Blog

  • बारम्बार बमको त्रास फैलाउने खगेन्द्र खरेल झापाबाट पक्राउ

    बारम्बार बमको त्रास फैलाउने खगेन्द्र खरेल झापाबाट पक्राउ

    पुस २५, झापा / झापामा ‘प्रेसर कुकर बम’ राखिएको भन्दै त्रास फैलाउने घटनामा संलग्न व्यक्ति पक्राउ परेका छन्। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बम राखेर आतंक मच्चाएको आरोपमा सञ्जय भन्ने खगेन्द्र खरेललाई प्रहरीले पक्राउ गरेको हो।

    कनकाई नगरपालिका–४ स्थित कनकाई पुल नजिक विस्फोटक पदार्थ राखी सर्वसाधारणमा आतंक फैलाएको आरोपमा ५५ वर्षीय खरेललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनी कनकाई नगरपालिका–८ का स्थायी बासिन्दा हुन्।

    झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार खरेल यसअघि पनि पटक–पटक यस्तै प्रकृतिका घटनामा संलग्न भई पक्राउ परेका र सजाय भोगिसकेका व्यक्ति हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।प्रहरीले यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई कडा कारबाही गरिने चेतावनी दिँदै सर्वसाधारणलाई शंकास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ।

  • खयरबारी युवा क्लबद्वारा मुक्तिघाट निर्माण अभियान, दुईतले मल्टीपर्पोज भवन निर्माण हुँदै

    खयरबारी युवा क्लबद्वारा मुक्तिघाट निर्माण अभियान, दुईतले मल्टीपर्पोज भवन निर्माण हुँदै

    पुष २३, दमक / खयरबारी युवा क्लबको पहलमा “खयरबारी युवा क्लबको पहिचान–मुक्तिघाट बनाउने हाम्रो अभियान” भन्ने उद्देश्यसहित मुक्तिघाट तथा बहुउद्देश्यीय भवन निर्माण कार्य सुरु गरिएको छ। २०८२ साल मङ्सिर ९ गते शिलान्यास गरिएको उक्त भवन निर्माणका लागि रत्नकुमारी खनालले जग्गादान गर्नुभएको हो। भवन निर्माणको अनुमानित लागत ३० लाख रुपैयाँ रहेको क्लबले जनाएको छ।

    क्लबका अनुसार लागत जुटाउन बडा दशैंमा चिठा कार्यक्रम, शुभ दीपावलीमा देउसी–भैलो, तथा तेस्रो चरणमा देश–विदेशमा रहनुभएका सहयोगीहरूलाई आह्वान गरी रकम सङ्कलन गरिएको हो। हालसम्म १० लाख रुपैयाँ सङ्कलन भइसकेको र सहयोग रकम आउने क्रम जारी रहेको अध्यक्ष राम शाही ठकुरीले जानकारी दिनुभयो। तत्कालका लागि दुईतले मल्टीपर्पोज भवन निर्माण गरिनेछ। भवनको माथिल्लो तलामा फलैचा तथा खाजा खाने व्यवस्था, र तल्लो तलामा ट्वाइलेट, बाथरूम तथा इस्टर रुम रहने योजना रहेको छ। निर्माण कार्य आउँदो वैशाखसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

    क्लबले सहयोगी दाताहरूलाई प्रोत्साहनस्वरूप सम्मानको व्यवस्था पनि गरेको छ। रु. १ देखि ४,९९९ सम्म सहयोग गर्ने दातालाई उद्घाटन सत्रमा सम्मान, रु. ५,००० देखि ९,९९९ सम्म सहयोग गर्ने दातालाई कदरपत्रसहित सम्मान, रु. १०,००० वा सोभन्दा माथि सहयोग गर्ने दातालाई शिलालेखमा नाम उल्लेख गरी कदरपत्रसहित सम्मान गरिने जनाइएको छ।

    अध्यक्ष ठकुरीका अनुसार यस अभियानमा स्थानीय सरकारबाट हालसम्म कुनै आर्थिक सहयोग प्राप्त नभएको र समुदाय तथा शुभेच्छुकहरूको सहयोगमै निर्माण अघि बढाइएको छ। क्लबले मुक्तिघाट निर्माणलाई सामाजिक उत्तरदायित्वको महत्वपूर्ण परियोजनाका रूपमा लिँदै सबै सहयोगी हातहरूलाई साथ दिन पुनः आह्वान गरेको छ।

  • जाडोसँगै दमकमा भक्का व्यापार फस्टाउँदै, स्वाद र परम्पराको पहिचान पुनः चर्चामा

    जाडोसँगै दमकमा भक्का व्यापार फस्टाउँदै, स्वाद र परम्पराको पहिचान पुनः चर्चामा

    पुस २३, दमक / जाडो मौसम सुरु भएसँगै झापाको दमकका विभिन्न स्थानमा भक्का व्यापारीहरू देखिन थालेका छन्। पूर्वी तराईमा लोकप्रिय परिकारका रूपमा चिनिने भक्का यतिखेर जाडो बढेसँगै धमाधम बिक्री हुन थालेको छ।

