
सुजन गाैतम / दमक । झापाको दमकमा सम्पन्न कोशी प्रदेश जिल्ला स्तरीय प्रथम भेट्रान च्यालेन्ज कप–२०८३ को उपाधि बिर्तामोड भेट्रानले जितेको छ।
दमक–२ स्थित बेलडाँगी खेलमैदानमा बिहीबार सम्पन्न फाइनल खेलमा बिर्तामोड भेट्रानले दमक भेट्रान रातो लाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो।
उपाधि विजेता बिर्तामोड भेट्रानले रु. १ लाख १ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। यस्तै, उपविजेता बनेको दमक भेट्रान रातोले रु. ५१ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
खेल सुरु भएको १७औँ मिनेटमा बिर्तामोड भेट्रानका जर्सी नम्बर ७ का खेलाडी प्रवेश कटुवालले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि २८औँ मिनेटमा बिर्तामोड भेट्रानकै जर्सी नम्बर ५ का खेलाडी रविन राईले थप एक गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए।
खेलको पहिलो हाफमा बिर्तामोड भेट्रानले गरेको दुई गोल नै टोलीका लागि निर्णायक बन्न पुगेको थियो । खेलको क्रममा दमक भेट्रानका दुई खेलाडीले पहेँलो कार्ड पाएका थिए।
खेल सुरु हुनुअघि पूर्व खेलाडीहरू लाई सम्मान गरिएको थियो। फाइनल खेलको पूर्वसन्ध्यामा आयोजित मैत्रीपूर्ण खेल जनप्रतिनिधि र पत्रकारबीच सम्पन्न भएको थियो। खेलमा जनप्रतिनिधिको टोलीले पत्रकारको टोलीलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।
दमकमा सम्पन्न भेट्रान च्यालेन्ज कपको पुरस्कार वितरण कार्यक्रममा उत्कृष्ट खेलाडीहरूलाई विभिन्न विधामा सम्मान गरिएको छ। प्रतियोगितामा उत्कृष्ट गोलकिपरको उपाधि तीर्थ रिजालले प्राप्त गर्नुभयो। त्यस्तै, उत्कृष्ट डिफेन्डर मोहन गुरुङ र उत्कृष्ट मिडफिल्डर भूपेन लिम्बू घोषित हुनुभयो।
खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ‘म्यान अफ द म्याच’को उपाधि प्रवीण राईले प्राप्त गर्नुभयो। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीका रूपमा दमक रातोका तुलबहादुर मगर ‘म्यान अफ द सिरिज’ बन्न सफल हुनुभयो। पुरस्कार वितरण कार्यक्रममा उत्कृष्ट खेलाडीहरूलाई ट्रफी तथा सम्मान प्रदान गरिएको थियो।
दमक भेट्रान फुटबल क्लबका अध्यक्ष गजेन्द्र देवानको अध्यक्षतामा प्रतियोगिता सञ्चालन गरिएको थियो। प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाका भेट्रान टोलीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।
दमक, असोज २१ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशी प्रदेश समितिको दोस्रो अधिवेशनको उद्घाटन सत्रमा अध्यक्षका उम्मेदवार विश्वमोहन थापाको अभिव्यक्तिलाई लिएर केहीबेर विवाद भएको छ।
दमक–८ स्थित कस्मिक पार्टी प्यालेसमा जारी अधिवेशनमा थापाले नेतृत्व चयनका क्रममा ‘रक्सी र मासुमा भोट नहाल्न’ आग्रह गरेपछि एक कार्यकर्ताले आपत्ति जनाएका थिए।
पार्टीको संगठन विस्तारका क्रममा पहाडी जिल्लामा देखिएका समस्याबारे धारणा राख्ने क्रममा थापाले उक्त अभिव्यक्ति दिएका थिए। उनको भनाइले आफूलाई अपमानित गरेको भन्दै एक कार्यकर्ता कार्यक्रमस्थलमै आक्रोशित बनेका थिए।
