Blog

  • दमकमा राप्रपाको संगठन सुदृढीकरणका लागि पत्रकार सम्मेलन

    दमकमा राप्रपाको संगठन सुदृढीकरणका लागि पत्रकार सम्मेलन

    साउन २८, दमक / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दमक नगर समितिले आज पत्रकार सम्मेलन आयोजना गरी पार्टीलाई व्यवस्थित, मर्यादित र प्रभावशाली ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

    दमक नगर अध्यक्ष हेम सुवेदीले पत्रकार सम्मेलनमा बोल्दै पार्टीलाई चलायमान राख्दै हरेक क्षेत्र तथा स्थानमा सशक्त उपस्थिति जनाउने आफ्नो लक्ष्य रहेको बताए। उनले आगामी निर्वाचनमा पार्टीका उम्मेदवारलाई प्रत्येक पदमा विजयी बनाउन योजनाबद्ध र रणनीतिक रूपमा काम अघि बढाइने स्पष्ट पारे।

    सुवेदीका अनुसार, पत्रकार सम्मेलनको उद्देश्य प्रेस तथा मिडियासँगको सम्बन्धलाई अझ प्रगाढ बनाउने रहेको छ। कार्यक्रममा राप्रपाका जिल्ला सदस्य तथा दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खड्का, युना एन युनिस्टेड सप्लायर्सका सञ्चालक हरि तिवारी, भुवन ढकाल र विभिन्न वडाध्यक्षहरूको समेत उपस्थिति थियो।

  • दमकमा डुबेर बालकको मृत्यु

    दमकमा डुबेर बालकको मृत्यु

    साउन २८ ,दमक / झापाको दमक नगरपालिका–१० मा आज बिहान खोलामा डुबेर एक बालकको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय दमकका अनुसार बिहान करिब ७ बजेतिर स्थानीय ११ वर्षीय धर्मेन्द्र प्रसाई र सोही उमेरका भुपेन्द्र ढकाल खेल्दै भालु खोलामा पौडी खेल्ने क्रममा दुर्घटना भएको हो।

    धर्मेन्द्र प्रसाईलाई खोलाले करिब ६०० मिटर टाढासम्म बगाएको स्थानीयले देखेपछि तत्काल उद्धार गरी उपचारका लागि निम्स अस्पताल दमक पुर्याइएको थियो। तर अस्पताल पुर्याउनासाथ चिकित्सकले बिहान ७:५० बजे मृत घोषित गरेका हुन्।

    घटनास्थलमा थप अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब निरीक्षक नविन राईको नेतृत्वमा टोली खटिएको प्रहरीले जनाएको छ।

  • झापाका १५ वटै पालिकामा राप्रपाको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

    झापाका १५ वटै पालिकामा राप्रपाको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

    साउन २८ , झापा — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले झापाका १५ वटै स्थानीय तहमा पालिकास्तरीय अधिवेशन सम्पन्न गरेको छ। अधिवेशनमार्फत पार्टीको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन भएको राप्रपा झापाले जनाएको छ।अधिवेशनबाट मेचीनगर नगर समितिको अध्यक्षमा चन्द्र निरौला, बुद्धशान्ती गाउँ समितिको अध्यक्षमा गणेश प्रसाद खरेल, अर्जुनधारा नगर समितिको अध्यक्षमा हर्कजंग लिम्बू, र बिर्तामोड नगर समितिको अध्यक्षमा लक्ष्मी गौतम चयन भएका छन्।

    त्यस्तै, पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको गृह नगर भद्रपुरमा राजकुमार राई अध्यक्ष चुनिएका छन्। कचनकवल गाउँ समितिको अध्यक्षमा लक्ष्मी नारायण यादव, हल्दिबारी गाउँ समितिको अध्यक्षमा मदन मगर, बाह्रदशी गाउँ समितिको अध्यक्षमा पी. बी. कटवाल, दमक नगर समितिको अध्यक्षमा पुनः हेम सुवेदी, कन्काई नगर समितिको अध्यक्षमा गोपाल चुडाल, झापा गाउँ समितिको अध्यक्षमा प्रेम प्रसाईं, शिवसताक्षी नगर समितिको अध्यक्षमा मणि खड्का, गौरीगन्ज गाउँ समितिको अध्यक्षमा नन्दु थापा, गौरादह नगर समितिको अध्यक्षमा शान्तिराम पौडेल र कमल गाउँ समितिको अध्यक्षमा खड्ग श्रेष्ठ चयन भएका छन्।

    पार्टीका अनुसार गाउँ/नगर अधिवेशन सम्पन्न भइसकेकाले अब प्रदेशसभा क्षेत्र र संघीय निर्वाचन क्षेत्रस्तरको अधिवेशन गरेर संगठनलाई सक्रिय बनाउँदै आगामी निर्वाचन लक्षित गतिविधि अघि बढाइनेछ।२०७४ सालमा राप्रपाले झापाका हल्दिबारी, गौरीगञ्ज र कचनकवल गाउँपालिकामा नेतृत्व जितेको थियो। तर, २०७९ सालको स्थानीय चुनावमा गौरीगञ्ज र कचनकवलमा नेतृत्व गुमाएको थियो। सोही चुनावमा कांग्रेस–माओवादी लगायतका दलसँग गठबन्धन गर्दै राप्रपाले दमक नगरपालिकाको नेतृत्व जित्न सफल भएको थियो।

