झापा, दमक — पहिलो पाइला नेपाल दमक शाखाको आयोजना र ब्राइटन कन्सल्टेन्सीको सहयोगमा बालबालिकालाई शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।
गौरादह–९ बैगुन्धुरास्थित बलभद्र प्रा.वि.मा अध्ययनरत सबै विद्यार्थीलाई करिब २० हजार रुपैयाँ बराबरका शैक्षिक सामग्री र दिवा खाजा वितरण गरिएको हो। कार्यक्रममा २० दर्जन कापी, ५० वटा सिसाकलम, ५० वटा पेन्सिल तथा खाजा वितरण गरिएको विद्यालयले जनाएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिमान निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गौरादह–९ का वडा सदस्य केदार धिताल प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा दमक शाखा अध्यक्ष राजु निरौला, ब्राइटन कन्सल्टेन्सीका सञ्चालक युवराज निरौला, प्रधानाध्यापक चेतमणि न्यौपाने, संस्थाका सल्लाहकार छवि घिमिरे, केन्द्रीय सदस्य मेघनाथ फुयाल, लबराज खड्का, दिवस खतिवडा लगायतको उपस्थिति थियो।
कार्यक्रममा बोल्दै प्रधानाध्यापक न्यौपानेले पहिलो पाइला नेपालको योगदानप्रति धन्यवाद ज्ञापन गर्नुभयो। ब्राइटन कन्सल्टेन्सीका सञ्चालक युवराज निरौलाले सामाजिक कार्यमा सहकार्य गर्न पाउँदा खुशी लागेको बताउनुभयो। दमक शाखा अध्यक्ष राजु निरौलाले संस्थाले शिक्षा, स्वास्थ्य, सरसफाइ, विद्यार्थी कपाल काट्ने अभियानलगायतका गतिविधि गर्दै आएको जानकारी दिनुभयो।
कार्यक्रम विद्यालयका शिक्षक गोबिन्द धितालको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालयले ब्राइटन कन्सल्टेन्सीका सञ्चालक युवराज निरौला र पहिलो पाइला नेपाल दमक शाखालाई सम्मानपत्र प्रदान गरेको थियो।