विवादका क्रममा ती कार्यकर्ता कार्यक्रमका सभापति तथा राप्रपा कोशी प्रदेश अध्यक्ष राम थापासमक्ष पुगेका थिए। उनले टेबलमा फाइल बजारेपछि केहीबेर कार्यक्रमस्थलमा तनावको अवस्था सिर्जना भएको थियो।
घटनामा संलग्न कार्यकर्ता मदन मगर रहेको बताइएको छ। विवाद बढेपछि अध्यक्षका उम्मेदवार विश्वमोहन थापाले आफ्नो अभिव्यक्तिका कारण समस्या उत्पन्न भएको भन्दै माफी मागेका थिए। थापाले माफी मागेपछि विवाद साम्य भएको र अधिवेशन पुनः सञ्चालन भएको जनाइएको छ।
राप्रपा कोशी प्रदेश समितिको अध्यक्ष पदका लागि वर्तमान प्रदेश अध्यक्ष तथा दमक नगरपालिकाका मेयर राम थापा, विश्वमोहन थापा र दुर्गाबहादुर बस्नेत आकांक्षी रहेको पार्टीकी महिला नेतृ रीता श्रेष्ठले जानकारी दिइन्।
नेतृत्व चयनको प्रक्रिया अघि बढिरहेका बेला उम्मेदवारको अभिव्यक्तिलाई लिएर भएको विवादले अधिवेशनस्थलमा केही समय असहज वातावरण बनेको थियो।
दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कोशी प्रदेश (भूगोल) तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको छ ।
स्थानीय सरकारमा रहेर नागरिकका समस्या, विकासका आवश्यकता र स्थानीय तहका प्राथमिकतालाई नजिकबाट बुझेको अनुभवलाई पार्टीको केन्द्रीय जिम्मेवारीमा जोड्ने उद्देश्यले उम्मेदवारी दिएको भट्टराईले बताउनुभएको छ ।
नागरिकले प्रत्यक्ष रूपमा भेट्ने र आफ्ना समस्या राख्ने पहिलो सरकार स्थानीय तह भएकाले स्थानीय सरकारमा काम गर्दा नागरिकका वास्तविक आवश्यकता बुझ्ने अवसर प्राप्त भएको उहाँको भनाइ छ । विकासका आधारभूत योजना, स्रोत व्यवस्थापन तथा तीन तहका सरकारबीचको समन्वयको व्यावहारिक अवस्थालाई समेत नजिकबाट नियाल्ने अवसर पाएको उहाँले बताउनुभएको छ ।
कम्युनिष्ट पार्टीको लामो राजनीतिक प्रभाव रहेको तथा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीको गृहनगरका रूपमा समेत परिचित दमक नगरपालिकामा नेपाली कांग्रेसबाट पहिलो पटक उपप्रमुखमा निर्वाचित भएर काम गरेको अनुभवलाई अब पार्टीको केन्द्रीय राजनीतिसँग जोड्न चाहेको भट्टराईले बताउनुभएको छ ।
स्थानीय तहले नागरिकसँग प्रत्यक्ष रूपमा काम गरे पनि संघ, प्रदेश र स्थानीय तहबीच अधिकार, स्रोत, योजना तथा कार्यान्वयनका विषयमा पर्याप्त समन्वय हुन नसक्दा विकासका काम अपेक्षाकृत प्रभावकारी हुन नसकेको उहाँको बुझाइ छ । तीनै तहका सरकारबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने नीतिगत आधार निर्माणका लागि कांग्रेसभित्र गम्भीर बहस आवश्यक रहेको भट्टराईको भनाइ छ ।
केन्द्रीय सदस्यमा निर्वाचित भएपछि स्थानीय तहमा काम गर्दा प्राप्त अनुभव र नागरिकका समस्यालाई पार्टीको नीति निर्माण तहमा पु¥याउने उहाँले बताउनुभएको छ । कांग्रेसलाई जनतासँग अझ नजिक जोड्ने, स्थानीय आवश्यकता र जनभावनालाई पार्टीको नीति तथा योजनामा समेट्ने आफ्नो प्राथमिकता रहेको उहाँको भनाइ छ ।
भट्टराईले विद्यार्थी जीवनदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय हुँदै विभिन्न तहमा जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । उहाँको राजनीतिक यात्रा २०४८ सालमा अमरसिंह माध्यमिक विद्यालय, मोरङको नेविसंघ इकाई सभापतिबाट सुरु भएको हो ।
