Blog

  • कमल मिनी म्याराथन बैशाख १ गते हुने, ३ हजार खेलाडी सहभागी हुने अपेक्षा

    कमल मिनी म्याराथन बैशाख १ गते हुने, ३ हजार खेलाडी सहभागी हुने अपेक्षा

    चैत १८, कमल / कमल गाउँपालिकामा आयोजना हुन लागेको कमल मिनी म्याराथन सम्बन्धी पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ। बुधबार कमल गाउँपालिका–केर्खास्थित S and M रेस्टुरेन्टमा आयोजित कार्यक्रममा म्याराथनबारे विस्तृत जानकारी दिइएको हो।

    आयोजक कमल युथ फाउन्डेशन का अनुसार बैशाख १ गते केर्खामा १२ किलोमिटर दूरीको मिनी म्याराथन प्रतियोगिता आयोजना गरिनेछ। कार्यक्रममा करिब ३ हजार खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको कार्यक्रम सञ्चालक जितेन साम्पाङ राईले जानकारी दिनुभयो।

    उहाँका अनुसार युवाहरूलाई लागूऔषध दुव्र्यसनबाट टाढा राख्ने, कमल गाउँपालिकाको पहिचान प्रवर्द्धन गर्ने, खेलकुदमार्फत युवाहरूलाई एकताबद्ध बनाउने तथा राष्ट्रियता र भाईचारा कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। “लागूऔषधमा युवा नफसून् भन्ने सन्देश दिन पनि यो कार्यक्रम गरिएको हो,” उहाँले भन्नुभयो।

    कार्यक्रमका संयोजक आकाश लिम्बू रहेका छन्। प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, द्वितीयलाई १५ हजार र तृतीय हुनेलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

    म्याराथन केर्खा पेट्रोल पम्पबाट सुरु भई समायगढ, क्याम्पा बजार हुँदै पुनः केर्खामा आएर समापन हुने आयोजकले जनाएको छ।

    प्रतियोगितामा सहभागिता जनाउन इच्छुक खेलाडीहरूले कमल युथ फाउन्डेशन को फेसबुक पेजमार्फत अनलाइन फारम भर्न सक्नेछन्। प्रवेश शुल्क १ सय रुपैयाँ तोकिएको छ भने परिचय खुल्ने कुनै पनि कागजातका आधारमा फारम भर्न सकिनेछ। विभिन्न पालिकाका खेलाडीहरूले पनि प्रतियोगितामा सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ।

    आयोजकले स्थानीय सरकारबाट कुनै आर्थिक सहयोग नलिई युवाहरूको सहयोगमै कार्यक्रम आयोजना गरिएको जानकारी समेत दिएको छ।

  • बेलबारीमा सडक आयोजनासँगै एचआईभी/एड्स र मानव बेचबिखनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न

    बेलबारीमा सडक आयोजनासँगै एचआईभी/एड्स र मानव बेचबिखनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न

    मोरङ, १६ चैत्र — पूर्व–पश्चिम लोकमार्गअन्तर्गत निर्माणाधीन काँकरभिट्टा–लौकही सडक आयोजनाको क्रममा मोरङको बेलबारी नगरपालिकामा एचआईभी/एड्स, यौन रोग तथा मानव बेचबिखनसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। सोमबार बेलबारी नगरपालिमा आयोजित उक्त कार्यक्रम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र एशियाली विकास बैंक (ADB) को आर्थिक सहयोगमा सञ्चालन भइरहेको राजमार्ग अभिवृद्धि आयोजनाअन्तर्गत सम्पन्न गरिएको हो।

