२०८३ आश्विन २८ बुधबार
२०८३ आश्विन २८ बुधबार

प्रथम अच्छा राई रसिक पुरस्कार छुदेन काविमोलाई, शरद् क्षेत्री पत्रकारिता सम्मान दीपक सापकोटालाई

दार्जिलिङ, / रसिक ग्राम सुधार समितिको आयोजनामा प्रथम अच्छा राई रसिक पुरस्कार–२०२६ तथा शरद् क्षेत्री सम्मान समारोह साहित्यिक एवं सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भयो। समारोहमा साहित्य, पत्रकारिता, शिक्षा तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान जनाइयो।

यस वर्षको प्रथम अच्छा राई रसिक पुरस्कार साहित्यकार छुदेन काविमोको उपन्यास ‘उरमाल’लाई प्रदान गरियो। वरिष्ठ साहित्यकार डा. गोकुल सिन्हाको बाहुलीबाट काविमोलाई उक्त पुरस्कार अर्पण गरिएको थियो। यस अवसरमा दिपेश प्रधानले अभिनन्दन पत्र वाचन गरे भने नवीन पेगाले खदा तथा सन्तवीर थामीले नेपाली टोपी अर्पण गरे। पुरस्कार ग्रहणपछि साहित्यकार काविमोले आफ्नो मन्तव्य राखे।

समारोहमा शरद् क्षेत्री पत्रकारिता सम्मान ‘नेपाल प्रज्ञा प्रतिष्ठान’ का प्राज्ञ दीपक सापकोटालाई प्रदान गरियो। पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप उनलाई सम्मानित गरिएको हो। प्रवीना खातुनले अभिनन्दन पत्र वाचन गरेको उक्त सम्मान कार्यक्रममा डा. गोकुल सिन्हाले सम्मान प्रदान गरे भने नवीन पेगाले खदा र सन्तवीर थामीले नेपाली टोपी अर्पण गरे।

त्यसैगरी, शरद् क्षेत्री विद्यावारिधि सम्मानबाट डा. वीणा हाङखिम र डा. नमिता थापालाई सम्मानित गरियो। डा. हाङखिमको अभिनन्दन पत्र नवीन पी. लिम्बूले वाचन गरे। उनलाई सन्तवीर थामीले सम्मान, सुलोचना क्षेत्रीले खदा तथा नवीन बी.के.ले शाल अर्पण गरे। अर्की सम्मानित व्यक्तित्व डा. नमिता थापाको अभिनन्दन पत्र सृजना थामीले वाचन गरिन् भने नवीन पेगाले सम्मान, रुपेश तामाङले खदा र नवीन बी.के.ले शाल अर्पण गरे।

कार्यक्रमअन्तर्गत रसिक ग्राम सुधार समितिको विशेष सम्मानबाट पूर्ण गिरी, श्री प्रदीप लामा (डेनिस), दीपक क्षेत्री तथा श्री आर.के. गुरुङलाई सम्मानित गरियो।

पूर्ण गिरीको अभिनन्दन पत्र सोनु राईले वाचन गरिन्। उनलाई मिठु प्रधानले खदा तथा चन्द्रकला मुखियाले सम्मानपत्र प्रदान गरिन्। त्यसैगरी, प्रदीप लामाको अभिनन्दन पत्र सृजना थामीले वाचन गरिन् भने रतन गुरुङले खदा अर्पण गर्दै सम्मान प्रदान गरे। दीपक क्षेत्रीको अभिनन्दन पत्र अनिशाले वाचन गरिन् भने सन्तवीर थामीले खदा तथा सम्मान प्रदान गरे। श्री आर.के. गुरुङको अभिनन्दन पत्र नवीन पी. लिम्बूले वाचन गरे।

शैक्षिक उपलब्धिको कदर गर्दै रसिक ग्राम सुधार समिति उत्कृष्ट विद्यार्थी पुरस्कार अनिशा रोकालाई प्रदान गरियो। उक्त पुरस्कार नवीन पी. लिम्बूले प्रदान गरे।

दीपक सापकोटाले दार्जिलिङको साहित्यबारे विशेष मन्तव्य राखे। उनले दार्जिलिङको साहित्यिक परिवेशलाई केन्द्रमा राखेर आफ्ना विचार प्रस्तुत गरे। त्यस्तै, देवाङ योञ्जनले पुरस्कारको महत्त्व र सान्दर्भिकतामाथि विशेष मन्तव्य राखे।

कार्यक्रमको सांस्कृतिक पक्ष पनि आकर्षक रह्यो। स्वागत नृत्यबाट आरम्भ भएको समारोहमा रिया सेठले सरस्वती वन्दना प्रस्तुत गरिन्। साहित्यकार मनोज बोगटीद्वारा रचित ‘तिम्रो सम्झना आउँछ’ कविता दिपेश प्रधानले वाचन गरे। कवि प्रवीण खालिङले पनि कविता सुनाए।

साङ्गीतिक प्रस्तुतिअन्तर्गत अभिदान हाङ पेगा र गायिका सोनु राई, सिर्जना थामीले आधुनिक गीत प्रस्तुत गरे भने उमंग तामाङले लोकगीत सुनाएर समारोहलाई थप जीवन्त बनाए।

साहित्यिक सिर्जना, पत्रकारिता, प्राज्ञिक उपलब्धि, सामाजिक योगदान तथा विद्यार्थी प्रतिभालाई एउटै मञ्चबाट सम्मान गरिएको यस समारोहले दार्जिलिङको साहित्यिक एवं सांस्कृतिक क्षेत्रमा महत्त्वपूर्ण सन्देश दिएको छ। प्रथम अच्छा राई रसिक पुरस्कारको थालनीसँगै रसिक ग्राम सुधार समितिले साहित्यिक स्रष्टाहरूको योगदानलाई संस्थागत रूपमा सम्मान गर्ने नयाँ अध्याय सुरु गरेको निबन्धकार सैलिका छेत्रीले जनाएकी छन्।

+ posts

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।