Blog

  • दमकमा मेसिनले हात काटिँदा एक जना कामदार घाइते

    दमकमा मेसिनले हात काटिँदा एक जना कामदार घाइते

    माघ १८, दमक / झापाको दमक नगरपालिका–४ स्थित चिया दोकान क्षेत्रमा रहेको न्यु पाथिभरा फर्निचर उद्योगमा काम गर्ने क्रममा एक जना कामदार गम्भीर घाइते भएका छन्।

    मिति २०८२ साल १० महिना १७ गते बिहान करिब ०६:१५ बजे, मोरङको रतुवामाई नगरपालिका–४ निवासी वर्ष ४० का विर बहादुर ताजपुरिया काठ चिर्ने काम गरिरहेका बेला अचानक मेसिनले उनको बाँया हात काटिँदा (चुडिएको अवस्थामा) गम्भीर घाइते भएका हुन्।

    घाइते ताजपुरियालाई तत्काल उपचारका लागि आम्दा अस्पताल दमक ल्याइएकोमा सामान्य उपचारपछि थप उपचारका लागि नोबेल अस्पताल विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ।

    उक्त फर्निचर उद्योग दमक–४ निवासी युवराज बुढाथोकीले सञ्चालन गर्दै आएका छन्। घटनाबारे प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

     

  • दमकमा विद्युत सर्टबाट आगलागी, दुई घर पूर्ण रूपमा नष्ट, तीन लाख रुपैयाँ बराबरको क्षति

    दमकमा विद्युत सर्टबाट आगलागी, दुई घर पूर्ण रूपमा नष्ट, तीन लाख रुपैयाँ बराबरको क्षति

    माघ १६ दमक / झापाको दमक नगरपालिका–१, सुर्यदय टोलमा विद्युत सर्टका कारण आगलागी हुँदा दुईवटा कच्ची घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। शुक्रबार दिउँसो स्थानीय ५७ वर्षीय हर्कबहादुर कुमालको काठ र टिनले बनेको एकतले कच्ची घरमा विद्युत सर्ट भई आगलागी भएको हो। आगो नजिकै रहेको उनका ५० वर्षीय भाई हरिबहादुर कुमालको काठको संरचना र टिनको छानो भएको एकतले कच्ची घरमा समेत सल्किएपछि दुवै घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

    आगलागीबाट हर्कबहादुर कुमालको घरभित्र रहेको आधा तोला सुन, खाद्यान्न, लत्ताकपडा, फर्निचर लगायतका सामग्री जलेर करिब चार लाख रुपैयाँ बराबरको क्षति भएको छ। त्यस्तै, हरिबहादुर कुमालको घरमा रहेको खाद्यान्न, लत्ताकपडा र फर्निचर जलेर करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

    दमक नगरपालिका, कमल गाउँपालिका र मोरङको उर्लाबारी नगरपालिकाबाट खटिएका दमकल, इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोली, सशस्त्र प्रहरी बल तथा स्थानीयबासीको संयुक्त प्रयासमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • मदिरा खाएर १ महिनाकी शिशु उपचारमा ल्याइयो, बाल अस्पतालमै हुलदंगा—किओच दमक बाल अस्पताल बदनाम गराउने प्रयास

    मदिरा खाएर १ महिनाकी शिशु उपचारमा ल्याइयो, बाल अस्पतालमै हुलदंगा—किओच दमक बाल अस्पताल बदनाम गराउने प्रयास

    सुजन गाैतम – माघ १६, दमक / झापाको दमकमा रहेको किओच दमक बाल अस्पताल पूर्वी नेपालको एक परिचित र विश्वासिलो बाल अस्पतालका रूपमा परिचित छ। अस्पतालको नाम बदनाम गराउने उद्देश्यले केही गलत आरोप लगाइएको छ। गौरादह नगरपालिका वडा नम्बर ४, मझुवाकी भावना हस्ता टुडु आफ्ना १ महिना २३ दिनकी छोरीको उपचारका लागि किओच दमक बाल अस्पतालको क्याबिन नम्बर ४७ मा भर्ना भएकी थिइन्।

    तर अस्पताल प्रशासनका अनुसार भर्ना भएको समयमा शिशुकी आमा, दिदि र हजुरआमासमेत तीनै जना मदिरा सेवन गरेको अवस्थामा अस्पताल आएका थिए। अस्पतालमा भर्ना भई अस्पतालको क्याबिन नम्बर ४६ मा बस्ने प्रतिमा दर्जिका अनुसार क्याबिनभित्र समेत मदिरा सेवन गरिएको र सो क्रममा अन्य बिरामी तथा स्वास्थ्यकर्मीलाई असहज हुने अवस्था सिर्जना भएपछि उनीहरूलाई अस्पतालबाट बाहिर निकाल्न बाध्य हुनुपरेको उहाँले बताउनुभयो ।