    कार्यक्रममा वडा नं. १,२,३,४,८,१० र ११ का स्थानीय बासिन्दा, सडक निर्माणमा संलग्न श्रमिक, यातायातकर्मी तथा अन्य चलायमान जनसंख्यालाई लक्षित गरी एचआईभी/एड्स, यौन रोग तथा मानव बेचबिखनका सम्भावित जोखिमबारे जानकारी प्रदान गरिएको थियो। लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण विज्ञ जीवन सिंहले सडक निर्माणसँगै बाहिरबाट कामदारको आवागमन बढ्दा महिलाहरू, बालबालिका तथा स्थानीय समुदायमा यौनजन्य हिंसा, दुर्व्यवहार र मानव बेचबिखनको जोखिम बढ्न सक्ने बताइन्। उनले समयमै परीक्षण, उपचार तथा सतर्कता अपनाउनुपर्नेमा जोड दिइन्।

    कार्यक्रममा स्वास्थ्यकर्मी शोभा भट्टराईले एचआईभी/एड्स तथा यौन रोगसम्बन्धी जानकारी प्रस्तुत गरेकी थिइन् भने बेलबारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन गिरीले मानव बेचबिखन सम्बन्धी जोखिम र सुरक्षाका उपायबारे प्रोजेक्टरमार्फत प्रस्तुति दिएका थिए। कार्यक्रमकी प्रमुख अतिथि बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापाले सडक निर्माणका लागि विभिन्न देशबाट कामदारहरू आएको उल्लेख गर्दै सम्भावित जोखिमबाट बच्न स्थानीय बासिन्दा सचेत हुनुपर्ने बताइन् साथै आयोजनासँग सम्बन्धित निकायले समेत यस विषयमा गम्भीर ध्यान दिनुपर्नेमा जोड दिँदै सहभागीहरूलाई कार्यक्रममा सिकेका कुराहरू समुदायमा अन्य व्यक्तिसम्म पुर्‍याउन आग्रह गरिन्। जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेकोमा उनले आयोजनाप्रति धन्यवादसमेत व्यक्त गरिन्।

    कार्यक्रममा बेलबारी नगरपालिका उप-प्रमुख नितु थापा, काँकरभिट्टा–लौकही सडक आयोजनाका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि, शिक्षक तथा स्थानीय गरी १०० भन्दा बढीको सहभागिता रहेको थियो। विज्ञ सिंहका अनुसार झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न पालिकामा यस्ता जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ। सो योजनाअनुसार झापा र मोरंग गरेर ११ वटा पालिकामा कार्यक्रम सम्पन्न भइसकेको छ भने मोरङ र सुनसरीका पालिकाहरूमा कार्यक्रम जारी रहेको छ। साथै सडक छेउका ६० स्थानमा लैङ्गिक हिंसाविरुद्ध चेतनामूलक साइनबोर्ड राख्ने लक्ष्यअनुसार हाल मोरङ र सुनसरीका करिब ३० स्थानमा साइनबोर्ड राखिसकिएको र बाँकी स्थानमा राख्ने कार्य भइरहेको जानकारी दिइन्।

    त्यसैगरी आयोजनाअन्तर्गत सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम सडक छेउका विद्यालयमा शिक्षक तथा विद्यार्थीहरू र सार्वजनिक सवारीसाधनका चालकहरूलाई लक्षित गरी सञ्चालन गरिने जानकारी पनि दिइएको छ। कार्यक्रमको सहजीकरण जीवन सिंहले नै गरेकी थिइन्।

  • दमक बहुमुखी क्याम्पसमा खेलकुद सप्ताह सुरु

    दमक बहुमुखी क्याम्पसमा खेलकुद सप्ताह सुरु

    झापा, दमक । झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसमा आजदेखि खेलकुद सप्ताह सुरु भएको छ। स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा सञ्चालन भएको सप्ताहको उद्घाटन क्याम्पस सञ्चालक समितिका अध्यक्ष ढुण्डीराज भण्डारीले आइतबार एक संक्षिप्त कार्यक्रमबीच गरेका हुन्।

    उद्घाटन कार्यक्रममा क्याम्पस प्रशासन, शिक्षक, विद्यार्थी तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सप्ताहभर सञ्चालन हुने विभिन्न खेलकुद गतिविधिमा विद्यार्थीहरूको सक्रिय सहभागिता रहने आयोजकले जनाएको छ।

