Blog

  • बिराटनगर नर्सिङ क्याम्पसका विद्यार्थीद्वारा प्रजनन स्वास्थ्य शिविर सम्पन्न

    बिराटनगर नर्सिङ क्याम्पसका विद्यार्थीद्वारा प्रजनन स्वास्थ्य शिविर सम्पन्न

    चैत २६, कटहरी / मोरङको कटहरी गाउँपालिका–३ स्थित कटहरी स्वास्थ्य चौकीमा एक दिवसीय प्रजनन स्वास्थ्य सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। बिराटनगर नर्सिङ क्याम्पस (बि.एन.एस) दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा शिविर सञ्चालन गरिएको हो।

    शिविरमा महिलाहरूमा देखिने आङ्ग खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, प्रसव–फिस्टुला तथा निःसन्तानसम्बन्धी समस्याको एकीकृत व्यवस्थापनबारे स्वास्थ्य सेवा प्रदान गरिएको थियो। साथै स्वास्थ्य प्रदर्शनी कार्यक्रम पनि आयोजना गरिएको थियो।

    समुदाय स्वास्थ्य नर्सिङ पाठ्यक्रमअन्तर्गत एक महिनाको समुदाय पोस्टिङका क्रममा विद्यार्थीहरूले कटहरी गाउँपालिका–३ का विभिन्न टोलमा सर्वेक्षण गरी संकलित तथ्यांकको प्रस्तुतीकरण समेत गरेका थिए।

    कार्यक्रमका प्रमुख अतिथि कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले यस्तो महत्त्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि सहकार्य गर्न गाउँपालिका तयार रहेको बताए। त्यस्तै, विशिष्ट अतिथि तथा क्याम्पस प्रमुख मेनुका भण्डारीले कार्यक्रमको प्रशंसा गर्दै सहयोगी निकायहरूलाई धन्यवाद ज्ञापन गरिन्। उनले यस्ता कार्यक्रमले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन्।

    कार्यक्रममा क्याम्पस व्यवस्थापन समिति संयोजक पुनम कुमारी मण्डल, कटहरी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सकल शाह, उपाध्यक्ष सीता देवी राजबंशी, वडा नम्बर ३ का अध्यक्ष जदुलाल कामत लगायत विभिन्न शाखाका प्रमुख, कर्मचारी, शिक्षक, महिला स्वयंसेविका, विद्यार्थी तथा सेवाग्राहीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    बि.एन.एस दोस्रो वर्षमा अध्ययनरत सोनी भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य आस्मा पाण्डेले राखेकी थिइन् भने कार्यक्रम सञ्चालन जेनिस चम्लागाईंले गरेकी थिइन्।शिविरबाट १५० भन्दा बढी सेवाग्राहीहरूले स्वास्थ्य सेवा लिएको आयोजकले जनाएको छ।

  • दमकमा सडक दुर्घटना न्यूनीकरणका लागि प्रहरीलाई ५ लाख बराबरका सामग्री हस्तान्तरण

    दमकमा सडक दुर्घटना न्यूनीकरणका लागि प्रहरीलाई ५ लाख बराबरका सामग्री हस्तान्तरण

    चैत २५, दमक / सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित दमक नगरपालिका ले इलाका प्रहरी कार्यालय दमकलाई करिब ५ लाख रुपैयाँ बराबरका मापासे तथा लागूऔषध सेवन पहिचान गर्ने सामग्री हस्तान्तरण गरेको छ। नगरपालिका कार्यालय परिसरमा आज आयोजित संक्षिप्त कार्यक्रममा ३ थान ब्रेथलाइजर मेसिन र लागूऔषध परीक्षणका लागि १०० थान किट उपलब्ध गराइएको समाज कल्याण शाखाका अधिकृत केशव प्रसाई ले जानकारी दिए।

    उक्त सामग्रीहरू इलाका प्रहरी कार्यालय दमकका प्रमुख तथा प्रहरी नायव उपरीक्षक किशोर लम्साल लाई नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगीना भट्टराई तथा प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौंला लगायतले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन्। सामग्री हस्तान्तरण गर्दै नगर प्रमुख थापाले चालकहरूले मादक पदार्थ तथा लागूऔषध सेवन गरी सवारी चलाउने प्रवृत्ति बढ्दै गएको भन्दै त्यसलाई नियन्त्रण गर्न यस्ता उपकरण प्रभावकारी हुने विश्वास व्यक्त गरे। उपप्रमुख भट्टराईले पनि ब्रेथलाइजर लगायतका सामग्रीले मापासे तथा लागूऔषध परीक्षणलाई थप सहज बनाउने धारणा राखिन्।

