Blog

  • दमकमा प्याब्सन अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण सम्पन्न

    दमकमा प्याब्सन अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण सम्पन्न

    भदौ १७, दमक / प्याब्सन दमक नगर समितिद्वारा आयोजित पालिका स्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भएको छ।

     

    दमक–८ स्थित अर्गानिक कृषि भण्डारको सभा हलमा भएको कार्यक्रममा सभाध्यक्षता प्याब्सन दमकका उपाध्यक्ष मित्र खत्रीले गर्नुभयो। कार्यक्रममा प्रमुख अतिथि प्याब्सन केन्द्रीय सदस्य श्रवणकुमार पोखरेल, विशिष्ट अतिथि एल.डी. राईसहित पदाधिकारी र विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति थियो।

     

    यसअघि शनिबार दमक–२ स्थित सनराईज मोडल स्कुलमा सम्पन्न प्रतियोगितामा नगरका ३४ विद्यालयका करिब ८१६ विद्यार्थीले १२ विधामा प्रतिस्पर्धा गरेका थिए। सोमबार सम्पन्न कार्यक्रममा विजयी विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो।

     

    कार्यक्रमको सञ्चालन प्याब्सन दमकका सचिव लक्ष्मी नेपालले गर्नुभएको थियो। अतिथिहरूले यस्ता गतिविधिले विद्यार्थीको प्रतिभा प्रकट गर्न, सहशैक्षिक क्षमता वृद्धि गर्न र विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा बढाउन टेवा पुग्ने बताएका छन् ।

  • राजेन्द्र लिङ्देन : गैरआवासीय नेपालीको बंशजलाई नागरिकता निरन्तरता दिनुपर्छ

    राजेन्द्र लिङ्देन : गैरआवासीय नेपालीको बंशजलाई नागरिकता निरन्तरता दिनुपर्छ

    भदौ १६, विर्तामोड / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले गैरआवासीय नेपालीहरुको बंशजलाई नागरिकता दिन निरन्तरता दिनुपर्ने माग गर्नुभएको छ।

    आज विर्तामोडमा पार्टी जिल्ला कार्य समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले विदेशमा रहेका नेपालीलाई नेपालको समृद्धिसँग जोड्न बंशजलाई नागरिकताको हक सुनिश्चित गर्न आवश्यक भएको बताउनुभयो।

    लिङ्देनले भन्नुभयो, “हामीकहाँ दुई वटा नेपाल छन्— एउटा मेची–महाकालीभित्रको नेपाल र अर्को विदेशमा रहेका प्रवासी नेपालीहरूको नेपाल। प्रवासमा रहेका नेपालीहरूले भूगोल बाहिर रहे पनि उनीहरूको चिन्ता नेपालमै बढी छ।”

    वि.सं. २०६३ पछि बनेको नागरिकता ऐनमा दोहोरो नागरिकता राख्न नपाउने प्रावधानका कारण विदेशमा पढ्न, काम गर्न र बसोबास गर्न पुगेका नेपाली बंशजलाई ठूलो असर परेको उहाँको भनाइ थियो।

    “विदेशी देशहरूले दीर्घकालीन बसाइ र कामका लागि आफ्नो नागरिकता लिन बाध्य बनाउँछन्। तर, त्यसले नेपालप्रतिको नाता तोडिदिएको होइन,” उहाँले स्पष्ट पार्नुभयो। “कमाइ गरेर नेपालमै पैसा पठाइरहेका बेला दोहोरो नागरिकता निषेधका कारण बंशजको नेपाली नागरिकता समाप्त पारियो, जुन राष्ट्रहित विपरीत थियो।”

    लिङ्देनले बंशजको नागरिकता खोसिएपछि वैदेशिक आम्दानी नेपाल ल्याउनेभन्दा उल्टो देशभित्रको सम्पत्ति गैरकानूनी रूपमा विदेश लैजाने प्रवृत्ति बढेको उल्लेख गर्नुभयो। उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टी गैरआवासीय नेपालीसँग सम्पर्क नटुटाउने पक्षमा रहेको र नागरिकता ऐनलाई सच्याएर बंशजलाई निरन्तरता दिने प्रावधान गर्नुपर्नेमा जोड दिनुभयो।

  • जन्मदिनमा लबराज खड्काले गरे खाद्यान्न सहयोग : सामाजिक उत्तरदायित्वको नयाँ उदाहरण

    जन्मदिनमा लबराज खड्काले गरे खाद्यान्न सहयोग : सामाजिक उत्तरदायित्वको नयाँ उदाहरण

    भदौ १६, दमक / जन्मदिनलाई मात्र रमाइलो र फजुल खर्चमा सीमित गर्ने परम्परालाई तोड्दै पहिलो पाइला नेपाल दमक शाखाका उपाध्यक्ष लबराज खडकाले आफ्नो जन्मदिनलाई समाजसेवामुखी बनाएका छन्।

