Blog

  • रामनवमीको अवसरमा दमकमा ‘माया क्याफे’ शुभारम्भ

    रामनवमीको अवसरमा दमकमा ‘माया क्याफे’ शुभारम्भ

    चैत १४, दमक / शुक्रबार परेको रामनवमी (चैते दशैं) को अवसर पारेर दमकमा ‘माया क्याफे’ को विधिवत सेवा शुभारम्भ गरिएको छ। दमकमा फुटबल क्षेत्रमार्फत परिचित व्यक्तित्व गजेन्द्र देवान (गजु) ले क्याफे सञ्चालनमा ल्याएका हुन्। देवान दमक फुटबल एकाडेमी का अध्यक्ष तथा दमक तेक्वान्दो डोजाङ का सल्लाहकार प्रमुखसमेत हुन्। साथै, उनी दमक खानेपानी सरसफाई तथा उपभोक्ता समिति का सञ्चालक सदस्य पनि हुन्।

    दमकस्थित डाँफे–मुनाल स्तम्भ रहेको पार्क क्षेत्रबाट उत्तरतर्फ, गोल्डेन गेटबाट पश्चिम–उत्तर पर्ने आशोक बाटिकाको भवनमा क्याफे स्थापना गरिएको हो। रामनवमीकै अवसर पारेर सीमित व्यक्तित्वहरूको उपस्थितिमा क्याफेको उद्घाटन गरिएको सञ्चालक देवानले जानकारी दिए।

    क्याफेसँगै देवानले सुविधासम्पन्न होटल तथा गेष्ट हाउस पनि सञ्चालनमा ल्याउने तयारी गरेका छन्। होटल तथा गेष्ट हाउसको औपचारिक शुभारम्भ भने केही दिनपछि गरिने जनाइएको छ।

    उद्घाटन कार्यक्रममा सञ्चालक देवान, क्याफे स्टाफ, शुभेच्छुक तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। सो अवसरमा देवानले आफ्नी दिवंगत पत्नी माया राई देवानको स्मृतिमा क्याफे सञ्चालन गरिएको बताए।

    “फुर्सदको समयमा क्याफे सञ्चालन गर्ने उहाँको इच्छा थियो, त्यसैले उहाँकै नामबाट क्याफे सञ्चालन गर्ने निर्णय गरेँ,” देवानले भने।देवानले स्वर्गीय माया राई देवानको सम्झनामा विभिन्न सामाजिक सेवामूलक कार्यहरू पनि गर्दै आएका छन्। क्याफे सञ्चालनमा लागेको लागतबारे भने उनले खुलाउन चाहेनन्।

    कार्यक्रममा जीतु धिमाल, कमन देवान, यज्ञराज आङदम्बे (बिष्णु सुब्बा), बीरेन राई, उत्तम रिजाल, कृष्ण कार्की लगायतको सहभागिता रहेको थियो।

  • हाइटेन्सन लाइनमा करेन्ट लाग्दा दमकमा एक युवकको मृत्यु

    हाइटेन्सन लाइनमा करेन्ट लाग्दा दमकमा एक युवकको मृत्यु

    चैत १४, दमक / झापा जिल्लाको दमक नगरपालिका वडा नं. ८ सेतुमारी रोड निवासी २८ वर्षीय निरोज साहको करेन्ट लागेर मृत्यु भएको छ।

    आइतबार आफ्नै किराना पसलबाट नजिकै रहेको आफ्नै तीनतले घरमा CCTV क्यामेराको तार जडान गर्ने क्रममा उनले छिमेकी मनोज साहको दुईतले घरको छतबाट तार तान्दै गर्दा उक्त तार विद्युतको हाइटेन्सन लाइनमा छोइएको थियो। सो क्रममा विद्युत सर्ट भई करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए।

    घाइते साहलाई तत्काल उपचारका लागि दमकस्थित लाइफ लाइन अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

    मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक नविन राईको कमाण्डमा टोली खटिएको प्रहरीले जनाएको छ।

  • झिलझिलेमा ‘वाटर किङ्गडम पार्क’ पुनः सञ्चालन, नयाँ स्वरूपमा सेवा सुरु

    झिलझिलेमा ‘वाटर किङ्गडम पार्क’ पुनः सञ्चालन, नयाँ स्वरूपमा सेवा सुरु

    चैत १३, शिवसताक्षी / झापाको झिलझिलेमा रहेको ‘वाटर किङ्गडम पार्क’ नयाँ ढंगबाट पुनः सञ्चालनमा आएको छ। वि.सं. २०७८ पुस २५ गते उद्घाटन भएको उक्त पार्क कोरोना महामारीपछि आर्थिक समस्याका कारण केही समय सुस्ताएपछि पुनः सक्रिय बनाइएको हो।

