Blog

  • टिभिएसका नयाँ मोडल आरटिआर १६० टुभी एफआई र रेयडर आइगो नेपालमा सार्वजनिक

    टिभिएसका नयाँ मोडल आरटिआर १६० टुभी एफआई र रेयडर आइगो नेपालमा सार्वजनिक

    दमक , मंसिर ९ / टिभिएसका दुई नयाँ मोडल आरटिआर १६० टुभी एफआई र रेयडर १२५ आइगो नेपालभरि सोमबारदेखि औपचारिक रूपमा सार्वजनिक गरिएको छ। दमक–५ स्थित टिभिएसको आधिकारिक बिक्रेता आरए इन्टरनेशनल ले दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईको प्रमुख आतिथ्यतामा दुवै मोडेलको लोकार्पण गरेको हो।

    कार्यक्रममा प्रमुख अतिथि गुरागाईले नयाँ मोडेलहरू एफआई (फ्युल इन्जेक्सन) प्राणालीसहित मोडिफाइ भएर आएको हुँदा ग्राहकका लागि अझ मितव्ययी र भरपर्दो बन्ने विश्वास व्यक्त गर्दै प्रयोग गर्न सबैलाई सुझाव दिए।

    आरए इन्टरनेशनलका बजार व्यवस्थापक बालचन्द्र कार्कीका अनुसार, पछिल्लोपटक कार्बुरेटरमा आधारित आरटिआर १६० टुभीमा एफआई प्रणालीसँगै एभीएस, डबल डिस्क ब्रेक, डिजिटल मिटर, ब्लुटुथ कनेक्टभिटी लगायत आधुनिक फिचर थपिएको छ। मोबाइलमार्फत बाइकको अवस्था जाँच गर्न सकिने सुविधा तथा ४५–५० किमिसम्म माइलेज दिने क्षमताले यो मोडेल ग्राहकमैत्री बन्ने उहाँको भनाइ छ। नयाँ आरटिआर १६० टुभी एफआई रातो, कालो र निलो गरी तीन रङमा उपलब्ध छ।

    त्यस्तै, रेयडर १२५ आइगोमा डिजाइन सुधारसँगै चक्काको रङ परिवर्तन गरिएको हुँदा यो मोडेल झन् आकर्षक बनेको कम्पनीले जनाएको छ। डिजिटल मिटर, दुई वटा मोड र ६०–६५ किमिसम्म माइलेज यसको मुख्य विशेषता हुन्। बजारमा अहिले यो मोडेल कालो र खैरो गरी दुई रङमा उपलब्ध रहेको कार्कीले बताए। सिट मुनि रहेको सानो डिक्कीमा मोबाइल, बिलबुक लगायत सानातिना सामान राख्न सकिने सुविधा पनि समावेश गरिएको छ।

    सोमबार सार्वजनिक गरिएका यी दुई मोडेलले नेपाली ग्राहकहरूको आवश्यकता र चाहनालाई पुरा गर्ने तथा बजारमा राम्रो प्रभाव पार्ने कम्पनीले विश्वास व्यक्त गरेको छ।

  • दमक–६ थानारोडमा ‘कवाडी रेस्टुरेन्ट’ सञ्चालनमा, ७० लाख बढी लगानी

    दमक–६ थानारोडमा ‘कवाडी रेस्टुरेन्ट’ सञ्चालनमा, ७० लाख बढी लगानी

    दमक, मङ्सिर ८ / दमक–६ थानारोडमा नयाँ अवधारणा र आकर्षक डिजाइनसहित ‘कवाडी रेस्टुरेन्ट’ औपचारिक रुपमा सञ्चालनमा आएको छ। प्रयोग भइसकेका सामाग्रीहरूलाई पुनः प्रयोग (Recycle) गर्दै नयाँ डिजाइनमा तयार पारिएको यो अद्वितीय रेस्टुरेन्ट सोमबार एक विशेष समारोहका बीच उद्घाटन गरिएको हो।

     

    उद्घाटन कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई सहित विभिन्न पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। ४ जना युवा उद्यमीहरूले संयुक्त लगानीमा सञ्चालन गरेको उक्त रेस्टुरेन्ट स्थापना गर्न ७० लाखभन्दा बढी खर्च गरिएको संचालक मध्येका एक सुवास बुढाथोकीले जानकारी दिए।

     

