्थापना भएको क्रिमसन युनिभर्सल एजुकेसन कन्सल्टेन्सीले जापान, कोरिया, अमेरिका, बेलायत, माल्टा, क्यानडा, आइल्यान्ड लगायतका देशमा विद्यार्थीलाई स्टडी र स्टुडेन्ट भिसामा पठाउँदै आएको छ। झापा जिल्लाको एकमात्र विश्वासिलो कन्सल्टेन्सीका रूपमा यो संस्थाले आफ्नो पहिचान बनाउँदै आएको क्रिमसन युनिभर्सल एजुकेसन कन्सल्टेन्सीका फाउन्डर विशाल सिटौलाले जानकारी दिनुभयो।

  • ७ दिनभित्र सूचीकरण हुन सामाजिक सञ्जालहरूलाई सरकारको आह्वान

    ७ दिनभित्र सूचीकरण हुन सामाजिक सञ्जालहरूलाई सरकारको आह्वान

    ११ भदौ, काठमाडौं । सरकारले सामाजिक सञ्जालहरूलाई सात दिनभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण हुन सार्वजनिक रुपमा आह्वान गरेको छ ।

    सोमबारको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिए ।

     

    बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले तोकिएको अवधिमा सूचीकरण हुन नआउने वा सूचीकरणको लागि सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपाल भित्र निष्क्रिय गराउने निर्णय भएको जानकारी दिए ।

     

    उनका अनुसार सूचीकरण गरेमा सोही क्षणबाट ती सामाजिक सञ्जाललाई पुनः सक्रिय गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय समेत भएको छ ।

  • गौरादहमा जन्मदिनको अवसरमा अंगदान घोषणा

    गौरादहमा जन्मदिनको अवसरमा अंगदान घोषणा

     

    भदौ ११, दमक / पहिलो पाईला नेपाल गौरादह शाखाका सचिव प्रदिप धमलाले आफ्नो जन्मदिनको अवसरमा अंगदान गर्ने घोषणा गर्नुभएको छ।

    “अङ्गदान : सार्थक बन्छ जीवन” भन्ने मुल मन्त्रका साथ सचिव धमलाले मृत्युपछि आफ्ना अंगहरू दान गर्ने निर्णय लिनुभएको हो। उहाँले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा मुटु, फोक्सो, कलेजो, मृगौला, सानो आन्द्रा र प्याङ्क्रियाज गरी ६ वटा महत्वपूर्ण अंग मरणोपरान्त दान गर्नुभएको छ।

    सचिव धमलाले अंगदानमार्फत् एक जनाले मृत्युपछि पनि कम्तीमा ८ जना बिरामीको जीवन बचाउन सक्ने महत्त्वपूर्ण सन्देश समाजमा दिनुभएको छ। उहाँको यो निर्णयले गौरादह मात्र नभई सम्पूर्ण समाजलाई अंगदानप्रति प्रेरित गर्ने विश्वास लिइएको छ।


  • दमकमा टेन्डी टेक्नोलोजीद्वारा सिसी क्यामेरा सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

    दमकमा टेन्डी टेक्नोलोजीद्वारा सिसी क्यामेरा सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

    दमक, भदौ १० – झापाको दमकमा टेन्डी टेक्नोलोजी नेपालले सिसी क्यामेरा सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। थ्री इन होटलमा आयोजना गरिएको कार्यक्रममा सूचना तथा प्रविधि, सुरक्षा र डिजिटल मार्केटिङसम्बन्धी नयाँ प्रविधिबारे जानकारी गराइएको थियो।

    कार्यक्रमका प्रमुख अतिथि दमक इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी राम तिमल्सिनाले प्रविधिको विकाससँगै सुरक्षामा नयाँ चुनौतीहरू थपिँदै गएकाले यस खालका प्रविधिले प्रहरीलाई सहयोग गर्ने बताउनुभयो। उहाँले प्रहरी मात्र नभई समुदायकै सुरक्षामा यस्ता प्रविधि उपयोगी हुनेमा जोड दिनुभयो।