    पार्कका सञ्चालक तथा स्थानीय उद्यमी राजकुमार सङ्ग्रौलाका अनुसार हालसम्म करिब ६५ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ। कोरोना महामारी र त्यसपछिको वित्तीय संकटका कारण पूर्ण रूपमा सञ्चालनमा कठिनाइ भए पनि अब आगामी वैशाखदेखि पार्कलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी गरिएको उहाँले बताउनुभयो।

    कोरोनाकालमा बैंकबाट लिएको ऋणको ब्याजदर १८ प्रतिशतसम्म पुगेपछि पार्क आर्थिक दबाबमा परेको थियो। तर, बैंकिङ प्रणालीमा सुधार आउँदै गएसँगै व्यवसायलाई पुनर्जीवित गर्ने वातावरण बनेको सञ्चालक सङ्ग्रौलाको भनाइ छ।

    पार्क बन्द भएको भन्ने हल्लाले व्यवसायमा असर पारेको उल्लेख गर्दै उहाँले पार्क निरन्तर सञ्चालनमै रहेको स्पष्ट पार्नुभयो। हाल पार्कभित्रका सबै मनोरञ्जनात्मक संरचनाहरू पुनः सञ्चालनमा ल्याइएको छ।

    पार्कमा जिपलाइन, वेभ पुल, स्विमिङ पुल, बालबालिकाका लागि किड्स पुल, वाटर एक्टिभिटी स्टेशन, कृत्रिम गुफा तथा विभिन्न आकर्षक मूर्तिकलाहरू रहेका छन्। साथै विवाह, ब्रतबन्ध, पार्टी तथा अन्य सामाजिक कार्यक्रम आयोजना गर्न विशेष व्यवस्था समेत गरिएको छ।

    तीन बिघा क्षेत्रफलमा फैलिएको पार्कमा सात वटा भूकम्पप्रतिरोधी भवन, दुई वटा सुविधा सम्पन्न रेस्टुरेन्ट, ३५ वटा आधुनिक आवासीय कोठा तथा १५० देखि ४०० जनासम्म अट्ने चार वटा सभाहल सञ्चालनमा रहेका छन्।

    निजी लगानीमा कोशी प्रदेशकै ठूलो परियोजनामध्ये एक मानिएको यस पार्कले आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

  • डिपिएल कमलको छैटौं पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न, शम्भु निरौला अध्यक्षमा निर्वाचित

    डिपिएल कमलको छैटौं पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न, शम्भु निरौला अध्यक्षमा निर्वाचित

    चैत ११, कमल / कमल गाउँपालिकामा डिपिएल कमलको छैटौं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम २०८२ साल चैत्र १० गते भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा वर्ष २०२६ का लागि शम्भु निरौलालाई अध्यक्ष पदको जिम्मेवारी हस्तान्तरण गरिएको हो। निवर्तमान अध्यक्ष ऐष्वर्या चौहान रहेकी छिन्।

    नवनिर्वाचित पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्ष तुलसा खड्का, महासचिव सुजन घिमिरे विष्ट, कोषाध्यक्ष सङ्गीत पोखरेल, उपाध्यक्षहरू सोनिका बुढाथोकी र अनिल पराजुली तथा निर्देशकहरू हरि अधिकारी, प्रज्वल पाठक, अर्चना कार्की र मनिषा काठायत रहेका छन्। साथै डिपिएल टिन्स बोर्ड कमलको नयाँ टिमलाई पनि शुभकामना व्यक्त गरिएको थियो।

    कार्यक्रमका प्रमुख अतिथि कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला तिवारी रहेकी थिइन् भने विशेष अतिथिहरूमा डिपिएल अध्यक्ष भेषराज न्यौपाने र डिपिएल राष्ट्रिय अध्यक्ष दुर्गा प्रसाद खतिवडा (दिवस) रहेका थिए। त्यसैगरी डिपिएलका राष्ट्रिय संस्थापक अध्यक्ष विनोद उप्रेती, पूर्वअध्यक्ष सन्दीप न्यौपाने, पूर्व अध्यक्ष अनु भण्डारी, कोषाध्यक्ष वद्री बराल, पहिलो पाइला संस्थाका उपाध्यक्ष लबराज खड्का, सामाजिक व्यक्तित्व गणेश प्रधान, छात्रवृत्ति संयोजक दीपु चापागाईं लगायत विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

