
झापा । जिल्ला प्रहरी कार्यालय झापामा आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्यसम्पादन सम्झौता हस्ताक्षर तथा मासिक बैठक कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बशुन्धरा खड्का तथा मातहतका सिनियर प्रहरी अधिकृत कार्यालय प्रमुखहरूको उपस्थितिमा वार्षिक कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो।
सम्झौता सम्पन्न भएपछि प्रहरी उपरीक्षक खड्काले मातहतका कार्यालय प्रमुखहरूलाई शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धान, विपद् व्यवस्थापन, प्रहरी आचरण तथा व्यवहार र ट्राफिक व्यवस्थापन लगायतका विषयमा आवश्यक निर्देशन दिनुभयो।
उहाँले वार्षिक कार्यसम्पादन सम्झौताअनुसार जिम्मेवारीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै प्रहरी सेवा थप व्यवस्थित, जिम्मेवार र परिणाममुखी बनाउन निर्देशन दिनुभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दमक । नेपाली कांग्रेसको आन्तरिक शक्ति संघर्षमा संस्थापन पक्षले कमजोर आँकलन गरेको ‘इतर पक्ष’ झापा क्षेत्र नं. ५ मा अप्रत्याशित र आक्रामक रूपमा उदाएको छ। दमक नगरपालिकाका १० वटै वडामा सम्पन्न वडा अधिवेशनको परिणामले संस्थापन पक्षको प्रारम्भिक रणनीतिलाई पूर्ण रूपमा उल्टाइदिएको छ। तल्लो तहबाटै आक्रामक रणनीति अख्तियार गर्दै अधिकांश वडामा युवा अनुहारलाई अघि सारेपछि वडा तहमा संस्थापन इतर पक्ष निकै मजबुत र निर्णायक देखिएको छ।
सम्पन्न अधिवेशनमार्फत दमकका १० वटै वडामा अनुभवी नेताहरूसँगै पुस्तान्तरणको स्पष्ट प्रभावसहित युवा नेतृत्व स्थापित भएको छ। वडा नं. १ मा पासाङ तामाङ, २ मा दिप मगर, ३ मा केदारसिंह अधिकारी, ४ मा भीमराज कार्की र ५ मा ऋद्धि बद्री खड्का निर्वाचित भएका छन्। त्यसैगरी वडा नं. ६ मा नारायणप्रसाद भट्टराई, ७ मा राजेश रनपहेली, ८ मा राजन राई, ९ मा साजन राई र १० मा यामबहादुर विष्टले वडाको नेतृत्व सम्हालेका छन्।
क्षेत्र नं. ५ मा महिन्द्र कुमार लिम्बु, घनेन्द्र योङ्या, दिल बहादुर बुढाथोकी, डा. खगेन्द्र पाण्डव, विरेन्द्र पोख्रेल, लता चापागाई, गोमा बुढाथोकी, राजेन्द्र प्रसाई, राजु न्यौपाने र जङ्ग बहादुर थापाजस्ता अनुभवी नेताहरूको उपस्थिति छ। यसैगरी, युवा नेता तथा अग्रज पत्रकार विष्णु सुब्बाको बौद्धिक र साङ्गठनिक सक्रियताले यस क्षेत्रको राजनीतिलाई थप अर्थपूर्ण बनाएको छ। अर्कातर्फ युवा नेता द्रोण दाहाल, सुनिल हताचो, विशाल अधिकारी, रोवर्ट रणपहेली तथा स्ववियु सदस्यहरू सर्वज्ञ कन्दाङ्वा, सुदिप साम्बाहाम्फे र सुमित कुमार तामाङसम्मको अग्रसरताले मैदान थप तातेको छ।
वडा अधिवेशनको यो बलियो जगसँगै अब सिंगो पार्टी पंक्तिको ध्यान आगामी नेतृत्व चयनतर्फ केन्द्रित भएको छ। दमक नगर अधिवेशन भोलि (असोज २२ गते) हुँदैछ भने क्षेत्रीय अधिवेशन असोज २४ गतेका लागि तय गरिएको छ। तल्लो तहमै इतर पक्षको आक्रामक उभारले संस्थापन पक्षलाई ठूलो रक्षात्मक दबाबमा पर्ने बुझाई छ ।
सुजन गाैतम / दमक । झापाको दमकमा सम्पन्न कोशी प्रदेश जिल्ला स्तरीय प्रथम भेट्रान च्यालेन्ज कप–२०८३ को उपाधि बिर्तामोड भेट्रानले जितेको छ।
दमक–२ स्थित बेलडाँगी खेलमैदानमा बिहीबार सम्पन्न फाइनल खेलमा बिर्तामोड भेट्रानले दमक भेट्रान रातो लाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो।
उपाधि विजेता बिर्तामोड भेट्रानले रु. १ लाख १ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। यस्तै, उपविजेता बनेको दमक भेट्रान रातोले रु. ५१ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
