Blog

  • दमक मेनपावर संघ झापाबाट प्रहरी कार्यालय पुनर्निर्माणका लागि १ लाख ५७ हजार बराबरका सामग्री सहयोग

    दमक मेनपावर संघ झापाबाट प्रहरी कार्यालय पुनर्निर्माणका लागि १ लाख ५७ हजार बराबरका सामग्री सहयोग

    दमक, २३ असोज / झापाको दमकस्थित इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय पुनर्निर्माणका लागि दमक मेनपावर संघ झापाले १ लाख ५७ हजार बराबरका जिन्सी सामग्री प्रदान गरेको छ।

    गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा दमक इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय जलेर ध्वस्त भएका थिए। ती कार्यालयहरूको पुनर्निर्माणका लागि सहयोगस्वरूप संघले इलाका प्रहरी कार्यालय दमकलाई एक थान दराज, दुई थान टेबल, ३० थान प्लास्टिकका कुर्सी र २५ पिस सिलिङ फेन प्रदान गरेको हो। त्यस्तै, ट्राफिक प्रहरी कार्यालय दमकलाई एक थान फ्रिज र २० थान प्लास्टिकका कुर्सी उपलब्ध गराइएको संघका अध्यक्ष राजकुमार लिम्बूले जानकारी दिनुभयो।

    संघले इलाका प्रहरी कार्यालयका लागि १ लाख १७ हजार र ट्राफिक प्रहरी कार्यालयका लागि ४० हजार बराबरका सामग्री हस्तान्तरण गरेको थियो।

    सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष लिम्बूले जेनजी आन्दोलनका क्रममा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै दमकको सुरक्षात्मक वातावरण सुदृढ गर्न संघले सहयोग गरेको बताउनुभयो।

    दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा इलाका प्रहरी कार्यालय पुनर्निर्माण समितिका कोषाध्यक्ष गोपाल गुरागाईका अनुसार इलाका प्रहरी कार्यालय दमकको पुनर्निर्माण कार्य धमाधम भइरहेको छ। विभिन्न संघसंस्थाको सहयोगमा भवनको रंगरोगन र मर्मतका काम तीव्र गतिमा अघि बढेको जानकारी दिनुभयो।

    दमक नगरपालिकाका प्रमुख तथा पुनर्निर्माण समितिका संयोजक रामकुमार थापाले दमकको सुरक्षालाई मजबुत बनाउन प्रहरी कार्यालयहरूको पुनर्निर्माण अत्यावश्यक रहेको बताउँदै छिटो पुनःस्थापनाका लागि सबै पक्षलाई सहयोग गर्न आग्रह गर्नुभयो।

    पुनर्निर्माण समितिमा नगरप्रमुख थापासहित उपप्रमुख रेजिना भट्टराई प्रसाई, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ, दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष देवीप्रसाद (गोपाल) गुरागाई, रेडक्रस सोसाइटी दमकका अध्यक्ष प्रकाश बुढाथोकी, र इलाका प्रहरी कार्यालय दमकका डीएसपी रामप्रसाद तिमल्सिना सदस्य रहेका छन्।

    सहयोग हस्तान्तरण कार्यक्रममा दमक मेनपावर संघका सचिव रोशन लिम्बू, कोषाध्यक्ष बीबी लिम्बू लगायतका सदस्यहरूको उपस्थिति रहेको थियो। संघका अध्यक्ष लिम्बूका अनुसार दमक मेनपावर संघ झापा समाजसेवामा निरन्तर सक्रिय रहँदै आएको छ।

    दमक नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख केशवप्रसाद प्रसाईले जिन्सी तथा अन्य सहयोग सामग्रीहरू उपलब्ध गराउने कार्यको सहजकरण गर्नुभएको थियो । ट्राफिक प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय दमक धमाधम निर्माण भइरहेको छ।

  • झिलझिलेमाः स्व. पवन चाम्लिङ राईको स्मृतिमा तेस्रो कोशी प्रदेशस्तरीय भेट्रान फुटबल प्रतियोगिता असोज २६ देखि

    झिलझिलेमाः स्व. पवन चाम्लिङ राईको स्मृतिमा तेस्रो कोशी प्रदेशस्तरीय भेट्रान फुटबल प्रतियोगिता असोज २६ देखि