    उनका अनुसार रेस्टुरेन्टमा विशेषगरी खाजाका विभिन्न सेटहरू बढी आइटमसहित उपलब्ध हुनेछन्। नयाँ सोच र डिजाइनसहित सुरु भएको यो रेस्टुरेन्टले युवापुस्ताको रोजाइमा पर्न सक्ने विश्वास व्यक्त गर्दै उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्ने क्रममा अध्यक्ष गुरागाईले सफलताको कामना व्यक्त गरे।

     

    इलाका प्रहरी कार्यालयको ठ्याक्कै अगाडि रहेको तथा मेची सहकारी भवनतर्फबाट समेत सहज प्रवेश गर्न मिल्ने गरी खुला र रमणीय शैलीमा बनाइएको कवाडी रेस्टुरेन्ट दमकको नयाँ आकर्षण बन्ने संचालकहरूको अपेक्षा छ।

  • इन्द्रणी तालमा आन्तरिक पर्यटकको बढ्दो आकर्षण, डुङ्गा सेवासँगै चहलपहल वृद्धि

    इन्द्रणी तालमा आन्तरिक पर्यटकको बढ्दो आकर्षण, डुङ्गा सेवासँगै चहलपहल वृद्धि

    दमक, मंसिर ८ । झापाको दमक–१० स्थित इन्द्रणी ताल पछिल्ला दिनमा आन्तरिक पर्यटकहरूको प्रमुख गन्तव्यका रूपमा तेजीका साथ उदाउँदै गएको छ। महिनौँदेखि ओझेलमा परेको यो ताल स्थानीयवासीको सक्रियता, संरक्षण र प्रवर्द्धनका कारण पुनः आकर्षणको केन्द्र बनेको छ।

    हालै स्थानीय युवा रोहित राईले संचालनमा ल्याएको डुङ्गा सेवाले तालमा थप चहलपहल बढाएको छ। दैनिकजसो दमक, गौरादह, कमल र उर्लाबारीबाट आन्तरिक पर्यटकहरु आकर्षित भई दृश्य कैद गर्न र रमाइलो गर्न इन्द्रणी ताल पुगेका देखिन्छन्। विशेषगरी सामाजिक सञ्जाल टिकटकमा तालका दृश्य भाइरल भएपछि यहाँ आउने भीड अझ बढेको स्थानीयले बताए।

    पहिले नै पर्यटनका हिसाबले सम्भावना बोकेको भए पनि सम्बन्धित निकायहरूको बेवास्ताका कारण इन्द्रणी ताल लामो समयसम्म आवश्यक प्रचार–प्रसारमा पछि परेको थियो। तर हाल युवाहरूको निरन्तर चासो र पहलका कारण ताल पुनर्जीवित भएको जस्तो दृश्य देखिन थालेको छ।

    दमक चोकबाट करिब ७.५ किलोमिटर दक्षिणमा अवस्थित यो तालसम्म पुग्ने कालोपत्रे सडक पनि निर्माण भइसकेको छ, जसले यात्रालाई सहज बनाएको छ। साथै, ताल परिसरको सडक किनारमा स्थानीय युवाले विभिन्न प्रजातिका बिरुवा रोपेर वातावरणलाई सम्वर्द्धन गरेसँगै यहाँको प्राकृतिक सौन्दर्य अझ निखरिएको छ।

    स्थानीयवासीका अनुसार इन्द्रणी तालमा दैनिक आउने सर्वसाधारण तथा पर्यटकको संख्या निरन्तर बढ्दै गएको छ, र नजिकिँदै गरेको चाडपर्व तथा विहार–भ्रमण मौसमका कारण आगामी दिनमा यहाँको पर्यटन गतिविधि झनै बढ्ने अपेक्षा गरिएको छ।

  • भीम पौडेलको प्रभावशाली नेतृत्वमा दमक–७ को मुहार फेरियो, विकास र व्यवस्थापनमा उदाहरणीय कार्य

    भीम पौडेलको प्रभावशाली नेतृत्वमा दमक–७ को मुहार फेरियो, विकास र व्यवस्थापनमा उदाहरणीय कार्य

