Blog

  • दमक–९ मा डीपेश मोबाइल हबको धमाकेदार एक्सचेञ्ज अफर, ०% ब्याजदरमा ईएमआई सुविधा

    दमक–९ मा डीपेश मोबाइल हबको धमाकेदार एक्सचेञ्ज अफर, ०% ब्याजदरमा ईएमआई सुविधा

    फागुन १४, दमक / दमक–९ क्याम्पसमोडमा अवस्थित दिपेश मोबाइल हबले ग्राहक लक्षित ‘धमाकेदार एक्सचेञ्ज अफर’ सार्वजनिक गरेको छ। नयाँ तथा पुराना मोबाइल साटासाट (एक्सचेञ्ज) सुविधा, शून्य प्रतिशत ब्याजदरमा ईएमआई र आकर्षक छुटसहितको योजना ल्याइएपछि बजारमा उत्साह देखिएको छ।

    हबका अनुसार पुरानो मोबाइल ल्याएर नयाँ स्मार्टफोन खरिद गर्दा विशेष मूल्यांकन गरी उचित एक्सचेञ्ज भ्यालु प्रदान गरिनेछ। विभिन्न ब्रान्डका अत्याधुनिक स्मार्टफोनहरू—फ्ल्यागसिपदेखि मिड–रेञ्जसम्म—उपलब्ध रहेको र ग्राहकको बजेट अनुसार रोजाइका मोडल छनोट गर्न सकिने जनाइएको छ।

    त्यसैगरी, ०% ब्याजदरमा ईएमआई सुविधाले एकमुष्ट रकम तिर्न नसक्ने ग्राहकलाई सहज बनाउने विश्वास व्यवसायीले व्यक्त गरेका छन्। बिक्रीसँगै सेवा (Service) र एक्सचेञ्ज (Exchange) सुविधा एकै ठाउँबाट उपलब्ध गराइने भएकाले ग्राहकलाई थप सहजता हुने बताइएको छ।

    दिपेश मोबाइल हबले सीमित समयका लागि ‘बेस्ट अफर’ सञ्चालनमा ल्याएको जनाएको छ। नयाँ मोबाइल खरिद गर्न चाहने तथा पुरानो सेट अपग्रेड गर्न इच्छुक ग्राहकलाई अफरको लाभ लिन आग्रह गरिएको छ।

  • डिपीएल टिन्स बोर्ड दमकको ६औं पद हस्तान्तरण, अध्यक्षमा अप्सन खनाल

    डिपीएल टिन्स बोर्ड दमकको ६औं पद हस्तान्तरण, अध्यक्षमा अप्सन खनाल

    दमक, फाल्गुन ८ / डिपीएल टिन्स बोर्ड दमकको छैटौं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । मिति २०८२ फाल्गुन ७ गते आयोजित कार्यक्रममा डिपीएल टिन्स बोर्ड दमक–२०२६ को अध्यक्षमा अप्सन खनाल निर्वाचित हुनुभएको घोषणा गरिएको हो ।

    नवनिर्वाचित अध्यक्ष खनालसहित सम्पूर्ण कार्यसमितिलाई कार्यक्रममा सहभागीहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । नयाँ कार्यसमिति अनुसार वरिष्ठ उपाध्यक्षमा रोजीत बस्नेत, महासचिवमा उपमा राउत, कोषाध्यक्षमा सुप्रीम पाण्डे चयन हुनुभएको छ । यस्तै उपाध्यक्षहरूमा रिश्ता खड्का र अमिस पौडेल रहनुभएको छ ।

    निर्देशकहरूमा अप्सना बस्नेत, रक्षा प्रसाई, सुजल श्रेष्ठ र अंशु निरौला चयन हुनुभएको छ भने सदस्यहरूमा श्रीबिना राई र प्राप्ति दाहाल रहनुभएको छ । कार्यक्रममा संस्थाको आगामी गतिविधिलाई थप सक्रिय र प्रभावकारी बनाउँदै सामाजिक तथा संस्थागत योगदानलाई मजबुत बनाउने अपेक्षा व्यक्त गरिएको थियो ।

  • पूर्व विद्यार्थीको पहलमा पृथ्वी माविमा इलेक्ट्रोनिक घण्टी जडान, ३० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण

    पूर्व विद्यार्थीको पहलमा पृथ्वी माविमा इलेक्ट्रोनिक घण्टी जडान, ३० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण

    दमक, माघ २८ / पूर्व विद्यार्थीहरूको पहलमा स्थापना गरिएको “बाल्यकालको साथी” संस्थाले आज दमकस्थित पृथ्वी माध्यमिक विद्यालयमा व्यानर अनावरण तथा विद्यालय घण्टीको इलेक्ट्रोनिक डिभाइस उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ। सो अवसरमा करिब ३० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको छ।

    वि.सं. २०८२ सालमा स्थापना भएको “बाल्यकालको साथी” संस्था विभिन्न क्षेत्र तथा स्थानमा छरिएका बाल्यकालका साथीहरूलाई पुनः एकजुट गर्दै आपसी मित्रता अभिवृद्धि, समाजसेवा, शैक्षिक जागरण तथा सामाजिक क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यका साथ गठन गरिएको हो। संस्थाका सबै सदस्यहरू पृथ्वी माविका पूर्व विद्यार्थीहरू रहेका छन्।

    संस्थाका सचिव विनोद राईले सञ्चालन गर्नुभएको कार्यक्रम राष्ट्रिय गानबाट सुरु भएको थियो। संस्थाका अध्यक्ष चन्दन महतोको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहन थापा प्रमुख अतिथि रहनुभएको थियो। वडा सदस्य मान बहादुर खवास विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। अभिभावक संघका तर्फबाट लाल सुन्दर राई, कराते जिल्ला सदस्य आशिष राई लगायतका अतिथिहरूको पनि उपस्थिति रहेको थियो।

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णु राई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन थापा, जनप्रतिनिधि मान बहादुर खवास तथा अभिभावक संघका प्रतिनिधि लाल सुन्दर राईलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा संस्थाको उद्देश्य र आगामी योजनाबारे अध्यक्ष महतोले औचित्य तथा समापन मन्तव्य प्रस्तुत गर्नुभएको थियो।

    यसै अवसरमा विद्यालयमा जडान गरिएको इलेक्ट्रोनिक घण्टी प्रणालीको उद्घाटन गरिएको थियो। उक्त प्रणालीले विद्यालय सञ्चालनलाई थप व्यवस्थित, समयमै कक्षा सञ्चालन तथा अनुशासन कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

    कार्यक्रममा बोल्दै सचिव विनोद राईले “बाल्यकालको साथी” संस्थाले आगामी दिनहरूमा निष्पक्ष रूपमा पिछडिएका वर्ग, विभिन्न विद्यालय तथा गरिब–दुःखीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। संस्थालाई राजनीतिक प्रभावबाट टाढा राख्दै शुद्ध सामाजिक र शैक्षिक सेवामा केन्द्रित रहने उहाँको भनाइ थियो।

     

    कार्यक्रमले पूर्व विद्यार्थीहरूबीचको सम्बन्ध सुदृढ बनाउनुका साथै विद्यालयप्रति उत्तरदायित्व र योगदानको भावना अझ बलियो बनाएको सहभागीहरूले बताएका छन्।

  • दमकमा कुलमान घिसिङद्वारा र्‍याली, आचारसंहिता उल्लङ्घन भएको आरोप

    दमकमा कुलमान घिसिङद्वारा र्‍याली, आचारसंहिता उल्लङ्घन भएको आरोप

    माघ २८, दमक / उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले दमकमा नारा–जुलुससहित र्‍याली निकाल्दै कोणसभा आयोजना गर्नुभएको छ। सो क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको आरोप लागेको छ।

    निर्वाचन आचारसंहिता अनुसार फागुन ४ गतेदेखि मात्र झण्डासहितको र्‍याली तथा कोटसभा गर्न पाइने व्यवस्था रहेको छ। तर उक्त मिति अगावै र्‍याली निकालिएको छ।

    दमकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले आफू नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा रहँदा देशबाट लोडसेडिङ अन्त्य गरिएको र घाटामा रहेको संस्थालाई नाफामा ल्याइएको दाबी गर्नुभयो। नेपालमा उत्पादन गरिएको विद्युत भारत र चीनसम्म निर्यात गरिएको तथा देशका विभिन्न भूभागमा विद्युत आपूर्ति विस्तार गरिएको उहाँले बताउनुभयो।