त्यसपछि २०५१ सालमा दमक बहुमुखी क्याम्पस नेविसंघ कार्यसमिति सदस्य तथा २०५४ सालमा महेन्द्र मोरङ क्याम्पस नेविसंघ कार्यसमिति सदस्यको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
२०६० सालमा महिला संघ दमक–६ वडा सभापति, २०६५ सालमा महिला संघ दमक नगर सचिव, तथा सन् २०१४ मा दमक जेसीज अध्यक्षको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो ।
त्यसैगरी २०७१ सालमा नेपाल महिला संघ क्षेत्रीय सभापति र जिल्ला सदस्य, २०७२ सालमा नेपाली कांग्रेस क्षेत्रीय सदस्य तथा २०७८ सालमा नेपाली कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समिति सदस्य बन्नुभएको थियो ।
राजनीतिक तथा सामाजिक क्षेत्रमा लामो समय सक्रिय भट्टराई २०७९ सालको स्थानीय तह निर्वाचनमा दमक नगरपालिकाको उपप्रमुखमा निर्वाचित हुनुभएको हो ।
विद्यार्थी संगठनदेखि महिला संघ, पार्टीको क्षेत्रीय तथा प्रदेश तह र स्थानीय सरकारसम्मको जिम्मेवारी सम्हालेको अनुभवलाई अब पार्टीको केन्द्रीय तहमा पु¥याउने उद्देश्यले आफूले उम्मेदवारी दिएको भट्टराईले बताउनुभएको छ ।
दमक । झापाको दमकमा स्थानीय राजनीतिमा लामो समयदेखि सक्रिय नाम हो—भीम प्रसाद पौडेल। वडा तहको राजनीतिबाट सुरु भएको उनको जनप्रतिनिधिको यात्रा अहिले नगरको नेतृत्वसम्म पुग्ने आकांक्षातर्फ उन्मुख देखिएको छ। पौडेल २०५४ सालमा साविक दमक–१२ बाट पहिलोपटक वडाध्यक्ष निर्वाचित भएका थिए। त्यसपछि २०७४ सालको स्थानीय तह निर्वाचनमा वडा नं. ७ बाट पुनः निर्वाचित भए।
२०७९ सालको निर्वाचनमा पनि उनले वडा नं. ७ बाट १ हजार ८७८ मत प्राप्त गर्दै पुनः वडाध्यक्ष जिते। यससँगै उनी तीन कार्यकाल वडाध्यक्ष निर्वाचित भएका छन्। पौडेलको राजनीतिक पृष्ठभूमि विद्यार्थी अवस्थादेखि जोडिएको देखिन्छ। ताप्लेजुङमा जन्मिएका उनी झापाको शनिश्चरे हुँदै दमकलाई आफ्नो राजनीतिक कर्मथलो बनाएका हुन्। स्थानीय राजनीतिक यात्रामा पञ्चायतकालदेखि नै सक्रिय रहेको उनको जीवनीसम्बन्धी सामग्रीमा उल्लेख छ।
२०५४ सालमा पहिलोपटक निर्वाचित हुँदा नै उनले नगरको भौतिक पूर्वाधार समितिको संयोजकको जिम्मेवारी पाएको र दमकका चक्रपथ तथा सडकको रेखाङ्कनमा भूमिका खेलेको उनले बताएका छन्। लामो जनप्रतिनिधि यात्रामा पूर्वाधार विकास, सार्वजनिक जमिनको संरक्षण तथा भूमिहीनका विषयलाई प्राथमिकतामा राखेको उनको भनाइ छ। २०७४ मा दमकका १० मध्ये ८ वडामा नेकपा एमाले विजयी हुँदा पौडेल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडा नं. ७ मा निर्वाचित हुने दुई वडाध्यक्षमध्ये एक थिए। २०७९ मा पनि उनले राप्रपाबाटै वडा नं. ७ को नेतृत्व कायम राखे।
उक्त निर्वाचनमा उनले १ हजार ८७८ मत पाएका थिए भने निकटतम प्रतिस्पर्धीले ९६० मत प्राप्त गरेका थिए। वडाध्यक्षका रूपमा पौडेलको कार्यकालमा स्थानीय पूर्वाधारदेखि सार्वजनिक सरोकारका विषयसम्म उनी निरन्तर चर्चामा रहँदै आएका छन्। अब भने पौडेलको राजनीतिक यात्राको अर्को प्रश्न नगर नेतृत्व हो। तीन कार्यकाल वडा तहको अनुभवपछि उनी आगामी स्थानीय तह निर्वाचनमा दमक नगरपालिकाको मेयर पदका आकांक्षीका रूपमा देखिएका छन्।