    मङ्सिर ७, दमक / दमक नगरपालिका–७ का वडाध्यक्ष भीम पौडेल केवल एक जनप्रतिनिधि मात्र होइन, नगरकै सक्षम, इमानदार र प्रभावकारी नेतृत्वकर्ताको रूपमा परिचित छन् । लगातार तेस्रो कार्यकालमा निर्वाचित हुनुले जनताले उनको कार्यशैलीमा दिएको ठोस भरोसा स्पष्ट गरिएको छ । स्थानीय निर्वाचनमा सबै पार्टीको मत जोड्दा पनि पौडेलले पाएको मत बराबरी हुन नसक्नु उनको लोकप्रियताको प्रमाण मानिन्छ ।

    उनको नेतृत्वमा पहिले अस्तव्यस्त, अव्यवस्थित बसोबास र बाढीको त्रासले त्रसित वार्ड आज सुरक्षित, व्यवस्थित र विकसित बन्दै गएको छ । खासगरी रतुवा खोलामा गरिएको तटबन्धनपछि बाढीको जोखिम हटेको छ । वर्षा लागेपछि रातभर निदाउन नसक्ने बासिन्दा आज निश्चिन्तसँग बस्न सकिरहेको जनताले बताउँछन् ।

    विगतमा नपाको जमिनमा अनियमित रूपमा बसेका सुकुम्बासीलाई व्यवस्थापन गर्नु ठूलो चुनौती थियो । तर पौडेलको संयोजन, समन्वयात्मक शैली र नगरपालिकाको सहयोगले वास्तविक सुकुम्बासीलाई व्यवस्थित स्थानान्तरण गरियो भने अन्यलाई घर सार्न बजेट व्यवस्था गरेर समस्या समाधान भयो ।

    वार्डमा पिच सडकदेखि लक्की टायलसम्मका संरचनागत परिवर्तनले विकासको छाप स्पष्ट देखिन्छ । केही स्थानमा बाँकी रहेका काम भने जेनजी आन्दोलनका अवरोधका कारण रोकिएको वडाध्यक्ष पौडेल बताउँछन् ।

    दमक–७ लाई अहिले ‘भाग्यमानी वार्ड’ पनि भनिन थालिएको छ । नगरकै प्रमुख सेवामूलक संरचनाहरू यही वडामा छन्—बसपार्क, रेडक्रस, बाल अस्पताल, गाइनो अस्पताल, कभर्ड हल, सरकारी तथा निजी विद्यालय, धार्मिक तथा सामाजिक संघ–संस्थाका कार्यालय, र ४३ करोड रुपैयाँमा निर्माणाधीन व्यापारिक कम्प्लेक्स । निकट भविष्यमा आन्तरिक राजस्व कार्यालय र पत्रकार महासंघको कार्यालय समेत यही वडामा बन्ने निश्चित भइसकेको छ ।

    रतुवा खोलामा निर्माणाधीन ५० फिटे बाइपास सडकले बजार क्षेत्रलाई धुलो–धुँवा र भीडभाडबाट मुक्त गरिदिनेछ । भारी सवारी–साधनलाई बजारभित्र प्रवेश निषेध गरी बाइपास प्रयोग अनिवार्य गरिने तयारी छ ।यसैगरी काजकिरिया भवन निर्माणका लागि ४५ लाख रुपैयाँ बजेट स्वीकृत भइसकेको छ, जसले घर नहुनेहरूको संस्कार–परम्परा पूरा गर्ने समस्यालाई समाधान गर्नेछ ।२०२० सालमा ताप्लेजुङमा जन्मिएका पौडेल २०४५ सालमा झापा आएर शिक्षादेखि राजनीतिसम्मको यात्रा निरन्तर अघि बढाउँदै आएका छन् । विद्यार्थी राजनीति हुँदै जनसेवामा समर्पित भएका उनी आज राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट नगरका एक मात्र निर्वाचित वडाध्यक्ष हुन् ।

    उनलाई अन्य दलहरूको बलियो उपस्थितिले नगर नेतृत्वमा चुनौती पार्दैन ? भन्ने प्रश्नमा उनी भन्छन्, “संख्याले मात्र काम सजिलो हुँदैन । विकास चाहने अठोट, इमानदारी र जनताको विश्वास मुख्य हो । हामी नगरका काममा दलगत भेदभाव राख्दैनौं ।”

    उनले आफ्नो कामप्रति पूर्ण सन्तुष्टि नभए पनि जनताबाट प्राप्त विश्वास नै सबैभन्दा ठूलो प्रेरणा भएको बताउँछन् । दमकलाई “सुन्दर, शान्त र समृद्ध शहर” बनाउने उनको दीर्घकालीन लक्ष्य हो ।

