Blog

  • लेखनाथ आधारभूतका ८० बिपन्न विद्यार्थीलाई पहिलो पाइलाद्वारा शैक्षिक सामग्री वितरण

    लेखनाथ आधारभूतका ८० बिपन्न विद्यार्थीलाई पहिलो पाइलाद्वारा शैक्षिक सामग्री वितरण

    गौरादह, मङ्सिर १२ / बैगुन्धुरा–९, खजुरबारि स्थित लेखनाथ आधारभूत विद्यालयमा अध्ययनरत बिपन्न वर्गका ८० जना विद्यार्थीलाई शैक्षिक, खेलकुद तथा खाजाको सामाग्री वितरण गरिएको छ। पहिलो पाइला नेपाल दमक शाखाले आज एक कार्यक्रमका बीच उक्त सामग्री हस्तान्तरण गरेको हो।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलमबहादुर निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गौरादह नगरपालिका–९ का वडासदस्य केदार धिताल प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बिपन्न वर्गका विद्यार्थी अध्ययनरत विद्यालयमा पहिलो पाइलाले देखाएको सहयोगप्रति प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तर साथको अपेक्षा व्यक्त गर्नुभयो।

    कार्यक्रममा पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष राजु निरौला, केन्द्रीय सदस्य मेघनाथ फुयाल, सल्लाहकार छवि घिमिरे, उपाध्यक्ष लबराज खड्का, सदस्य देबु गर्तौला, पुजा दाहाल, सोनु चौधरी, जुनु रेग्मी, रक्षा पाण्डे, निशा अधिकारी, शुस्मा कार्की लगायतको उपस्थिति रहेको थियो। विद्यालयका प्रधानाध्यापक अर्जुन पौडेलले स्वागत मन्तव्य राख्दै सहयोगले विद्यार्थीको उत्साह वृद्धि भएको बताउनुभयो। साथै उपाध्यक्ष लबराज खड्का र केन्द्रीय सदस्य मेघनाथ फुयालले संस्थाको क्रियाकलापबारे प्रकाश पार्नुभयो।

    कार्यक्रममा ३०० कपी, पेन्सिल, दिवाकालिन खाजा, एक थान फुटबल र केही पुस्तक हस्तान्तरण गरिएको सदस्य पुजा दाहालले जानकारी दिनुभयो।यस कार्यक्रमको सौजन्य दमक–५ स्थित मनदिप मोबाइल तथा हनुमान पाउरोटी उद्योगले गरेको बताइएको छ।

  • कमल नगर अस्पतालमा आधुनिक दन्त सेवा निरन्तर, स्थानीयले पाए सहज र गुणस्तरीय उपचार

    कमल नगर अस्पतालमा आधुनिक दन्त सेवा निरन्तर, स्थानीयले पाए सहज र गुणस्तरीय उपचार

    मङ्सिर ११, कमल / कमल गाउँपालिका–०२, तोपगाछीस्थित कमल नगर अस्पतालमा आज (बिहीबार) पनि दन्त सेवा नियमित रूपमा सञ्चालन भयो। हरेक आइतबार र बिहीबार उपलब्ध गराइँदै आएको दन्त सेवामा आज दमक हस्पिटल एण्ड रिसर्च सेन्टरबाट खटिएको विशेषज्ञ टोलीले दन्त परीक्षण, उपचार तथा परामर्श प्रदान गर्यो।

    अस्पतालमा हालै अत्याधुनिक डेन्टल चेयर र कम्प्रेसर जडान भएपछि दन्त सेवा थप व्यवस्थित र प्रभावकारी बनेको जनाइएको छ। स्वास्थ्य सेवा विस्तारका लागि कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको पहल र स्वास्थ्य सेवा विभागमार्फत निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको सहयोगमा उपलब्ध उपकरणहरूले गाउँमै गुणस्तरीय सेवा पाउने वातावरण निर्माण भएको अस्पतालले जनाएको छ।

    आजको सेवामा दन्त विशेषज्ञ डा. टक न्यौपाने नेतृत्वको प्राविधिक टोलीले दन्त जाँच, रोग पहिचान, उपचार, स्क्रिनिङ तथा परामर्श प्रदान गर्यो। आवश्यक बिरामीको दाँत सुरक्षित रूपमा निकालिएको अस्पतालले जानकारी दिएको छ।