    कार्यक्रममा टेन्डी टेक्नोलोजी नेपालका प्रमुख नवीन भण्डारीले संस्थाको उद्देश्यबारे प्रष्ट पार्दै सूचना प्रविधिको पहुँच सबैसम्म पुर्याउने अभियानमा टेन्डी टेक्नोलोजी सक्रिय रहेको उल्लेख गर्नुभयो। उहाँले यस्ता कार्यक्रम देशव्यापी रूपमा निरन्तर सञ्चालन हुँदै जाने जानकारी समेत दिनुभयो।

    कार्यक्रममा स्थानीय व्यवसायी, आईटी क्षेत्रका विद्यार्थी, प्रहरी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सिसी क्यामेराको महत्व, उपयोगका तरिका र सुरक्षामा यसको योगदानबारे विस्तृत जानकारी गराइएको थियो।

    कार्यक्रम हिमशिखर टेलिभिजनका समाचार प्रमुख सुदिप अधिकारीको सञ्चालनमा, टेन्डी टेक्नोलोजी नेपालका प्रमुख नवीन भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो।

  • दमक–३ बेल्डागी शिविरमा इन्टरनेसनल वेल्फेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका प्रतिनिधिहरूलाई स्वागत–सम्मान

    दमक–३ बेल्डागी शिविरमा इन्टरनेसनल वेल्फेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका प्रतिनिधिहरूलाई स्वागत–सम्मान

    दमक, भदौ १० / दमक नगरपालिका–३ स्थित बेल्डागी शिविरमा इन्टरनेसनल वेल्फेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका प्रवक्ता केशव आचार्यसहित ६ सदस्यीय टोलीलाई स्वागत–सम्मान गरिएको छ।

    कार्यक्रमका प्रमुख अतिथि फाउन्डेसनका प्रवक्ता आचार्यले २० वर्ष शिविरमा बिताएको अनुभव सुनाउँदै तेस्रो मुलुक पुनर्वास भए पनि बेल्डागी शिविरका दुःख–सुखमा आफू र संस्था निरन्तर साथ दिने प्रतिबद्धता जनाउनुभयो। उहाँले अप्ठ्यारो परिस्थिति चाहे जस्तो भए पनि आवश्यक सहयोग पुर्‍याइरहने आश्वासन दिनुभयो।

    विशिष्ट अतिथि फाउन्डेसनका Executive Member तथा सदस्यहरू राजन चुहान, अशोक बुढाथोकी, प्रेम खड्का, एलडी बास्तोला, अनुष बुढाथोकीलगायतको पनि उपस्थिति रहेको थियो।

    स्वागत मन्तव्य राख्दै पूर्व क्याम्प डिभाइ सेक्रेटरी टी.बी. राईले संस्थाले क्याम्पमा गरेको योगदान उल्लेखनीय रहेको बताउनुभयो। “अरु संस्थाले देखासिटी सहयोग गरे पनि फाउन्डेसनले ९० प्रतिशत भन्दा बढी सहयोग गर्दै आएको छ,” उहाँले भन्नुभयो।

    त्यसैगरी चुलाचुली मावि तहमुखी इन्चार्ज देवीदास राईले मानसिक तथा शारीरिक अपाङ्ग, गाँस–बास–कपास–शिक्षा र स्वास्थ्यमा वञ्चित व्यक्तिहरूलाई निरन्तर सहयोग गर्दै आएको संस्थाको योगदान प्रशंसनीय रहेको बताए। उहाँका अनुसार विद्यालय सञ्चालनका लागि शिक्षक व्यवस्था गर्नुका साथै गुणस्तरीय शिक्षामा पनि संस्थाले हातेमालो गरिरहेको छ।

    फाउन्डेसनका संस्थापक अध्यक्ष डिल्ली अधिकारी रहेको संस्था बेल्डागी शिविरका विपन्न र वञ्चित वर्गका लागि निरन्तर काम गरिरहेको चुलाचुली माभिका शिक्षक तथा पूर्व शिविर व्यवस्थापन समितिका प्रमुख सल्लाहकार तारन कालिकोटेले जानकारी दिनुभयो ।

