Blog

  • कजिनसरा कार्की बचाउ अभियानमा राजु निरौलाद्वारा जन्मदिनमा ५ हजार सहयोग

    कजिनसरा कार्की बचाउ अभियानमा राजु निरौलाद्वारा जन्मदिनमा ५ हजार सहयोग

    भदौ २ , दमक / दमक–३ दुम्से निवासी ३२ वर्षीया कजिनसरा कार्कीको उपचारका लागि पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष राजु निरौलाले जन्मदिनको अवसर पारेर रु. ५ हजार सहयोग गरेका छन्।

    कार्कीलाई Chronic Kidney Disease (CKD–5) भएको र हाल नियमित रूपमा हिमोडायलाइसिस गराइरहेको अस्पतालले जनाएको छ। चिकित्सकहरूले तुरुन्तै मिर्गौला प्रत्यारोपण (Kidney Transplant) गर्न सिफारिस गरेपछि जीवन रक्षा अभियान सुरु गरिएको हो। हाल उहाँ काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचाररत छन्।

    अत्यन्तै महँगो उपचार खर्च जुटाउन सहयोग अभियान सञ्चालन भइरहेका बेला जन्मदिनमा सहयोग हस्तान्तरण गर्दै मल्टिमिडिया डट कमलाई अध्यक्ष निरौलाले भने, “जन्मदिनमा फजुल खर्च गर्नु भन्दा बिरामी व्यक्तिलाई सहयोग गर्दा वास्तविक अर्थमा खुशी मिल्छ।”

    राजु निरौला लामो समयदेखि सहकारीकर्मी तथा समाजसेवीको रुपमा सक्रिय रहँदै आएका छन्। उनले पहिलो पाइला नेपाल दमक शाखा मार्फत गरिब तथा जेहेनदार विद्यार्थीलाई स्टेशनरी, झोला, कपडा लगायतका सामग्री वितरण गर्दै आएका छन्। समाजसेवामा उनको योगदान उल्लेखनीय रहेको छ ।

  • दमकमा रथयात्रा सम्पन्न

    दमकमा रथयात्रा सम्पन्न

    भदौ १, दमक / कोशी प्रदेशकै दोस्रो ठुलो भनिएको दमकको रथ यात्रा भव्य रूपमा सम्पन्न भएको छ। आठ वर्षअघिदेखि मात्र सुरु गरिएको यो धार्मिक यात्रा पछिल्ला वर्षहरूमा उल्लेख्य जनसहभागिता र धार्मिक उत्साहका कारण चर्चित बन्दै गएको छ।

    राधाकृष्ण मन्दिर, दमक–७ अगाडि भव्य मञ्च निर्माण गरिएर आयोजित कार्यक्रममा आकर्षक र सजाइएको रथमा भगवान श्रीकृष्णलाई विशेष विधिअनुसार बिराजमान गराइएको थियो। मञ्च अगाडि सुसज्जित रथले सहभागीहरुको ध्यान खिचेको थियो। आरती पश्चात सुरु गरिएको रथ यात्रा दमक नगरभित्र विभिन्न मार्गहरू हुँदै अघि बढेको थियो।

    धार्मिक तथा सामाजिक दृष्टिकोणले निकै पवित्र मानिने रथ यात्रामा दमक नगरवासीसहित आसपासका क्षेत्रका नागरिकहरू उत्साहका साथ सहभागी भएका थिए। विभिन्न संघ(संस्थाका प्रतिनिधिहरू आ(आफ्नो पहिचान सहित उत्सवमा रमाइरहेका दृश्यहरू उल्लेखनीय थिए।

    रथ यात्रामा जातीय, धार्मिक वा सांस्कृतिक भेदभाव नगरी सबै समुदायको एकतापूर्ण सहभागिता देखिएको थियो। सहयोगका विभिन्न स्वरूपहरू — पानी, सर्वत, फलफूल, प्रसाद, बिस्कुट, चकलेट वितरणजस्ता सेवाहरू — यात्राभर प्रदान गरिएका थिए।

