Blog

  • कमल–५ मा रेडक्रस अभियानका जन्मदाता जाँ हेनरी ड्यूनाँको अर्धकद प्रतिमा अनावरण

    कमल–५ मा रेडक्रस अभियानका जन्मदाता जाँ हेनरी ड्यूनाँको अर्धकद प्रतिमा अनावरण

    दमक, २४ माघ / झापाको कमल गाउँपालिका–५ स्थित नेपाल रेडक्रस सोसाइटी कमल उपशाखाले रेडक्रस अभियानका जन्मदाता जाँ हेनरी ड्यूनाँको अर्धकद प्रतिमा अनावरण गरेको छ।

    रेडक्रस भवन परिसरमा निर्माण गरिएको प्रतिमाको शनिबार कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले अनावरण गर्नुभयो। सो अवसरमा प्रतिमा निर्माणमा सहयोग पुर्‍याउने दाता कमल–६ निवासी विवेक मिश्रसहित अन्य दाताहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो। हाल अमेरिकामा बसोबास गर्दै आउनु भएका मिश्रले प्रतिमा निर्माणका लागि रु ५० हजार ५ सहयोग गर्नुभएको हो।

    त्यसैगरी, सुम्निमा कृषि सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रेडक्रस कमल उपशाखालाई रु १० हजारको चेक हस्तान्तरण गरेको छ। उक्त चेक सहकारीका उपाध्यक्ष पदम उप्रेतीले प्रदान गर्नुभएको थियो।

    रेडक्रस कमल उपशाखाका सभापति चन्द्र साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रेडक्रसका आजीवन सदस्य तथा शुभेच्छुकहरुको सहयोगबाट प्रतिमा निर्माण गरिएको सचिव पारसमणि राईले जानकारी दिनुभयो।

    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखाका सभापति लोकराज ढकाल, रेडक्रस बुद्धशान्ति उपशाखाका सचिव टेकप्रसाद निरौला लगायत वक्ताहरुले छोटो समयमै रेडक्रस कमल उपशाखाले गरेका सामाजिक कार्य प्रशंसनीय रहेको उल्लेख गर्नुभएको थियो।

    कार्यक्रममा रेडक्रस कमल उपशाखाकी उपसभापति नरमाया तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा जिल्लाका रेडक्रस पदाधिकारी, स्वास्थ्यकर्मी, सामाजिक अगुवा तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

  • मतदाताले चिनेका, मिडियाले नदेखेका झापा–५ का चार उम्मेदवार

    मतदाताले चिनेका, मिडियाले नदेखेका झापा–५ का चार उम्मेदवार

    माघ २५, दमक / झापा–५ यतिबेला देशभरको चुनावी चर्चाको केन्द्रमा छ। सामाजिक सञ्जालदेखि राष्ट्रिय मिडियासम्म यो क्षेत्रको निर्वाचनलाई विशेष चासोका साथ हेरिएको छ। तर चर्चाको केन्द्रमा देखिने ‘हेभिवेट’ उम्मेदवारहरूभन्दा फरक, यहाँ यस्ता चार उम्मेदवार पनि छन्, जो मिडियामा कम देखिए पनि स्थानीय मतदातामाझ नजिक र परिचित छन्।

    झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका बालेन्द्र साहजस्ता चर्चित नामहरू चुनावी अभियानका क्रममा झापा–काठमाडौं ओहोरदोहोर गरिरहेका छन्। उनीहरूको प्रचारमा भीड, सवारी साधन र राष्ट्रिय मिडियाको ध्यान केन्द्रित देखिन्छ। तर यी दुईबाहेकका उम्मेदवारहरूको दैनिकी भने बिल्कुलै फरक छ—सानो समूह, घरदैलो, व्यक्तिगत सम्बन्ध र स्थानीय मुद्दामा केन्द्रित प्रचार।

    नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरिया पौडेल (दमक–९) सामाजिक सेवामार्फत चिनिएकी नाम हुन्। महिला अधिकार, बालबालिकाको न्याय र सामाजिक सेवामा लामो समयदेखि सक्रिय पौडेल बिहानैदेखि छरछिमेक, इष्टमित्र र मतदाताको घरदैलोमा पुग्छिन्। महिला उम्मेदवार भएकै कारण उनलाई साथ दिने आमा, दिदीबहिनीहरूको संख्या उल्लेख्य देखिन्छ।
    राष्ट्रिय महिला अधिकार मञ्च, अनाथ बाल आश्रमजस्ता संस्थाको नेतृत्व गरिसकेकी उनले मतदातासँगको भेटघाटमा महिला र बालबालिकाका अधिकारलाई मुख्य एजेण्डा बनाउँदै आएकी छन्। “गाह्रो साह्रोमा सम्झिनु होला, भोट आउँदैछ म पनि उम्मेदवार छु,” भन्ने उनको भनाइ मतदातामाझ चर्चित छ।

    कांग्रेसले देशभर प्रत्यक्षतर्फ उठाएका ११ महिला उम्मेदवारमध्ये उनी एक हुन्। कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले दमकमा आयोजित कार्यक्रममा मन्धराको उम्मेदवारीबारे मतदाताले फागुन २१ गते संसदमार्फत जवाफ दिने विश्वास व्यक्त गरेका थिए। पौडेल भन्छिन्, “कोक्रो हल्लाउने महिलाका हातले नै देश पनि चलाइरहेका छन्।”

    झापा–५ का अर्का उम्मेदवार हुन् नेपाली कम्युनिष्ट पार्टीका युवा नेता रञ्जीत तामाङ। कमल गाउँपालिका–१ का बासिन्दा तामाङको प्रचार शैली सरल तर प्रभावकारी छ। नातेदार, सहपाठी र विद्यार्थी राजनीतिका समकालीनसँगको आत्मीय सम्बन्ध नै उनको मुख्य शक्ति देखिन्छ।
    तामाङले चुनावी भेटघाटमा ‘काम गर्ने उमेरका प्रतिनिधि’ आवश्यक भएको तर्क अघि सार्दै हेभिवेट उम्मेदवारलाई लक्षित टिप्पणी गर्ने गरेका छन्। प्रतिशोध र प्रतिरोधको राजनीतिले देशलाई निकास नदिने भन्दै उनले आफ्नो उम्मेदवारी वैकल्पिक बाटो भएको दाबी गर्दै आएका छन्।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार लक्ष्मीप्रसाद संग्रौलाको प्रचार पनि मन्द शैलीमै तीव्र रूपमा अघि बढिरहेको छ। झापा–५ लाई राप्रपाको सम्भावना भएको क्षेत्र मानिँदै आएको छ। व्यवसाय, सामाजिक सेवा र राजनीतिमा परिचित नाम संग्रौलाले घरदैलो अभियानलाई प्राथमिकता दिएका छन्। उनले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनालाई मुख्य एजेण्डा बनाउँदै आएका छन्। केही दिनअघि गौरीगञ्जमा चुनाव प्रचार कार्यालय उद्घाटन गर्दै उनले धर्मनिरपेक्षता खारेजी र नागरिक सेवा आफ्नो मूल उद्देश्य भएको बताएका थिए।

    यसपटक पहिलो पटक चुनावी मैदानमा उत्रिएको श्रम संस्कृति पार्टीका युवा उम्मेदवार समिर तामाङको प्रचार शैली भने अरूभन्दा अलग देखिन्छ। धरानका पूर्व मेयर हर्क साम्पाङको नेतृत्वमा बनेको यो पार्टीले श्रम संस्कृतिमा जोड दिँदै आएको छ। उही सोचअनुसार उम्मेदवार तामाङ स्वयं मतदातासँग श्रममा सहभागी हुँदै प्रचारमा जुटेका छन्। हालै कमल गाउँपालिकामा रहेको ढ्याङ्ग्री खोलामा (कमल–२ र ४ जोड्ने) उनकै सहभागितामा काठे पुल निर्माण गरिएको छ, जसलाई स्थानीयले चुनावी नाराभन्दा व्यवहारिक कामको उदाहरणका रूपमा हेरेका छन्।

    झापा–५ को यो निर्वाचनमा मिडियाको चमकभन्दा बाहिर रहेर, स्थानीय सम्बन्ध र व्यवहारिक उपस्थितिमार्फत मतदाताको विश्वास जित्ने प्रयासमा रहेका यी चार उम्मेदवारको भूमिकाले नतिजामा कस्तो प्रभाव पार्ला भन्ने चासो बढ्दै गएको छ।