    इन्टरनेसनल वेल्फेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका संस्थापक अध्यक्ष दिल्ली अधिकारीलाई बेल्डागी क्याम्पका मानिसहरूले दोस्रो भगवानका रूपमा हेर्ने गरेका छन्। कार्यक्रमको सञ्चालन मनोज राईले गर्नुभएको थियो भने अध्यक्षता देवीदास राईले गर्नुभएको थियो।

  • दमकमा सुन्दर समाज नेपालद्वारा तीज मिलन कार्यक्रम सम्पन्न

    दमकमा सुन्दर समाज नेपालद्वारा तीज मिलन कार्यक्रम सम्पन्न

    भदौ १०, दमक / महिला तथा बालबालिकाको क्षेत्रमा सक्रिय सुन्दर समाज नेपालले सोमबार दमकमा तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ।दमकस्थित रातो पुल नजिकै खाजा एक्सप्रेस होटलमा आयोजित कार्यक्रममा महिला प्रहरी, नगर महिला प्रहरी, महिला पत्रकार र महिला अधिकारकर्मीहरुको सहभागिता थियो।

    कार्यक्रममा समाजकी अध्यक्ष बिन्दु सिटौला (लक्की) ले यसवर्षको तीजलाई महिलाबीच आपसी एकता र सहकार्यको भावना जागृत गर्ने उद्देश्यसहित आयोजना गरिएको बताइन्। उनले तीज केवल रमाइलो मात्र नभई महिलाको अवस्था, समस्या, प्रगति र जीवन भोगाइबारे अन्तरंग साझेदारी गर्ने अवसरको रूपमा पनि लिन सकिनेमा जोड दिइन्।

    उनका अनुसार न्याय, समानता, सशक्तिकरण र अधिकारका लागि महिलालाई अघि बढाउन यस्ता कार्यक्रमले सकारात्मक सन्देश फैलाउने अपेक्षा गरिएको छ।समाजकी आजीवन सदस्य तथा दमककी अग्रणी महिला नेत्री दुर्गा काफ्लको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय दमककी प्रहरी हवलदार देबी बिष्टलगायतले शुभकामना मन्तव्य दिएका थिए।

    समाजकी उपाध्यक्ष झरना लक्समले स्वागत मन्तव्य दिएकी थिइन् भने कार्यक्रमको सञ्चालन पूर्वअध्यक्ष रुपा सेलिङले गरेकी थिइन्। कार्यक्रममा प्रहरी सहायक निरीक्षक मनु लावोती, अनु चेम्जोङ ताजपुरिया, विमला जोशी, पुनम सुब्बा, स्वेता सुब्बा, महिमा किरण, दीपा लिम्बु लगायतका महिलाको सहभागिता रहेको थियो।

  • दमकमा नगर प्रहरीको गाडी दुर्घटना, मानवीय क्षति नभएको पुष्टि

    दमकमा नगर प्रहरीको गाडी दुर्घटना, मानवीय क्षति नभएको पुष्टि

    भदौ ९, दमक / दमक नगरपालिका–७ स्थित पुरानो सब्जी बजारमा आइतबार राति नगर प्रहरीको गाडी दुर्घटनामा परेको छ। दुर्घटनामा सडक किनारामा पार्किङ गरिएका मोटरसाइकल, स्कुटर र सिटी सफारीलाई ठक्कर दिँदै गाडीले सडक छेउको रेलिङ समेत भत्काएको छ।

    सौभाग्यवश, घटनामा मानवीय क्षति भएको छैन। दमक नगरपालिकाका नगर प्रहरी प्रमुख रुद्रजंग कार्कीका अनुसार सो गाडी बेवारिसे मानिस उद्धारका लागि जाँदै गर्दा दुर्घटना भएको हो।

    दुर्घटनापछि गाडीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको जनाएको छ।