    चामललाई मसिनो गरी पिधेर बनाइएको पिठोबाट तयार गरिने भक्का साधारण परिकार हो। यसमा अन्य सामग्री मिसाउन नपर्ने भएकाले भक्काको स्वाद सर्वत्र एउटै हुने गर्छ। माटोको भाँडामा पानी तताएर त्यसको बाफबाट भक्का पकाइन्छ। पानी उमालिएको भाँडाको मुखमा बीचमा प्वाल भएको माटोको फन्गेलो राखिन्छ, जसबाट उम्लेको पानीको बाफ बाहिर निस्कन्छ। सोही बाफको प्रयोग गरी सानो कचौरामा राखिएको चामलको पिठो २–३ मिनेटमा पकाएर भक्का तयार गरिन्छ।

    यसरी तयार भएको भक्का नुन–खुर्सानी, अचार, चिया वा दूधसँग आ–आफ्नो स्वादअनुसार खाने गरिन्छ। भक्का व्यापारीहरू बिहान ३–४ बजेदेखि नै सडक किनारमा आएर बिक्री सुरु गर्छन्। बिहान करिब १० बजेसम्ममा उनीहरूले पिसाएर ल्याएको पिठो सकिने गरेको र यस अवधिमा करिब ३ हजार रुपैयाँसम्मको व्यापार हुने व्यापारीहरू बताउँछन्।

    पछिल्लो समय भक्कालाई राजबंशी समुदायले आफ्नो जातीय पहिचान र ब्राण्डका रूपमा प्रचार गर्न थालेका छन्। त्यसैको परिणामस्वरूप केही वर्षयता झापामा ‘भक्का दिवस’ समेत मनाउन थालिएको छ। दमक नगरपालिकाले पनि भक्का दिवसको अवसरमा कार्यक्रम आयोजना गरी भक्का व्यापारीहरूलाई प्रोत्साहनस्वरूप सहयोग गर्दै आएको छ।

    जाडो मौसममा भक्काले शरीरलाई ताप प्रदान गर्ने भएकाले यसको चलन बढेको बताइन्छ। एक स्थानीयले विगत सम्झँदै भने, “पहिला मंसिर, पुष र माघमा निकै जाडो हुन्थ्यो। शरीर न्यानो राख्न सजिलै बनाउन सकिने र सबैले खान मिल्ने भएकाले भक्का बनाउन थालिएको हो।”जाडो मौसमसँगै स्वाद र परम्पराको प्रतीक बनेको भक्का दमकसहित पूर्वी तराईका बजारमा पुनः चर्चामा आएको छ।

  • दमकको कर्नरस्टोन फाउण्डेशन स्कुलद्वारा इलाम माङ्सेबुङका दुर्गम क्षेत्रका बालबालिकालाई न्यानो कपडा वितरण

    दमकको कर्नरस्टोन फाउण्डेशन स्कुलद्वारा इलाम माङ्सेबुङका दुर्गम क्षेत्रका बालबालिकालाई न्यानो कपडा वितरण

    दमक, २२ पुस–शिक्षासंगै परोपकार सेवामा सक्रिय रहँर्दै आइरहेको झापाको दमकमा सञ्चालित कर्नरस्टोन पाउण्डेशन स्कुलले इलामको माङ्सेबुङ–३, चुबुवाका बालबालिकालाई चिसो मौसममा न्यानो कपडा वितरण गरेको छ ।माङ्सेबुङ–३ चुबुबास्थित जनकल्याण आधारभूत विद्यालयमा आज (मंगलबार) कर्नरस्टोन स्कुलले त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो । दुर्गमस्थानमा रहेको जनकल्याण आधारभूत विद्यालयमा आदिवासी जनजाती, दलित र कमजोर आर्थिक अवस्थाका विद्यार्थीहरु अध्ययनगर्ने गर्दछन् ।

    कमजोर आर्थिक अवस्थाका बालबालिकाहरुलाई विद्यालयमा अध्ययननका लागि आवतजावत गर्न सहज बनाउन जाडो मौसममा न्यानो कपडा वितरण गरिएको कर्नरस्टोन फाउण्डेशन स्कुलका संस्थापक प्रिन्सिपल तथा पाष्टर युवराज गजमेरले जानबारी दिनुभयो ।स्कुलका संस्थापक प्रिन्सिपल तथा पाष्टर गजमेरका अनुसार सो विद्यालयका ८० जना भन्दा बढी विद्यार्थीहरुलाई जाडो मौसममा लगाउने ज्याकेट, स्विटर, ट्राउजर र टोपी वितरण गरिएको हो ।विद्यालयमा अध्ययनरत २ वर्षदेखि १३ वर्षसम्मका ८० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको कर्नरस्टोन फाउण्डेशन स्कुलका संस्थापक प्रिन्सिपल गजमेरले जानकारी गराउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमारी लिम्बूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सामाजिक अगुवा बुद्धिजीवि पाष्टर राजकुमार नाछिरिङ राई, दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर हेमन्त सुब्बा, पाष्टर राम राई, विद्यालयकी शिक्षिका अलिशा राई लगायतका व्याक्तित्वहरुको सहभागिता थियो ।