    सेवाग्राहीको भीड बढेपनि सेवा प्रभावकारी र द्रुत रहेकाले गुणस्तरमा असर नपरेको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य तथा कमल–०२ का वडा अध्यक्ष अशोक सुब्बाले बताए।

    जाँचका लागि आएका स्थानीयले गाउँमै यस प्रकारको गुणस्तरीय दन्त सेवा उपलब्ध हुनु “प्रशंसनीय र जनमैत्री कदम” भएको प्रतिक्रिया दिएका छन्।

    वडा अध्यक्ष सुब्बाले स्वास्थ्य सेवा “जनताको घरदैलोमै पुर्‍याउने लक्ष्य” अनुसार आधुनिक दन्त सेवा नियमित सञ्चालन हुनु स्थानीयस्तरको महत्वपूर्ण उपलब्धि भएको बताए। उनले डा. टक न्यौपाने तथा दमक हस्पिटल एण्ड रिसर्च सेन्टरको टोलीको निरन्तर योगदानले सेवा अझ सहज र विश्वसनीय बन्दै आएको उल्लेख गरे।

    अस्पताल प्रमुख दिपक दाहालका अनुसार नियमित स्वास्थ्य सेवासँगै दन्त जाँच, उपचार, स्क्रिनिङ, परामर्श लगायत आवश्यक प्रक्रिया अब कमल नगर अस्पतालमै सहज रूपमा उपलब्ध हुनेछ।

    दन्त विशेषज्ञ डा. टक न्यौपानेका अनुसार दाँत किराले खाने, दाँत हल्लिने, दुख्ने, मसिना समस्या तथा मुखसम्बन्धी अन्य गुनासो लिएर बिरामीहरू आउने गरेका छन्।

  • दमकमा रोयल पिज्जाको ‘गेम जोन’ सञ्चालन, बालबालिकादेखि युवासम्म आकर्षित

    दमकमा रोयल पिज्जाको ‘गेम जोन’ सञ्चालन, बालबालिकादेखि युवासम्म आकर्षित

    दमक, मङ्सिर ११ / दमक–५ दिपिनी मार्गमा अवस्थित रोयल पिज्जा हाउसले ग्राहकलाई नयाँ अनुभव दिने उद्देश्यका साथ ‘गेम जोन’ सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। क्याफे र रेस्टुरेन्टहरू धमाधम खुल्दै गएको अवस्थामा फरक आकर्षण सिर्जना गर्न सुरु गरिएको गेम जोन हाल बालबालिकादेखि युवा पुस्तासम्मको मुख्य केन्द्र बनिरहेको छ।

    पब्जी, फिफा, टेकन, रेस्लिङ तथा ड्राइभिङ जस्ता लोकप्रिय eSports गेम खेल्न सकिने यो स्थानमा एकैपटक तीनवटा समूहले प्रतियोगितात्मक रूपमा खेल्ने सुविधा रहेको संचालक गौतमले बताए। उनका अनुसार नेपालमा पनि पछिल्लो समय eSports प्रगतिशील रूपमा अघि बढिरहेका छन् र सरकारले समेत यस क्षेत्रलाई प्राथमिकतामा राखेकाले दमकमा पनि यस्ता प्लेटफर्म आवश्यक ठानिएको हो।

    मोबाइलका कारण सामाजिक भेटघाट घट्दै गएको, बालबालिका तथा युवामा एक्लोपन र तनावजस्ता समस्या बढ्न थालेको अवस्थालाई मध्यनजर गर्दै सामूहिक रूपमा गेम खेल्ने, साथीभाइ भेट्ने र तनाव कम गर्ने स्थानको आवश्यकता रहेकाले यो सुविधा सुरु गरिएको गौतमले जानकारी दिए।

    रोयल पिज्जामा गेम मात्र होइन, चिया, कफी, खाजा तथा अन्य परिकारहरू मजासँग सेवन गर्दै मनोरञ्जन लिन सकिने व्यवस्था गरिएको छ। साथै, NPL तथा अंतर्राष्ट्रिय फुटबलजस्ता लाइभ गेमहरू ठूलो स्क्रीनमा हेर्न मिल्ने भएकाले खेलप्रेमीहरूका लागि यो थप आकर्षण बनेको छ।

    सगरमाथा पेट्रोल पम्पबाट करिब ३०० मिटर भित्र रहेको रोयल पिज्जाको गेम जोन अहिले दमकको नयाँ ‘ह्याङआउट स्पट’ का रूपमा लोकप्रिय बन्दै गएको छ।