    असाेज २३, शिबसताक्षी / झापाको शिबसताक्षी–११ झिलझिलेमा तेस्रो संस्करणको कोशी प्रदेशस्तरीय नकआउट भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । असोज २६ देखि कार्तिक २ गतेसम्म हुने प्रतियोगितामा छिमेकी मुलुक भारतको पाहुना टोलीसहित कोशी प्रदेशभरका १० भेट्रान क्लबहरुले सहभागिता जनाउने भएका छन् ।

    बुधबार झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्राविधिक प्रतिष्ठानको खेलमैदानमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था झिलझिले भेट्रान क्लबले प्रतियोगिता बारेमा जानकारी गराएको हो । प्रतियोगिता सञ्चालन समितिका संयोजक जसु कुलुङ राईका अनुसार झिलझिलेमा तेस्रो संस्करण अन्तर्गत प्रदेशस्तरीय नकआउट भेट्रान फुटबल प्रतियोगिता हुन लागेको हो ।

    वहाँले यसपटकको प्रतियोगितालाई स्वर्गीय पवन चाम्लिङ राईको स्मृतिमा समर्पण गरिएको बताउनुभयो । स्वगीय पवन चाम्लिङ राई झिलझिले भेट्रान क्लबका खेलाडी हुन् । झिलझिलेमा खेलकुद, शिक्षा, सहकारी संस्था र सामाजिक कार्यमा सक्रिय पवन चाम्लिङ राईको दुईवर्ष अघि असमायीक निधन भएको थियो ।

    प्रतियोगिता सञ्चालन समितिका संयोजक राईले प्रतियोगितामा विशेष पाहुनाका रुपमा भारतको एक क्लबसहित कोशी प्रदेशभरका १० वटा भेट्रान क्लबहरुले सहभागिता जनाउने पत्रकार सम्मेलनमा बताउनुभयो ।

    प्रतियोगितामा सहभागि भेट्रान क्लबहरुमा पूर्वेली भेट्रान क्लब विर्तामोड, एभरेष्ट भेट्रान क्लब मोरङ, झिलझिले भेट्रान क्लब (रातो), डिएफसी भेट्रान क्लब (भारत), रामधुनी भेट्रान क्लब सुनसरी, झिलझिले भेट्रान क्लब (निलो), दुधे भेट्रान क्लब शिबसताक्षी, ढल्केजोवन भेट्रान क्लब उर्लाबारी, चारपाने भेट्रान क्लब झापा र दमक–लखनपुर भेट्रान क्लबहरु छन् ।

    प्रतियोगितामा बिजेता क्लबले रु १,०१,००५ (नगद एक लाख एक हजार पाँच रुपैया) र उपबिजेता क्लबले रु ५१,००५ (नगद एकाउन्न हजार पाँच रुपैया) सहित शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।प्रतियोगिता अन्तर्गत दैनिक खेलमा एक खेलाडीलाई मेन अफ द म्याच घोषणा गरेर कपसहित नगद रुपैयाबाट पुरस्कृत गरिनेभएको छ ।

    त्यस्तैं, प्रतियोगिताको फाइन खेलपछि विभिन्न विषयगत शिर्षकमा उत्कृष्ट गोलकर्ता, गोल किपर, डिफेन्डर, फरवार्ड, प्रशिक्षक तथा प्रतिभाशाली खेलाडीहरुलाई पुरस्कृत गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

    सो पत्रकार सम्मेलनमा आर्थिक संयोजक सन्तोष थेगिमका अनुसार प्रतियोगितामा अनुमानित कुल ८ लाख खर्च हुने छ । थेगिमले विभिन्न देशमा रहनुहुने पूर्व खेलाडीहरु, खेल क्षेत्रका शुभेच्छुक तथा मनकारी दाताहरुको सहयोगले प्रतियोगिता सम्पन्न गरिने तयारीमा रहेको बताउनुभयो ।

    वहाँले प्रतियोगिताको दोस्रो पुरस्कार पूर्व सांसद, शिबसताक्षी नगरका नेता लालप्रसाद साँवाले उपलब्ध गराउनुभएको जानकारी दिनुभयो । आर्थिक संयोजक थेगिमका अनुसार स्वर्गीय पवन चाम्लिङ राईको स्मृतिमा झिलझिलेमा तेस्रो संस्करणको भेट्रान फुटबल प्रतियोगिता हुने भएपनि पवन चाम्लिङ राईको परिवारवाट सहयोग माग गरिएको छैन् ।प्रतियोगिताबाट बचत भएको रकमलाई खेलकुद क्षेत्रको विकास र अन्य सामाजिक सेवामा प्रयोग गरिदैआएको थेगिमले बताउनुभयो ।