खेल सुरु भएको १७औँ मिनेटमा बिर्तामोड भेट्रानका जर्सी नम्बर ७ का खेलाडी प्रवेश कटुवालले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि २८औँ मिनेटमा बिर्तामोड भेट्रानकै जर्सी नम्बर ५ का खेलाडी रविन राईले थप एक गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए।
खेलको पहिलो हाफमा बिर्तामोड भेट्रानले गरेको दुई गोल नै टोलीका लागि निर्णायक बन्न पुगेको थियो । खेलको क्रममा दमक भेट्रानका दुई खेलाडीले पहेँलो कार्ड पाएका थिए।
खेल सुरु हुनुअघि पूर्व खेलाडीहरू लाई सम्मान गरिएको थियो। फाइनल खेलको पूर्वसन्ध्यामा आयोजित मैत्रीपूर्ण खेल जनप्रतिनिधि र पत्रकारबीच सम्पन्न भएको थियो। खेलमा जनप्रतिनिधिको टोलीले पत्रकारको टोलीलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।
दमकमा सम्पन्न भेट्रान च्यालेन्ज कपको पुरस्कार वितरण कार्यक्रममा उत्कृष्ट खेलाडीहरूलाई विभिन्न विधामा सम्मान गरिएको छ। प्रतियोगितामा उत्कृष्ट गोलकिपरको उपाधि तीर्थ रिजालले प्राप्त गर्नुभयो। त्यस्तै, उत्कृष्ट डिफेन्डर मोहन गुरुङ र उत्कृष्ट मिडफिल्डर भूपेन लिम्बू घोषित हुनुभयो।
खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ‘म्यान अफ द म्याच’को उपाधि प्रवीण राईले प्राप्त गर्नुभयो। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीका रूपमा दमक रातोका तुलबहादुर मगर ‘म्यान अफ द सिरिज’ बन्न सफल हुनुभयो। पुरस्कार वितरण कार्यक्रममा उत्कृष्ट खेलाडीहरूलाई ट्रफी तथा सम्मान प्रदान गरिएको थियो।
दमक भेट्रान फुटबल क्लबका अध्यक्ष गजेन्द्र देवानको अध्यक्षतामा प्रतियोगिता सञ्चालन गरिएको थियो। प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाका भेट्रान टोलीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।
दमक, असोज २१ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशी प्रदेश समितिको दोस्रो अधिवेशनको उद्घाटन सत्रमा अध्यक्षका उम्मेदवार विश्वमोहन थापाको अभिव्यक्तिलाई लिएर केहीबेर विवाद भएको छ।
दमक–८ स्थित कस्मिक पार्टी प्यालेसमा जारी अधिवेशनमा थापाले नेतृत्व चयनका क्रममा ‘रक्सी र मासुमा भोट नहाल्न’ आग्रह गरेपछि एक कार्यकर्ताले आपत्ति जनाएका थिए।
पार्टीको संगठन विस्तारका क्रममा पहाडी जिल्लामा देखिएका समस्याबारे धारणा राख्ने क्रममा थापाले उक्त अभिव्यक्ति दिएका थिए। उनको भनाइले आफूलाई अपमानित गरेको भन्दै एक कार्यकर्ता कार्यक्रमस्थलमै आक्रोशित बनेका थिए।
विवादका क्रममा ती कार्यकर्ता कार्यक्रमका सभापति तथा राप्रपा कोशी प्रदेश अध्यक्ष राम थापासमक्ष पुगेका थिए। उनले टेबलमा फाइल बजारेपछि केहीबेर कार्यक्रमस्थलमा तनावको अवस्था सिर्जना भएको थियो।
घटनामा संलग्न कार्यकर्ता मदन मगर रहेको बताइएको छ। विवाद बढेपछि अध्यक्षका उम्मेदवार विश्वमोहन थापाले आफ्नो अभिव्यक्तिका कारण समस्या उत्पन्न भएको भन्दै माफी मागेका थिए। थापाले माफी मागेपछि विवाद साम्य भएको र अधिवेशन पुनः सञ्चालन भएको जनाइएको छ।
राप्रपा कोशी प्रदेश समितिको अध्यक्ष पदका लागि वर्तमान प्रदेश अध्यक्ष तथा दमक नगरपालिकाका मेयर राम थापा, विश्वमोहन थापा र दुर्गाबहादुर बस्नेत आकांक्षी रहेको पार्टीकी महिला नेतृ रीता श्रेष्ठले जानकारी दिइन्।
नेतृत्व चयनको प्रक्रिया अघि बढिरहेका बेला उम्मेदवारको अभिव्यक्तिलाई लिएर भएको विवादले अधिवेशनस्थलमा केही समय असहज वातावरण बनेको थियो।





