Blog

  • ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता विराटनगरमा सुरु, पहिलो दिन मोरंग र सुनसरी विजयी

    ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता विराटनगरमा सुरु, पहिलो दिन मोरंग र सुनसरी विजयी

    असोज २६ , काठमाडौँ / बिराटनगर किंग्सले कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा आयोजना गरेको DREAM TO PLAY प्रतियोगिता हिजोबाट सुरु भएको छ। मेची बहुमुखी क्याम्पसको खेल मैदानमा सम्पन्न पहिलो दिनका खेलहरूमा सुनसरी र मोरंगले विजयी सुरुवात गर्दै दुई दुई अंक जोडेका छन्।

     

    प्रतियोगिताको उद्घाटन खेलमा मोरंगले उदयपुरलाई ५६ रनले पराजित गरेको थियो। पहिलो ब्याटिंग गर्न उत्रिएको मोरंगले ओपनर अनिश राजबंशीको ३२ रनको मद्धतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९२ रन बनायो। ९३ रनको लक्ष्य पछ्याउने क्रममा उदयपुर केवल १४ ओभरमा ३६ रनको न्यून योगफलमा समेटियो। खेलमा पाँच विकेट प्राप्त गरेका उदयपुरका सुयोग कार्की प्लेयर अफ द म्याच चुनिएका थिए।

     

    त्यस्तै, दिनको दोस्रो खेलमा सुनसरीले इलामलाई ३७ रनले पराजित गर्यो। प्लेयर अफ द म्याच समेत चुनिएका ओपनर आकाश सर्राफको ३१ बलमा ४५ रनको विष्फोटक पारी र अन्तिममा समिर तिम्सिनाले जोडेको ३१ रनको मद्धतले सुनसरीले निर्धारित २० ओभरमा ११८ रनको योगफल तयार पारेको थियो। जवाफी ब्याटिंगमा उत्रिएको इलामले २० ओभरमा केवल ८१ रन मात्र जोड्न सक्यो।

     

    कोशी प्रदेशका झापा, मोरंग, सुनसरी, उदयपुर र इलाम गरी पाँच जिल्लाका अण्डर-२३ टिमहरूले एक आपसमा प्रतिष्पर्धा गर्ने यस क्रिकेट प्रतियोगिता मार्फत् उदयीमान खेलाडीहरूलाई उत्कृष्ट खेलकौशल प्रदर्शन गर्ने र आफ्नो क्रिकेट सपनालाई साकार बनाउने प्लेटफर्म मिल्ने आयोजकको विश्वास छ। प्रतियोगितामा उच्च प्रदर्शन गर्ने युवा खेलाडीहरूले बिराटनगर किंग्सको डेभलपमेन्ट स्क्वाडमा स्थान पक्का गर्ने छन् भने उनीहरूले टिमसँगै अभ्यासमा सहभागी हुने, कौशलको विकास गर्ने र व्यवसायिक खेल जीवन अगाडी बढाउने विभिन्न अवसरहरू प्राप्त गर्ने छन्। योसँगै, डेभलपमेन्ट स्क्वाडमा छानिएका मध्ये एकजना खेलाडीले आसन्न नेपाल प्रिमियर लिग (एनपीएल) मा बिराटनगर किंग्सको मुख्य स्क्वाडमा स्थान बनाउने विशेष अवसर प्राप्त गर्ने छन्।

  • दमकमा प्रहरी महानिरीक्षक खापुङको स्थलगत निरीक्षण

    दमकमा प्रहरी महानिरीक्षक खापुङको स्थलगत निरीक्षण

    झापा, असोज २६ – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले झापाको दमकस्थित इलाका प्रहरी कार्यालयको क्षतिग्रस्त संरचनाको स्थलगत निरीक्षण गर्नुभएको छ।

     

    जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण क्षतिग्रस्त भएका प्रहरी कार्यालयका संरचनाहरूको पुनर्निर्माण अवस्थाबारे जानकारी लिँदै उहाँले नागरिकस्तरबाट भइरहेको सहयोग र पुनर्निर्माण कार्यको प्रशंसा गर्नुभयो।

     