    तर, यसपटकको यात्रामा पनि रथको शिरले विद्युतको तार छुन पुगेपछि करेन्ट सर्ने झिनो जोखिम उत्पन्न भएको थियो। आयोजकहरूले यसलाई चुनौतीको रूपमा लिँदै आगामी वर्षका लागि विद्युतीय व्यवस्थापनलाई थप व्यवस्थित बनाउने बताएका छन्। रथ यात्रा मूल आयोजक समिति अध्यक्ष रोहित आचार्यले आगामी वर्षहरूमा पूर्वतयारीलाई अझ मजबुत बनाउने बताउनुभयो ।

    दमक नगरपालिकाको प्रमुख संरक्षकत्वमा सञ्चालन गरिएको रथ यात्रामा नगरले प्रत्येक वर्ष भव्यता थप्दै आएको छ। यद्यपि, यस पटकको सहभागी संख्यामा अघिल्लो वर्षको तुलनामा केही कमी देखिएको थियो। नगर उप–प्रमुख रेगिना भट्टराई प्रसाईंका अनुसार, अहिले आसपासका पालिकाहरूमा पनि रथ यात्राको आयोजना हुन थालेकाले दमकमा सहभागीको संख्या कम हुन पुगेको हो। तर, आगामी वर्षदेखि यो यात्रालाई थप व्यवस्थित र ऐतिहासिक बनाउने लक्ष्य लिइएको बताइएको छ।

    कोशी प्रदेशका विभिन्न स्थानमा यसपटक रथ यात्राहरू सम्पन्न भएका छन्। विशेषगरी विराटनगरमा सम्पन्न दक्षिण एसियाकै दोस्रो ठूलो भनिएको रथ यात्रा यस वर्षको मुख्य आकर्षण थियो। सोही स्तरमा दमकको रथ यात्रालाई विकास गर्ने योजनाबारे कोशी प्रदेश सांसद होम बहादुर थापाले जानकारी दिए ।

  • झापाका ९ स्थानमा आज श्रीकृष्ण रथयात्रा

    झापाका ९ स्थानमा आज श्रीकृष्ण रथयात्रा

    भदौ १, दमक / झापाको ९ ठाउँमा आज श्रीकृष्ण रथयात्रा निकालिने भएको छ । दमक , भद्रपुर , बिर्तामोड, गौरीगञ्ज , शिवगञ्ज , मेचीनगर , गौरादह , तोपगाछी , शिवसताक्षीको ढुंगेल चोकलगायतका स्थानमा रथयात्रा निकालिने भएको हो

    रथयात्राकाका लागि सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी राजन लिम्बूले बताउनुभयो । रथयात्राका क्रममा कुनै पनि आपराधिक घटना हुनसक्ने भएकाले त्यसतर्फ सजगता अपनाउन उहाँले अनुरोध गर्नुभएको छ ।

  • कमल–५ इस्कोन मन्दिरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    कमल–५ इस्कोन मन्दिरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    साउन ३१, कमल / कमल गाउँपालिका–५ पाडाजुगी चोकस्थित इस्कोन मन्दिर परिसरमा डिपिएल कमलको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर मन्दिरमा आएका भक्तजनलाई लक्षित गरी शिविर आयोजना गरिएको हो।

    शिविर ओम शान्ति डेन्टल हस्पिटल र दमक हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को प्राविधिक सहयोगमा सम्पन्न भएको थियो। डिपिएल कमल टिन्स बोर्डका अध्यक्ष प्रज्वल पाठकका अनुसार धार्मिक अवसरलाई सदुपयोग गर्दै समुदायमा स्वास्थ्यप्रति जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम गरिएको हो।