    यहाँ फेरि प्रश्न उठ्न सक्छ आमाले रक्सी सेवन गरेको अवस्थामा नानीको के दोष ? तर  प्रत्यक्षदर्शी प्रतिमा दर्जीका अनुसार आमा, नानी र अर्का एक जना गरी तीनै जना रक्सीको नशामा रहेका कारण आफूले बोकेका सामानसमेत सम्हाल्न नसक्ने अवस्थामा थिए। सोही अवस्थामै उनीहरूलाई अस्पताल भर्ना गरियो। तर भर्ना गरेपछि पनि अस्पतालका अन्य बिरामीले रक्सीको गन्ध र अस्पतालकै क्याबिनमा रक्सी ल्याएर पिएपछि सम्बन्धित व्यक्तिलाई औँठाछाप लगाएर अस्पतालबाट डिस्चार्ज गरिएको उहाँले बताउनुभयो।

    अस्पतालबाट बाहिरिएपछि ती पक्षले अस्पताल प्रशासनमाथि जबर्जस्ती औंठा छाप गर्न लगाएको र शिशुको उपचार नगरेको भन्दै आरोप लगाउँदै हिँडेका थिए । घटनाबारे प्रतिक्रिया दिँदै किओच दमक बाल अस्पतालका सूचना अधिकारी सुनील धिमालले १ महिना २३ दिनकी शिशुलाई अस्पतालबाट निकाल्ने कुनै पूर्वनियोजित निर्णय नभएको स्पष्ट पार्नुभयो। उहाँका अनुसार मदिरा सेवन गरी उपचार प्रक्रियामा लापरवाही गरिएको, शिशुको स्वास्थ्य जोखिममा पर्न सक्ने अवस्था देखिएको तथा अन्य बिरामीले समेत गुनासो गरेपछि बाध्यतावश डिस्चार्ज गरिएको हो।

    धिमालले थप भन्नुभयो, “यदि शिशुलाई केही भइहालेमा त्यसको सम्पूर्ण दोष अस्पतालमाथि आउने अवस्था थियो। त्यसैले बच्चाको सुरक्षाका लागि यस्तो निर्णय लिनुपरेको हो।” साथै, परिवारलाई अरुकुनेै अन्य अस्पतालमा उपचारका लागि लिए लैजान अनुरोधसमेत गरेको उहाँले बताउनुभयो।

    अस्पतालजस्तो संवेदनशील स्थानमा बिरामी तथा आफन्तको सानो लापरवाहीले पनि गम्भीर दुर्घटना हुनसक्ने यो घटना एउटा उदाहरण बनेको छ। अस्पताल प्रशासनले यस्ता गलत आरोप लगाएर संस्थाको छवि बिगार्ने कार्यप्रति सज्जक हुन आवश्यक रहेको देखिन्छ । यो घटनाले उपचारका क्रममा अस्पताल र बिरामी दुवै पक्षको जिम्मेवारी बराबर महत्त्वपूर्ण हुने तथ्यलाई पुनः उजागर गरेको छ।

  • नेपाली कांग्रेस झापा–५ द्वारा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका प्रकाश प्रसाईंमाथि कारबाही

    नेपाली कांग्रेस झापा–५ द्वारा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका प्रकाश प्रसाईंमाथि कारबाही

    माघ १४, दमक / नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ र त्यसअन्तर्गतका सबै इकाई नेतृत्वले संयुक्त विज्ञप्ति जारी गर्दै तत्कालीन दमक नगर सभापति प्रकाश प्रसाईंलाई पार्टी अनुशासनको कारबाही गरिएको जानकारी दिएका छन्।

    नेपाली कांग्रेस वडा, नगर, प्रदेश (ख) तथा प्रतिनिधिसभा क्षेत्रीय समिति झापा–५ को संयुक्त बैठकको निर्णयअनुसार प्रतिनिधिसभा सदस्यको उम्मेदवारी मनोनयन मिति माघ ६ गतेदेखि लागू हुने गरी प्रसाईंलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरिएको आज सार्वजनिक विज्ञप्तिमा उल्लेख गरिएको छ।

