Author: Multi Media

  • दमक–१० को इन्द्रेणी तालमा हरेक शनिबार सरसफाइ अभियान, नाउ सञ्चालनको तयारी

    दमक–१० को इन्द्रेणी तालमा हरेक शनिबार सरसफाइ अभियान, नाउ सञ्चालनको तयारी

    दमक, साउन १७ — झापाको दमक नगरपालिका वडा नम्बर १० मा अवस्थित इन्द्रेणी तालमा हरेक हप्ता सरसफाइ अभियान जारी रहेको छ। स्थानीय युवा रोहित राईको संयोजन र इन्द्रेणी ताल संरक्षण समितिका अध्यक्ष अम्बिका खनालको नेतृत्वमा सुरु गरिएको अभियानमा दमक तथा आसपास क्षेत्रका नागरिकहरूको उल्लेख्य सहभागिता रहेको छ।

    उर्लाबारीबाट डम्बर राई, अभियन्ता बिजय आङबुहाङ, पत्रकार विजय धिमाल र तेजन खड्कासहितका व्यक्तिहरू समेत सक्रिय रूपमा अभियानमा सहभागी भई ताल वरपरको झारपात, प्लास्टिकजन्य फोहोर हटाउने काममा जुटिरहेका छन्। सरसफाइ अभियानले ताललाई सफा, स्वच्छ र पर्यटकीय दृष्टिले आकर्षक बनाउन मद्दत पुर्‍याएको सहभागीहरूको भनाइ छ।

    समितिका अध्यक्ष अम्बिका खनालले इन्द्रेणी ताललाई “प्रकृतिको देन र समुदायको गौरव” भन्दै यसको संरक्षण र विकासका लागि हरेक शनिबार नियमित रूपमा अभियान जारी राख्ने बताएका छन्। संयोजक रोहित राईले ताल क्षेत्रको सौन्दर्य थप बढाउन नाउ सञ्चालनको तयारी भइरहेको जानकारी दिए।

    “सफा ताल, हरियाली वातावरण र जलयात्राको अनुभव दिने उद्देश्यले अब हामी तालमा नाउ सञ्चालन गर्न लागेका छौं,” राईले भने। स्थानीय नेतृत्व, युवाहरूको सक्रियता र सामुदायिक समर्थनले इन्द्रेणी ताललाई पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न बल पुग्दै गएको अभियानकर्ताहरूको विश्वास छ।

  • दमक-७ मा बालमैत्री घोषणाका लागि अनुगमन सुरु

    दमक-७ मा बालमैत्री घोषणाका लागि अनुगमन सुरु

    दमक, १७ साउन — झापाको दमक नगरपालिका वडा नम्बर ७ स्थित कियोच बाल अस्पतालको स्वामित्वमा रहेको रोज गार्डेन पार्क लगायतका क्षेत्रमा बालमैत्री घोषणाका लागि अनुगमन सुरु गरिएको छ। दमक नगरपालिका वडा नम्बर ७ बाल क्लबकी अध्यक्ष सुवेक्षा बिमलीको नेतृत्वमा शनिबारदेखि औपचारिक रूपमा अनुगमन प्रक्रिया थालिएको हो।

    अध्यक्ष बिमलीका अनुसार पार्कमा बत्ती व्यवस्थापन र फोहोर व्यवस्थापनको व्यवस्था तत्काल गर्न आवश्यक रहेको बताउनुभयो। दमक नगरपालिका वडा नं ७ लाई बालमैत्री वडा घोषणा गर्ने उद्देश्यले विभिन्न चरणमा अनुगमन तथा सुधार अभियान सञ्चालन भइरहेको क्लबले जनाएको छ।

    दमक नगरपालिका वडा नं ७ र दमक नगरपालिका बालमैत्री घोषणा अभियानलाई सशक्त बनाउने उद्देश्यले यस्ता अनुगमन र सुधारात्मक गतिविधिहरू जारी रहने बाल क्लबले जनाएको छ।अनुगमन टोलीमा बाल क्लब सचिव आयुषा गौतम, सह सचिव कमल पोख्रेल, कोषाध्यक्ष युनिस श्रेष्ठ, सदस्य समीज्ञा बास्कोटा लगायतको सहभागिता रहेको थियो।