    सो अवसरमा कर्नरस्टोन फाउण्डेशन स्कुलका संस्थापक तथा प्रिन्सिपल गजमेरले प्रवित्र कार्यको सुरुवात एक जनाबाट हुने र त्यस कार्यलाई एक दुई र चारहुँदै सिङ्गो समाज मिलेर वा हात्तेमालो गरेर अघि बढ्न जरुरी रहेको बताउनुभयो । वहाँले नानीबाबूहरुको शिक्षा र स्वास्थ्यमा हामी सवै एकजुट हुन पनि आग्रह गर्नुभयो ।

    न्यानो कपडा वितरण कार्यक्रममा जनकल्याण आधारभूत विद्यालयका प्रधानध्यापक मनकुमार राईले कर्नरस्टोन फाउण्डेशन स्कुल र सो स्कुलका संस्थापक प्रिन्सिपल युवराज गजमेरसहित दमकको टोलीलाई धन्यवाद तथा आभार व्यक्त गर्नुभएको थियो ।

  • जिबनचक्र समाज नेपालद्वारा युनिभर्सल कलेज युनिट गठन

    जिबनचक्र समाज नेपालद्वारा युनिभर्सल कलेज युनिट गठन

    पुष २२, दमक / जिबनचक्र समाज नेपालले आज एक कार्यक्रमका बीच युनिभर्सल कलेजमा युनिट गठन गरेको छ। युनिभर्सल कलेजको सभा हलमा सम्पन्न कार्यक्रम कलेज प्रमुख भीमप्रसाद पोख्रेलको सभापतित्वमा तथा जिबनचक्र समाज नेपालका अध्यक्ष गणेश गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

    सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै जिबनचक्र समाज नेपालले विभिन्न विद्यालय तथा कलेजहरूमा युनिट गठन गर्दै सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ। सोही क्रममा गठन गरिएको यस युनिटले विद्यार्थीहरूलाई सामाजिकीकरण, नेतृत्व विकास तथा उत्तरदायित्व बोध गराउँदै भविष्य निर्माणमा प्रेरित गर्ने उद्देश्य राखेको संस्थाका सचिव गणेश प्रधानले बताउनुभयो।

    कार्यक्रमबाट विद्यार्थी प्रणिस आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ। कार्यक्रमको सञ्चालन प्राध्यापक राजेन्द्र अधिकारीले गर्नुभएको थियो।कार्यक्रममा जिबनचक्र समाज नेपालका कोषाध्यक्ष बिदुर भण्डारी, युनिभर्सल कलेज व्यवस्थापन समिति अध्यक्ष बलभद्र कोइराला लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

    नवगठित सदस्यहरूलाई शुभकामना दिँदै अध्यक्ष गणेश गौतमले जिबनचक्र समाज नेपालले “म मेरो जिम्मेवारी पूरा गर्छु, परिवर्तन आफैंबाट सुरु गरौं” भन्ने मूल नाराका साथ फोहोर व्यवस्थापन, रक्तदान, सवारी दुर्घटना न्यूनीकरण तथा खाना खेर नफालौंजस्ता अभियानहरू निरन्तर सञ्चालन गर्दै आएको जानकारी गराउनुभयो।

  • मानव सेवा आश्रमलाई रिया अधिकारीद्वारा जन्मदिनमा हिटर सहयोग

    मानव सेवा आश्रमलाई रिया अधिकारीद्वारा जन्मदिनमा हिटर सहयोग

    दमक, झापा — दमक–२ स्थित मानव सेवा आश्रमलाई जन्मदिनको विशेष अवसरमा दमक–१ निवासी रिया अधिकारीले करिब ८ हजार रुपैयाँ बराबरको हिटर हस्तान्तरण गरेकी छन्। पहिलो पाइला नेपाल दमक शाखामार्फत गरिएको यो सहयोगले जन्मदिनमा हुने अनावश्यक खर्चलाई निरुत्साहित गर्दै सामाजिक सेवामा लागिपर्ने उद्देश्य रहेको अधिकारीले बताइन्।

     