  • दमक बहुमुखी क्याम्पसद्वारा छात्रावास सञ्चालन सुरु

    दमक बहुमुखी क्याम्पसद्वारा छात्रावास सञ्चालन सुरु

    माघ २४ , दमक / दमक बहुमुखी क्याम्पसले शुक्रबारदेखि छात्रावास सेवा सञ्चालनमा ल्याएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरी क्याम्पसले छात्रावासको उद्घाटन गरेको हो ।

    दमक नगरपालिका–९ स्थित क्याम्पस मोडबाट दक्षिणतर्फ क्याम्पस झर्ने बाटोमै रहेको सुरक्षित तथा पूर्ण कम्पाउन्डसहितको घर भाडामा लिएर अस्थायी रूपमा छात्रावास सञ्चालन गरिएको क्याम्पस प्रमुख यज्ञराज गिरिले जानकारी दिनुभयो । उहाँका अनुसार हाल उक्त छात्रावासमा ५० जना विद्यार्थी अट्ने व्यवस्था गरिएको छ भने दमकभन्दा टाढाबाट अध्ययनका लागि आउने विद्यार्थीहरूलाई न्यूनतम शुल्कमा बसोबासको सुविधा उपलब्ध गराइनेछ ।

    छात्रावासमा जम्मा २० वटा कोठा रहेका छन् । साथै भान्सा तथा भण्डार कक्ष छुट्टै व्यवस्था गरिएको जनाइएको छ । कार्यक्रममा क्याम्पस व्यवस्थापन समिति अध्यक्ष ढुण्डिराज भण्डारीले हाल सञ्चालनमा ल्याइएको छात्रावास अस्थायी भएको उल्लेख गर्दै भविष्यमा क्याम्पसकै आफ्नै स्थायी भवन निर्माण गरी छात्रावास सञ्चालन गर्ने योजना रहेको बताउनुभयो । उहाँका अनुसार जग्गा खरिद प्रक्रिया अघि बढिसकेको र जग्गा प्राप्त भएपछि आवश्यकता अनुसार स्थायी छात्रावास निर्माण गरिनेछ ।

    छात्रावास उद्घाटन कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका प्रमुख रामकुमार थापा रहनुभएको थियो । कार्यक्रममा विभिन्न सरोकारवाला, शिक्षा प्रेमी, क्याम्पस सञ्चालक समिति पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

  • दमकका राजनीतिक दलद्वारा निर्वाचन आचारसंहिता पालना गर्ने सामूहिक प्रतिबद्धता

    दमकका राजनीतिक दलद्वारा निर्वाचन आचारसंहिता पालना गर्ने सामूहिक प्रतिबद्धता

    माघ २३, दमक / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै दमकका राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन्। शुक्रबार दमक नगरपालिकामा आयोजित छलफल कार्यक्रममा सहभागी दल तथा उम्मेदवारहरूले घृणा फैलाउने अभिव्यक्ति बन्द गर्दै शान्तिपूर्ण, मर्यादित र स्वच्छ निर्वाचन सम्पन्न गर्न आफूहरू तयार रहेको साझा धारणा व्यक्त गरे।

    कार्यक्रममा बोल्दै दमक नगरपालिकाका प्रमुख राम थापाले निर्वाचन नागरिकको अभिमत प्रकट गर्ने लोकतन्त्रको सुन्दर प्रक्रिया भएकाले यसलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्नु सबैको साझा दायित्व रहेको बताउनुभयो। उहाँले झापा क्षेत्र नम्बर ५ सबैको चासोको क्षेत्र भएकाले यहाँ स्वस्थ राजनीतिक प्रतिस्पर्धा देखिनुपर्ने धारणा व्यक्त गर्नुभयो। त्यस्तै, इलाका प्रशासन कार्यालय दमकका प्रमुख विश्वराज नेपालले निर्वाचन आचारसंहिता पालनाको अवस्था सूक्ष्म रूपमा अनुगमन भइरहेको जानकारी दिँदै आचारसंहिता उल्लङ्घन भएमा उम्मेदवारीसमेत खारेज हुन सक्ने भन्दै सबै दललाई सजग रहन आग्रह गर्नुभयो।