    कार्यक्रममा प्रहरी नायव उपरीक्षक लम्सालले आवश्यक उपकरण अभावका कारण चेकजाँच कार्यमा समस्या हुँदै आएको उल्लेख गर्दै अब भने चेकजाँचलाई केही हदसम्म प्रभावकारी बनाउन मद्दत पुग्ने बताए ।यसअघि गत भदौमा भएको जेनजी आन्दोलन का क्रममा दमकस्थित प्रहरी तथा ट्राफिक कार्यालयमा आगजनी र लुटपाट हुँदा आधा दर्जनभन्दा बढी ब्रेथलाइजर मेसिन हराएको थियो। त्यसयता एउटा मात्र उपकरणको सहायताले मापासे जाँच सञ्चालन हुँदै आएको थियो।

  • गौरादहमा पहिलो पाईला नेपालको २०८३ सालको पात्रो सार्वजनिक

    गौरादहमा पहिलो पाईला नेपालको २०८३ सालको पात्रो सार्वजनिक

    चैत २१ ,गौरादह / पहिलो पाईला नेपाल गौरादह शाखाको आयोजनामा २०८३ सालको भित्ते पात्रो विमोचन तथा नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। शनिबार गौरादह नगरपालिका राधाकृष्ण मन्दिरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि गौरादह नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष गोपाल कोइरालाले सामाजिक संस्था “पहिलो पाइला नेपाल” गौरादहमा स्थापित भएको देख्दा आफू हर्षित भएको बताउनुभयो। साथै, संस्थाले समाजमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै आवश्यक सहयोगमा कुनै कमी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    कार्यक्रममा बोल्दै पहिलो पाइला नेपाल गौरादह शाखाका अध्यक्ष भुपेन्द्र निरौलाले संस्थाले सामाजिक कार्यमा निरन्तर सक्रिय भूमिका खेल्दै आएको बताउनुभयो। त्यसैगरी, पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष राजु निरौलाले “जहाँ दुख्छ, त्यहाँ पहिलो पाइला पुग्छ” भन्ने नाराका साथ संस्था अघि बढिरहेको उल्लेख गर्नुभयो।

    कार्यक्रममा स्वागत मन्तव्य पोसङ्का बास्तोलाले राख्नुभएको थियो भने संस्थाका सचिव प्रदीप धमलाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। साथै, दमक शाखाका उपाध्यक्ष लवराज खड्का, सल्लाहकार गणेश प्रधान तथा कार्यक्रम संयोजक बाबुराम अधिकारीले पनि आ-आफ्ना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमले सामाजिक सद्भाव, सहकार्य र नयाँ वर्षको सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको संस्थाकी सदस्य चाहना योगीले बताउनुभएको छ।

  • दमकमा मोडिफाई गरिएका ८ वटा मोटरसाइकल नियन्त्रण

    दमकमा मोडिफाई गरिएका ८ वटा मोटरसाइकल नियन्त्रण

    चैत २१, दमक / गयराति ११:३० बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ध्वनी प्रदूषण गर्दै तथा सवारी नियम विपरीत मोडिफाई गरिएका ८ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।

    प्रहरी नायव उपरीक्षक किशोर लम्सालको नेतृत्वमा खटिएको टोलीले दमक नगरपालिका–७ स्थित पशुहाट क्षेत्रबाट ती मोटरसाइकलहरू नियन्त्रणमा लिएको जनाएको छ।

    नियन्त्रणमा परेका मोटरसाइकलका नम्बरहरू यसप्रकार छन्: प्र१-०२-०४८ प ५९०३, प्र१-०२-०५७ प ८५६१, प्र१-०२-०४५ प १९३६, को २२ प ६८००, बा ९८ प ६४२६, को २९ प ३३५३, मे ४ प ३७६४ र मे ११ प ५६७६।

    प्रहरीले सवारी नियम उल्लंघन गर्ने तथा ध्वनी प्रदूषण गर्ने सवारी साधनमाथि निगरानी बढाइएको र आवश्यक कारबाही अघि बढाइने जनाएको छ।

  • दमक–९ मा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न, २२५ जेष्ठ नागरिक लाभान्वित

    दमक–९ मा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न, २२५ जेष्ठ नागरिक लाभान्वित

    चैत २१, दमक / जेष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल शाखा समिति दमक ९ झापाको एक दिवसीय निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार सर्वेश्वर शिवपाञ्चायन मन्दिर दमक नौ शान्ति मार्गमा उक्त कार्यक्रम सम्पन्न भएको हो। दमक नगरपालिका वडा नम्बर ९ को सहयोग तथा जेष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल शाखा समिति दमक ९ को आयोजनामा कार्यक्रम सञ्चालन गरिएको थियो भने प्राविधिक सहयोग वृत्ता ज्योति आँखा अस्पताल र ॐ शान्ति डेन्टल हस्पिटलबाट गरिएको थियो ।