    ओम शान्ति डेन्टल हस्पिटलका सञ्चालक कमल गैरेले पछिल्ला वर्षमा निरन्तर रूपमा यस्ता स्वास्थ्य शिविरहरू सञ्चालन हुँदै आएको बताए। उनका अनुसार समाजमा दन्त स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नु मुख्य उद्देश्य हो। साथै, शिविरमा सहभागी भएकालाई अस्पतालमा थप उपचारका लागि २५ प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी पनि उनले दिए।

    कार्यक्रममा मन्दिरमा भक्ति गर्न आएका अधिकांश भक्तजनले दन्त परीक्षण गराएका थिए। सहभागीहरूले ओम शान्ति डेन्टल हस्पिटलको सेवा, प्राविधिक दक्षता र मित्रवत व्यवहारप्रति सन्तुष्टि व्यक्त गरेका थिए।

  • कमल गाउँपालिकामा निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

    कमल गाउँपालिकामा निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

    साउन ३०, दमक / कमल गाउँपालिका–२ स्थित श्री ज्योति माध्यमिक विद्यालयमा एकदिने निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। दमक थुलुङ डेन्टल केयरको प्राविधिक सहयोगमा आयोजित विद्यालय स्वास्थ्य कार्यक्रमअन्तर्गत सम्पूर्ण विद्यार्थी, अभिभावक र शिक्षकहरूको दन्त स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचार प्रदान गरिएको थियो।

    विद्यालय सञ्चालक तथा व्यवस्थापन समिति अध्यक्ष तिलक खड्काले यस्ता स्वास्थ्य सेवा कार्यक्रमले बालबालिकाको स्वास्थ्य सचेतना र समग्र विकासमा ठूलो योगदान पुर्‍याउने बताएका छन्। त्यस्तै वडा नं. २ का वडा सदस्य महेन्द्र खत्रीका अनुसार वडा कार्यालयले प्रत्येक विद्यालयमा यस्ता स्वास्थ्य शिविर गर्दै आएको छ, जसले बालबालिका तथा अभिभावकलाई दन्त स्वास्थ्य जाँचमा सहजता पुर्‍याएको छ।

    कार्यक्रममा डा. सोफिया थुलुङ, डा. हाङमा माखिम लिम्बूसहितको चिकित्सक टोलीले सेवा प्रदान गरेको थियो। कुल २७७ जना अभिभावक, शिक्षक र विद्यार्थीले शिविरबाट लाभ उठाएका थिए। डा. थुलुङका अनुसार हालका बालबालिकामा किराले दाँत खाने समस्या बढी देखिएको छ।

    शिविर विद्यालयका सहायक प्रधानाध्यापक नारायण बस्नेतले सञ्चालन गरेका थिए। कार्यक्रममा कमलनगर अस्पतालका प्रमुख दीपक दाहाल, हाम्रो सरोकार डट नेटका सञ्चालक तथा पत्रकार अनिल देव राई र विद्यालयका शिक्षकहरूको समेत उपस्थिति रहेको थियो।

    दमक नगरपालिका वडा नं. ६, वाणिज्य बैंक अगाडि रहेको थुलुङ डेन्टल केयरले दन्त रोगका विशेषज्ञ डाक्टरमार्फत निरन्तर सेवा प्रदान गर्दै आएको छ।

  • सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेश उप्रेतीको सम्मानपूर्वक विदाई कार्यक्रम सम्पन्न

    सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेश उप्रेतीको सम्मानपूर्वक विदाई कार्यक्रम सम्पन्न

    साउन ३०, दमक / सशस्त्र प्रहरी बल पाथिभरा जवान शिक्षालय, झापाका कार्यालय प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेश उप्रेतीको अन्यत्र सरुवा भई प्रस्थान गर्न लाग्नुभएकाले शुक्रबार विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ।

    कार्यक्रममा कार्यलयका नयाँ प्रमुख प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) राम प्रसाद तिमल्सिना, अन्य प्रहरी कर्मचारी, उद्योग वाणिज्य सङ्घका पदाधिकारी तथा स्थानीय व्यवसायीको उपस्थितिमा “फेरि भेटौँला”, “धन्यवाद” र “शुभकामना” व्यक्त गरिएको थियो।