    छलफलमा नेकपा एमाले दमक नगर अध्यक्ष राम पौडेल, नेपाली कांग्रेस दमक नगर कार्यवाहक सभापति प्रेम भट्टराई, नेपाली कम्युनिस्ट पार्टी नगर अध्यक्ष रवि बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टी नगर सभापति तीर्थ लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी नगर अध्यक्ष हेम सुवेदी, उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल गुरागाई लगायत धार्मिक तथा सामाजिक क्षेत्रका अगुवाहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रममा सहभागीहरूले जेलबाट फरार कैदी तथा अवैध हतियार नियन्त्रणका लागि एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधि प्रयोगमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।दलहरूले आचारसंहिता विपरीत गतिविधिमा संलग्न आफ्ना कार्यकर्तालाई आफैं कारबाही गर्ने र निर्वाचनलाई उत्सवका रूपमा सम्पन्न गर्ने साझा निष्कर्ष निकालेका छन्।

  • इलामको चुलाचुलीमा आमा डेन्टल केयरद्वारा विद्यार्थीलाई पोशाक, जुत्ता र मोजा वितरण

    इलामको चुलाचुलीमा आमा डेन्टल केयरद्वारा विद्यार्थीलाई पोशाक, जुत्ता र मोजा वितरण

    माघ २२, इलाम / इलामको चुलाचुली गाउँपालिका–५ स्थित श्री भानु माध्यमिक विद्यालय, बुकुवामा अध्ययनरत विद्यार्थीहरूलाई पोशाक, जुत्ता तथा मोजा वितरण गरिएको छ। आमा डेन्टल केयर प्रा.लि. दमकको आर्थिक सहयोगमा कक्षा १ देखि ४ सम्म अध्ययनरत ७१ जना विद्यार्थीलाई उक्त सामग्री वितरण गरिएको हो।

    आमा डेन्टल केयर प्रा.लि. दमककी सञ्चालिका मन्दिरा श्रेष्ठको जन्मदिनको अवसर पारेर फजुल खर्चलाई निरुत्साहित गर्ने उद्देश्यसहित करिब १५ हजार रुपैयाँ बराबरको सामग्री वितरण गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा बोल्दै आमा डेन्टल केयर प्रा.लि.का सञ्चालक अर्जुन श्रेष्ठले समाजसेवा गर्न धनसँगै मन पनि आवश्यक हुने बताउँदै यस्ता सामाजिक कार्यले समाजमा सकारात्मक सन्देश फैलाउने धारणा व्यक्त गर्नुभयो।

    विद्यालयमा हाल विपन्न वर्गका २८१ जना विद्यार्थी अध्ययनरत रहेको जानकारी विद्यालयका प्रधानाध्यापक रघुनाथ मिश्रले दिनुभयो। उहाँले यस किसिमको सहयोगले विद्यार्थीहरूलाई पठनपाठनमा थप उत्साह मिल्ने बताउनुभयो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिप्रसाद सम्मानफेले सहयोगप्रति धन्यवाद व्यक्त गर्दै अनिवार्य रूपमा पोशाक लगाएर विद्यालय आउन विद्यार्थीहरूलाई आग्रह गर्नुभयो।

    कार्यक्रम भानु मिलन बाल क्लबकी अध्यक्ष निशा सम्भाव्यको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन विद्यालयका शिक्षक माधव खनालले गर्नुभएको थियो। आमा डेन्टल केयर प्रा.लि.ले यसअघि पनि यस्ता सामाजिक तथा मानवीय सेवा कार्यक्रमहरू निरन्तर गर्दै आएको जनाएको छ।

  • लेखक ब्रिजकुमार शर्माद्वारा ‘स्थिर सरकार युगको आवश्यकता’ सन्देशसहित मेची–महाकाली पैदल यात्रा

    लेखक ब्रिजकुमार शर्माद्वारा ‘स्थिर सरकार युगको आवश्यकता’ सन्देशसहित मेची–महाकाली पैदल यात्रा

    माघ २२, दमक / लेखक तथा पशुपालन व्यवसायी ब्रिजकुमार शर्माले राजनीतिक स्थायित्व, सुशासन र समृद्धिको सन्देश बोकेर मेची–महाकाली पैदल यात्रा सुरु गर्नुभएको छ। यात्राका क्रममा उहाँले “स्थिर सरकार युगको आवश्यकता” भन्ने मूल नारासहित देशभर जनचेतना फैलाउने उद्देश्य लिएको बिहिबार दमकमा पत्रकारसँग भेटघाटका क्रममा बताउनुभएको छ।