  • दमकमा हावाहुरी पीडितलाई सहयोग: मेयर राम थापा

    दमकमा हावाहुरी पीडितलाई सहयोग: मेयर राम थापा

    साउन २७ दमक / वैशाख यता आएको भीषण हावाहुरीले धनजनको ठूलो क्षति पुर्‍याएको दमक नगरपालिकाले पीडित परिवारलाई प्रदान गरेको राहतको अनुगमन गर्दै फेरि पनि आवश्यक परे पूर्ण सहयोग गर्ने दमक नगरपालिकाका मेयर रामकुमार थापाले प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

    दमक नगरपालिकाका मेयर रामकुमार थापाले घरघरमै पुगेर क्षति मूल्याङ्कन गर्दै तत्कालीन राहत रकमको सदुपयोगबारे निरीक्षण गरेका छन्। मेयर थापाले पीडित, गरिब, असहाय र दलित समुदायका नागरिकलाई निरन्तर सहयोग गर्दै आएको जनाउँदै यसपटक एक दलित एकल महिला अम्बिका सिवानालाई घर निर्माणका लागि ५० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन्।

    वैशाखमा आएको हावाहुरीले घरको छाना उडेर विस्थापित बनेकी सिवाना लामो समयदेखि बाँसका भाटाले बनाएको टहरामा बस्दै आएकी थिइन्। “एक्कासी आएको हावाहुरीले सब लथालिङ्ग बनाइदियो, कहाँ बस्ने भनेर भौतारिरहेको बेलामा मेयर थापा आएर सहयोग गर्नुभयो,” सिवानाले बताइन्।

    यसैगरी अर्का पीडितलाई मेयर थापाले जस्तापाता खरिदका लागि २० हजार रुपैयाँसम्म नगद सहयोग गरेका थिए। वडा नम्बर ४ का भीमप्रसाद सिग्देलले नगरपालिकाले दिएको रकम सही सदुपयोग भएको बताए। त्यस्तै पीडित नारायण बहादुर कार्कीले राजनीति नहेरी मानवताका आधारमा मेयरले गरेको सहयोगको प्रशंसा गरे।

    दमक नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा हावाहुरी प्रभावित परिवारलाई कुल १० लाख रुपैयाँको राहत वितरण गरेको मेयर थापाले मल्टिमिडियासँगको कुराकानीमा जानकारी दिएका छन्।

  • कोचिला न्युजका सम्पादक आत्माराम राजवंशी सम्मानित

    कोचिला न्युजका सम्पादक आत्माराम राजवंशी सम्मानित

    साउन २७ झापा – कोचिला न्युज डटकमका सम्पादक आत्माराम राजवंशी फोनिज राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मान बाट सम्मानित भएका छन्। ३१ हजार रुपैयाँ राशिसहितको उक्त सम्मान आज राजधानीमा सम्पन्न नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६औं स्थापना दिवसको अवसरमा संचारमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदान गरेका हुन्।

    राजवंशी भाषाको त्रैमासिक पत्रिका कोचिला सामाद प्रकाशन गर्दै मातृभाषा पत्रकारितामा पुर्‍याएको योगदानका आधारमा उनलाई यो सम्मान प्रदान गरिएको हो।

    सोही कार्यक्रममा अन्य विधामा पनि सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। मोक्ष गुरुङलाई फोनिज राष्ट्रिय पत्रकारिता प्रवास सम्मान (प्रवास), गजुरधन राईलाई फोनिज राष्ट्रिय पत्रकारिता सम्मान (टेलिभिजन), अमरध्वज लामालाई फोनिज राष्ट्रिय पत्रकारिता सम्मान (रेडियो), सविन प्रियाशनलाई फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार (छापा), मुनेश लायो मगरलाई फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार (अनलाइन) र बन्दना दनुवारलाई फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार (रेडियो) प्रदान गरिएको थियो।

    फोनिजले हरेक वर्ष उत्कृष्ट पत्रकारलाई विभिन्न श्रेणीमा फोनिज अवार्ड वितरण गर्दै आएको छ।

  • पशुपति आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा अर्जुन धिमाल

    पशुपति आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा अर्जुन धिमाल

    साउन २७, दमक / सानो बाह्रघरेस्थित श्री पशुपति आधारभूत विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति चयन गरिएको छ। अर्जुन धिमालको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरिएको हो। अभिभावक तर्फबाट अर्जुन धिमाल, विजय धिमाल, लक्ष्मी लिम्बु र कल्पना लम्जेल चयन भएका छन्। वडाबाट वडा प्रतिनिधि रबिन्द्र माखिम, विद्यालयबाट सदस्य–सचिव प्रधानाध्यापक सिताराम निरौला, शिक्षक प्रतिनिधि तिर्थराज मिश्र, तथा मनोनित सदस्यका रूपमा योगेश्वर ढकाल (विनोद) र दिलकुमारी धिमाल रहेका छन्।

