वैशाख १०, दमक / झापाको दमक नगरपालिका वडा नम्बर ४ स्थित ताराबारी सडक खण्डमा बिहीबार सवारी चालकहरूको स्वास्थ्य परीक्षण तथा यान्त्रिक चेकजाँच कार्यक्रम सञ्चालन गरिएको छ। सवारी साधनहरूको बाक्लो भिड र सुरक्षाकर्मीहरूको उपस्थितिमा चेकिङ अभियान तीव्र रूपमा अघि बढाइएको हो। ईलाका प्रहरी कार्यालय दमक, जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड तथा ट्राफिक प्रहरी कार्यालय दमकको संयुक्त आयोजनामा सञ्चालन गरिएको उक्त कार्यक्रममा दमक नगरपालिका र दमक अस्पतालले सहयोग गरेका थिए।
चेकिङका क्रममा ५ जना लागुऔषध सेवन (ला.प.से) र १ जना मादक पदार्थ सेवन (मा.पा.से) गरेको अवस्थामा फेला परेका चालकलाई पक्राउ गरिएको दमक ट्राफिक प्रहरी प्रमुख मनोज खड्गाले जानकारी दिए। पक्राउ परेका ६ जनालाई ईलाका प्रहरी कार्यालय दमकमा राखी आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ। प्रहरीका अनुसार सार्वजनिक बस चालकहरूको लापरवाहीका कारण यात्रुहरूको ज्यान जोखिममा पर्ने भएकाले विशेष रूपमा सार्वजनिक सवारी साधनहरूमा निगरानी बढाइएको हो। सार्वजनिक बसहरूको लापरवाहीले गर्दा यात्रुको ज्यान जोखिममा पर्ने भएकाले सार्वजनिक बसहरूमा चेकिङ गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नवीन राईले बताउनुभयो ।
चेकिङका क्रममा डल्फिन यातायात र नागरिक यातायातका केही चालकहरू लागुऔषध सेवन गरेको अवस्थामा भेटिएका थिए। यसले सयौं यात्रुको सुरक्षामा गम्भीर जोखिम निम्त्याउने देखिएको प्रहरीको भनाइ छ।स्थानीय सवारी चालक निरज कुमार अधिकारीले यस्तो चेकिङ अभियान नियमित रूपमा सञ्चालन भए सवारी व्यवस्थापन थप व्यवस्थित र सुरक्षित हुने विश्वास व्यक्त गरेका छन्। प्रहरीले यस्ता अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने जनाएको छ।