  • कमल–२ का विद्यालयमा निःशुल्क मुख तथा दन्त स्वास्थ्य शिविर सम्पन्न

    कमल–२ का विद्यालयमा निःशुल्क मुख तथा दन्त स्वास्थ्य शिविर सम्पन्न

    दमक, १६ साउन–कमल नगर अस्पतालको समन्वय र दमकस्थित थुलुङ डेन्टल क्लिनिकका विशेषज्ञ डाक्टरहरुको टोलीले आज कमल-२ क्याम्पास्थित पाथिभरा अंग्रेजी स्कुलमा मुख तथा दन्तसम्बन्धी एक दिने निःशुल्क शिविर सम्पन्न भएको छ ।

    शुक्रबार, सो स्कुलमा आयोजित शिविरमा विद्यार्थीहरु, शिक्षकहरु र अभिभावकहरुसहित तीनसय ५० जनाले मुख तथा दन्तसम्बन्धी उपचार र परिक्षण गराएका छन् ।क्याम्पास्थित कमल–२ वडा कार्यालयको आयोजनामा वडाभित्रका सामुदायीक तथा निजी विद्यालयहरुमा मुख तथा दन्तसम्बन्धी शिविर सञ्चालन हुँदै आइरहेको छ ।

    यसबीचमा कमल–२ मा अवस्थित कमला मदन आश्रित स्मृती माध्यमिक विद्यालय, विद्योदय अंग्रेजी माध्यमिक विद्यालयसहित पाथिभरा अंग्रेजी विद्यालयमा शिविर सम्पन्न भएको छ। थुलुङ डेन्टल क्लिनिककी सञ्चालिका डाक्टर सोफिया थुलुङसहित विशेषज्ञको टोलीले परिक्षण गरेका थिए । वडा कार्पालयले वडाभित्रका सवै विद्यालयमा विद्यार्थीहरुको नियमित स्वास्थ्य परिक्षण कार्यक्रमहरु सञ्चालनमा ल्याईसकेको छ ।

  • पूर्वी नेपाल डेरीमा भेटिएको ढुसी लागेको खुवा बजारमा नपुगेको दाबी

    पूर्वी नेपाल डेरीमा भेटिएको ढुसी लागेको खुवा बजारमा नपुगेको दाबी

    दमक, साउन १६ – दमक नगरपालिकाले केही दिनअघि गरेको अनुगमनका क्रममा पूर्वी नेपाल डेरीमा ढुसी लागेको खुवा भेटिएको थियो, जसलाई तत्काल नष्ट गरिएको थियो। उक्त घटनालाई लिएर विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन तथा प्रसारण भइरहेका छन्। तर डेरी सञ्चालकले ती समाचारहरू वास्तविकता विपरीत रहेको बताएका छन्।

    पूर्वी नेपाल डेरी उद्योगका सञ्चालक हेमचन्द्र खनालले आज दमकमा पत्रकार सम्मेलन गर्दै अनुगमनमा भेटिएको खुवा बजारमा बिक्रीका लागि नभएको स्पष्ट पारे। उनका अनुसार उक्त खुवा बुटवलस्थित अमुल डेरी एण्ड बेभरेज नेपाल प्रालि सँगको समझदारी अनुसार उत्पादन गरिएको हो।

    २०८१ फागुन १३ गते पूर्वी नेपाल कृषि तथा दुग्ध विकास केन्द्र प्रालि (प्रथम पक्ष) र अमुल डेरी एण्ड बेभरेज नेपाल प्रालि (दोस्रो पक्ष) बीच आपसी सहकार्यको सम्झौता भएको थियो। उक्त सम्झौता अनुसार पूर्वी नेपाल डेरीले खुवा र पनिर उत्पादन गर्ने, भने अमुल कम्पनीले आइसक्रिम र अन्य डेरी सामग्री उत्पादन गरी आपसमा वितरण गर्ने सहमति थियो।

    सञ्चालक खनालका अनुसार सम्झौता भएअनुसार उत्पादन गरिए पनि अमुल कम्पनीले समयमा खुवा नउठाएपछि भण्डारणमा समस्या उत्पन्न भएको हो। तर ती खुवा दमकका पसलमा कहिल्यै बिक्री नगरिएको स्पष्ट पारिएको छ।