वडा तहमा लामो समय जनप्रतिनिधि भएर काम गरेका पौडेलका लागि नगरको नेतृत्वको आकांक्षा उनको राजनीतिक यात्राको नयाँ चरणका रूपमा हेरिएको छ। वडाध्यक्षको तीन दशक आसपासको अनुभवलाई नगर नेतृत्वको दाबीमा कसरी रूपान्तरण गर्छन्—आगामी निर्वाचनमा पौडेलको राजनीतिक यात्राको मुख्य चासो यही बन्ने देखिन्छ।
दमक, असोज– ‘युक्ति टाईम्स’ ले दमकमा सञ्चालन गरेको ‘तीज फोटो कन्टेस्ट–२०८३’ का विजेता तथा उपविजेताहरूलाई पुरस्कार वितरण गरिएको छ ।
आइतवार दमकमा विशेष कार्यक्रमको आयोजना गरी प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने प्रतियोगीहरूलाई पुरस्कार प्रदान गरेको हो। विजेता, उपविजेता तथा कार्यक्रमका प्रायोजकहरूकोसमेत आतिथ्यता रहेको सो कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको थियो।
युक्ति टाईम्सका अध्यक्ष रेवतचन्द्र भण्डारीका अनुसार दमकमा गत भदौं १० देखि ३० गतेसम्म तीज फोटो कन्टेस्ट आयोजना गरिएको थियो । तीज फोटो कन्टेस्टमा ११० जना प्रतियोगिहरुले सहभागिता रहेका थिए ।
प्रतियोगि मध्ये पाँचथर घर भई हाल दमक ८ मा बस्दैआएकी सोना राई विजेता भईन् । उनीसहित छनौट भएकी उपविजेताहरू अर्पना राजवंशी, रञ्जु रिजाल, मैना दाहाल राउत र बिनु कार्कीलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष भण्डारी, वरिष्ठ पत्रकार विष्णु सुब्बा, विजेता सोना राई लगायतले तीज फोटो प्रतियोगिताको उद्देश्य ,महत्वका विषयमा चर्चा गरेका थिए ।
तीज फोटो कन्टेस्टलाई सफल बनाउन सफल केयरगिभर ट्रेनिङ सेन्टर दमक, अकवा मेरी वाटर, आर। के। फेन्सी, गोठालो मार्ट, सप्तकोशी डेन्टल, गणेश सर्जिकल एण्ड फिटनेस, जोलिबी खाजा घर, आमा कोल्ड सेन्टर, क्विन्स ब्यूटी पार्लर, पोखरेल कपडा पसल, ग्लोरी ब्यूटी पार्लर एंड ट्रेनिंग सेन्टर, वाटर किंगडम झिलझिले, सिग्देल डिपार्टमेन्ट स्टोर, यूपीभीसी र दमक काष्ठकला लगायतका प्रायोजक तथा सहयोगी संस्थाहरूले साथ दिएका थिए ।
संस्कृति जगेर्ना र रचनात्मक अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित यस फोटो कन्टेस्टले स्थानीयस्तरमा छुट्टै उत्साह थपेको आयोजकले जनाएको छ ।
दमक – सुजन गाैतम / झापाको दमकमा बिहीबारदेखि सुरु भएको कोशी प्रदेश जिल्ला स्तरीय प्रथम भेट्रान च्यालेन्ज कप–२०८३ को चौथो दिनको पाेहिले सेमिफाईनल खेलमा चन्द्रगढी भेट्रान र बिर्तामोड भेट्रान बीच भिडन्त भएको थियो । प्रतियोगिताको पाँचौं दिनकाे खेलमा निर्णायक पेनाल्टी गर्दै बिर्तामोड भेट्रानले चन्द्रगढी भेट्रान लाई १-० गोल अन्तरले पराजित गरेको छ ।