    विज्ञप्तिअनुसार मिति २०८२ माघ ६ गते तत्कालीन दमक नगर सभापति प्रकाश प्रसाईंले नेपाली कांग्रेस परित्याग गरी अर्को दलमा प्रवेश गरेपछि पार्टी विधान र निर्णयअनुसार अनुशासनात्मक कारबाही प्रक्रिया अघि बढाइएको हो।

    नेपाली कांग्रेस सुशासनसहित समुन्नत नेपाल निर्माणको अभियानमा दृढ संकल्पित रहेको उल्लेख गर्दै दमक नगर कार्यसमितिले पार्टी हितविपरीत गतिविधि गर्ने जो–कोहीमाथि कडा कारबाही गरिने स्पष्ट पारेको छ।

    प्रेस विज्ञप्तिमा पार्टीको दोस्रो विशेष महाधिवेशनबाट पारित “बलियो कांग्रेस, बदल्छौं देश” भन्ने मूल नारालाई आत्मसात गर्दै आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

    लोकतान्त्रिक पार्टीमा प्रवेश र बहिर्गमन स्वाभाविक प्रक्रिया भए पनि पार्टी हितविरुद्धका गतिविधिप्रति सचेत रहनुपर्ने आवश्यकता औंल्याउँदै वडा तहदेखि क्षेत्रभरिका कार्यकर्तालाई भ्रामक, कपोलकल्पित तथा प्रतिगमनकारी गतिविधिबाट सजग रहन विज्ञप्तिमार्फत आग्रह गरिएको छ।

    विज्ञप्तिमा वडा नं. ६ का वडा सभापति मणिकुमार बढाथोकी, कार्यवाहक नगर सभापति प्रेम भट्टराई, प्रदेश (ख) सभापति रवि केसी न्यौपाने तथा प्रतिनिधिसभा क्षेत्र नं. ५ झापाका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीको हस्ताक्षर रहेको छ।

  • निर्वाचन नजिकिँदै जाँदा मेयर थापामाथि योजनाबद्ध दुष्प्रचार, ‘भ्रम फैलाएर राजनीति गर्नेहरूको खेल’ भन्दै कडा प्रतिवाद

    निर्वाचन नजिकिँदै जाँदा मेयर थापामाथि योजनाबद्ध दुष्प्रचार, ‘भ्रम फैलाएर राजनीति गर्नेहरूको खेल’ भन्दै कडा प्रतिवाद

    माग १४ , दमक / दमक नगर प्रमुख तथा राप्रपा कोशी प्रदेश अध्यक्ष रामकुमार थापाले पछिल्ला दिनहरूमा आफूलाई लक्षित गरी भइरहेको मिडियाबाजी र दुष्प्रचारप्रति कडा आक्रोश व्यक्त गरेका छन्। निर्वाचन नजिकिँदै जाँदा आफ्नो नाम जोडेर योजनाबद्ध रूपमा भ्रम फैलाउने काम भइरहेको भन्दै उनले यसलाई स्पष्ट राजनीतिक बदनियतको परिणाम बताएका छन्।

    केही दिनअघि जन–जी आन्दोलनका क्रममा आफ्नो घर जलाउनेहरूले नै पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पार्टी कार्यालय बनाउन घर उपलब्ध गराएको भन्ने अभिव्यक्ति दिएको भन्दै मिडियामा गरिएको प्रचारप्रति पनि मेयर थापा असन्तुष्ट देखिएका छन्। उनले आफूले त्यस्तो अभिव्यक्ति कहिल्यै नदिएको स्पष्ट पार्दै, तथ्यविहीन र मनगढन्ते समाचारमार्फत जनतालाई गुमराहमा राख्ने प्रयास भइरहेको आरोप लगाए।

    यसै सन्दर्भमा केही फेसबुक आइडीबाट आफ्नो नाम जोडेर सामग्रीहरू पोस्ट गरिएकोप्रति गम्भीर आपत्ति जनाउँदै उनले सामाजिक सञ्जाललाई हतियार बनाएर राजनीतिक चरित्र हत्या गर्ने प्रयास भइरहेको बताए। विगतमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहभागी भएका सार्वजनिक कार्यक्रमका तस्बिरहरू प्रयोग गरी आगामी निर्वाचनसँग जोडेर एमालेसँग आफ्नो सम्बन्ध देखाउने प्रयास गरिएको भन्दै उनले यसलाई सुनियोजित दुष्प्रचारको संज्ञा दिएका छन्।