    कार्यक्रममार्फत विद्यार्थीहरूमा अनुशासन, सहकार्य तथा स्वस्थ प्रतिस्पर्धात्मक भावना विकास हुने विश्वास लिइएको छ। क्याम्पस प्रशासनले यस्ता अतिरिक्त क्रियाकलापहरूले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने जनाएको छ।

  • दमकमा TVS को “Exchange Mania” सुरु, पुरानो बाइक बदल्दै नयाँ TVS घर लैजान सकिने

    दमकमा TVS को “Exchange Mania” सुरु, पुरानो बाइक बदल्दै नयाँ TVS घर लैजान सकिने

    चैत १४ , दमक / झापाको दमकमा TVS मोटरसाइकल तथा स्कुटर प्रयोगकर्ताका लागि विशेष अफर सहितको “Exchange Mania” सुरु भएको छ। चैत ११ गतेदेखि १६ गतेसम्म दमकको एन्सियल सेन्टर छेउमा हुने उक्त कार्यक्रममा ग्राहकले आफ्नो पुरानो बाइक वा स्कुटर साटेर नयाँ TVS सवारी साधन घर लैजान सकिने साथै पाँच दिनका लागि म्याद थपिएको tvs दमकका बजार व्यवस्थापक बालचन्द्र कार्कीले बताउनुभयो ।

    विभिन्न आकर्षक अफरसमेत उपलब्ध गराइएको छ। जसअनुसार ग्राहकले नगद छुटमा रु. ८ हजारसम्म पाउनेछन् भने मूल्यवृद्धि (Value Addition) मा रु. १० हजारसम्मको सुविधा प्राप्त गर्नेछन्। साथै, जुनसुकै अवस्थामा रहेको पुरानो सवारीको न्यूनतम मूल्याङ्कन रु. ३० हजार तोकिएको tvs दमकका बजार व्यवस्थापक बालचन्द्र कार्कीले बताउनुभयो।

    यस्तै, नयाँ बाइक वा स्कुटर खरिद गर्दा हेल्मेट, ब्याग र बाइक कभर निःशुल्क पाउने व्यवस्था गरिएको साथै, जीवनभरको वारन्टीसहित TVS सवारी साधनमा कम्पनीले विश्वास दिलाएको छ।

  • केपी शर्मा ओली पक्राउको विरोधमा दमकमा विशाल मशाल जुलुस

    केपी शर्मा ओली पक्राउको विरोधमा दमकमा विशाल मशाल जुलुस

    झापा, दमक — केपी शर्मा ओली पक्राउ परेपछि उनको रिहाइको माग गर्दै गृहनगर दमकमा मशाल जुलुस निकालिएको छ। नेकपा (एमाले) का अध्यक्ष समेत रहेका ओलीलाई पक्राउ गरिएको विरोधमा एमाले कार्यकर्ताहरूले दमकमा क्षेत्रीय स्तरको विशाल मशाल जुलुस प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरूले ‘कार्की आयोग’को प्रतिवेदन कार्यान्वयनको नाममा सरकारले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाएका छन्।

    प्रदर्शनकारीहरूले ओलीको तत्काल रिहाइको माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए। जुलुस दमकका विभिन्न स्थान परिक्रमा गर्दै विरोध कार्यक्रम जारी राखिएको एमालेले जनाएको छ।जिल्लाको राजनीतिक माहोल थप तातेको छ भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ।

  • दमकमा ‘के दिउँ तिमीलाई’ कृति विमोचन

    दमकमा ‘के दिउँ तिमीलाई’ कृति विमोचन

    चैत १४, दमक / झापा जिल्लाको दमक मा साहित्यिक कृति ‘के दिउँ तिमीलाई’ सार्वजनिक गरिएको छ। स्थानीय बौद्धिक व्यक्तित्व जयबहादुर श्रेष्ठ द्वारा लिखित उक्त कृतिको विमोचन आज झापा मोडल इङ्लिस स्कुल मा आयोजित विशेष कार्यक्रममा गरिएको हो।