    हाल उद्योगमा दही, मोही, छुर्पी लगायतका डेरी वस्तुहरू नियमित रूपमा उत्पादन भइरहेका छन्। साथै, उद्योगले अमुल कम्पनीसँगको सम्झौता रद्द गरिसकेको र हाललाई खुवा तथा खुवाजन्य उत्पादन स्थगित गरिएको जानकारी दिएको छ।

  • झापाको चर्चित र्याप ग्रुप Sloke Vibe को धमाकेदार कमब्याक, नयाँ म्युजिक भिडियो चाँडै सार्वजनिक हुने

    झापाको चर्चित र्याप ग्रुप Sloke Vibe को धमाकेदार कमब्याक, नयाँ म्युजिक भिडियो चाँडै सार्वजनिक हुने

    बिर्तामोड, झापा — केही समयको विश्रामपछि झापाको चर्चित र्याप ग्रुप Sloke Vibe फेरि धमाकेदार कमब्याकको तयारीमा जुटेका छन्। दर्शक तथा श्रोतालाई उत्साहित बनाउने गरी उनीहरूले नयाँ म्युजिक भिडियोसहित पुनः र्याप इन्डस्ट्रीमा प्रवेश गर्न लागेका हुन्।

    स्थानीय युवामाझ निकै लोकप्रिय रहेको Sloke Vibe ले यसपटकको कमब्याकलाई “सबैभन्दा ठुलो” भन्दै प्रमोट गरेका छन्। उनका अनुसार यसपटकको प्रस्तुतीमा संगीत, शब्द र भिडियो निर्माणमा नयाँपन देखिनेछ।

    Sloke Vibe का सदस्यहरूले सामाजिक सञ्जालमार्फत फ्यानलाई यसपटकको म्युजिक भिडियो “सिर्जनात्मक, दमदार र फरक स्वादको” हुने दाबी गरेका छन्। बिर्तामोडको सडकदेखि स्टुडियोसम्मको संघर्ष बोकेको समूहले योपटकको सिर्जनालाई आफ्नो करियरको महत्वपूर्ण मोडको रूपमा लिएको जनाएका छन्।

    कमब्याक म्युजिक भिडियोको टिजर चाँडै सार्वजनिक गरिने भएको छ भने फुल भिडियो भने आगामी साता YouTube र अन्य डिजिटल प्लेटफर्ममार्फत रिलिज हुने बताइएको छ।र्यापप्रेमीहरूका लागि यो समाचार निकै उत्साहजनक बनेको छ। Sloke Vibe को कमब्याकले स्थानीय कलाकारहरूलाई पनि प्रेरणा मिल्ने विश्वास गरिएको छ।

  • दमकमा सर्पदंश सचेतना कार्यक्रम सम्पन्न

    दमकमा सर्पदंश सचेतना कार्यक्रम सम्पन्न

    दमक, साउन १६ – रोटरी क्लब अफ दमक र रोट्र्याक्ट क्लब अफ दमकको सहकार्यमा “सर्पदंश सचेतना कार्यक्रम” सम्पन्न भएको छ। उक्त कार्यक्रम रोटरी क्लब अफ काठमाडौं मिड-टाउनको आयोजनामा नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा सम्पन्न भएको हो।

    सर्पदंशका कारण हुने ज्यान जोखिमका घटनालाई न्यून गर्न समुदायमा चेतना फैलाउने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममार्फत सहभागीहरूलाई सर्पदंशसम्बन्धी जोखिम, पूर्वसावधानीका उपायहरू, र पहिलो उपचार विधिबारे जानकारी प्रदान गरिएको थियो।कार्यक्रमले जीवनरक्षक ज्ञान प्रदान गर्दै समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने महत्वपूर्ण पहलको रुपमा आफूलाई स्थापित गरेको छ।

    रोटरी तथा रोट्र्याक्ट क्लब अफ दमकले यस महत्वपूर्ण कार्यक्रममा सहयोग पुर्‍याउनु भएकोमा रोटरी क्लब अफ काठमाडौं मिड-टाउन, रेडक्रस दमक तथा प्रशिक्षकहरू रोटेरियन निर्मल रिजाल, भीम उदास, इसाबेल खड्का, कल्पना पराजुली र पुनम दासप्रति हार्दिक धन्यवाद ज्ञापन गरेका छन्।