    जेष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल शाखा समिति दमक ९ का अध्यक्ष दीपक प्रसाद खनाल भन्नुहुन्छ दमक नगरपालिका वडा नम्बर ९ मा १४०० हाराहारी जेष्ठ नागरिक बसोबास गर्दै आएको र जेष्ठ नागरिकको हकहितका लागि विभिन्न कार्यक्रम गर्दै आएको उहाँ बताउनुहुन्छ । दन्त शिविर रआँखा शिविरमा गरि २ सय २५ जनाले सेवा लिएका थिए।

    जेष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल शाखा समिति दमक ९ झापाको एक दिवसीय निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ। उक्त शिविरमा ॐ शान्ति डेन्टल हस्पिटलले प्राविधिक सहयोग गरेको थियो। ॐ शान्ति डेन्टल हस्पिटलका सञ्चालक कमलप्रसाद गैरे भन्नुहुन्छ यस शिविरबाट जानुहुने सम्पूर्णलाई २०% सम्मको छुटको व्यवस्था गरिएको छ ।

    जेष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल शाखा समिति दमक ९ झापाको एक दिवसीय निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ। उक्त शिविरमा सेवा लिन आउनुभएका टेकनाथ रिजाल भन्नुहुन्छ शिविरमा सुधार गर्नुपर्ने विषय जेष्ठ नागरिकलाई हस्पिटलसम्म नपुग्ने गरी शिविरमै उपचार हुनेगरी प्रविधिको प्रयोग गरी शिविर सञ्चालन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो।

  • चैत्र अन्त्यतिर दमकमा शीतलहर र बाक्लो हुस्सु, किसान चिन्तित

    चैत्र अन्त्यतिर दमकमा शीतलहर र बाक्लो हुस्सु, किसान चिन्तित

    चैत १९, दमक / चैत्र महिनाको अन्तिम साता नजिकिँदै गर्दा तराईको तल्लो क्षेत्र झापाको दमक नगरपालिका–१० सेतुमारी क्षेत्रमा शीतलहरसहित बाक्लो हुस्सु लागेको छ। यसअघिका वर्षहरूमा यस समयमा यस्तो मौसम नदेखिएको भन्दै स्थानीय सर्वसाधारणले यसलाई अस्वाभाविक बताएका छन्।

    स्थानीय किसान हरि लुइटेलका अनुसार चैत्र महिनामा शीतलहर र बाक्लो हुस्सु लाग्नु अचम्मको विषय हो। “यो समयमा यस्तो मौसम कहिल्यै देखिएको थिएन,” उनले भने, “यसले बाली लगाउने काममा समस्या पारेको छ।”

    यतिबेला चैते धान, मकै, काँक्रा, टमाटर लगायतका बाली लगाउने मुख्य सिजन हो। तर असामान्य मौसमका कारण किसानहरू अन्योलमा परेका छन्। शीतलहर र घना हुस्सुले बालीको वृद्धि तथा उत्पादनमा असर पर्ने चिन्ता किसानहरूले व्यक्त गरेका छन्।

    स्थानीयले जलवायु परिवर्तनको प्रभावका कारण यस्तो अस्वाभाविक मौसम देखिएको हुनसक्ने अनुमान गरेका छन्। कृषिसँग प्रत्यक्ष जोडिएका किसानहरू अहिले यस्तो मौसम देखेर अचम्ममा परेका छन्।

  • दमकमा हनुमान जन्मजयन्ती धुमधामका साथ मनाइयो

    दमकमा हनुमान जन्मजयन्ती धुमधामका साथ मनाइयो

    चैत १९, दमक / दमक–६ स्थित श्री पञ्चमुखी हनुमान मन्दिरको आयोजनामा बिहीबार श्री हनुमान जन्मजयन्ती भव्य रूपमा मनाइएको छ। पञ्चमुखी हनुमान मन्दिर समितिका अध्यक्ष तथा व्यवसायी अजय अग्रवालको अध्यक्षतामा आयोजित औपचारिक कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए।

    कार्यक्रमपश्चात् दमकका विभिन्न चोकहरूमा भक्तजनहरूले धार्मिक र्याली निकालेका थिए। र्यालीमा स्थानीयवासीको उत्साहजनक सहभागिता देखिएको थियो।

    उक्त कार्यक्रममा दमक–६ का वडाध्यक्ष टेकबहादुर थापा, दमक–९ का वडाध्यक्ष कुबेर भट्टराई लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका अगुवा, व्यवसायी, धार्मिक व्यक्तित्व तथा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन दमक बहुमुखी क्याम्पसका प्राध्यापक परसमणि आचार्यले गरेका थिए।