    डिपिएलले पुस्तकालय स्थापना, नियमित पुस्तकसम्बन्धी गतिविधि तथा युवाहरूमा पढ्ने बानीको विकास गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले स्थानीय तहमा साक्षरता अभिवृद्धि र ज्ञानको विकासलाई प्राथमिकता दिँदै युवा पुस्तालाई पुस्तकसँग जोड्ने अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।

    कार्यक्रममा नवनिर्वाचित टोलीले पढ्ने संस्कृतिको प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो। प्रमुख अतिथि प्रमिला तिवारीले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिँदै आगामी कार्यकाल सफल रहोस् भन्ने कामना व्यक्त गरिन् र गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग रहने बताइन्।

  • रोटरी क्लबको पहलमा दमकमा छात्रा मैत्री शौचालय हस्तान्तरण

    रोटरी क्लबको पहलमा दमकमा छात्रा मैत्री शौचालय हस्तान्तरण

    चैत ९, दमक / रोटरी क्लब अफ दमक को सक्रिय पहलमा पृथ्वी मावि दमक मा छात्रा मैत्री शौचालय निर्माण गरी अनावरण तथा हस्तान्तरण गरिएको छ। आज विद्यालय परिसरमा आयोजित एक कार्यक्रमबीच उक्त शौचालय विद्यालयलाई हस्तान्तरण गरिएको हो।

    कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष केशब कुमार अग्रवाल ले गरेका थिए भने प्रमुख अतिथिका रूपमा रामकुमार थापा उपस्थित थिए। त्यस्तै भीम प्रसाद पौडेल, शिक्षा शाखा अधिकृत प्रविण खड्का, विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहन कुमार थापा, शिक्षक अभिभावक संघ अध्यक्ष लालसुन्दर राईलगायतले विशिष्ट आतिथ्यता ग्रहण गरेका थिए।

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णु कुमार राईले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने क्लबका निवर्तमान अध्यक्ष दीपु सन्दीप चापागाईंले छात्राहरूको स्वास्थ्य र शिक्षा सुधारमा योगदान दिन पाउँदा खुशी व्यक्त गरे।

    वक्तव्यका क्रममा वडाध्यक्ष पौडेलले क्लबको कार्यको प्रशंसा गर्दै बधाई तथा शुभकामना व्यक्त गरे। प्रमुख अतिथि नगर प्रमुख थापाले छात्रा लक्षित कार्यक्रममार्फत समाजमा सकारात्मक योगदान पुर्‍याएको उल्लेख गर्दै नगरपालिकाले यस्ता पहलमा सहकार्य गर्न सधैं तयार रहेको बताए।

    रोटरीको आधारभूत साक्षरता तथा शिक्षा कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको यस परियोजनाले छात्राहरूको सुरक्षा, स्वास्थ्य र अध्ययन वातावरण सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। शैक्षिक संस्था र समुदायको सहकार्यमा सम्पन्न कार्यक्रमले सामाजिक उत्तरदायित्व र सेवामुखी सक्रियताको उदाहरण प्रस्तुत गरेको छ।

  • दमकमा विकास ठप्प भएको नेकपाको आरोप, नेतृत्वमाथि आत्मालोचना र असन्तुष्टि 

    दमकमा विकास ठप्प भएको नेकपाको आरोप, नेतृत्वमाथि आत्मालोचना र असन्तुष्टि 

    चैत ८, दमक / महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलनको उपलब्धिका रूपमा स्थापित नेपालको संविधानले निर्दिष्ट गरेको संघीय संरचना र स्थानीय तहको भूमिकालाई आधार मानेर नयाँ नेपाल निर्माणको अपेक्षा गरिए पनि दमक नगरपालिकामा भने सो अपेक्षा पूरा हुन नसकेको नेपाल कम्युनिस्ट पार्टी नेकपाले जनाएको छ।

    पार्टीले आइतबार दमकमा पत्रकार सम्मेलन मार्फत संविधानको अनुसूची ८ र ९ अनुसार स्थानीय तहलाई प्रदान गरिएका अधिकारको प्रभावकारी कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै नगरको समग्र विकासमा उल्लेखनीय प्रगति नदेखिएको जनाएको हो। वक्तव्यमा अघिल्लो स्थानीय तह निर्वाचनमा फरक विचारधाराका शक्तिहरूसँग गठबन्धन गरी नगर प्रमुख र उपप्रमुख विजयी गरिए पनि कार्यकालको अन्त्यतिर आइपुग्दा दमकको मुहार परिवर्तन हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गरिएको छ।

