
दमक, ४ मंसिर । झापाको दमककी स्तन क्यान्सरबाट पीडित ३७ वर्षीया गंगा विश्वकर्माले आफ्नो उपचारका लागि सहयोगको अपिल गरेकी छन्।
दमक नगरपालिका–५ स्थित ओमशान्ति टोलमा डेरामा बस्दै आएकी गंगाले ६ वर्षीया छोरीको भविष्यका लागि भए पनि आफू बाँच्न चाहेको बताएकी छन्। उनले आफ्नो उपचारमा सहयोग गरिदिन मनकारी व्यक्ति तथा संघसंस्थासँग आग्रह गरेकी हुन्।
दमक–५ स्थित दिपिनी आधारभूत विद्यालयको हलमा आयोजित पत्रकार भेटघाटमा गंगाले आफूलाई क्यान्सर भएको थाहा पाएपछि परिवारको सम्पूर्ण आर्थिक अवस्था कमजोर बनेको बताइन्। उपचारका क्रममा भएको धनसम्पत्ति खर्च भइसकेको र थप उपचारका लागि आर्थिक समस्या भएको उनको भनाइ छ।
गंगाका बुबा नारायण विश्वकर्माका अनुसार परिवारको आर्थिक अवस्था कमजोर छ। उनीहरू आफ्नै घरजग्गा नभएकाले डेरामा बस्दै आएका छन्।
करिब ८/९ महिनादेखि क्यान्सरबाट पीडित गंगाको हाल भरतपुरस्थित क्यान्सर अस्पतालमा किमोथेरापीमार्फत उपचार भइरहेको उनका श्रीमान् दीपेश दुलालले जानकारी दिएका छन्।
गंगाको उपचारमा सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाहरूलाई परिवारले बैंक अफ दमकमा रहेको खाता नम्बर ०९९०३६९५९१६००००१ मा आर्थिक सहयोग गरिदिन अनुरोध गरेको छ।
सानै उमेरकी छोरीको भविष्य र आफ्नो जीवन रक्षाका लागि गंगाले सबैसँग सहयोगको अपेक्षा गरेकी छन्।
कमल गाउँपालिकामा जापानिज इन्सेफलाइटिस (जे.ई.) रोगको नियन्त्रण, निवारण तथा उन्मूलनका लागि रोगसम्बन्धी सर्भिलेन्स तथा खोप अवस्थाको अनुगमन गर्ने उद्देश्यले महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कमल गाउँपालिकाको आयोजना तथा स्वास्थ्य कार्यालय झापा र आड्रा नेपालको समन्वयमा सम्पन्न उक्त अभिमुखीकरण कार्यक्रममा गाउँपालिका अध्यक्ष हुकुम सिंह राई, प्रमुख प्रशासकीय अधिकृत सुमन यङ्या, स्वास्थ्य शाखा प्रमुख दीपक प्रसाद दहाल, जनस्वास्थ्य निरीक्षक मेनका पौडेल, जनस्वास्थ्य अधिकृत प्रकृति दाहाल, अन्य कर्मचारीहरू तथा गाउँपालिकामा कार्यरत २४ जना महिला स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा जे.ई. रोग, यसको रोकथाम तथा नियन्त्रण, खोपको महत्त्व र खोपको अवस्थासम्बन्धी सहजीकरण स्वास्थ्य शाखा प्रमुख दीपक प्रसाद दहालले गर्नुभएको थियो। त्यसैगरी, आड्रा नेपालका प्रदेश अधिकृत प्रवेश रिजाल र समीर भण्डारीले सर्भिलेन्ससम्बन्धी विषयवस्तुको प्रस्तुतीकरण तथा प्राविधिक सहजीकरण गर्नुभएको थियो।
अभिमुखीकरणपश्चात् महिला स्वास्थ्य स्वयंसेविकाहरूले आगामी मंसिर १५ गतेभित्र आफ्नो कार्यक्षेत्रका घरधुरीमा पुगेर सर्भिलेन्स गर्नेछन्। एक जना महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नो टोलका करिब ९० घरधुरीमा पुगेर ५ वर्षमुनिका बालबालिकाको नियमित खोप पूरा भए/नभएको तथा ३० वर्षमाथिका नागरिकले जे.ई. खोप लगाए/नलगाएको अवस्थाबारे जानकारी संकलन गरी प्रतिवेदन पेश गर्नेछन्।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले रोगको रोकथाम र नियन्त्रणका लागि समुदायस्तरमा सचेतना तथा निगरानी अत्यन्त महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले महिला स्वास्थ्य स्वयंसेविकाहरू स्वास्थ्य सेवाको पहुँच समुदायको घरदैलोसम्म पुर्याउने महत्त्वपूर्ण कडी भएको उल्लेख गर्दै सर्भिलेन्स कार्यलाई जिम्मेवारीपूर्वक, प्रभावकारी र समयमै सम्पन्न गर्न आग्रह गर्नुभयो। साथै, खोपबाट कोही पनि लक्षित नागरिक तथा बालबालिका नछुटून् भन्ने उद्देश्यले सबै सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो।
यस सर्भिलेन्सबाट खोप छुटेका बालबालिका तथा जे.ई. खोप नलगाएका लक्षित उमेर समूहका नागरिकको पहिचान गरी आवश्यक खोप सेवाको पहुँच सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।