    पत्रकार सम्मेलनमा आयोजक झिलझिले भेट्रान फुटबल क्लबका अध्यक्ष बमबहादुर राई, शिबसताक्षी नगर भेट्रान फुटबल क्लबका अध्यक्ष एबम् धरमपुर बजार व्यवस्थापन समितिका अध्यक्ष लीला कुमार जोशी, प्रतियोगिता सञ्चालन समितिका सदस्य तथा आर्थिक समितिका सदस्य तीलक राई, समाजसेवी क्लब झिलझिलेका अध्यक्ष तथा झिलझिले भेट्रान फुटबल क्लबका सदस्य राजु तिखत्री, सन्तोष नेम्बाङ, खगेन्द्र ढुङ्गाना , शुक्रराज इजम, अनिल राई लगायतको उपस्थिति थियो ।

    कार्यक्रमको सञ्चालन आयोजक समितिका सदस्य राम भेटुवालले गर्नुभएको थियो ।

  • ३७ वर्षदेखि हराइरहेका धन बा. राई आफ्नै घर फर्कने आशामा

    ३७ वर्षदेखि हराइरहेका धन बा. राई आफ्नै घर फर्कने आशामा

    असाेज २२, खोटाङ । सयौँ सपना र संघर्षको भारी बोकेर २०४५ सालतिर खोटाङ पुगेका झापाका धन बा. साम्पाङ राई (दमके) अहिले जीवनको उत्तरार्धमा आफ्नै घर फर्कने तीव्र चाहनाले तड्पिरहेका छन्। करिब ७० वर्ष उमेर पार गरेका यी वृद्ध अहिले पनि बासको चोयाबाट डोका, डाला, मान्द्रो, थुन्छे र खुगी जस्ता सामग्री बुन्दै जीवन गुजारिरहेका छन्।

    स्थानीयहरूका अनुसार धन बा. कहिल्यै कसैसँग झगडा नगर्ने, इमानदार र मेहनती व्यक्ति हुन्। गाउँभरि उनी “दमके बा” भनेर चिनिन्छन्। लाहुरेको भारी बोकेर खोटाङ पुगेका धन बा. राईको मूल घर झापाको दमक नगरपालिका–केर्खा चुलाचुली आसपासमा पर्छ। उनले झापा छाड्दा उमेर युवा थियो। त्यतिबेला लाहुरे महेन्द्र कठायतसँग भेट भएपछि उनी खोटाङका दुर्गम गाउँ — दोर्पा, दोबेला, बुवासुङ, रतन्छा, चुईचुम्मा — हुँदै स्थायी रूपमा त्यहीँ बसोबास गर्न थाले।

    तर समयसँगै गाउँ, परिवार र आफन्तहरूको सम्पर्क हरायो। ३७ वर्ष बितिसक्दा पनि उनी झापा फर्कन सकेका छैनन्। “अब त आफ्ना मान्छे भेट्ने रहर मात्र बाँकी छ”जीवनको अन्त्यतिर पुग्दा उनी भन्छन्,“काम गर्न सक्ने शक्ति घट्दैछ, आफ्ना मान्छेहरूसँग अन्तिम भेट गरौँ भन्ने मन छ।”

    तर घर फर्कने उनको चाहना सजिलो छैन। नागरिकता नहुँदा आफ्नो पहिचान प्रमाणित गर्न पनि कठिनाइ भइरहेको छ।“घर जाऊँ भने मानेनन्। कमाएको पैसा उठाउन बाँकी छ भनेर बसेको छु,” उनले आँखा रसाउँदै सुनाए। धन बा.का अनुसार उनकी आमा फुलमाया राई हुन्। उनका दुई बुबा थिए — जेठा र कान्छा। जेठा बाउबाट दाजु सन्त बा. र भक्त बा. राई छन् भने छ जना बैनीहरू छन्। कान्छा बाउबाट धन बा. र एक बहिनी धन माया राई हुन्। “जेठी र कान्छी दुवै बुढी पनि धेरै अघिबाटै गइन्। अब त म मात्र बाँकी छु, घर फर्केर आफन्त सम्झन मन छ,” उनले भावुक हुँदै भने।