    मेयर थापाले कडा शब्दमा भने, “मेरो पार्टी स्पष्ट छ, मेरो उम्मेदवार स्पष्ट छ। झापा क्षेत्र नम्बर ५ मा राप्रपाका आधिकारिक उम्मेदवार लक्ष्मीप्रसाद संग्रौला नै हुन्। तर केही तत्वहरू मतदाता भ्रमित पार्न निरन्तर सक्रिय छन्।” उनले यस्ता गतिविधिले स्वस्थ राजनीतिक प्रतिस्पर्धालाई कमजोर बनाउने चेतावनी दिँदै मतदातालाई अफवाह र भ्रमको पछि नलाग्न आग्रह गरेका छन्।

    साथै, राप्रपाको चुनाव चिन्ह ‘हलो’ मा मतदान गरी उम्मेदवार लक्ष्मीप्रसाद संग्रौलालाई विजयी गराउन अपिलसमेत गरेका छन्। स्थानीय राजनीतिमा प्रभावशाली व्यक्तित्व मानिने मेयर थापामाथि केन्द्रित यो दुष्प्रचारले झापा क्षेत्र नम्बर ५ को चुनावी माहोल थप तनावपूर्ण बन्दै गएको संकेत देखिएको छ।

  • दमकको ‘आमा डेन्टल’ दाँत उपचारको भरपर्दो केन्द्रका रूपमा स्थापित

    दमकको ‘आमा डेन्टल’ दाँत उपचारको भरपर्दो केन्द्रका रूपमा स्थापित

    माघ १४, दमक / झापाको दमकमा रहेको आमा डेन्टल क्लिनिक दाँत तथा मुखसम्बन्धी उपचारका लागि एक परिचित र विश्वासिलो नाम बनेको छ। विगत १० वर्षदेखि निरन्तर रूपमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको आमा डेन्टलले दमकवासीको दाँत उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हटाएको छ।

    २०७२ सालमा स्थापना भएको आमा डेन्टलको मुख्य कार्यालय दमक–५ मा रहेको छ भने हाल दमक–१ (रवि स्ट्यान्ड) मा पनि शाखा सञ्चालनमा आएको छ। क्लिनिकका सञ्चालक अर्जुन कुमार श्रेष्ठ ले आमा डेन्टलले अनुभवी चिकित्सकमार्फत आधुनिक र भरपर्दो सेवा दिँदै आएको जानकारी दिनुभयो।

    आमा डेन्टलमा डा. प्रनिश श्रेष्ठ, डा. सुष्मिता नेपाल, डा. मीरा आचार्य, डा. साहिद अली लगायतका दक्ष तथा अनुभवी चिकित्सकहरूले सेवा प्रदान गर्दै आएका छन्।

    क्लिनिकमा दाँतसम्बन्धी सम्पूर्ण उपचार सेवा उपलब्ध रहेको छ। जसअन्तर्गत हल्लिएको वा फुकाल्नुपर्ने दाँतको उपचार, सास गनाउने समस्या समाधान, दाँत सफा गर्ने, दाँत भर्ने तथा बाँध्ने (क्याप/ब्रिज), साथै दाँत र मुखसम्बन्धी सबै प्रकारका समस्याको समाधान गरिँदै आएको छ।

    आमा डेन्टलले दमक तथा आसपासका बिरामीलाई स्थानीयस्तरमै गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएकोले दाँतसम्बन्धी समस्या लिएर अब बाहिर जानु नपर्ने अवस्था बनेको छ।

  • जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग

    जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग

    माघ १२, दमक  / दमक स्थित Crimson Universal Educational Consultancy का सञ्चालक विशाल सिटौलाले आफ्नो जन्मदिनको अवसरमा सामाजिक उत्तरदायित्व वहन गर्दै गौरीगञ्ज गाउँपालिका–१ स्थित श्री बालकल्याण माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गर्नुभएको छ।

    आइतबार आयोजित एक कार्यक्रमका बीच सिटौलाले करिब ४० हजार रुपैयाँ बराबरका स्कुल ब्याग तथा विभिन्न खेलकुद सामग्रीहरू विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो। फजुल खर्चलाई निरुत्साहित गर्दै जन्मदिनलाई अर्थपूर्ण सामाजिक कार्यमार्फत मनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो।

    कार्यक्रममा Crimson Universal Educational Consultancy Damak का सञ्चालक विवेक सिटौला, खानेपानी उपभोक्ता समितिका अध्यक्ष रवी न्यौपाने, दमक क्याम्पसका सभु अध्यक्ष भुवन बस्नेत, गौरीगञ्ज गाउँपालिका–१ का वडा अध्यक्षलगायतको उपस्थिति रहेको थियो। विद्यालय परिवारले सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक कार्यले विद्यार्थीहरूको मनोबल बढ्ने विश्वास व्यक्त गरेको छ।