
झापाको कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालको सरुवा भएसँगै एक औपचारिक कार्यक्रमका बीच ‘फेरि भेटौँला’ कार्यक्रमसहित बिदाइ गरिएको छ। गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, पालिकाका शाखा प्रमुख, कर्मचारी तथा स्वास्थ्यकर्मीहरूले ढकालको कार्यकालको स्मरण गर्दै उहाँले पुर्याउनुभएको योगदानको प्रशंसा गरेका थिए।
कार्यक्रमको सञ्चालन प्रशासन प्रमुख हिमाल मिश्रले गर्नुभएको थियो। कार्यक्रममा शिक्षा शाखा प्रमुख सूर्य न्यौपानेले प्र प्र अ केशब कुमार ढकाल सर कमल गाउँपालिकामा आएदेखि दुई वर्षभन्दा बढी समयसम्म निर्वाह गर्नुभएको जिम्मेवारी, इमानदारिता र कार्यसम्पादनको मुक्तकण्ठले प्रशंसा गर्नुभयो।
न्यौपानेले एउटै कार्यालयमा परिवारका सदस्यसरह मिलेर काम गर्ने क्रममा शिक्षा शाखा, आफू स्वयं, कर्मचारी, जनप्रतिनिधि वा अन्य कुनै पक्षबाट जान-अन्जानमा गल्ती हुन गई उहाँको मनमा चोट पुगेको भए त्यसलाई माफ गरिदिन आग्रह गर्नुभयो। साथै, कमल गाउँपालिकामा बिताएका दिनका तीतामीठा अनुभवमध्ये तीतो पक्षलाई बिर्सेर यहाँका मिठा तथा फलदायी सम्झनाहरू मात्रै आफूसँग लिएर जान उहाँले अनुरोध गर्नुभयो।
गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले प्रमुख प्रशासकीय अधिकृत ढकाललाई खादा तथा दोसल्ला ओढाएर, फूलक गुच्छा र मायाको चिनो प्रदान गर्दै सम्मानपूर्वक बिदाइ गर्नुभयो। कार्यक्रममा अन्य शाखा प्रमुख तथा कर्मचारीहरूले समेत फूलका गुच्छा र खादा प्रदान गर्दै उहाँको आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए।
बिदाइका क्रममा प्रमुख प्रशासकीय अधिकृत ढकालले आफूले कमल गाउँपालिकामा रहँदा सक्दो इमानदारिताका साथ जिम्मेवारी निर्वाह गरेको बताउनुभयो। कर्मचारी, जनप्रतिनिधि तथा आम समुदायबाट प्राप्त साथ र सहयोगकै कारण दुई वर्षभन्दा बढी समयसम्म यहाँ रहेर काम गर्न र आफ्नो बसाइ सहज बनाउन मद्दत पुगेको उहाँको भनाइ थियो।
आफ्नो लामो सरकारी सेवाको अवधिमा कमल गाउँपालिकामा बिताएको दुई वर्षभन्दा बढी समय विशेष र स्मरणीय रहेको बताउँदै उहाँले यहाँको बसाइ सुखद रहे पनि समय निकै छिटो बितेको अनुभव सुनाउनुभयो।
गाउँपालिकामा दरबन्दीभन्दा बढी कर्मचारी तथा शिक्षकको व्यवस्थापन र तलब भुक्तानीमा देखिएका समस्या, महालेखा परीक्षकको प्रतिवेदनमा औँल्याइएका बेरुजु तथा अन्य आर्थिक दायित्वका कारण पालिकामाथि बढ्दै गएको भारबारे पनि उहाँले चर्चा गर्नुभयो। केन्द्र सरकारबाट प्राप्त परिपत्र तथा दरबन्दीभन्दा बढी कर्मचारी र शिक्षक व्यवस्थापन गर्नुपर्ने बाध्यात्मक परिस्थितिका कारण कटौती गर्नुपर्ने अवस्था आएको र थप करार सम्झौता गर्न नसकिएको विषयसमेत उहाँले उल्लेख गर्नुभयो।
आफ्नो बिदाइका क्रममा भावुक बन्नुभएका ढकालले सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो। कार्यालयको काम, कर्तव्य र नियममा रहेर जिम्मेवारी निर्वाह गर्ने क्रममा कसैको मनमा चोट पुगेको भए त्यसलाई व्यक्तिगत रूपमा नलिन आग्रह गर्दै निजामती कर्मचारीले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा भएका त्यस्ता तीतामीठा प्रसङ्गलाई आजकै दिनदेखि बिर्सेर अघि बढ्न उहाँले अनुरोध गर्नुभयो।
कार्यक्रमका अध्यक्षसमेत रहनुभएका गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले ढकालजस्तो अनुभवी प्रमुख प्रशासकीय अधिकृतले जुनसुकै स्थानीय तहमा गएर पनि आफ्नो अनुभव र कार्यकुशलतामार्फत योगदान पुर्याउन सक्ने बताउनुभयो।
ढकालले कमल गाउँपालिकामा रहँदा निर्वाह गर्नुभएको जिम्मेवारी, पुर्याउनुभएको योगदान र कामप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै अध्यक्ष राईले उहाँको कार्यकुशलताको आवश्यकता भविष्यमा कमल गाउँपालिकालाई समेत पर्न सक्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी शाखा प्रमुख, कर्मचारी तथा स्वास्थ्यकर्मीहरूले ढकालसँगको सहकार्य र उहाँसँग बिताएका अनुभवहरू स्मरण गर्दै आगामी कार्यक्षेत्रमा सफलताको शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमको अन्त्यमा गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले समापन मन्तव्य राख्नु भएको थियोे ।





