२०८३ श्रावण २६ मंगलवार
२०८३ श्रावण २६ मंगलवार

पतञ्जली योग दमक नगर समितिसँग तेजस् डेन्टल क्लिनिकको सहकार्य, साधक–साधिकालाई २० प्रतिशत छुट

दमक। तेजस् डेन्टल क्लिनिक, दमक–६ र पतञ्जली योग दमक नगर समितिबीच एक वर्षका लागि दन्त उपचार सेवामा २० प्रतिशत छुट प्रदान गर्ने समझदारीपत्र (एमओयू) सम्पन्न भएको छ।

सम्झौताअनुसार पतञ्जली योग दमक नगर समितिमा आबद्ध सम्पूर्ण साधना केन्द्र तथा साधक–साधिकाहरूले तेजस् डेन्टल क्लिनिकमा उपलब्ध सम्पूर्ण दन्त उपचार सेवामा एक वर्षसम्म २० प्रतिशत छुट सुविधा प्राप्त गर्नेछन्।

उक्त सुविधा सम्झौता अवधिभर लागू रहनेछ। आबद्ध साधक–साधिकाहरूले आवश्यक परिचय वा समितिको सिफारिसका आधारमा सहुलियत सुविधा लिन सक्ने जनाइएको छ।

दुवै संस्थाबीच भएको यस सहकार्यले योग तथा साधनामा आबद्ध व्यक्तिहरूलाई गुणस्तरीय, विश्वासिलो र सहज दन्त स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

तेजस् डेन्टल क्लिनिकले यस महत्वपूर्ण सहकार्यका लागि पतञ्जली योग दमक नगर समिति परिवारप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै आगामी दिनमा पनि गुणस्तरीय र सहज दन्त स्वास्थ्य सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध रहने जनाएको छ।

दमक । दमकको शान्ति सुरक्षा तथा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन होटल व्यवसायीले होटलमा आउने ग्राहकको विवरण व्यवस्थित रूपमा राख्ने, सीसीटीभी सञ्चालनमा राख्ने तथा शंकास्पद गतिविधिबारे तत्काल प्रहरीलाई जानकारी गराउने प्रतिबद्धता जनाएका छन् ।
इलाका प्रहरी कार्यालय दमकमा प्रहरी र होटल व्यवसायीबीच भएको छलफलमा होटल व्यवसायलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने विषयमा विभिन्न निर्णय तथा समझदारी भएको हो । छलफलमा होटल व्यवसायी संघ दमकका अध्यक्ष योगराज दंगाल, होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय सचिव तथा होटल व्यवसायी संघ दमकका महासचिव भूपेन्द्र न्यौपाने, संघका उपाध्यक्ष रुद्र कार्की, सचिव रमेश दहालसहितको टोली सहभागी भएको थियो । टोलीले होटल व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्या, सुरक्षा चुनौती तथा व्यवसायीका धारणा प्रहरीसमक्ष राखेको थियो ।
छलफलमा होटलमा आउने ग्राहकको पहिचान खुल्ने कागजात तथा आवश्यक विवरण अभिलेखमा राख्ने, परिचय नखुलेका व्यक्तिलाई कोठा उपलब्ध नगराउने र होटल परिसरमा जडान गरिएका सीसीटीभी नियमित रूपमा सञ्चालनमा राख्ने विषयमा जोड दिइएको थियो । आवश्यक परेको अवस्थामा सुरक्षा निकायलाई सहयोग पुग्ने गरी सीसीटीभीको अभिलेख सुरक्षित राख्नुपर्ने विषयसमेत उठाइएको थियो ।
होटललाई अपराधजन्य गतिविधिको आश्रयस्थल बन्न नदिन व्यवसायीले विशेष सतर्कता अपनाउने तथा कुनै शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई जानकारी गराउने सहमति भएको छ । प्रहरी र व्यवसायीबीच सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो ।
त्यसैगरी विद्यालय जाने उमेरका विद्यार्थी तथा बालबालिकालाई लक्षित गरी होटलबाट धूम्रपान तथा मद्यपानजन्य सामग्री उपलब्ध नगराउने विषयमा समेत व्यवसायीलाई सचेत गराइएको छ । होटल व्यवसाय सञ्चालन गर्दा सामाजिक उत्तरदायित्व र व्यवसायिक मर्यादालाई प्राथमिकता दिनुपर्नेमा सहभागी व्यवसायीले जोड दिएका थिए ।
छलफलमा होटल व्यवसायीले ग्राहकको सुरक्षा, व्यवसायको मर्यादा र गोपनीयतालाई ध्यान दिँदै प्रहरीसँग आवश्यक समन्वय गर्ने बताएका थिए । व्यवसाय सञ्चालनका क्रममा देखिने सुरक्षा तथा अन्य व्यावहारिक समस्यामा प्रहरीले समेत आवश्यक सहजीकरण गर्ने समझदारी भएको जनाइएको छ ।
प्रहरी र होटल व्यवसायीबीचको सहकार्यले दमकका होटल तथा लजलाई थप सुरक्षित र व्यवस्थित बनाउन तथा सम्भावित अपराधजन्य गतिविधि नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