दमक–२ स्थित बेलडाँगी खेलमैदानमा जारी कोशी प्रदेश जिल्लास्तरीय प्रथम भेट्रान च्यालेन्ज कप–२०८३ अन्तर्गत भएको खेलमा बिर्तामोड भेट्रान फाइनलमा प्रवेश गरेको छ। खेलको निर्धारित समयको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। दोस्रो हाफमा चन्द्रगढी भेट्रानका जर्सी नम्बर ५ का खेलाडीले पहेँलो कार्ड पाए पनि निर्धारित समयसम्म कुनै पनि टोलीले गोल गर्न सकेन। त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा दुवै टोलीले २–२ गोल गरेपछि खेल बराबरी भएको थियो। निर्णायक पेनाल्टीमा बिर्तामोड भेट्रानले १–० को जित निकाल्दै प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको हो।
त्यसैगरी सोही दिनको दोस्रो खेलमा दमक भेट्रान (रातो) र काकडभिट्टा भेट्रान बीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताको दोस्रो खेलमा दमक रातो भेट्रानले काकडभिट्टा भेट्रान लाई निर्णायक पेनाल्टीमा बाट १-० गोल अन्तरले पराजित गरेको छ ।
खेलको निर्धारित समयको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। हाफ टाइमपछि दमक भेट्रान (रातो) का जर्सी नम्बर ८ का खेलाडीले पहेँलो कार्ड पाए। हाफ टाइमपछि पनि दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
पेनाल्टीमा दुवै टोलीले ३–३ गोल गरेपछि खेल बराबरी भएको थियो। निर्णायक पेनाल्टीमा दमक भेट्रान रातोले १–० को जित निकाल्दै प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको हो। यो खेलसँगै बिर्तामोड भेट्रान र दमक (रातो)भेट्रान प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
२१ गते बुधबार हुने फाइनलकाे खेल बिर्तामोड भेट्रान र दमक रातो भेट्रान बीच प्रतिस्पर्धा हुने छ । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार रुपैयाँ तथा उपविजेताले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। विजेताले प्राप्त गर्ने १ लाख रुपैयाँ पुरस्कार दमकस्थित माया क्याफेले सौजन्यस्वरूप सहयोग गरेको आयोजकले जनाएको छ। दमक भेट्रान फुटबल क्लबका अध्यक्ष गजेन्द्र देवानको अध्यक्षतामा प्रतियोगिता सञ्चालन भइरहेको छ।
दमक – झापाको दमक नगरपालिका–६ स्थित एचके फर्निचर एन्ड फिनिसिङले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आकर्षक उपहार योजना सार्वजनिक गरेको छ।
आइतबारदेखि सुरु गरिएको उपहार योजनाअन्तर्गत प्रथम हुने ग्राहकका लागि एसी, दोस्रो हुनेलाई वासिङ मेसिन र तेस्रो हुने ग्राहकलाई फ्रिज पुरस्कारको व्यवस्था गरिएको छ।
एचके फर्निचर एन्ड फिनिसिङका सञ्चालक हरि पौडेलका अनुसार रु. १० हजारभन्दा माथिको फर्निचर तथा अन्य सामान खरिद गर्ने प्रत्येक ग्राहकले उपहार पाउनेछन्। साथै, चिट्ठामार्फत छनोट हुने विजेतालाई पुरस्कार मंसिर ९ गते वितरण गरिने सञ्चालक पौडेलले जानकारी दिएका छन्।
एचके फर्निचर एन्ड फिनिसिङमा फर्निचरसँग सम्बन्धित सम्पूर्ण सामग्री उपलब्ध हुनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री–वितरण हुँदै आएको सञ्चालक पौडेलले जानकारी दिएका छन्।
दमक – झापाको दमक नगरपालिका–१ स्थित लिटल स्कलर मोन्टेसोरीमा तेजस् डेन्टल क्लिनिकले एकदिने दन्त स्वास्थ्य शिविर सम्पन्न गरेको छ।
शिविरमा विद्यालयका विद्यार्थी तथा अभिभावक गरी करिब १५० जनाले दाँत तथा मुखसम्बन्धी स्वास्थ्य परीक्षण र परामर्श सेवा लिएका छन्। डा. श्रद्धा दंगालसहितको चिकित्सकीय टोलीले सहभागीहरूको दन्त परीक्षण गर्दै आवश्यक स्वास्थ्य परामर्श प्रदान गरेको थियो।