    कार्यक्रममा सलुजा श्रेष्ठ को अध्यक्षता तथा प्रमुख अतिथिका रूपमा डा. दयाराम श्रेष्ठ को उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, साहित्यप्रेमी, पत्रकार तथा सामाजिक व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो।

    अतिथि चन्द्र भण्डारी ले मन्तव्य व्यक्त गर्दै कृतिको सिर्जनात्मक पक्षको प्रशंसा गरेका थिए। साथै प्रमुख अतिथि तथा कृतिसँग सम्बन्धित व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो।

    कार्यक्रमको प्रारम्भमा विद्यालयका प्रधानाध्यापक सागर श्रेष्ठ ले स्वागत मन्तव्य राखेका थिए। कृतिको समीक्षात्मक प्रस्तुति साहित्यकार शिव रेग्मी ‘प्रणत’ ले गरेका थिए भने कार्यक्रम सञ्चालन धनकुटे कान्छा ले गरेका थिए।

    ‘के दिउँ तिमीलाई’ कृतिमा सर्जक श्रेष्ठले आफ्ना सिर्जनाहरूलाई दुई खण्डमा विभाजन गरेका छन्। पहिलो खण्ड गीततर्फ केन्द्रित छ, जसमा १८ वटा गीत समेटिएका छन् भने दोस्रो खण्ड कविता खण्डमा ५२ वटा कविताहरू समावेश गरिएको छ।

    गीत र कवितामार्फत साहित्यिक भावनालाई अभिव्यक्त गरिएको उक्त कृति पाठकका लागि भावनात्मक तथा सृजनात्मक अभिव्यक्तिको महत्वपूर्ण संग्रह बन्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

  • कमलमा नसर्ने रोग नियन्त्रण अभियान, टोलस्तरमै स्क्रीनिङ र सचेतना

    कमलमा नसर्ने रोग नियन्त्रण अभियान, टोलस्तरमै स्क्रीनिङ र सचेतना

    चैत १४, कमल / नसर्ने रोगको बढ्दो जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले झापाका विभिन्न पालिकामा समुदायस्तरमै सचेतनामूलक अभियान सञ्चालन गरिएको छ।

    यसैक्रममा कमल गाउँपालिकाको क्याम्पास्थित कार्यालयमा शुक्रबार स्वास्थ्य शाखाले नसर्ने रोगसम्बन्धी स्क्रीनिङ अभियानबारे पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा फोकल पर्सन अनमी प्रतिक्षा शाहले गाउँपालिकाका ७ वटै वडामा टोलस्तरमै स्क्रीनिङ अभियान सञ्चालन गरिएको जानकारी दिइन्।

    स्वास्थ्य शाखा प्रमुख दीपक दाहालका अनुसार पछिल्ला वर्षहरूमा ३० वर्षभन्दा माथिका नागरिकमा नसर्ने रोगको जोखिम बढ्दै गएकाले अभियान सुरु गरिएको हो। अभियानअन्तर्गत बीएमआई (बडी मास इन्डेक्स), उच्च रक्तचाप, मधुमेह तथा मृगौलासम्बन्धी परीक्षण गरिएको छ। परीक्षणपछि रोग पहिचान भएका व्यक्तिहरूलाई आवश्यक परामर्शसमेत प्रदान गरिएको दाहालले बताए।

    कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पशु स्वास्थ्य शाखा प्रमुख दीपेन्द्र लामिछानेसहित सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी पत्रकारहरूले विभिन्न जिज्ञासा राखेका थिए।

    गाउँपालिकाले वडास्तर र टोलस्तरमै केन्द्रित सचेतना तथा परीक्षण अभियान सञ्चालन गरेकाले नसर्ने रोग न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको फोकल पर्सन शाहले बताइन्।