    खोटाङका स्थानीयहरू भन्छन् “उनी कहिल्यै कसैसँग झगडा गर्थेनन्, गाउँमा सबैले ‘दमके बा’ भनेर चिन्दथ्यौं।” धन बा. अहिले पनि बासका सामग्री बुनेर गाउँमा बेच्दै गुजारा चलाइरहेका छन्। कुनै स्थायी घर वा जमिन नभए पनि उनी आफ्नो श्रम र आत्मबलमा भर परेर बाँचिरहेका छन्। धन बा.को अहिले एउटै इच्छा बाँकी छ — झापा दमकको आफ्नो जन्मथलो फर्कने।

    “म बस्ने ठाउँ केर्खा–चुलाचुली आसपास हो। मामाको नाम पदम बहादुर राई (पञ्चप्रधान) हो। कसैले चिने भने कृपया खबर पुर्‍याइदिनुहोस्,” उनले अनुरोध गरे।

    यदि यो समाचार पढ्ने कसैले धन बा.का आफन्तहरूलाई चिन्नुहुन्छ भने, कृपया यो सन्देश दमक–केर्खा चुलाचुली र आसपासका गाउँहरूमा पुर्‍याउन सहयोग गर्नुहोस्। ३७ वर्षदेखि हराइरहेका यी वृद्ध अझै पनि आफ्नै माटो फर्केर बाँकी जीवन आफ्नै गाउँमा बिताउने आशामा छन्।

  • गौरिगञ्जका युवाहरूको कन्काई पुल छिटो निर्माणको माग

    गौरिगञ्जका युवाहरूको कन्काई पुल छिटो निर्माणको माग

    झापा, २२ असोज। झापाको गौरिगञ्ज–१ का स्थानीय युवाहरूले हुलाकी सडकअन्तर्गत अलपत्र परेको कन्काई पुल छिटो निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार पुल निर्माण स्थलमै पुगेर उनीहरूले प्ले कार्डसहित प्रदर्शन गरेका हुन्।

    ‘हामीबाट भयो के भुल, सरकार चाँडो बना पुल’, ‘नचाहिने भ्यू टावरभन्दा चाहिने पुल बना सरकार’, ‘पूर्ण निर्माण सँगै विकास पनि गर’ जस्ता नारासहित युवाहरूले प्रदर्शन गरेका थिए।

    हुलाकी सडक अन्तर्गत पर्ने यो कन्काई पुल करिब १४ वर्षदेखि अलपत्र छ। विसं २०६८ मा ठेक्का सम्झौता भए पनि निर्माण कम्पनीले काम अधुरै छोडेकाले पुल आजसम्म पनि सम्पन्न हुन सकेको छैन।

    पुल नबन्दा गौरिगञ्ज–१ र झापा गाउँपालिकाका बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। हिउँदमा बाँसको फड्के र बर्खामा डुंगाको सहारामा यात्रा गर्नुपरेको छ। स्थानीयका अनुसार बाँसको फड्के तर्दा ५० रुपैयाँसम्म र डुंगामा यात्रा गर्दा १०० रुपैयाँसम्म शुल्क तिर्नुपर्छ।

    पछिल्ला वर्षा र बाढीका कारण उक्त क्षेत्रको सम्पर्क मार्ग थप अवरुद्ध भएको छ। भद्रपुरदेखि विराटनगर जोड्ने छोटो मार्गका रूपमा रहेको यो पुल निर्माण सम्पन्न भएको भए कोशी प्रदेश राजधानीसम्मको आवतजावत सहज हुने स्थानीयको भनाइ छ।

    पुल निर्माणका लागि दबाबमूलक कार्यक्रम सञ्चालन गरिएको बताउँदै स्थानीय युवा मुकेश राजवंशीले आगामी दिनमा हस्ताक्षर संकलन अभियानमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने तयारी भइरहेको जानकारी दिए। त्यसैगरी स्थानीय रघुनाथ निरौलाले पुल निर्माण तत्काल अघि बढाउन सरकारलाई आग्रह गरे।

    दबाबमूलक कार्यक्रमका अगुवा इन्जिनियर सन्तोष तामाङका अनुसार पुल निर्माण स्थगित रहँदा स्थानीय विकास, व्यापार र आवतजावत सबै प्रभावित भएका छन्। उनले भने, “यो अब स्थानीयको मात्र होइन, सम्पूर्ण प्रदेशको आवश्यकता भएको पुल हो — सरकारले अब ढिलाइ गर्न हुँदैन।”