    पौडेलले रतुवा तटबन्धन, सार्वजनिक सम्पत्तिको सुरक्षार्थ १२÷१३ विगाहा जमिनको संरक्षण, शिक्षा–स्वास्थ्यमा सुधारजस्ता काम आफ्नो गर्वका उपलब्धि भएको बताए । आगामी दिनमा उच्च जिम्मेवारी लिने हो कि ? भन्ने प्रश्नमा उनी भन्छन्, “मेरा शुभेच्छुकहरू भन्छन्—अब तपाईँका लागि वार्डभन्दा माथिको जिम्मेवारी उपयुक्त हुन्छ । तर जनताकै सेवामा रहिरहने चाहना भने यथावत छ ।”दमक–७ को विकासको गतिलाई हेर्दा भीम पौडेलको नेतृत्व निकट भविष्यमा नगरस्तरमा पनि प्रभावकारी बन्न सक्ने संकेत देखिन्छ ।

  • जेसीज सप्ताह २०२५ सम्पन्न : छात्रवृत्ति हस्तान्तरणसँगै PRIVILEGE CARD पहिलोपटक अनावरण

    जेसीज सप्ताह २०२५ सम्पन्न : छात्रवृत्ति हस्तान्तरणसँगै PRIVILEGE CARD पहिलोपटक अनावरण

    दमक, मंसिर ६ / शुक्रबार दमक जेसीजको आयोजनामा जेसीज सप्ताह–२०२५ अन्तर्गत ‘Scholarship Handover’ तथा ‘Closing Ceremony & Privilege Card Distribution’ कार्यक्रम धुमधामसँग सम्पन्न भएको छ। कार्यक्रम दमक–७ स्थित दमक उद्योग बाणिज्य संघको सभा हलमा नेपाल जेसीज २०२५ का राष्ट्रिय अध्यक्ष तथा २०२६ का लागि Elect JCI Vice President जेसीआई सिनेटर रजनी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता दमक जेसीज २०२५ का अध्यक्ष जेसी सहदेब भट्टराईले गर्नुभएको थियो।

    Scholarship Handover कार्यक्रममा सिनेटर राजकुमार भट्टराईले आफ्ना दिवंगत पिता गणेश बहादुर भट्टराईको स्मृतिमा स्थापना गरिएको छात्रवृत्ति कोषमार्फत दमक–१ की लक्ष्मी कुमाललाई छात्रवृत्ति प्रदान गर्नुभयो। दमक बहुमुखी क्याम्पसमा बि.बि.एस दोस्रो वर्ष अध्ययनरत कुमाललाई एक वर्षको शैक्षिक तथा भर्ना शुल्क बराबरको रकम र छात्रवृत्ति प्रमाणपत्र प्रदान गरिएको थियो।

    जेसीज सप्ताहको समापनसँगै दमक जेसीजले पहिलोपटक PRIVILEGE CARD (सदस्य विशेष सुविधा कार्ड) सार्वजनिक गरेको छ। प्रमुख अतिथि सिनेटर रजनी थापाको हातबाट अनावरण गरिएको उक्त कार्डमार्फत दमकका होटल, रेस्टुरेन्ट, हस्पिटल, ब्रान्डेड पसल, हार्डवेयर, मोबाइल पसललगायत विभिन्न व्यावसायिक प्रतिष्ठानमा छुट तथा विशेष अफर उपलब्ध गराइने छ। सम्झौता भएका व्यापारी तथा सेवा प्रदायकसँगको सहकार्यमा तयार पारिएको कार्ड पूर्वअध्यक्ष, सिनेटर तथा सक्रिय जेसीज सदस्यहरूलाई वितरण गरिएको थियो।

    सन् २०२५ मा सम्पूर्ण प्रक्रिया पूरा गरी सदस्यता प्राप्त गरेका नयाँ सदस्यहरूलाई नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रजनी थापाले जेसीज पिन प्रदान गर्नुभयो।दमक उद्योग बाणिज्य संघको तर्फबाट २०२६ का लागि Elect JCI Vice President बन्नु भएकी सिनेटर रजनी थापालाई दोसल्ला ओडाइ सम्मान गरिएको थियो।

    कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख तथा पूर्व जेसीज अध्यक्ष रेगिना भट्टराई प्रसाई, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं, दमक जेसीजका पूर्वअध्यक्ष तथा बोर्ड अफ ट्रष्टीज अध्यक्ष गञ्जबहादुर दाहाल सहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक संस्था, शैक्षिक तथा व्यवसायिक क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    जेसीज सप्ताह २०२५ का मूल संयोजक तथा उपाध्यक्ष जेसी रूबल अधिकारीले स्वागत मन्तव्य दिँदै एक हप्ता सन्चालित विविध कार्यक्रमहरूको प्रतिवेदन प्रस्तुत गर्नुभयो। Scholarship Handover कार्यक्रमका संयोजक जेसी सुमन कुमाल र Closing Ceremony तथा Privilege Card Distribution कार्यक्रमका संयोजक जेसी पंकज पोखरेलले समग्र संयोजन गरेका थिए। कार्यक्रमको सञ्चालन दमक जेसीजका महासचिव जेसी राजेन्द्र विमलीले गर्नुभएको थियो।

  • दमक नगरपालिकाद्वारा ९० वर्षमाथिका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई स्वास्थ्य सेवा

    दमक नगरपालिकाद्वारा ९० वर्षमाथिका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई स्वास्थ्य सेवा

    दमक,मंसिर ६ । झापाको दमक नगरपालिका वडा नम्बर ३ का ९० बर्षमाथिका ज्येष्ठ नागरिक, अपाङगथता र असहायहरुलाई स्थानीय सरकारले घरदैलोमानै पुगेर स्वास्थ्य सेवा प्रदान गरेको छ ।दमक नगरपालिकाको चालू आर्थिक बर्षको नीति कार्यक्रम अन्तर्गत नगरपालिकाको महिला बालबालिका, स्वास्थ्य शाखा र दमक नगर अस्पतालका चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरु सहिहतको टोलीले आईतबारसो वडामा सेवा प्रदान गरेको हो ।सो क्रममा वडा नं. ३ का ८० जना ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई चिकित्सकसहित स्वास्थ्य परीक्षण गरिएको शाखा प्रमुख सरिता भण्डारीले बताउनुभयो ।उहाका अनुसार, यस क्रममा स्वास्थ्य परीक्षण गरिएका व्यक्तिहरूलाई औषधी र उपचारका सल्लाह पनि प्रदान गरिएका छन्।

     

    दमक नगरपालिकाको यस कदमले वृद्ध र अपाङ्ग नागरिकहरूको स्वास्थ्यमा सुधार ल्याउने अपेक्षाका साथ, स्वास्थ्य सेवा सुलभ र प्रभावकारी बनाउनका लागि विभिन्न पहलहरू भइरहेका छन्।नगरपालिकाले यी नागरिकहरूको स्वास्थ्य स्थिति र आवश्यकताहरूलाई ध्यानमा राख्दै उनीहरूको लागि उपयुक्त उपचारका सामग्री र औषधि उपलब्ध गराइरहेको दमक नगरपालिका कार्यपालिका सदस्य देबका भुजेलले बताउनुभयो ।

     

    स्वास्थ्य परीक्षणका लागि दमक अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरूको टोलीले सक्रिय सहभागिता जनाएका थिए। यस क्रममा, स्वास्थ्यकर्मीहरूले नागरिकहरूको स्वास्थ्य स्थिति मूल्यांकन गर्दै, आवश्यक स्वास्थ्य सुझाव र परामर्श पनि दिएका थिए। ‘।घरदैलोमा सहभागी दमक अस्पतालकी चिकित्सक डा.ऐश्वर्य गुप्ताले स्वस्थ्य परिक्षण गरिएका जेष्ठ नागरिक र अपांगता भएका ब्यक्तिहरुमा स्वस्थ अवस्था जटिल देखिएको भन्दै नगरपािलकाले बिशेष पहल गर्नुपर्ने उल्लेख गर्नुभयो ।

     

    दमक नगरपालिकाले ९० वर्ष माथिका वृद्ध बुवा आमा साथै क वर्गका अपाङ्गताको कार्ड भएका नगरबासीहरूका लागि घर घरमा गएर बिशेषज्ञ चिकित्सक सेवा सहित निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम अन्तर्गत सबै वडामा यस किसिमको कार्यक्रम हरेक तीन÷तीन महिनामा सञ्चालन गर्दै आएको छ । यसबाट नागरिकहहरुले सन्तुष्ट भएको प्रतिक्रिय दिएका छन् । स्थानीय गोबिन्द बुढाथोकीले नगरको यसखाले सेवाबाट आफूहले राहत पाएको बताउनुभयो ।

