दमक, झापा । दमक नगरपालिकाले बजारमा देखिएको एलपी ग्यासको अभावप्रति गम्भीर चासो जनाउँदै ग्यासको सहज वितरणका लागि सरोकारवाला निकायलाई निर्देशन दिएको छ।
नगर प्रमुख रामकुमार थापाको अध्यक्षतामा इलाका प्रशासन कार्यालय दमक, इलाका प्रहरी कार्यालय दमक, दमक उद्योग वाणिज्य संघ, जिल्ला मानव अधिकारका अध्यक्ष, ग्यास व्यवसायी संघ दमकका अध्यक्षलगायत सरोकारवालाको सहभागितामा भएको छलफलपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो।
नगरपालिकाले ग्यास व्यवसायीहरूले आफूले प्राप्त गरेको ग्यास सिलिन्डर सहजताका साथ वितरण गर्नुपर्ने जनाएको छ। साथै, सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरी ग्यास वितरणको अनुगमन गर्ने र कृत्रिम अभाव तथा कालोबजारी गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गर्ने निर्णय गरिएको छ।
नगरपालिकाले उपभोक्तालाई पनि आवश्यकताभन्दा बढी ग्यास सञ्चय नगर्न आग्रह गरेको छ। त्यस्तै, उत्पादक कम्पनीहरूलाई यस क्षेत्रका डिलरलाई नियमित रूपमा ग्यास उपलब्ध गराउन निरन्तरता दिन अनुरोध गरिएको छ।
ग्यास उत्पादक कम्पनीले आफ्ना आधिकारिक डिलरबाहेक अन्य अनधिकृत व्यक्तिलाई ग्यास उपलब्ध गराएको पाइएमा सम्बन्धित कम्पनीमाथि कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णयसमेत गरिएको छ।