    उहाँले नेपालको राजनीतिमा “दुर्गन्धको लोडसेडिङ, भ्रष्टाचारको लोडसेडिङ र सुशासनमा लोडसेडिङ” रहेको टिप्पणी गर्दै भ्रष्टाचारमुक्त र लोडसेडिङमुक्त नेपाल निर्माणका लागि उज्यालो नेपाल पार्टी स्थापना गरिएको बताउनुभयो। आफूहरू भाषणभन्दा काममा विश्वास गर्ने र परिणाम देखाएर अघि बढ्ने नेता भएको उहाँको भनाइ थियो।

    अध्यक्ष घिसिङले राष्ट्रिय परिवर्तन पार्टी र उज्यालो पार्टी एकीकृत भएर उज्यालो नेपाल पार्टी स्थापना भएको जानकारी दिँदै हालका नयाँ भनिएका दलहरू वास्तविक अर्थमा नयाँ नभएको टिप्पणी गर्नुभयो। उज्यालो नेपाल पार्टी सबैभन्दा कान्छो र वैकल्पिक शक्ति भएको उहाँले दाबी गर्नुभयो।

    उहाँले मतदातालाई परम्परागत दल त्यागेर पार्टी र मत दुवै परिवर्तन गरी उज्यालो नेपाल पार्टीलाई मतदान गर्न आग्रह गर्नुभयो। देश परिवर्तनका लागि एक मत निर्णायक हुने उल्लेख गर्दै पाँच वर्षपछि पनि आफूलाई पुनः नेतृत्वमा ल्याउने वातावरण बनाउनुपर्ने उहाँले बताउनुभयो।

    यस विषयमा निर्वाचन आयोग वा अन्य सरोकारवाला निकायले औपचारिक प्रतिक्रिया भने सार्वजनिक गरिसकेको छैन।

  • झापा ५ र २ मा कांग्रेसको महिला उम्मेदवारी, हेभिवेटसँगको प्रतिस्पर्धाले चुनावी माहोल उत्साहित

    झापा ५ र २ मा कांग्रेसको महिला उम्मेदवारी, हेभिवेटसँगको प्रतिस्पर्धाले चुनावी माहोल उत्साहित

    माघ २६ , दमक / आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले देशभर प्रत्यक्षतर्फ ११ जना महिलालाई उम्मेदवार बनाएसँगै झापाका दुई निर्वाचन क्षेत्रमा महिला नेतृत्वको उपस्थितिले चुनावी चर्चा थप चर्किएको छ।

    देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उतारेको कांग्रेसले झापा क्षेत्र नम्बर ५ मा मन्धरा चिमरिया पौडेल र क्षेत्र नम्बर २ मा सरिता प्रसाइँलाई उम्मेदवार बनाएको हो। अन्य दलहरूले पुरुष उम्मेदवारलाई प्राथमिकता दिइरहेका बेला कांग्रेसले दुई क्षेत्रमा महिलालाई अघि सार्नुले राजनीतिक सन्देश दिएको विश्लेषण भइरहेको छ।

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चामा रहेको झापा ५ मा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्धरा चिमरिया पौडेलको सीधा प्रतिस्पर्धा रहेको छ। त्यस्तै झापा २ मा सरिता प्रसाइँले पूर्व सभामुख देवराज घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तथा पूर्व उपसभामुख इन्दिरा रानामगरसँग त्रिपक्षीय प्रतिस्पर्धा गर्दैछिन्।

    झापा जिल्लाका पाँच निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै महिला मतदाता रहेको क्षेत्र नम्बर ५ मा अन्य कुनै पनि दलले महिला उम्मेदवार नउठाउँदा कांग्रेसको निर्णयले महिला मतदातामा विशेष उत्साह थपेको देखिन्छ। यस क्षेत्रमा महिला मतदाताको संख्या ८२ हजार २९६ र पुरुष मतदाता ८१ हजार ८१ रहेका छन्।

    स्थानीयस्तरमा महिला, बालबालिका तथा सामाजिक न्यायका क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएकी चिमरियाले आफूलाई उत्पीडित, दलित, अल्पसंख्यक, विपन्न तथा महिलाहरूको साझा आवाजका रूपमा प्रस्तुत गरेकी छन्। घरदैलो अभियानका क्रममा उनले मतमार्फत ‘हेभिवेट’ भनिने प्रतिस्पर्धीलाई परास्त गर्ने दाबी पनि गरेकी छन्।

    दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ) ले मन्धराको उम्मेदवारीलाई चुनौतीसँगै अवसरका रूपमा व्याख्या गर्दै संसदमा महिला मुद्दा स्थापित गर्न यो महत्वपूर्ण मौका भएको बताइन्। हेभिवेटसँग महिलालाई प्रतिस्पर्धामा उतारिएको विषयलाई नकारात्मक रूपमा हेर्ने प्रवृत्तिप्रति असहमति जनाउँदै उनले यसले महिलालाई संगठित र एकताबद्ध बनाउने विश्वास व्यक्त गरिन्।

    राष्ट्रिय महिला अधिकार मञ्च दमक नगर अध्यक्ष रमा लिम्बुका अनुसार महिलाका लागि अवसर र चुनौती सधैं संगसँगै आउने गर्छन्। “हामी एकढिक्का भएर उहाँलाई संसदसम्म पठाउनेछौं,” उनले भनिन्। महिला मतदाताहरूले “महिला उम्मेदवार साझा उम्मेदवार”, “भोट दिऔँ महिलालाई, भविष्य सबैलाई” जस्ता नारा लगाउँदै सक्रिय सहभागिता जनाइरहेका छन्। गौरीगञ्जकी मतदाता रिनादेवी साहले महिला उम्मेदवारलाई जिताउनु महिलाहरूको कर्तव्य भएको बताइन्।

    कांग्रेस महासमिति सदस्यसमेत रहेकी मन्धरा चिमरिया राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रीय उपाध्यक्ष पनि हुन्। झण्डै तीन दशकदेखि महिला तथा बालबालिकाका क्षेत्रमा सक्रिय रहँदै आएकी उनले सामाजिक सेवासँगै शिक्षा, स्वास्थ्य र मानव सेवामा उल्लेखनीय योगदान पुर्‍याएकी छन्।

    उनकै नेतृत्वमा दमकमा अनाथ बाल आश्रम स्थापना भई ३० भन्दा बढी बालबालिकाको संरक्षण भइरहेको छ। साथै दमक बहुमुखी क्याम्पससहित विभिन्न सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना, स्वास्थ्य संस्थामार्फत विपन्नको उपचार सहयोग तथा धार्मिक–सामाजिक संस्थामा योगदान गर्दै आएकी छन्।

    झापा ५ अन्तर्गत दमक नगरपालिकाका १० वटै वडा, कमल गाउँपालिकाका ७, गौरादह नगरपालिकाका ८ तथा गौरीगञ्ज गाउँपालिकाका ४ वडा पर्दछन्। यस क्षेत्रमा ६१ मतदानस्थल र १८५ मतदान केन्द्र रहेका छन्। महिला सहभागिता र प्रतिनिधित्वको बहस चर्किरहेका बेला झापा ५ र २ मा कांग्रेसको महिला उम्मेदवारीलाई राजनीतिक परिवर्तनको संकेतका रूपमा हेरिएको छ।

  • जेन्जी आन्दोलन हाइज्याकको आरोप: ओली–बालेन दुवै अतिवादी शक्ति हुन् — दुजाङ शेर्पा

    जेन्जी आन्दोलन हाइज्याकको आरोप: ओली–बालेन दुवै अतिवादी शक्ति हुन् — दुजाङ शेर्पा

    माघ २५, दमक /  प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा नेपाली कांग्रेसका उम्मेदवारलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जिताउने अभियानमा सक्रिय हुनुहुन्छ।

    यसै सन्दर्भमा मल्टिमिडिया डट कमसँगको संवादमा अध्यक्ष शेर्पाले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘जेन्जी आन्दोलन’को विपक्षमा रहेको दाबी गर्नुभयो। उहाँले पूर्व प्रधानमन्त्री ओलीमाथि विभिन्न काण्डहरूलाई लिएर व्यापक आलोचना भइरहेको उल्लेख गर्नुभयो।

    अध्यक्ष शेर्पाका अनुसार काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले जेन्जी आन्दोलनलाई हाइज्याक गर्ने प्रयास गरेका छन् र उनी भ्रष्टाचारविरुद्ध प्रभावकारी रूपमा नलागेको आरोप लगाउनुभयो। हालसालै बनेको सरकार पनि बालेन शाहको आडमा गठन भएको भन्दै उहाँले वर्तमान सरकारले सुशासन कायम गर्न नसकेको आरोप समेत लगाउनुभयो।