    महानिरीक्षक खापुङले सो अवसरमा मातहतका सुरक्षा इकाइका प्रमुख र प्रतिनिधिहरूलाई आवश्यक निर्देशन दिँदै, नागरिक सेवामा समर्पित भएर काम गर्न प्रेरणा र आग्रह गर्नुभएको थियो।

     

    निरीक्षण टोलीमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी इश्वर कार्की पनि सहभागी हुनुहुन्थ्यो।

     

    प्रहरीका उच्च अधिकारीहरूले त्यहाँ जनप्रतिनिधि, सामाजिक संघ–संस्था र समुदायका प्रतिनिधिहरूसँग पनि शान्ति–सुरक्षाको अवस्था र नागरिक–प्रहरी सहकार्यका विषयमा संवाद गरेका छन्, इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

  • मन्त्री घिसिङद्वारा बाढीपहिरो प्रभावित इलामको स्थलगत निरीक्षण, तत्काल राहत र पुनर्निर्माण अघि बढाइने

    मन्त्री घिसिङद्वारा बाढीपहिरो प्रभावित इलामको स्थलगत निरीक्षण, तत्काल राहत र पुनर्निर्माण अघि बढाइने

    काठमाडौं, २५ असोज । भौतिक योजना तथा यातायात मन्त्री कुलमान घिसिङले सरकारको प्राथमिकतामा राहत र पुनःनिर्माण रहेको बताएका छन् । आज बाढीपहिरो प्रभावित इलामको स्थलगत निरीक्षणपछि उनले भने, ‘सरकार प्रभावित नागरिकसँगै छ, तत्कालीन राहत र दीर्घकालीन पुनर्निर्माणका काम अघि बढाइनेछ ।’

    रोङ गाउँपालिका, सूर्योदय नगरपालिका हुँदै इलाम नगरपालिका–१० राजदुवाली आइपुगेका मन्त्री घिसिङले इलाम, सन्दकपुर, माईजोगमाई र वरपरका बस्तीमा पुगेर स्थानीयवासीसँग क्षति र राहत व्यवस्थाबारे जानकारी लिने छन् । उनले राजदुवाली सडक, मिल घुम्तीलगायतका क्षतिग्रस्त सडक र संरचनाको अवस्था अवलोकन गरेका छन् । गत असोज १८ गते रातिको भीषण वर्षापछि ठूलो जनधनको क्षति भएकाले सरकारले इलामलाई तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । बाढी र पहिरोका कारण अहिलेसम्म इलाममा ३९ जनाको मृत्यु भएको छ ।

  • शिवसताक्षी धरमपुरमा स्कुटर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई जना गम्भीर घाइते

    शिवसताक्षी धरमपुरमा स्कुटर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई जना गम्भीर घाइते

    असाेज २४, शिबसताक्षी / झापाको शिबसताक्षी–१ धरमपुरमा स्कुटर र मोटरसाइकल एकापसमा ठोकिएर एक जनाको मृत्यू भएको छ । सोही दुर्घटनामा परेर दुईजना गंभीर घाइते भएका छन् ।

    दुर्घटनामा गंभीर घाईते तीनै जनालाई उपचारका लागि विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारत पठाइएको थियो । उपचारको क्रममा बिर्तामोड–५ की निरुता भट्टराईको मृत्यु भएको छ । मृतक भट्टराई स्कुटी चालक हुन् ।

    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी– १ धरमपुरस्थित भित्री पक्की सडकखण्डमा शुक्रवार दिउँसो १।३० वजे दई सवारीसाधन एकआपसमा ठोकिएर दुर्घटना भएको थियो ।

    दक्षिणी क्षेत्र पाराबारीबाट धरमपुर चौकतर्फ आउँदै गरेको प्र १–०१–०१६ प ९३५८ नं को स्कुटर र बिपरित दिशाबाट जाँदै गरेको प्र १–०२–०४३ प ९४७५ नम्बरको मोटरसाइकल एकापसमा जुधेको हो ।

    दुर्घटनामा स्कुटर चालक भट्टराई, सोही स्कुटी पछाडी सवार सिन्धुपाल्चोक चिम्लिङबेसी –४ बस्ने बर्ष–३४ का सिताराम पराजुली र मोटरसाइकल चालक मोरङ उर्लाबारी–१ बस्ने अन्दाजी बर्ष–३१ का सुरज कार्की पनि गंभीर घाइते भएका थिए ।