  • दमकमा लुथरन विश्व महासंघद्वारा उपकरण हस्तान्तरण

    दमकमा लुथरन विश्व महासंघद्वारा उपकरण हस्तान्तरण

    दमक, मङ्सिर ११ / शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त (UNHCR) अन्तर्गतको साझेदार संस्था लुथरन विश्व महासंघ (LWF) ले दमक नगरपालिकालाई तथा इलाका प्रहरी कार्यालय दमकलाई आवश्यक उपकरणहरू हस्तान्तरण गरेको छ।

    LWF ले दमक नगरपालिकालाई ४ थान मोटरसाइकल, १० थान डेक्सटप कम्प्युटर, २ थान प्रिन्टर, १० थान अफिस टेवल र १० थान अफिस कुर्सी उपलब्ध गराएको हो। सो उपकरणहरू नगरप्रमुख रामकुमार थापा सहितको टोलीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो।

    त्यसैगरी इलाका प्रहरी कार्यालय दमकलाई ५ थान मोटरसाइकल, ६ थान डेक्सटप कम्प्युटर, १ थान प्रिन्टर, ४ थान अफिस टेवल र ४ थान अफिस कुर्सी प्रदान गरिएको LWF ले जनाएको छ। उपकरणहरू प्रमुख किशोर लम्साल लाई हस्तान्तरण गरिएका हुन्।

    इलाका प्रहरी कार्यालयले प्राप्त मोटरसाइकलमध्ये १ थान मोटरसाइकल ट्राफिक प्रहरी कार्यालयलाई उपलब्ध गराउने व्यवस्था गरिएको दमक नगरपालिकाका नगर प्रमुख राम कुमार थापाले जानकारी दिनुभयाे । यस सहयोगले स्थानीय सेवा प्रबाह, प्रशासनिक कार्यसम्पादन र सुरक्षा व्यवस्थामा थप सशक्तता आउने अपेक्षा गरिएको छ।

  • कमल गाउँपालिकामा विद्यालय स्वास्थ्य जाँच अन्तर्गत आँखा परीक्षण कार्यक्रम सुरु

    कमल गाउँपालिकामा विद्यालय स्वास्थ्य जाँच अन्तर्गत आँखा परीक्षण कार्यक्रम सुरु

    मङ्सिर १०, कमल / कमल गाउँपालिकाले विद्यार्थी स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै सञ्चालन गरेको विद्यालय स्वास्थ्य जाँच कार्यक्रमअन्तर्गत आज मङ्सिर १० गतेदेखि आँखा परीक्षण तथा भिजन स्क्रिनिङ क्याम्प औपचारिक रूपमा सुरु गरिएको छ। कार्यक्रम मेची आँखा अस्पताल, सैनिक मोड झापाको प्राविधिक सहयोगमा श्री महेन्द्र रत्न माध्यमिक विद्यालय, कमल–२, समयगढबाट सुरु गरिएको हो।

    क्याम्पको शुभारम्भ कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले गर्नुभयो। उहाँले बालबालिकाको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै आँखा समस्या समयमै पहिचान र उपचार गर्न यस्तो अभियान महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले भनिन्, “कमल गाउँपालिकालाई बालमैत्री गाउँपालिका बनाउने हाम्रो लक्ष्यअन्तर्गत बालबालिकाको आँखा स्वास्थ्य अत्यन्त महत्वपूर्ण पक्ष हो। विद्यालयमै स्वास्थ्य सेवा पु¥याएर विद्यार्थीको समस्या समयमै पहिचान गर्नु नै यो अभियानको उद्देश्य हो।” उपाध्यक्ष तिवारीले मेची आँखा अस्पतालको प्राविधिक सहयोगप्रति आभार व्यक्त गर्दै स्वास्थ्य सेवाका यस्ता पहललाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।

    उद्घाटन कार्यक्रममा कमल–२ वडा सदस्य भिमसिंह कार्कि, महेन्द्र रत्न मा.वि.का प्रधानाध्यापक बालकृष्ण सङ्रौला, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवनकुमार चाम्लिङ्ग, कमल नगर अस्पतालका प्रमुख दीपक दाहाल, मेची आँखा अस्पतालका कार्यक्रम फोकल पर्सन युवराज बोहोरा सहित शिक्षक, विद्यार्थी तथा अभिभावकको उल्लेखनीय उपस्थिति थियो।

