वैशाख ९, दमक / झापाको दमक ३ वडा कार्यालयमा तोडफोड र आसपास क्षेत्रमा भएको चोरीको घटनामा अनुसन्धान तिब्र बनाएको प्रहरी घटनाका संदिग्धहरुको पहिचान नजिक पुगेको छ । घटनास्थल र वरपर भेटिएका केहि प्रमाणहरुका आधारमा प्रहरी सो घटनाको अनुसन्धान नजिक पुगेको इलका प्रहरी कार्यालय दमकका इञ्चार्ज डीएसपी किशोर लम्सालले जानकारी दिए । उनले भने–’घटनाको अनुसन्धान भइरहेको छ ।’
डीएसपी लम्सालले भने–’केही बिषयका प्राविधिक टिमहरुको समेत सहयोग र समन्वयमा संलग्नहरुको पहिचान गर्ने काम हुँदैछ । विस्तृत कुरा छिट्टै बाहिर आउँछ ।’यसैबीच दमक चोकमा आज बुधबार बिहान भएको हातपातको घटनामा संलग्न व्यक्ति मानसिक सन्तुलन ठिक नभएको पाइएको पनि डीएसपी लम्सालले बताए । त्यहाँ एक व्यक्तिमाथि हातपात भएको भन्ने सूचना पाएर पुगेका प्रहरीमाथिनै अन्धाधुन्दा हातपात गर्ने ति व्यक्तिको व्यवहार र शैली हेर्दा मानसिक सन्तुलन ठिक नभएको जस्तो देखिएको डीएसपी लम्सालको भनाई छ ।