    सहयोग हस्तान्तरण कार्यक्रममा पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष राजु निरौला, केन्द्रीय सह–कोशाध्यक्ष दिवस खतिवडा, आश्रमकी उपाध्यक्ष बिना थापा, सञ्चालक सुमन श्रेष्ठ तथा रिया अधिकारीका श्रीमान् सुदीप पौडेल उपस्थित थिए।

     

    सडकमा बसोबास गर्दै आएका २८ जना मानवहरूलाई संरक्षण दिइरहेको आश्रममा हिटर सहयोगले विशेष लाभ पुग्ने आश्रमका सञ्चालक सुमन श्रेष्ठले बताए। उनले रिया अधिकारीलाई धन्यवाद दिँदै जन्मदिनलाई सामाजिक सेवासँग जोडेर मनाउने कार्य अनुकरणीय रहेको पनि उल्लेख गरे।

     

    जन्मदिनलाई अर्कै किसिमले अर्थपूर्ण बनाउँदै रिया अधिकारीले आश्रममा सेवा गर्न पाएकोमा खुशी व्यक्त गरिन्। कार्यक्रम सन्चालन संस्था अध्यक्ष राजु निरौलाले गरेका थिए।

  • पहिलो पाइला नेपाल गौरादह शाखाद्वारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    पहिलो पाइला नेपाल गौरादह शाखाद्वारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    गौरादह, मङ्सिर १३ / पहिलो पाइला नेपाल गौरादह शाखाको आयोजनामा प्रगति माध्यमिक विद्यालयको सभाहलमा वक्तृत्वकला प्रतियोगिता सफलता पूर्वक सम्पन्न भएको छ। कार्यक्रम शाखा अध्यक्ष भूपेन्द्र निरौलाको अध्यक्षतामा तथा प्रथम उपाध्यक्ष निशा पौडेलको संयोजकत्वमा सञ्चालन गरिएको थियो।

    कार्यक्रमका प्रमुख अतिथि गौरादह नगरपालिका–८ का वडाध्यक्ष गणेश कुमार राजवंशी रहनुभएको थियो भने विशिष्ट अतिथिको रूपमा प्रदेश प्रमुखको सचिवालय सदस्य, समाजसेवी तथा कार्यक्रमका प्रायोजक धर्मराज गुरागाईं उपस्थित हुनुुभएको थियो। अन्य अतिथिहरूमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महाविर राजवंशी, प्रगति माविका सहायक प्रअ विष्णु लुईटेँल, गौरीगञ्ज क्याम्पस प्रमुख तथा प्रगति मावि भूतपूर्व विद्यार्थी समाजका उपाध्यक्ष भक्त भण्डारीलगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रमको निर्णायक मण्डलमा गौरीगञ्ज क्याम्पसका प्राध्यापक चित्र कुबेर डोटेल, अर्विन राजवंशी तथा खजुरगाछी माविका शिक्षक गोपाल बुढाथोकी रहेका थिए। स्वागत मन्तव्य संस्था सदस्य यमुना खत्रीले प्रस्तुत गरेकी थिइन्।

    विशिष्ट अतिथि धर्मराज गुरागाईंले संस्थाले युवाहरूको व्यक्तित्व विकास र सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तर साथ–सहयोग रहने प्रतिवद्धता जनाउनुभयो। त्यस्तै विभिन्न विद्यालयका शिक्षकहरूले पनि यस्ता कार्यक्रमले विद्यार्थीको क्षमता विकासमा टेवा पुग्ने जनाउँदै प्रशंसा व्यक्त गरेका थिए।

    कार्यक्रममा ज्ञानकुञ्ज एकेडेमीका कक्षा ८ का विद्यार्थी मौलिक खतिवडाले कविता प्रस्तुत गरी कार्यक्रममा मनोरञ्जन थपेका थिए। प्रतियोगितामा गौरादह नगरपालिका भरिका ११ वटा विद्यालयले सहभागिता जनाएका थिए।

    प्रतियोगितामा इमिनेन्ट कञ्चनजङ्गा माविकी छात्रा विपिसा पाठक प्रथम, जनता मावि गौरादह–१ का छात्र गोविन्द दाहाल द्वितीय, र नमुना माविका छात्र सम्पन्न बाबू कोइराला तृतीय भएका छन्।

    विजेता विद्यार्थीहरूलाई क्रमशः नगद ३५००, २५०० र १५०० तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने सहभागी सबै विद्यार्थीलाई पनि प्रमाणपत्र दिइएको थियो। कार्यक्रमका प्रायोजक धर्मराज गुरागाईं र खाजाको प्रायोजन गर्ने प्रगति मावि भूतपूर्व विद्यार्थी समाजलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।

    कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, समाजसेवी तथा पहिलो पाइला नेपाल गौरादह शाखाका पदाधिकारीहरू उपस्थित रहेका थिए। कार्यक्रमको संचालन शाखा सचिव प्रदिप धमलाले गर्नुभएको थियो।