    बुधबार सम्पन्न क्याम्पमा ३६४ विद्यार्थीको आँखा परीक्षण गरिएको विद्यालयले जनाएको छ। परीक्षणमा ६ जनामा चस्मा आवश्यक पर्ने समस्या पहिचान गरिएको छ भने ९ जनालाई थप परीक्षण तथा उपचारका लागि मेची आँखा अस्पतालमा रिफर गरिएको छ।

    विद्यालय व्यवस्थापनका अनुसार धमिलो देखिने, आँखाबाट पानी आउने, दृष्टि कमजोर हुने जस्ता लक्षण भएका विद्यार्थीको समस्या प्राथमिक चरणमै पहिचान हुनु अभियानको मुख्य उपलब्धि हो।

    कार्यक्रम सफल बनाउन मेची आँखा अस्पतालको विशेषज्ञ टोली, कमल नगर अस्पताल, स्थानीय समुदाय तथा अभिभावकहरूले दिएको साथप्रति विद्यालय व्यवस्थापन समितिले आभार व्यक्त गरेको छ।

    वडा सदस्य भिमसिंह कार्किले भने, “आजको क्याम्पले विद्यार्थीको आँखासम्बन्धी स्वास्थ्यबारे महत्वपूर्ण तथ्य उजागर गरेको छ।आगामी दिनमा अन्य विद्यालयहरूमा पनि यस्तो अभियान निरन्तर सञ्चालन हुनेछ।” विद्यालय स्वास्थ्य अभियानलाई निरन्तरता दिँदै आगामी मङ्सिर १२ गते श्री कमला–मदन आश्रित स्मृति माध्यमिक विद्यालयमा अर्को स्वास्थ्य शिविर सञ्चालन हुने जनाइएको छ।

  • दमकमा डिजिटल हिंसा अन्त्य गर्न बृहत् र्‍याली, १६ दिने अभियान प्रारम्भ

    दमकमा डिजिटल हिंसा अन्त्य गर्न बृहत् र्‍याली, १६ दिने अभियान प्रारम्भ

    दमक । ‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’ तथा ‘प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ’ नारालाई केन्द्रबिन्दु बनाएर आज दमकमा बृहत् र्‍याली निकालिएको छ।

    दमक नगरपालिकाबाट निस्किएको र्‍याली नगर परिक्रमा गर्दै पुनः नगरपालिकमै आएर कोणसभासहित सम्पन्न भयो। र्‍यालीमा दमक नगर प्रमुख रामकुमार थापा, उप–प्रमुख रेगिना भट्टराई प्रसाई, विभिन्न सामाजिक संघ–संस्था, सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका संस्था गरी दर्जनौँ संगठनको सहभागिता थियो। सहभागीहरूले आफ्ना पहिचानसहित ब्यानर, प्ले–कार्ड तथा पोषाकसहित उपस्थित भएर लैङ्गिक समानता र डिजिटल सुरक्षासम्बन्धी सन्देश प्रकट गरेका थिए।

    मंगलबारदेखि सुरू भएको ‘१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान’ डिसेम्बर १० सम्म विविध कार्यक्रमसहित सञ्चालन हुने छ। अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस (नोभेम्बर २५) कै अवसर पारेर हरेक वर्षझैँ यो अभियान दमकमा यस वर्ष पनि व्यापक रूपमा मनाइँदैछ।

    यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’ रहेकामा राष्ट्रिय नारा ‘प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ’ तय गरिएको छ।

    र्‍यालीमा सहभागी दमकस्थित आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानकी एच.ए. विद्यार्थी आस्मा भट्टराईका अनुसार, प्रविधिको दुरुपयोग बढ्दो अवस्थामा रहेकोले आम नागरिकलाई सचेत बनाउन यस्ता अभियान अत्यन्तै महत्वपूर्ण रहेका छन्। “आफूलाई कसरी सुरक्षित राख्ने र गलत प्रविधिगत गतिविधिबाट जोगिने भन्ने सन्देश समाजमा पुऱ्याउन र्‍याली प्रभावकारी हुन्छ,” उनले भनिन्।