     

    घरदैलो कार्यक्रममा नगर कार्यपालिका सदस्य देबका भुजेल निरौला , महिला बालबालिका शाखा प्रमुख सरिता भण्डारी,स्वस्थ्य शाखाकी फोकल पर्सन कमला पौडेल,दमक अस्पतालकी चिकित्सक ऐश्वर्य गुप्ता,आधारभुत स्वस्थ्य केन्द्र वडा ३ का अहेब देबी प्रसाद काफ्ले,दमक अस्पतालकी सहायक फर्मासिष्ट कबिता भटराई लगायतको टोली सहभागि थियो ।

  • एलभिडी झापा महिला गोल्डकपमा त्रिभुवन आर्मीको शानदार जित, आरएस पोखरामाथि ६–० को फराकिलो विजय

    एलभिडी झापा महिला गोल्डकपमा त्रिभुवन आर्मीको शानदार जित, आरएस पोखरामाथि ६–० को फराकिलो विजय

    कार्तिक २०, झापा / झापाको दुधेमा जारी एलभिडी झापा महिला गोल्डकपको अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी बिजयी भएको छ । त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा फुटबल क्लबलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

    खेलको सुरुवाती चरणदेखिनै बल पोजेसनमा प्रभुत्व जमाएको आर्मीले लगातार आक्रमण गरिरह्यो । १० औँ मिनेटमा फरवार्ड विमला चौधरीले पोखराकी गोलकिपर गायत्री मल्ल बिट भएको अवस्थामा फिनिस गर्न नसके पनि १६ औँ मिनेटमा डिफेन्डर विमला विकको फ्रिकिकमा जेनिफर राना मगरले हेडिङ गोल गर्दै अग्रता दिलाइन् । उक्त फ्रिकिक उषा शाहीले दिपा राईमाथि गरेको फाउलपछि प्राप्त भएको थियो ।

    ३३ औँ मिनेटमा आर्मीले अग्रता दोब्बर बनायो । पोखराकी गोलकिपरको गल्तीको फाइदा उठाउँदै विमला चौधरीले हेडरमार्फत गोल गरिन् । हिमा चौधरीले त्यसमा असिस्ट गरेकी थिइन् । पहिलो हाफको इन्ज्युरी समयमा राष्ट्रिय खेलाडी विमला विकले कर्नर किकबाट आएको बलमा सानदार फिनिसिङ गर्दै आर्मीको अग्रता ३–० मा पुर्‍याइन् ।

    दोस्रो हाफमा पनि खेलको गति आर्मीले नै नियन्त्रणमा राख्यो । ८५ औँ मिनेटमा विमला चौधरीले सञ्जु कुमालको असिस्टमा व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ४–० को अवस्थामा पुर्‍याइन् । त्यसपछि ९० औँ मिनेटमा शर्मिला थापाले विमला विकको क्रसमा गोल गर्दै टोलीको अग्रता ५–० बनाइन् ।

    इन्ज्युरी समयमा पुनः विमला चौधरीले अनिता लम्जेलको कर्नरमा हेडर गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरिन् र टोलीलाई ६–० को सहज जित दिलाइन् ।

    खेलमा आर्मीको बल पोजेसन, पासिङ र फिनिसिङ उत्कृष्ट देखियो भने पोखराको डिफेन्स र गोलकिपिङ कमजोर रह्यो । आर्मीका लागि विमला चौधरीले ह्याट्रिक, विमला विक, जेनिफर राना र शर्मिला थापाले समान एक–एक गोल गरे ।

    खेलको प्लेयर अफ द म्याच विमला चौधरी घोषित भइन् । उनले १५ हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गरिन् ।

    योसँगै एलभिडी झापा महिला गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ । पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र संकटा फुबटल क्लब तथा दोस्रो सेमिफाइनलमा एपिएफ फुबटल क्लब र त्रिभुवन आर्मी फुबटल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

    विजेता टोलीले १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी तथा उच्च गोलकर्तालाई समान २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

    हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।