    खडकाले यस वर्षको जन्मदिनमा दमक–२ स्थित मानव उदार सेवा आश्रममा आश्रित विपन्न मानवलाई खाद्यान्न सामग्री वितरण गरेर खुसी बाँडेका हुन्। उनको यस पहलले आश्रममा बस्नेहरूलाई सानो भए पनि ठूलो सहयोग पुगेको आश्रम परिवारले जनाएको छ।

    सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै खडकाले भने, “जन्मदिनमा हुने अनावश्यक खर्चलाई नियन्त्रण गर्दै समाजका आवश्यकता भएका व्यक्तिलाई सहयोग गर्नु नै सबैभन्दा अर्थपूर्ण कार्य हो। यसले आत्मसन्तुष्टि मात्र होइन, अरूलाई पनि समाजसेवातर्फ प्रेरित गर्छ। खडकाको सामाजिक उत्तरदायित्वपूर्ण यो कदमले स्थानीयस्तरमा सकारात्मक सन्देश दिएको छ। स्थानीयवासीहरूका अनुसार, यस्तो पहलले अरूलाई पनि आफ्ना खुसीका क्षणहरू समाजको हितमा प्रयोग गर्न उत्प्रेरित गर्नेछ।

    सहयोग हस्तान्तरण कार्यक्रममा पहिलो पाइला नेपाल दमकका सल्लाहकार गणेश प्रधान, केन्द्रीय सदस्य मेघनाथ फुयाल, दिवस खतिवडा, क्लब हिमालयन टाइगरका केन्द्रीय अध्यक्ष रेवत चन्द्र भण्डारीलगायतको उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रमको अध्यक्षता पहिलो पाइला नेपाल दमक शाखा अध्यक्ष राजु निरौलाले गरेका थिए।

  • दमकमा ब्रिज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीको अन्तर्राष्ट्रिय सहित १८औं शाखा स्थापना

    दमकमा ब्रिज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीको अन्तर्राष्ट्रिय सहित १८औं शाखा स्थापना

    भदौ १६, दमक / विदेश अध्ययनको क्षेत्रमा छुट्टै पहिचान बनाएको ब्रिज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीले झापाको दमक–६ स्थित केडी कम्प्लेक्समा आफ्नो १८औं शाखा स्थापना गरेको छ। आइतबार एक विशेष समारोहका साथ शाखा उद्घाटन गरिएको हो।

    कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य होमबहादुर थापाले विदेश अध्ययनमार्फत विद्यार्थीले सीप हासिल गरी त्यसलाई स्वदेशमै सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले उचित परामर्श र तयारीसहित विदेश जानु विद्यार्थीको भविष्यका लागि महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो।

    संस्थाका सीइओ रुपेश थापाले दमक तथा आसपासका विद्यार्थीलाई गुणस्तरीय शैक्षिक परामर्श उपलब्ध गराउने उद्देश्यले शाखा विस्तार गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार अस्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत, न्युजिल्याण्डलगायतका देशमा अध्ययनका लागि विद्यार्थी पठाउने क्रममा संस्थाले उच्चस्तरीय परामर्श र सहयोग गर्नेछ। विदेशस्थित शाखामार्फत नेपालबाट गएका विद्यार्थीलाई थप सहजता दिलाइने पनि थापाले बताउनुभयो।

    विशिष्ट अतिथि कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले विदेश अध्ययनसँगै विद्यार्थीले आफ्नो लक्ष्य र अवसरलाई सही ढंगले उपयोग गर्नुपर्ने धारणा राख्नुभयो। उद्घाटन समारोहमा दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल गुरागाई, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षाविद, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।

     

  • दमकमा स्कुल बसहरूको ट्राफिक चेकजाँच : एभरेस्ट बोर्डिङ स्कुल सहित निजी विद्यालयका १० बसहरू कारबाहीमा  

    दमकमा स्कुल बसहरूको ट्राफिक चेकजाँच : एभरेस्ट बोर्डिङ स्कुल सहित निजी विद्यालयका १० बसहरू कारबाहीमा  

    दमक, भदौ १५ – झापाको दमकमा ट्राफिक प्रहरी कार्यालयले विद्यालय बसहरूमा कडाइका साथ चेकजाँच सुरु गरेको छ। प्राइभेट विद्यालयले विद्यार्थीबाट चर्को शुल्क उठाए पनि सुरक्षित र व्यवस्थित यातायात सुविधा दिन असफल भएको गुनासो बढेपछि प्रहरीले कडाइ गरेको हो।

     

    आइतबार बिहान १० बजेबाट दमकभरिका निजी विद्यालय बसहरूको व्यापक चेकजाँच गरिएको थियो। सो क्रममा दमक–८ स्थित एभरेस्ट बोर्डिङ हाई स्कुलको बसले सिट क्षमताभन्दा धेरै विद्यार्थी चढाएर सञ्चालन गरेको पाइएको छ। त्यस्तै, दमक–४ स्थित आस्था कलेज अफ म्यानेजमेन्टको बसमा पनि अत्याधिक चापका साथ विद्यार्थीहरू यात्रा गर्न बाध्य भएको देखिएको थियो।

     