  • कोशी प्रदेश सरकारद्वारा हेलिकप्टरमार्फत इलामका बाढी–पहिरो पीडितलाई राहत वितरण

    कोशी प्रदेश सरकारद्वारा हेलिकप्टरमार्फत इलामका बाढी–पहिरो पीडितलाई राहत वितरण

    विराटनगर, असोज २१ / हालैको अविरल वर्षापछि इलाम जिल्लामा आएको बाढी र पहिरोबाट प्रभावित परिवारका लागि कोशी प्रदेश सरकारले हेलिकप्टरमार्फत राहत सामग्री पठाएको छ।

    प्रदेश सरकारका मुख्यमन्त्री हिम्मत कुमार कार्कीले राहत कार्यलाई तीव्र गतिमा अघि बढाउने र मृतकका परिवारलाई सहयोग पुर्‍याउने कार्यलाई प्रभावकारी बनाउन निर्देश दिएका छन्।

    प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरमार्फत बिहानै राहत सामग्री पठाएको हो। स्थलमार्ग अवरुद्ध भएका कारण तत्कालका लागि हवाई मार्ग प्रयोग गरिएको मुख्यमन्त्री कार्कीले जानकारी दिनुभयो।

    मन्त्रालयका सचिव रामप्रसाद आचार्यका अनुसार प्रदेश सरकारले दैनिक उपभोग्य सामग्री—चामल, दाल, आलु, तेल, नुन, बेसारसँगै ब्ल्याङ्केट, सिरानी, म्याट्रेस र त्रिपाललगायतका राहत सामग्री इलामका विभिन्न प्रभावित क्षेत्रमा पठाएको हो।

    पहिलो चरणमा इलामको माङ्सेबुङ गाउँपालिका र इलाम सदरमुकाममा राहत पुगेको छ भने थप सामग्री पठाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ। असोज १७ र १८ गतेको अविरल वर्षाका कारण इलामका विभिन्न ठाउँमा ठूलो जनधनको क्षति भएपछि प्रदेश सरकारले उद्धारपछि राहत कार्य सुरु गरेको हो।

    बाढी–पहिरोबाट सूर्योदय नगरपालिका, इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका, माङ्सेबुङ गाउँपालिका, माईजोगमाई गाउँपालिका, देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय तथा भौतिक क्षति पुगेको छ।

    प्रदेश सरकारले इलामलाई उच्च प्राथमिकतामा राखेर राहत वितरण कार्यलाई निरन्तरता दिने जनाएको छ।

  • दमकमा सुतेकै कोठामा एक बालक मृत फेला परेका छन्

    दमकमा सुतेकै कोठामा एक बालक मृत फेला परेका छन्

    असाेज २१, दमक / झापाको दमक–५ धनेश्वर चोक निवासी चन्द्रमान रिमालका ५ वर्षीय छोरा लविस रिमाल बेलुका बुवासँगै आफ्नै घरको तल्लो तलामा सुतेका थिए। तर बिहान उठ्दा उनी मृत अवस्थामा फेला परेको परिवारले जनाएको छ।

     

    घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

  • तमोर करिडोरमा जीप दुर्घटना: पाँचथरमा ६ को मृत्यु, ६ घाइते

    तमोर करिडोरमा जीप दुर्घटना: पाँचथरमा ६ को मृत्यु, ६ घाइते

    असाेज १८, दमक / तमोर करिडोर अन्तरगत पाँचथरको कुम्मायक ३ कात्तिकेमा भएको सवारी दुर्घट्नामा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ३ पुरुष रहेको पाँचथरका प्रमूख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए । दुर्घट्नामा ६ जना घाइते छन । घाइते भएकाहरुमा एकजना ८ वर्षका बालक सहित १ महिला र ४ पुरुष रहेको पनि पोखरेलले जनाए ।

     

    घाइतेहरुलाई उद्धार गरी उपचारार्थ विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । घट्नामा ज्यान गुमाएका ६ जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथरमा ल्याइदैछ । जीपमा १२ जना रहेको जानकारीका आधारमा खोजी कार्य जारी राखिएको पनि प्रहरीले जनाएको छ ।

     

    शनिबार बिहान ताप्लेजुङको साँवादेखि धरानतिर जाँदै गरेको मे १ ज ३०५५ नम्बरको जिप पाँचथरको कुम्मायक गाउँपालिका–३ को सिमाना कात्तिके भीर नजिकै सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । थपको उद्धार प्रयार जारी छ । दुर्घटनामा परेका अधिकांस ताप्लेजुङका नागरिक रहेको अनुमान गरिएको छ ।