तेजस् डेन्टल क्लिनिकका सञ्चालक कमल गैरेका अनुसार शिविरमा सहभागी विद्यार्थी तथा अभिभावकलाई क्लिनिकबाट उपलब्ध हुने उपचार सेवामा ३० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।
विद्यालयका प्रिन्सिपलले विद्यार्थीको दाँत तथा मुखको स्वास्थ्यप्रति सचेतना बढाउने उद्देश्यले शिविर आयोजना गरिएको बताउनुभयो।
दमकको बेलडाँगी रोडस्थित केडी कम्प्लेक्समा रहेको तेजस् डेन्टल क्लिनिकले दाँत भर्ने, दाँत निकाल्ने, आरसीटी (रुट क्यानल उपचार) तथा बालबालिकाको दन्त उपचारलगायतका सेवा प्रदान गर्दै आएको जनाएको छ।
दमक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कोशी प्रदेश अध्यक्षमा राम थापा पुनः दोहोरिने तयारीमा जुटेका छन्। राप्रपाले आगामी असोज २१ गते सातै प्रदेशमा एकैदिन प्रदेश अधिवेशन गर्ने निर्णय गरेसँगै कोशीको नेतृत्वका लागि थापाको पुनरावृत्तिको चर्चा चुलिएको हो।
थापा हाल राप्रपा कोशी प्रदेश अध्यक्ष छन्। पार्टीको आधिकारिक वेबसाइटले समेत उनलाई कोशी प्रदेश अध्यक्षका रूपमा उल्लेख गरेको छ।
राप्रपाले प्रदेश अधिवेशनका लागि कोशी प्रदेशमा केन्द्रीय निर्वाचन समितिका सदस्य भरत पाठकलाई निर्वाचन प्रतिनिधिको जिम्मेवारी दिएको छ। जिल्ला तहका अधिवेशनपछि प्रदेश नेतृत्व चयनको प्रक्रिया अघि बढाइएको हो।
दमक नै प्रदेश अधिवेशनको केन्द्र बन्ने भएपछि थापाको राजनीतिक भूमिकामाथि थप चासो देखिएको छ। थापा दमक नगरपालिकाका प्रमुखसमेत हुन्। उनी लामो समयदेखि दमक र झापामा राप्रपाको संगठन निर्माणमा सक्रिय रहँदै आएका नेता हुन्।
झापाको कन्काई नगरपालिका–स्थित पुकार अशक्त आश्रममा जन्मदिनको अवसर पारेर खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गरिएको छ। जन्मदिनलाई केवल व्यक्तिगत उत्सवमा सीमित नराखी सामाजिक सेवासँग जोड्ने उद्देश्यले आश्रममा रहेका अशक्त तथा असहाय व्यक्तिहरूलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको हो।
दिवस श्रेष्ठको जन्मदिनको अवसरमा आयोजित सहयोग कार्यक्रममा दमक शाखा अध्यक्ष राजु निरौलाको अध्यक्षता रहेको थियो। कार्यक्रममा संस्थाका केन्द्रीय सचिव दिवस खतिवडा प्रमुख अतिथि, उपाध्यक्ष लबराज खड्का, सचिव पूजा दाहाल, सदस्य तुलसा शिवाकोटी, आश्रम सञ्चालक निर्मला ओझा, डम्बर दाहाललगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा आश्रममा रहेका व्यक्तिहरूसँग समय बिताउँदै खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरिएको थियो। जन्मदिनजस्ता व्यक्तिगत खुसीका अवसरलाई सामाजिक सेवासँग जोडेर असहाय तथा आवश्यकतामा रहेका व्यक्तिलाई सहयोग गर्ने संस्कारले सामाजिक उत्तरदायित्व र मानवीय भावनालाई थप बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।
‘आफ्नो खुसी अरूसँग बाँड्दा जन्मदिन अझ विशेष र अर्थपूर्ण हुन्छ’ भन्ने सन्देशसहित गरिएको सहयोगले समाजमा सेवाभाव, मानवीयता र सकारात्मक सोचको विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ।