    त्यसैगरी, नगर नेतृत्वमा रहेका जनप्रतिनिधिहरूले जनतालाई सेवा दिनुभन्दा राजनीतिक नाटकमा केन्द्रित भएको आरोप लगाउँदै आगामी निर्वाचनको तयारीमै बढी केन्द्रित हुनु लज्जास्पद भएको उल्लेख गरिएको छ। पार्टीले जनप्रतिनिधिहरूले निर्वाचित भएपछि दलीय स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने संवैधानिक मर्मसमेत आत्मसात गर्न नसकेको जनाएको छ।

    वक्तव्यमा स्थानीय तहमा देखिएको गुटबन्दी र एजेण्डाभन्दा बाहिरको राजनीति प्रति पनि आलोचना गरिएको छ। “कामकुरा एकातिर, कुम्लो बोकी ठिमीतिर” भन्ने अवस्था देखिएको उल्लेख गर्दै जनप्रतिनिधिहरूबीच एजेण्डाका आधारमा स्पष्ट पक्ष–विपक्ष बन्न नसकेकोप्रति चिन्ता व्यक्त गरिएको छ।

    पार्टीले यस अवस्थाप्रति गहिरो दुःख व्यक्त गर्दै विगतमा गरिएको गठबन्धन जनहितमा केन्द्रित हुन नसकेको स्वीकार गरेको छ। साथै मतदाता र शुभेच्छुकहरूसमक्ष आत्मालोचना गर्दै आगामी दिनमा यस्ता निर्णय गर्दा जनहितलाई केन्द्रमा राख्ने नेपाल कम्युनिस्ट पार्टी नेकपाका दमक अध्यक्ष रवि बस्नेत ले जानकारी दिनुभयो।

  • इरान–पश्चिम एसिया तनावको असर: नेपालका पानी उद्योग संकटमा

    इरान–पश्चिम एसिया तनावको असर: नेपालका पानी उद्योग संकटमा

    चैत ८, दमक / पश्चिम एसियामा जारी द्वन्द्वको प्रभाव नेपालका पिउने पानी उद्योगमा समेत गम्भीर रूपमा देखिएको छ। कच्चापदार्थ आपूर्ति ठप्प हुन थालेपछि देशभरका पानी उद्योगहरू बन्द हुने जोखिममा पुगेका छन्।

    नेपाल पानी उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेश संयोजक रुपचन्द्र नौलखाका अनुसार आगामी १५ दिनभित्र आवश्यक कच्चापदार्थ नआए पानीका जार, बोतल र बिर्को उत्पादन पूर्ण रूपमा प्रभावित हुने अवस्था रहेको छ। “यो निकै गम्भीर अवस्था हो, समयमै समाधान नभए जनताले पिउने पानीसमेत नपाउने स्थिति आउन सक्छ,” उनले चेतावनी दिए।

    पश्चिम एसियामा बढ्दो तनाव र लालसागर क्षेत्रको अवरोधका कारण आपूर्ति शृङ्खला प्रभावित भएको छ। विशेषगरी ओमान, इरान र यूएईसँग जोडिएको रणनीतिक समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ प्रभावित हुँदा समस्या थप जटिल बनेको उद्योगीहरूको भनाइ छ।

    बोतल उत्पादनमा प्रयोग हुने पेट रेजिनको मूल्य प्रतिटन १५ सय डलरसम्म पुगेको छ, जुन युद्धअघि ८००–८५० डलरको हाराहारीमा थियो। त्यस्तै, जार र बिर्कोका लागि आवश्यक एचडीपीई र पीपी प्लास्टिक दानाको मूल्य पनि बढेर १०५० देखि १२५० डलरसम्म पुगेको छ।

    खाडी मुलुकका तेल प्रशोधन केन्द्रहरूले उत्पादन कटौती गरेपछि कच्चापदार्थको अभाव विश्वव्यापी रूपमा देखिएको छ। नौलखाका अनुसार विगत २–३ महिनादेखि समस्या देखिँदै आएकोमा अहिले अवस्था झन् गम्भीर बन्दै गएको छ।

    हाल नेपालभर करिब ५८० पानी उद्योग सञ्चालनमा रहेका छन्। कच्चापदार्थ अभावका कारण उद्योगीहरू उत्पादन घटाउने र उद्योग बन्द गर्नुपर्ने दबाबमा परेका छन्। उद्योगीहरूले तत्काल वैकल्पिक आपूर्ति व्यवस्था मिलाउन र समस्या समाधानका लागि सरकारसँग आग्रह गरेका छन्।