    विदाई कार्यक्रममा दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल गुरागाई, वरिष्ठ उपाध्यक्ष राजु खड्का, एक्वा मेरी पानी उद्योगका सञ्चालक तथा सङ्घका लेखा समिति सदस्य पदम राउत, प्रहरी निरीक्षक नवीन राई, प्रहरी निरीक्षक विपन विश्वकर्मा, नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ लगायतको उपस्थितिमा उप्रेतीको योगदानको उच्च प्रशंसा गर्दै भावपूर्ण विदाई गरिएको थियो।

    उपस्थित वक्ताहरूले उप्रेतीको कार्यकालमा देखाइएको नेतृत्व क्षमता, अनुशासन र सहयोगी भावको प्रशंसा गर्दै उनको आगामी कार्यक्षेत्रमा सफलताको शुभकामना व्यक्त गरेका थिए।

  • कमल गाउँपालिकामा पुस्तकालय उद्घाटन, डक्टर सोफिया थुलुङको एकल पहल

    कमल गाउँपालिकामा पुस्तकालय उद्घाटन, डक्टर सोफिया थुलुङको एकल पहल

    साउन ३०, दमक / झापाको कमल गाउँपालिका–२ देवीचौनस्थित श्री इन्द्र लोहनी स्मृति विद्यालयमा पुस्तकालय उद्घाटन गरिएको छ। दमक नगरपालिका वडा नं. ६, वाणिज्य बैंक अगाडि रहेको थुलुङ डेन्टल केयरकी सञ्चालिका डक्टर सोफिया थुलुङको एकल पहलमा उक्त पुस्तकालय निर्माण गरिएको हो।

    विद्यालयको विगतको इतिहास बुझेर र इन्द्र लोहनीको स्मृतिमा बनेको यस विद्यालयमा पुस्तकालयको आवश्यकता महसुस गर्दै डक्टर थुलुङले कक्षा पाँचसम्मका विद्यार्थीका लागि आवश्यक पुस्तक र इन्डोर गेमहरू उपलब्ध गराएकी छन्। उनको जन्मदिनको अवसर पारेर पुस्तकालय विद्यालयलाई हस्तान्तरण गरिएको हो।

    कार्यक्रमका प्रमुख अतिथि कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले रिबन काटेर पुस्तकालयको उद्घाटन गर्नुभयो। उहाँले सामाजिक सञ्जालको अत्यधिक प्रयोगका कारण विद्यार्थीमा पढ्ने बानी हराउँदै गएको र पुस्तकालयले यस बानीको पुनः विकासमा योगदान पुर्‍याउने बताउनुभयो।

    विशिष्ट अतिथि तथा हाम्रो सरोकार डट नेटका सञ्चालक अनिलदेव राईले डक्टर थुलुङले विद्यालयमा डेन्टल क्याम्पमार्फत पनि योगदान दिएको र पुस्तकालयले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई संलग्न गराउनेमा विश्वास व्यक्त गर्नुभयो।

    कार्यक्रममा कमलनगर अस्पतालका प्रमुख दीपक दाहाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाबहादुर कार्की, प्रधानाध्यापक भजेन्द्रबहादुर बस्नेत, विद्यालय इन्चार्ज कमल कटुवाल, थुलुङ डेन्टल केयरकी डक्टर हाङमा माखिम लिम्बूलगायतको उपस्थिति थियो। कार्यक्रम सञ्चालन भूमिका चापागाईंले गर्नुभएको थियो।

    कार्यक्रममा डक्टर सोफियालाई खादा माला र प्रमाणपत्रले विद्यालयको तर्फबाट सम्मान गरिएको थियो। २०६५ सालमा स्थापना भएको यस विद्यालयमा हाल ७५ जना विद्यार्थी अध्ययनरत छन्।