
श्रावण १, झापा झापाको कमल गाउँपालिका ६ स्थित लखनपुर स्वास्थ्य चौकीको नवनिर्मित भवनबाट आधारभूत स्वास्थ्य सेवा सहित नियमित सेवा शुभारम्भ भएको छ।
नवनिर्मित भवनबाट सेवा सञ्चालनमा आएपछि स्थानीय नागरिकले थप व्यवस्थित, सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ। स्वास्थ्य चौकीबाट ओपीडी सेवा, सुरक्षित मातृत्व सेवा, खोप सेवा, परिवार नियोजन, बाल स्वास्थ्य, पोषण, प्रयोगशाला,ड्रेसिङ,सुत्केरी घरभेट सेवा तथा अन्य आधारभूत स्वास्थ्य सेवाहरू प्रदान गरिनेछ।
स्वास्थ्य चौकीमा मेडिकल अधिकृत (डाक्टर) सहित बर्थिङ्ग सेन्टर, आकस्मिक उपचार सहित क्रमशः थप सेवा विस्तारको व्यवस्था मिलाउदै लगिने गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले बताए ।
सेवा शुभारम्भसँगै स्वास्थ्य संस्थाले समुदायलाई नजिकबाट प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउँदै नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको स्वास्थ्य केन्द्र प्रमुख देवराज पराजुलीको भनाई छ ।
श्रावण १, दमक दमकमा शैक्षिक परामर्श व्यवसायीहरूको उल्लेखनीय सहभागितामा “शैक्षिक परामर्श, भाषा शिक्षण र तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली, २०८३” विरुद्ध शान्तिपूर्ण विरोध र्याली सम्पन्न भएको छ।
शैक्षिक परामर्श क्षेत्रको अस्तित्व, गुणस्तर, पारदर्शिता तथा विद्यार्थी हितको संरक्षण गर्दै सरोकारवालाहरूको साझा चासो, सुझाव र मागहरू सम्बन्धित निकायसमक्ष जिम्मेवारीपूर्वक पुर्याउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।
सम्पूर्ण शैक्षिक परामर्श व्यवसायीहरू एकताबद्ध भएर संवाद, सहकार्य र रचनात्मक समाधानको पक्षमा रहेको सन्देशसमेत यस कार्यक्रममार्फत प्रवाह गरिएको छ।






