दमक। झापाको दमकमा नेपाली कांग्रेस वडा समिति दमक–७ ले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान, विपन्न परिवारलाई राहत वितरण तथा राष्ट्रिय च्याम्पियन अन्तर्राष्ट्रिय चेस खेलाडीलाई सम्मान गरेको छ।
वडा सभापति अतित बान्तवा राईका अनुसार पर्वको अवसरमा आयोजित कार्यक्रममा ४७ विपन्न परिवारलाई चामल, नुन, तेल, दाल, नुडल्स र चिप्सलगायत खाद्य सामग्री वितरण गरिएको हो। कार्यक्रममा दमक–७ का स्थानीय पूर्व राष्ट्रिय च्याम्पियन अन्तर्राष्ट्रिय चेस खेलाडीलाई प्रमाणपत्र र नगदसहित सम्मानसमेत गरिएको थियो।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मेदनी सिटौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेश सदस्य भूमिराज राई, क्षेत्रीय सभापति रवि केसी, नेपाल विद्यार्थी संघका निवर्तमान सदस्य ललित मगरलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम वडा सचिव मनिष श्रेष्ठले सञ्चालन गर्नुभएको थियो।




