झापा, कमल। कमल नगर अस्पतालमा भिडियो एक्स–रे (USG) सेवा औपचारिक रूपमा शुभारम्भ गरिएको छ। कमल गाउँपालिका अध्यक्ष श्री हुकुम सिंह राईज्यूले रिबन काटेर भिडियो एक्स–रे सेवाको औपचारिक शुभारम्भ गरे ।

स्थानीय नागरिकलाई स्वास्थ्य परीक्षणका लागि अन्यत्र जानुपर्ने बाध्यता कम गर्दै गुणस्तरीय स्वास्थ्य सेवा आफ्नै पालिकाबाट सहज रूपमा उपलब्ध गराउने उद्देश्यले भिडियो एक्स–रे सेवा सञ्चालनमा ल्याइएको हो। सेवा सञ्चालनमा आएसँगै विशेषगरी गर्भवती महिला तथा भिडियो एक्स–रे आवश्यक पर्ने सेवाग्राहीलाई सहज र प्रभावकारी स्वास्थ्य सेवा प्राप्त हुने अपेक्षा गरिएको छ।

सेवा शुभारम्भ कार्यक्रममा कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राई, प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकाल, स्वास्थ्य शाखा प्रमुख दिपक प्रसाद दहाल, कमल नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. फुलक चन्द्र लावती, अस्पताल प्रमुख कुशल श्रेष्ठ, रेडियोलोजिस्ट डा. देव कृष्ण यादवलगायत पालिका, अस्पताल तथा स्वास्थ्य शाखाका कर्मचारीहरू, अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका पदाधिकारीहरू , पत्रकार र विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा अध्यक्ष राईले स्थानीय नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यअनुरूप कमल नगर अस्पतालको सेवा तथा सुविधा क्रमशः विस्तार गर्दै लगिएको बताए । उनले अस्पतालमा आवश्यक तथा विशेषज्ञ सेवाहरू थप गर्दै नागरिकलाई सहज, सरल, भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताए ।

भिडियो एक्स–रे सेवा शुभारम्भ कार्यक्रमपछि अध्यक्ष राईले कमल नगर अस्पतालको समग्र सेवा प्रवाह तथा भौतिक संरचनाको निरीक्षण गरे ।

उनले अस्पतालमा सञ्चालनमा रहेका आँखा सेवा, दन्त सेवा, प्रशासन कक्ष, स्टोर, पुर्जा दर्ता कक्ष, औषधि विभाग, एक्स रे सेवा तथा ओपीडी सेवा लगायतका विभिन्न शाखा तथा सेवास्थलको निरीक्षण गरे ।

निरीक्षणका क्रममा अध्यक्ष राईले अस्पतालमा कार्यरत कर्मचारीहरूसँग सेवा प्रवाहका विषयमा जानकारी लिनुका साथै सेवाग्राहीलाई छिटो, सरल र सहज रूपमा सेवा उपलब्ध गराउन आवश्यक सुझाव तथा निर्देशन दिए ।

निरीक्षणका क्रममा अध्यक्ष राईले अस्पतालमा उपचार तथा स्वास्थ्य सेवा लिन आएका सेवाग्राहीहरूसँग प्रत्यक्ष भेटघाट तथा संवाद गरे ।

उनले सेवाग्राहीबाट अस्पतालको सेवा, औषधिको उपलब्धता, स्वास्थ्यकर्मीको व्यवहार तथा सेवा लिने क्रममा भोग्नुपरेका सहज–असहज पक्षबारे जानकारी लिए ।
आज ४५ जना सेवाग्राही ले भिडियो एक्स रे सेवा लिएका छन् ।

भिडियो एक्स–रे सेवाको शुभारम्भसँगै कमल नगर अस्पतालमा उपलब्ध स्वास्थ्य सेवाको दायरा थप फराकिलो भएको छ। स्थानीय सरकारको प्राथमिकतामा रहेको नागरिकको स्वास्थ्य सेवा सुधार र विस्तारको अभियानलाई निरन्तरता दिँदै कमल नगर अस्पताललाई थप व्यवस्थित, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउँदै लैजाने अपेक्षा गरिएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।