    विद्यार्थीहरूको अनुसार, महिनवरि यातायात शुल्क चर्को तिर्नुपरे पनि विद्यालय जाने क्रममा उनीहरूलाई बसमा उभिनु वा साथीको काखमा बस्नु पर्ने अवस्था आउने गरेको छ।

     

    ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख विजय राईका अनुसार आइतबार मात्र ३० वटा स्कुल बसहरूको चेकजाँच गरिएको र तीमध्ये विद्यालयका १० बसहरूलाई कारबाही गरिएको छ।

    कारबाहीमा परेका विद्यालयमा एभरेस्ट बोर्डिङ स्कुल, आस्था कलेज अफ म्यानेजमेन्ट, सिद्धार्थ बोर्डिङ स्कुल, ग्लोबल एकेडेमी अङ्ग्रेजी विद्यालय र इस्मारिका अङ्ग्रेजी विद्यालयका बसहरू रहेका छन्।

     

    दमक ट्राफिक प्रहरी कार्यालयका प्रमुख विजय राईका अनुसार आगामी दिनमा पनि विद्यालय बसमा हुने लापरवाही र विद्यार्थीहरूको जीवनसँग खेलबाड गर्ने गतिविधिमाथि निरन्तर निगरानी र कारबाही जारी रहनेछ।

  • दमकमा प्याब्सन पालिका स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न

    दमकमा प्याब्सन पालिका स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न

    भदौ १५, दमक / दमक–२ स्थित सनराइज मोडल स्कुलमा शनिबार दमक प्याब्सन पालिका स्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ ।

    कार्यक्रमको सभाध्यक्षता प्याब्सन दमक नगर अध्यक्ष नविन योगीले गर्नुभएको थियो। उहाँले यस्ता कार्यक्रमले विद्यार्थीको अतिरिक्त क्रियाकलापमा वृद्धि गर्ने बताउँदै आगामी दिनमा पनि निरन्तर यस्ता कार्यक्रम संचालन हुँदै जाने जानकारी दिनुभयो ।

    कार्यक्रमका प्रमुख अतिथि दमक नगर प्रमुख राम थापा, विशिष्ट अतिथि नगर शिक्षा समितिका अध्यक्ष कुवेर भट्टराई, प्याब्सनका केन्द्रीय सदस्य श्रवणकुमार पोख्रेल, प्रदेश प्याब्सनका वरिष्ठ उपाध्यक्ष कोशराज प्याकुरेललगायत अतिथिहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको थियो ।

    यसपालिको प्रतियोगितामा १२ वटा विभिन्न विधामा ३४ वटा विद्यालयका ८१६ जना विद्यार्थीले सहभागिता जनाएका थिए। विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रमलाई सहभागीहरूले सराहना गरेका थिए।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख राम थापाले निजी विद्यालयहरूले यस्ता कार्यक्रम आयोजना गर्नु विद्यार्थीहरूको प्रतिभा प्रष्फुटनमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो। उहाँले यस्ता क्रियाकलापले शैक्षिक गुणस्तरलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।

    त्यस्तै, नगर शिक्षा समितिका अध्यक्ष कुवेर भट्टराईले सामुदायिक विद्यालयमा पनि यस्तै कार्यक्रम संचालन गरिने उल्लेख गर्दै, निजी विद्यालयहरूको अनुशरण गर्दै सामुदायिक विद्यालयमा अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राखिने जानकारी दिनुभयो ।कार्यक्रमको सञ्चालन प्याब्सन दमक नगर सचिव लक्ष्मी नेपालले गर्नुभएको थियो

  • दमकमा टोलस्तरिय हाजिरीजवाफ तथा श्रुतिलेखन प्रतियोगिता सम्पन्न

    दमकमा टोलस्तरिय हाजिरीजवाफ तथा श्रुतिलेखन प्रतियोगिता सम्पन्न

    भदौ १४, दमक / दमकमा वडा बाल सञ्जाल दमक ०७ को आयोजनामा टोलस्तरिय हाजिरीजवाफ तथा श्रुतिलेखन प्रतियोगिता सम्पन्न भएको छ। बालबालिकाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दमक नगरमै पहिलोपटक यस्तो कार्यक्रम आयोजना गरिएको हो।

     

    दमक नगरपालिका वडा नं. ७ को सहकार्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष भीमप्रसाद पौडेल रहनुभयो। कार्यक्रममा वडा बाल सञ्जालकी अध्यक्ष सुवेक्षा बिमलीले अध्यक्षता गर्नुभएको थियो। कार्यक्रममा विभिन्न टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

     

    प्रतियोगितामा हाजिरीजवाफतर्फ आत्माज्ञान टोल बालक्लब प्रथम, मनकामना टोल बालक्लब द्वितीय र बगैँचा टोल बालक्लब तृतीय भएका छन्। त्यस्तै श्रुतिलेखनतर्फ नवसिर्जना टोल बालक्लब प्रथम, पञ्चमुखी बालक्लब द्वितीय र क्षितिज टोल बालक्लब तृतीय भएका छन्।

     

    कार्यक्रममा करिब १५० जना बालबालिकाको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण वडा बाल सन्जालका पदाधिकारीहरुले गर्नुभएको थियो।