    बालेन शाहको आह्वानमा भएको आन्दोलनले देशमा ठूलो मोड ल्याएको उल्लेख गर्दै शेर्पाले आन्दोलनका क्रममा देशका ठूला संरचना, सिंहदरबार आसपासका क्षेत्र र केही ठूला होटलमा आगजनी भएको दाबी गर्नुभयो। साथै काठमाडौँ महानगरपालिकाले हालसम्म गरेका कामहरू उल्लेखनीय नभएको पनि उहाँको भनाइ छ।

    अध्यक्ष शेर्पाले बालेन्द्र शाह र केपी शर्मा ओली दुवैलाई ‘अतिवादी शक्ति’को संज्ञा दिनुभयो। भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा विभिन्न नेताहरूका घरमा आगजनी भएको र नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको घरमा पैसा भेटिएको भन्ने विषयमा हाल गठन भएको छानबिन समितिले सत्य–तथ्य बाहिर ल्याउने विश्वास व्यक्त गर्नुभयो।

    दमक– ५ स्थित थ्री इन होटलमा पत्रकारहरूसँगको भेटघाटमा उहाँले जेन्जी आन्दोलनलाई बालेन शाहले प्रधानमन्त्री बन्ने उद्देश्यले हाइज्याक गरेको आरोप लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बन्न योग्य नरहेको धारणा व्यक्त गर्नुभयो।

  • सुरुङ्गा जेसीजको आयोजनामा बहुशाखा संसदीय प्रक्रिया तालिम सम्पन्न

    सुरुङ्गा जेसीजको आयोजनामा बहुशाखा संसदीय प्रक्रिया तालिम सम्पन्न

    सुरुङ्गा, माघ २४ । सुरुङ्गा जेसीजको आयोजनामा बहुशाखा संसदीय बैठक प्रक्रिया सम्बन्धी तालिम कार्यक्रम शनिबार सम्पन्न भएको छ। मिति २०८२ माघ २४ गते सुरुङ्गा जेसीजको सभाहलमा सम्पन्न उक्त तालिममा नेपाल जेसीज वर्ष २०१० का राष्ट्रिय अध्यक्ष तथा वर्ष २०११ का जेसीआई उपाध्यक्ष सिनेटर राजु खत्री प्रमुख प्रशिक्षकका रूपमा सहभागी हुनु भएको थियो।

    कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीज वर्ष २०२६ क्षेत्र ‘क’ का लागि निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी योगेश राजवंशी रहनु भएको थियो। तालिममा १७ वटा जेसीज शाखाका ७५ जना भन्दा बढी सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। तालिमले सहभागीहरूलाई संसदीय प्रक्रिया सम्बन्धी व्यवहारिक ज्ञान, नेतृत्व विकास तथा संस्थागत कार्यकुशलता अभिवृद्धि गर्न उल्लेखनीय योगदान पुर्‍याएको एक सहभागीले बताएका छन्।

    कार्यक्रममा नेपाल जेसीज वर्ष २०२६ का राष्ट्रिय उपाध्यक्षद्वय जेसी देवु बानियाँ र जेसी मेनुका ओली, क्षेत्र ‘क’ का तालिम निर्देशक जेसी लक्ष्मी बराल, जेसीज पूर्व अध्यक्ष समाज झापाका अध्यक्ष जेसी रमेश पोखरेल, विभिन्न शाखाका शाखा अध्यक्षहरू, सुरुङ्गा जेसीजका पूर्व अध्यक्षहरू तथा शाखा पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    तालिम कार्यक्रमको संयोजन सुरुङ्गा जेसीज वर्ष २०२६ की तालिम निर्देशक जेसी सुस्मिता बाँस्कोटाले गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता सुरुङ्गा जेसीज वर्ष २०२६ की अध्यक्ष जेसी मेनुका उप्रेतीले गर्नु भएको थियो। कार्यक्रम सञ्चालन सुरुङ्गा जेसीज वर्ष २०२६ का महासचिव जेसी जेनिस चम्लागाईंले गर्नु भएको थियो।