    विगत चार कार्यकालसम्म विद्यालय व्यवस्थापन समितिमा सदस्यका रूपमा रहेर अनुभव हासिल गरेका अर्जुन धिमाल यसपटक सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्। समिति चयनपछि आयोजित कार्यक्रममा प्रधानाध्यापक सिताराम निरौला, शिक्षक प्रतिनिधि तिर्थराज मिश्र र दमक नगरपालिका-१० का वडा प्रतिनिधि कार्य बाहाक अध्यक्ष रबिन्द्र माखिमले अबिर जात्रासहित नयाँ समितिलाई बधाई तथा शुभकामना दिएका थिए।

    अध्यक्षमा चयन भएपछि अर्जुन धिमालले भने, “यो जिम्मेवारीलाई म सेवाभावका साथ निर्वाह गर्नेछु। विद्यालयको शैक्षिक गुणस्तर उकास्ने, पारदर्शिता कायम गर्ने र सदस्य, शिक्षक, अभिभावक तथा स्थानीय बुद्धिजीवीसँग सहकार्य गर्दै सबै गतिविधि अघि बढाउने मेरो प्राथमिकता हुनेछ।”

    त्यसैगरी वडा प्रतिनिधि कार्यबाहक अध्यक्ष रबिन्द्र माखिमले भने, “विद्यालयको प्रगतिको आधार नै राम्रो व्यवस्थापन हो। नयाँ समितिले सहकार्य र पारदर्शितालाई प्राथमिकता दिँदै शिक्षा क्षेत्रको स्तर वृद्धि गर्नेमा हाम्रो पूर्ण सहयोग रहनेछ।”

  • दमकमा इन्टर लियो फुटसल प्रतियोगिता सम्पन्न, माउन्ट एभरेस्ट लियो क्लबको विजयी यात्रा

    दमकमा इन्टर लियो फुटसल प्रतियोगिता सम्पन्न, माउन्ट एभरेस्ट लियो क्लबको विजयी यात्रा

    दमक, साउन २८ – अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लायन्स माउन्ट एभरेस्ट दमकद्वारा आयोजना गरिएको युवा फुटसल प्रतियोगितामा लायन्स इन्टरनेशनल जिल्ला ३२५ सी, , नेपाल अन्तर्गत मिशन १.५ कार्यक्रम अन्तर्गत “भोलिका नेताहरूलाई मार्गदर्शन गर्दै” भन्ने मुल नाराका साथ आयोजित इन्टर लियो फुटसल प्रतियोगिता आइतबार दमक–५, गोर्खाली टोलस्थित बिष्ट फुटसलमा सम्पन्न भएको छ।

    प्रतियोगितामा लियो क्लब अफ दमक माउन्ट एभरेस्ट,लियो क्लब अफ दमक स्वीट सिटी, लियो क्लब अफ दमक ईस्टर्न लाइन र लियो क्लब अफ बिग बुद्धको सहभागिता रहेको थियो।

    कार्यक्रममा लायन्स माउन्ट एभरेस्टका अध्यक्ष प्रकाश शाह, रिजन चेयरपर्सन नवीन ताम्राकार, जोन चेयरपर्सन गुरु धुंगाना, लायन्स दमक सेविकाकी अध्यक्ष सङ्गीता खतिवडा, लियो माउन्ट एभरेस्टका अध्यक्ष नितेश शाह लगायतको उपस्थितिमा खेलहरू सुरु गरिएको थियो।

    पहिलो खेलमा लियो स्वीट सिटी र लियो ईस्टर्न लाइन आमनेसामने हुँदा लियो ईस्टर्न लाइन विजयी भयो। दोस्रो खेलमा लियो माउन्ट एभरेस्टले प्रतिस्पर्धीलाई हराउँदै फाइनलमा प्रवेश गर्‍यो। तेस्रो खेलमा लियो बिग बुद्धको टिमले प्रतिस्पर्धा गरे पनि उपाधि भिडन्तमा स्थान बनाउन सकेन।

    उत्कृष्ट प्रतिस्पर्धा भएको फाइनल खेलमा लियो माउन्ट एभरेस्ट र लियो ईस्टर्न लाइन आमनेसामने भए। निर्धारित समयमा खेल बराबरी भएपछि पेनाल्टी सुटआउटमार्फत लियो माउन्ट एभरेस्ट विजयी बनेको हो।

    विजयी टिमका खेलाडीलाई आयोजकले ट्रफी र सम्मानपत्र प्रदान गर्दै भावी नेतृत्व विकासमा खेलकुदको भूमिका महत्वपूर्ण रहेको बताएका थिए।