    त्यसैगरी, दमक नगर बाल–सञ्जालकी सचिव कीष्मिका पोखरेलले पछिल्लो समयमा डिजिटल माध्यमबाट महिलामाथि प्रलोभन, धम्की र गलत प्रयोजनका सन्देशहरू बढिरहेको बताउँदै यस्तो हिंसालाई रोक्नसरकारी संयन्त्र अझ सक्रिय हुनुपर्नेमा जोड दिइन्।

    कोणसभालाई सम्बोधन गर्दै नगर प्रमुख रामकुमार थापाले दमकका प्रत्येक बस्तीमा यो अभियान पुगोस् र सामाजिक रूपान्तरणमा ठोस प्रभाव पारोस् भन्ने अपेक्षा व्यक्त गरे। “लैङ्गिक आधारमा विभेद गर्नु अपराध हो । त्यसो गर्ने जो कोही कानूनी कारबाहीको दायरामा पर्छ,” उनले चेतावनी दिए।

    उप–प्रमुख रेगिना भट्टराई प्रसाईले भौतिक हिंसाकाभन्दा डिजिटल हिंसा तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै यसको रोकथामका लागि नगरपालिकाले वार्षिक कार्यक्रममार्फत निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

    संयुक्त राष्ट्रसंघले सन् १९९९ मा नोभेम्बर २५ लाई ‘महिला हिंसा अन्त्य दिवस’ घोषणा गरेपछि विश्वभर १६ दिने अभियान मनाइँदै आएको हो। नेपालमा भने यो दिवस वि.सं. २०५४ सालदेखि औपचारिक रूपमा मनाइँदै आएको छ।

    वार्षिक रूपमा अभियान चले पनि बोक्सी आरोप, छाउपडी, दाइजो, छुवाछुतजस्ता कुप्रथाबाट उत्पन्न हिंसा अझै पूर्ण रूपमा अन्त्य हुन सकेको छैन, जसलाई न्यूनिकरण गर्न यस वर्षको अभियानले डिजिटल र सामाजिक दुवै माध्यमबाट व्यापक जनचेतना फैलाउने लक्ष्य लिएको छ।

  • कमल–६ खयरबारीमा मलामी विश्राम कक्षसहितको दुईतले चौतारो निर्माणको शिलान्यास

    कमल–६ खयरबारीमा मलामी विश्राम कक्षसहितको दुईतले चौतारो निर्माणको शिलान्यास

    कमल, मंसिर ९ / झापाको कमल गाउँपालिका–६ खयरबारीमा आज एक औपचारिक समारोहका बीच चौतारो निर्माणको शिलान्यास सम्पन्न गरिएको छ। खयरबारी युवा क्लबको आयोजनामा रतुवा नदीको पूर्वी किनारास्थित निर्माणाधीन मुक्तिघाट परिसरभित्र मलामी विश्राम कक्षसहितको दुईतले चौतारो निर्माण कार्य शुभारम्भ गरिएको हो।

    “खयरबारी युवा क्लबको पहिचान—मुक्तिघाट बनाउने हाम्रो अभियान” भन्ने नाराका साथ सक्रिय युवा टोलीले विवाह पञ्चमीको विशेष अवसर पारेर भूमि पूजन तथा शिलान्यास कार्यक्रम सम्पन्न गरेको हो।

    शिलान्यास क्लबका अध्यक्ष राम शाही ठकुरी, कमल–६ का वडाध्यक्ष नरेन्द्र भट्टराई, वडा सदस्य ओम पराजुली तथा जग्गादाता रत्नकुमारी खनालले संयुक्त रुपमा गर्नुभएको थियो। क्लबका अनुसार निर्माणाधीन चौतारो दुईतले हुनेछ, जसमा मलामी विश्राम कक्ष र आवश्यक सामग्री भण्डारणका लागि स्टोर कक्ष पनि रहनेछ।

    चौतारो निर्माणका लागि दशैंमा आयोजित चिठ्ठा कार्यक्रम, तिहारमा खेलिएको देउसी–भैलो तथा स्थानीयवासी, शुभचिन्तक र सहयोगी संस्थाबाट संकलित रकम प्रयोग गरिने क्लबले जनाएको छ। करिब १७ लाख रुपैयाँ लागतमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको क्लब अध्यक्ष ठकुरीले जानकारी दिनुभयो।

    शिलान्यास कार्यक्रममा टोल विकास संस्था, स्थानीय संघ–संस्था, समाजसेवी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।