    यात्राको क्रममा प्रयोग गरिएको झोलामा उहाँको पुस्तक ‘आशा–सपना’ को तस्वीरसहित स्थिर सरकारको महत्व दर्शाउने सन्देश अंकित गरिएको छ। राजनीतिक अस्थिरताले विकास र सुशासनमा बाधा पुर्‍याएको उल्लेख गर्दै लेखक शर्माले स्थिर सरकार नै समृद्ध नेपालको आधार भएको धारणा राख्नुभएको छ।

    उहाँका अनुसार पैदल यात्रामार्फत नागरिकसँग प्रत्यक्ष संवाद गर्दै राजनीतिक स्थायित्व, जिम्मेवार शासन प्रणाली र जनमुखी विकासबारे बहस सिर्जना गर्ने लक्ष्य रहेको छ। “राजनीतिक स्थायित्व बिना सुशासन सम्भव छैन, र सुशासन बिना समृद्धि हासिल हुँदैन,” उहाँले भन्नुभयो। मेचीदेखि महाकालीसम्मको यो पैदल यात्रा सामाजिक सन्देशमूलक अभियानका रूपमा अघि बढाइएको आयोजक पक्षले जनाएको छ।

  • इलाका प्रहरी कार्यालय दमकद्वारा सई सुजाता सुवेदीको विदाई तथा वरिष्ठ हवल्दारलाई दज्र्यानी चिन्ह प्रदान

    इलाका प्रहरी कार्यालय दमकद्वारा सई सुजाता सुवेदीको विदाई तथा वरिष्ठ हवल्दारलाई दज्र्यानी चिन्ह प्रदान

    माघ २१, दमक / इलाका प्रहरी कार्यालय दमकले ३० वर्षे सेवा अवधि पूरा गरी अनिवार्य अवकाश प्राप्त गर्नु भएकी प्रहरी नायव निरीक्षक (सई) सुजाता सुवेदीको विदाई तथा प्रहरी हवल्दारबाट प्रहरी वरिष्ठ हवल्दार पदमा पदोन्नति हुनु भएकी संगिता देवी निरौला श्रेष्ठलाई दज्र्यानी चिन्ह प्रदान गरेको छ।
    कार्यालय परिसरमा सम्पन्न कार्यक्रममा अनिवार्य अवकाश प्राप्त सई सुवेदीलाई कार्यक्रमका प्रमुख अतिथि तथा इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव निरीक्षक किशोर लम्सालले प्रशंसा पत्र प्रदान गर्नुभयो। सो अवसरमा बोल्दै कार्यालय प्रमुख लम्सालले सुवेदीले प्रहरी संगठनमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै अवकाशपछिका दिनमा पनि नेपाल प्रहरी संगठनलाई निरन्तर सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो।
    यसैगरी दज्र्यानी चिन्ह प्राप्त गर्नु भएकी प्रहरी वरिष्ठ हवल्दार संगिता देवी निरौला श्रेष्ठलाई बधाई दिँदै कार्यालय प्रमुख लम्सालले पदोन्नतिसँगै जिम्मेवारी पनि बढेकाले इमान्दारिताका साथ कर्तव्य निर्वाह गरी उदाहरणीय प्रहरी बन्न निर्देशन दिनुभयो।
    विदाई मन्तव्य राख्दै सई सुवेदीले आफ्नो ३० वर्षे सेवा अवधिमा भोगेका अनुभवहरू साझा गर्नुभयो। संगठनमा रहँदा विभिन्न कठिन परिस्थिति, दुःख–सुख, बाधा–बेहोरनाका बाबजुद अग्रज तथा सिनियर अधिकृतहरूको साथ, सहयोग र मार्गदर्शनका कारण लामो समयसम्म प्रहरी संगठनको गरिमा कायम राख्न सफल भएको बताउनुभयो।

    सेवा अवधिभर कुनै पनि कारबाहीमा नपर्न पाएकोमा गर्व लागेको उहाँले उल्लेख गर्नुभयो। कार्यक्रमको अन्त्यमा इलाका प्रहरी कार्यालय दमकका सम्पूर्ण प्रहरी परिवारले सई सुवेदीलाई सहसम्मान विदाई गर्दै प्रहरी भ्यानमार्फत घर पठाएको कार्यालयले जनाएको छ।