    घाइते दुईजनाको सोही अस्पतालमा उपचार भइरहेको र दुवै सवारी इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • दमक पशुहाटको नालीभित्र अज्ञात पुरुषको शव फेला

    दमक पशुहाटको नालीभित्र अज्ञात पुरुषको शव फेला

    झापा, असोज २४। झापाको दमक–७ स्थित पशुहाट परिसरभित्र एक अज्ञात पुरुषको शव फेला परेको छ। शुक्रबार बिहान स्थानीय बासिन्दाले टिनको छानो भएको पशु राख्ने टहरामा गाईवस्तुले पानी खाने नालीभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

    इलाका प्रहरी कार्यालय दमकका अनुसार मृतक करिब ५० देखि ५५ वर्ष उमेर समूहका पुरुष हुन्, तर हालसम्म उनको पहिचान खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृतकको दाहिने गालामा धारिलो हतियार प्रहार गरिएको जस्तो देखिएको छ।

    घटनाको प्रकृति र कारणबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ। शव परीक्षणका लागि दमक अस्पताल ल्याइएको छ भने घटनास्थलमा प्रहरी टोली पुगेर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

  • झापामा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गर्ने युवक पक्राउ

    झापामा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गर्ने युवक पक्राउ

    झापा, असोज २४ — झापामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौरादह नगरपालिका–५, कटकपुर निवासी १८ वर्षीय राघव धमला रहेका छन्।

    प्रहरीका अनुसार उनले गत चैत २५ गते आफ्नै घर नजिकको बाँसघारीमा १३ वर्षीया बालिकालाई डर र त्रास देखाई जबरजस्ती करणी गरेका थिए। पीडित बालिका गर्भवती भएपछि घटना सार्वजनिक भएको बताइएको छ।

    पीडितकी आमाले इलाका प्रहरी कार्यालय झिलझिलमा उजुरी दिएपछि प्रहरी टोलीले धमलालाई नियन्त्रणमा लिएको हो। हाल उनलाई इलाका प्रहरी कार्यालय झिलझिलमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रहरीले घटनाबारे थप विवरण संकलन गर्दै आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको छ।

  • राजेन्द्र लिङ्देनको प्रस्ताव : ‘राष्ट्रपतिको ठाउँमा राजा, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री आवश्यक’

    राजेन्द्र लिङ्देनको प्रस्ताव : ‘राष्ट्रपतिको ठाउँमा राजा, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री आवश्यक’

    हेटौंडा, मकवानपुर — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा राष्ट्रपतिको स्थानमा राजा र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन्।

    राप्रपा मकवानपुरद्वारा हेटौंडाको एभोकाडो होटलमा आयोजित भेटघाट तथा अगुवा कार्यकर्ता कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले वर्तमान शासन प्रणालीमा सुधार आवश्यक रहेको बताउँदै यस्तो व्यवस्था राष्ट्रको समृद्धि र स्थायित्वका लागि जरुरी भएको धारणा राखे।

    उनका अनुसार लोकतान्त्रिक प्रवृत्तिका रूपमा ‘राजा र कार्यकारी प्रधानमन्त्रीको समावेशी संयोजन’ नै देशलाई सही दिशामा अघि बढाउने माध्यम बन्न सक्छ। लिङ्देनले भने, “राष्ट्रपतिको भूमिका तटस्थ रहनुपर्ने हो भने, देशलाई समृद्धि र प्रजातान्त्रिक दृष्टिकोणबाट अघि बढाउन प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र सशक्त राजा प्रणाली आवश्यक छ।”

    कार्यक्रममा उपस्थित राप्रपाका अगुवा कार्यकर्ताहरूले पनि लिङ्देनको विचारमा सहमति जनाउँदै आगामी दिनमा यस विषयमा थप छलफल र अभियान सञ्चालन गर्ने तयारी भएको बताएका छन्।

    भेटघाट कार्यक्रममा पार्टीको आगामी रणनीति, संगठन सुदृढीकरण र राष्ट्रिय राजनीतिक दिशाबारे पनि विस्तृत छलफल गरिएको र विभिन्न सुझावहरू संकलन गरिएको जनाइएको छ।