    Oplus_0

  • दमकमा अपाङ्गता भएका व्यक्तिहरूलाई स्वरोजगारमा जोड्ने उद्देश्यले ‘बाटेको मच्छडधुप’ बिक्री केन्द्र स्थापना

    दमकमा अपाङ्गता भएका व्यक्तिहरूलाई स्वरोजगारमा जोड्ने उद्देश्यले ‘बाटेको मच्छडधुप’ बिक्री केन्द्र स्थापना

    दमक, साउन १६ – अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवारलाई स्वरोजगारसँग जोड्ने उद्देश्यले झापाको दमकमा ‘बाटेको मच्छडधुप’ उत्पादन, संकलन तथा बजारीकरणका लागि बिक्री केन्द्र स्थापना गरिएको छ।

    दमक नगरपालिका र पाथिभरा हेल्थ एण्ड वेलनेस फाउण्डेशनको सहकार्यमा २ महिनासम्म आवश्यक सीप विकास प्रशिक्षणपश्चात्, दमक अपाङ्ग सहयोग समितिको संयोजनमा दमक–४ ताराबारीस्थित प्रस्तावित एकीकृत अपाङ्ग पुर्नस्थापना केन्द्रमा शुक्रबार बिक्री केन्द्रको उद्घाटन गरिएको हो।

    उद्घाटन कार्यक्रममा दमक नगरपालिका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रशाई, कार्यपालिका सदस्य शारदा भट्टराई, फाउण्डेशन अध्यक्ष विष्णुप्रसाद पोखरेल लगायतको उपस्थिति थियो।

    कार्यक्रममा नगर प्रमुख थापाले यस्तो कार्य नगरको लागि उदाहरणीय रहेको उल्लेख गर्दै नियमित उत्पादन र बजारीकरणमा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। “नगरपालिकाले बिक्रीका लागि निशुल्क सटर प्रदान गर्नेछ र यो उत्पादनलाई आफ्ना कार्यक्रमहरूमा उपहारका रूपमा प्रयोग गरिनेछ,” उनले भने।

    दमक उपप्रमुख रेगिना भट्टराई प्रशाईले अपाङ्गता भएका तथा आश्रित परिवारको मेहनत र उत्पादनप्रति खुसी व्यक्त गर्दै नगरपालिकाको निरन्तर साथ रहने बताइन्। “यो नगरको ब्राण्ड हो, सबैले मिलेर यसलाई अघि बढाउनु पर्छ,” उनले आग्रह गरिन्।

    प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरका निर्देशक डा. सिद्धार्थ ठाकुरले प्राकृतिक जडिबुटी प्रयोग गरेर निर्मित यो धुप मानव स्वास्थ्यमा हानिकारक नरहेको बताए। “डेंगुजस्ता रोगबाट बच्न यो उपयोगी छ र यसको निर्यात सम्भावना पनि प्रशस्त छ,” उनले भने।

    फाउण्डेशन अध्यक्ष विष्णुप्रसाद पोखरेलले अपाङ्गता भएका व्यक्तिहरूलाई स्वरोजगारमा जोड्न निरन्तर काम गरिरहेको बताउँदै, “यो उत्पादनलाई नेपालकै एक नयाँ ब्राण्डको रूपमा अगाडि बढाउने हाम्रो लक्ष्य हो,” भने। साथै उनले दिब्यदृष्टि भेनेरेसन एण्ड एग्रो कन्सर्नमार्फत बजारीकरणमा सहयोग गरिने जानकारी गराए।

    कार्यक्रम सञ्चालन दमक नगरपालिका सामाजिक शाखा प्रमुख केशव प्रशाईले गरेका थिए। कार्यक्रममा कार्यपालिका सदस्य एवं सामाजिक विकास समिति संयोजक शारदा भट्टराई, दमक अपाङ्ग सहयोग समितिकी निमित्त अध्यक्ष मनमाया तिम्सिनालगायतले पनि आ–आफ्ना धारणा राखेका थिए।